घोर्थली — जिल्लाको दुर्गम त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थली गाउँमा बुधबार बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ ।
उद्घाटन अवसरमा उपस्थित त्रिपुरासुन्दरी–१ का ८७ वर्षीय पूर्ववडाध्यक्ष कर्णबहादुर खड्का ज्यादै भावुक देखिए । सात वर्षअघि यही गाउँमा स्वास्थ्य चौकीको माग गर्दा गाउँसभाबाट निकालिएको क्षण सम्झिएर आफू भावुक बनेको उनले सुनाए ।
‘सात वर्षअघि यही गाउँका लागि स्वास्थ्य चौकीको माग गर्दा गाउँसभाबाटै निकालिएको थिएँ, अपमान सहेर म रोएर निस्किएँ तर आज त्यो सपना पूरा भएको देख्दा ज्यादै खुसी लागेको छ, त्यो खुसी म कसरी बाडौं ?,’ पूवडाध्यक्ष खड्काले भने ।
‘स्वास्थ्य चौकीको माग गर्दा ८१ वर्षको थिएँ, अहिले ८७ वर्षको पुगें, अब पहिलेजस्तो सुत्केरी र गर्भवतीले बाह्रबिसे धाउन पर्दैन, बिरामीले सकस पाउन पर्ने छैन,’ खड्काले भने ।
त्रिपुरासुन्दरी गाउँपालिकाले ‘त्रिपुरासुन्दरी उद्घाटन सप्ताह २०८१’ अन्तर्गत पहिलो दिन सरकारी अनुदान ३८ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको भवन विधिवत् उद्घाटन गर्दै सञ्चालनमा ल्याएको छ ।
सात दिन लगातार पालिकाभरि निर्माण सम्पन्न भएका प्रशासनिक भवन, पुलसहित अनेकन संरचना उद्घाटन गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।
तत्कालीन वडाध्यक्ष खड्काले बारम्बार माग राख्दै आएको र अहिले यहाँ सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण भएपछि वृद्ध खड्का खुसी भएर हर्षका आँसु झारेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताए ।
‘गर्भवती र प्रसूति व्यथाले च्याप्दा चार घण्टा बढी समय लगाएर बाह्रबिसे नगर अस्पताल, धुलिखेल अस्पताल धाउनुपर्ने समस्या हटेपछि वृद्ध पूर्ववडाध्यक्षझै सम्पूर्ण स्थानीयको अनुहार उज्यालिएको छ,’ अध्यक्ष बोहराले भने ।
