मकवानपुरबाट ५६ किलोग्राम गाँजासहित २ जना पक्राउ

मंसिर १६, २०८१

सुवास विडारी

2 persons arrested with 56 kg of ganja from Makwanpur

मकवानपुर — मकवानपुरबाट प्रहरीले अवैध लागूऔषधसहित आइतबार बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब ५६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २७ वर्षीय अनिलकुमार थिङ र सोही गाउँपालिका–९ बस्ने ३२ वर्षीय राजेन्द्र मुक्तान रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सिमपानीबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २३४४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटभन्दा माथि क्यबिनमा प्लास्टिक बेरेर लुकाइछिपाइ राखिएको उक्त गाँजा फेला पारी ट्रक चालक अनिल र ट्रकमा सवार राजेन्द्रलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully