मकवानपुर — वाग्मती प्रदेशभित्र बर्सेनि वनमा अतिक्रमण बढ्दो अवस्थामा देखिएको छ । अतिक्रमण बढेसँगै वन क्षेत्र घट्दै गएको प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार प्रदेशका १३ जिल्लाको तुलनामा सबैभन्दा बढी अतिक्रमण सिन्धुलीमा भइरहेको छ ।
वन निर्देशनालय हेटौंडाको तथ्यांकअनुसार १३ जिल्लामा १२ हजार ९ सय ४६ दशमलव ७९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा धेरै सिन्धुलीमा छ हजार ४०४.८७ हेक्टर वन अतिक्रमण भएको छ भने भक्तपुरमा शून्य रहेको छ ।
सरकारले बर्सेनि अतिक्रमण घटाउन विभिन्न योजना अगाडि सारे पनि त्यसले पूर्णरुपमा सफलता प्राप्त नगर्दा यस्तो अवस्था सिर्जना भएको हो । विगतदेखि नै सबैभन्दा धेरै वन क्षेत्र व्यक्तिबाट अतिक्रमणमा परेको छ । संघीयता आएपछि अर्थात् २०७४ बाट स्थानीय तहहरुले भवन निर्माण र खेलकुद मैदानसहित अन्य पूर्वाधारका संरचना निर्माणका क्रममा बढी अतिक्रमण भइरहेको वन अधिकृत अर्यालले बताए ।
मकवानपुरमा ३ हजार ५५६.९६ हेक्टर, चितवनमा एक हजार ६८८ हेक्टर, रामेछापमा ४९५.०५ हेक्टर, धादिङमा २४६.९६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको वन निर्देशनालय हेटौंडाका वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए । अर्यालका अनुसार काभ्रेपलाञ्चोकमा २५८ हेक्टर, नुवाकोटमा ९३.९४ हेक्टर, सिन्धुपाल्चोकमा ७८.९० हेक्टर, दोलखामा ४४.८४ हेक्टर, रसुवामा ३६.२७, ललितपुरमा ३० हेक्टर र काठमाडाौमा १२ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।
गत आवमा वाग्मती प्रदेशभित्र करिब १३ हजार हेक्टर वन क्षेत्र विभिन्न माध्यमबाट अतिक्रमित भएकोमा ४२.२६ हेक्टर वन क्षेत्रलाई अतिक्रमणमुक्त गरी वनक्षेत्र पुनः कायम गरिएको वन निर्देशक विद्यानाथ झाले जानकारी दिए । दोलखाको १७.१० हेक्टर, चितवनको ९ हेक्टर, काठमाडौंको ६.७४ हेक्टर, ललितपुर र भक्तपुरको १–१ हेक्टर र मकवानपुरको ०.५१ हेक्टर अतिक्रमित जमिनलाई वन क्षेत्र कायम गरिएको उनले बताए ।
प्रदेश मन्त्रालय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन, प्रहरी लगायतको सक्रियतामा मात्रै अतिक्रमण न्यूनीकरण गर्न र अतिक्रमित जमिन वन क्षेत्र कायम गर्न सकिने उनको दाबी छ ।
प्रदेशमा कुल क्षेत्रफलको ५३ दशमलव ७३ प्रतिशत वन क्षेत्र रहेको छ । जसमध्ये सामुदायिक वनको संख्या चार हजार ५३४ रहेको छ । सामुदायिक वनले चार लाख २५ हजार ४१३ हेक्टर क्षेत्रफल ओगटेको छ । प्रदेशमा कबुलियती वन तीन हजार ३३६, निजी वन ६७३, धार्मिक वन ४९ र संरक्षित वन दुई वटा छन् ।
