१७५ किलो गाँजासहित २ युवक पक्राउ

मंसिर १९, २०८१

प्रताप विष्ट

2 youths arrested with 175 kg of ganja

हेटौंडा — मकवानपुर प्रहरीले १७५ केजी गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्रदेश ०३–००१ च १५८४ नं. को पिकअप गाडीलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टका प्रहरीले जाँच गर्दा १ सय ७५ केजी गाँजा फेला पारेको हो । 

गाडीको ढालामा खालीक्रेटले गाँजाको पाकेट छोपेर ल्याएको अवस्थामा गाडी चालक मकवानपुर बकैया गाउँपालिका-४ का २४ वर्षीय सुमन लामा र सोही गाडीमा सवार बकैया-११ बस्ने २४ वर्षीय सुशील ब्लोनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीसमक्ष चालक लामाले उक्त गाँजा वीरगन्जतर्फ लैजान लागेको बताएका छन् । 

मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि मंसिर १९ गतेसम्म २ हजार २३ सय ८३ केजी ६ सयग्राम गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद भएको छ । लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक गरी ७१ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । उनका अनुसार यस अवधिमा २ जना महिलासहित ६५ जना नेपाली र एक महिलासहित ६ जना भारतीय नागरिकलाई लागूऔषध कारोबारको आरोपमा पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरोहिरोइन र १ सय ५ केजी चरेश बरामद गरेको थियो ।

प्रताप विष्ट

Link copied successfully