हेटौंडा — मकवानपुर प्रहरीले १ सय ११ केजी गाँजासहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । मनहरीबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको पिकअप गाडीलाई प्रहरीले तीनताप्केमा रोकेर जाँच गर्दा गाडीभित्र १ सय ११ केजी गाँजा फेला पारेको थियो ।
गाडीमा बालुवा र मलले छोपेर गाँजा राखिएको थियो । प्रहरीले गाँजा, गाडी र गाडी चालक भारत मोतिहारी चैनपुर ढाका थानाका ३० वर्षीय महोमद समिरलाई नियन्त्रणमा लिएको छ ।
१३ वटा प्लाष्टिकमा प्याक गरेर गाँजा लुकाएर ल्याएको थियो । हेटौंडास्थित लेवट प्रहरी चौकीका प्रहरीले शंका लागेर गाडी रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो । 'गाँजाको पोका बालुवा र मलले पुरै छोपेको थियो प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले भने, ‘प्रहरीले बालुवा र मल हटाएपछिमात्र गाँजा फेला परेको थियो ।’
मकवानपुर प्रहरीका अनुसार चालु आबको साउनदेखि मंसिर १८ गतेसम्म २ हजार १ सय ९१ केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरो हिरोइन बरामद गरेको छ । लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक ६७ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए । यस अवधिमा २ जना महिलासहित ६१ जना नेपाली र एक महिलासहित ६ जना भारतीय नागरिक लागूऔषध कारोबारको आरोप पक्राउ परेका छन्,' उनले भने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरो हिरोइन, र १ सय ५ केजी चरेस वरामद गरेको थियो ।
