काभ्रे — काठमाडौं विश्वविद्यालयले सञ्चालनको गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशनको सफलतापूर्वक परीक्षण सम्पन्न गरी उद्घाटन गरिएको छ ।
प्रधानमन्धी केपी शर्मा ओलीले शुक्रबार एक कार्यक्रमका बीच ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशनको उद्घाटन गरेका हुन् । ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशन निकै अनुकरणीय कार्य भएको बताए ।
काठमाडौं विश्वविद्यालयमा मात्र नभई यस प्रकारको कार्य स्थानमा पनि सञ्चालन हुनुपर्ने उनले बताए । ‘सन् २०१८/१९ मा आफू प्रधानमन्त्री भएको बेलामा ग्रीन हाइड्रोजन, हावाबाट बिजुली निकाल्ने कुरालगायतका विषयको कल्पना तथा अध्ययन गरेको थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले त्यतिबेला बोलेको कुरा आज काठमाडौं विश्वविद्यालयले नेपालको इतिहासमा पहिलो पटक सुरु गरेको छ, निकै राम्रो सुरुवात भएको छ, काठमाडौं विश्वविद्यालयसँग–सँगै अब अरुले पनि यस प्रकारका कार्य गर्न अघि सर्नुपर्छ ।’
हेलिकोप्टरमार्फत काठमाडौं विश्वविद्यालय परिसर पुगेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले निर्माण गरेको हाइड्रेजनबाट चल्ने कारबाट कार्यक्रमस्थल पुगेका थिए । उद्घाटनपश्चात उनले विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशनको अवलोकन गरेका थिए ।
काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशनको सफलतापूर्वक परीक्षण गरी हाइड्रोजन कारमा रिफिल गर्न थालेको काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले बताए । उनका अनुसार यो कार्यमा नेपालमै पहिलो पटक सुरु गरिएको हो ।
हाइड्रोजन फ्यूल नेपालमा उत्पादित बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजन रिफ्युलिङ स्टेसनमा हाइड्रोजनमा परिणत गरिएको विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं एसोसिएट प्रोफेसर विराजसिंह थापाले जानकारी दिए । जलविद्युत, सोलारलगायतका उर्जाहरु नेपालमा धरै रहेको र यसलाई प्रयोग तथा प्रशोधन गरेर हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन कार तयार गरिएको उनले बताए ।
उनका अनुसार भविष्यमा यसको व्यापार व्यवसाय बढ्दै जाने देखिएको छ । नेपालमा अत्याधिक मात्रामा खपत हुने इन्धनलाई घटाउनु हाम्रो प्रमुख उद्देश्य रहेको छ । यातायातको क्षेत्रमा मात्र नभई उद्योग तथा कलकारखनामा पनि यसलाई प्रयोगलाई बिस्तार गर्न सकिने उनले बताए ।
हाइड्रोजन उत्पादनका पाइलट प्रोजेक्टहरु काठमाडौं उपत्यकासँगै पोखरा, हेटौंडा र भरतपुरलगायतका सहरका निर्माण गर्न सकिने थापाले बतााए । यसलाई विश्वविद्यालयको प्रयोगशालामा मात्र सिमित नराखी राष्ट्रको निर्माण तथा विकासमा जोड्दै व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वविद्यालयको योजना रहेको छ ।
