त्रिभुवन विश्वविद्यालयको सीनासद्वारा खुम्बु, लाङटाङ, अन्नपूर्ण र हिल्सा क्षेत्रमा १६ सय जनाबाट नमुना संकलन गर्दै तीन वर्षे अध्ययन परियोजना प्रारम्भ गरिएको छ ।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सीनास) ले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना 'नेपालको हिमाली क्षेत्रमा जलवायु सहनशील पर्यटन योजना' निर्माणका लागि क्षमता अभिवृद्धि गर्न स्थलगत अध्ययन गर्नुअघि सरोकारवालासँग परामर्श गरेको छ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँग सिनासले परामर्श गरेको हो ।
टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले हिमालमा हिउँ मात्र नभई मानिसको जीवन पनि पग्लिँदै गएको र यसमा राज्यले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले सगरमाथा खुम्बु क्षेत्रमा जलवायु परिवर्तनको असरबारे अनुभव सुनाउँदै समुदाय मजबुत बनाउने नीतिले मात्रै जलवायु परिवर्तनका समस्यासँग जुध्न सकिने बताए । उनले नेपालको हिमाली जिल्लामा पछिल्लो समय भइरहेको प्राकृतिक विपद्बारे अनुसन्धान हुनुपर्ने र अनुसन्धानबाट आएको निष्कर्षलाई राज्यले नीतिमा समावेश गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालको अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा.ईश्वर कोइरालाले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना सरकारको वित्तीय सहयोगमा सञ्चालित परियोजना भएको र यस परियोजनाकाे उद्देश्य नेपाल सरकारलगायत सम्बन्धित सरोकारवालाहरुलाई नीति निर्माणमा सहयोग पुर्याउनु रहेको बताए ।
यस परियोजनाका प्रमुख अनुसन्धानकर्ता सिनासका सहप्राध्यापक डा.रत्नमणि नेपालले यसप्रकारको कार्यक्रम प्राज्ञिक क्षेत्र र नीतिनिर्माताबीचको संवाद भएको बताउँदै अनुसन्धानका उद्देश्य, विधि तथा अपेक्षित उपलब्धिका बारेमा प्रकाश पारे ।
परियोजना प्रमुख रत्नमणि नेपालले नेपालको पर्वतीय पर्यटन जोखिममा रहेको र यसलाई कम गर्दै कसरी अगाडि बढ्न सकिन्छ भनेर अनुसन्धान सुरु गरिएको बताए । उनले यस अध्ययन क्षेत्रका लागि हिमाली क्षेत्र खुम्बु, लाङटाङ, अन्नपूर्ण र हिल्सा क्षेत्र छनोट गरिएको र यहाँबाट कुल १६ सय जनाबाट नमुना संकलन गरिने बताए । यो परियोजना तीन वर्षको लागि रहेको र अहिले परियोजना सुरु भएको ४ महिना भएको जानकारी दिए ।
परियोजना अन्तर्गत एक विद्यावारिधि र एक एमफिल तहका विद्यार्थीले शोधपत्र तयार गर्नेछन् ।
सरोकारवालाहरुका तर्फबाट मुस्ताङको घरपजोङ गाउँँपालिका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा जलवायु परिवर्तनका असर तीव्र रुपमा देखिन थालेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा टानका प्रमुख कार्यकारी रामचन्द्र सेढाई, सदस्य उमेश कार्की, पर्यटन व्यावसायी गमबहादुर राई, जीवन केसी, गोपाल नेपाल, पर्यटन योजनाविद् डा.बिपी बडाल, नाथमका दिनेश श्रेष्ठ लगायतले हिमाली पर्यटनमा जलवायु परिवर्तनको असर र त्यसको समाधानमा समुदाय र सम्बन्धित संस्थाहरुले खेलिरहेको भूमिकाका बारेमा विचार राखे ।
त्रिभुवन विश्वविद्यालयका अनुसन्धान समन्वय तथा विकास परिषद्का विज्ञ प्रा.डा.नरेन्द्र खनालले पर्यटन र जलवायु परिवर्तन राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र भएको र यसै सम्बन्धी अध्ययन सिनासले गर्ने प्रस्ताव गरेकोले अध्ययनको नतिजाले नेपाल सरकार तथा सरोकारवाला सबैलाई नीतिनिर्माणमा फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
