गत फागुनमा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत माघको तुलनामा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स कम हो ।
काठमाडौँ — गत साउनदेखि फागुनसम्म नेपालमा १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेको छ । २०८१ फागुनसम्म १० खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
गत फागुनमा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत माघको तुलनामा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स कम हो । माघमा १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको फागुनमा१ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
युद्धबाट त्यहाँको अर्थतन्त्र खलबलिएपछि नेपाल आउने रेमिट्यान्स पनि जोखिममा रहेको विश्लेषण भएका छन् । यद्यपि फागुनसम्मको रेमिट्यान्स आप्रवाहमा युद्धको असर देखिइनसकेको जानकार बताउँछन् ।इजरायल–इरान युद्धले पश्चिम एसियाका धेरै मुलुक प्रभावित भएपछि नेपाल आउने कुल रेमिट्यान्समध्ये झन्डै आधा प्रभावित हुने आकलन गरिएको छ । गत १६ फागुन (२८ फेब्रुअरी २०२६) देखि यस क्षेत्रमा युद्ध सुरु भएको थियो । युद्धबाट त्यहाँको अर्थतन्त्र खलबलिएपछि नेपाल आउने रेमिट्यान्स पनि जोखिममा रहेको विश्लेषण भएका छन् । यद्यपि फागुनसम्मको रेमिट्यान्स आप्रवाहमा युद्धको असर देखिइनसकेको जानकार बताउँछन् ।
विगतमा संकट आएको समयलगत्तैका केही महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह बढ्ने गरेकाले यस वर्ष पनि असर आइनसकेको रेमिटर्स एसोसिएसनका पूर्वअध्यक्ष सुमन पोखरेलले जनाए । ‘युद्ध बढ्दै गए पनि अझै केही महिना रेमिट्यान्स आप्रवाह बढ्न सक्छ । किनकि विदेशमा रहेका नेपालीले आफूसँग भएको र सरसापटी गरेर पनि पैसा पठाउने भएकाले नघट्ने विगतको अनुभवले देखाएको छ,’ उनले भने, ‘संकट लम्बिँदै गए तीन–चार महिनापछि भने रेमिट्यान्स आप्रवाह स्वतः घट्न सक्छ ।’
उनका अनुसार पश्चिम एसियामा जारी तनाव लम्बिए थप नेपाली बाहिर जान नपाउने र गएका पनि फर्केपछि नेपालको अर्थतन्त्रमा दोहोरो समस्या देखिन सक्छ । हाल नेपाल आउने रेमिट्यान्सको करिब ४० देखि ४५ प्रतिशत पश्चिम एसियाबाट आउने गरेको छ । औसतमा मासिक डेढ खर्ब रेमिट्यान्स आएको मान्दा पनि करिब ६०/६५ अर्ब रेमिट्यान्स प्रभावित हुन सक्ने उनले बताए । ‘अर्कातिर त्यहाँ कार्यरत नेपाली पनि फर्किंदा रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई दबाब पर्न सक्छ । अर्कोतिर रेमिट्यान्स घट्दा मुलुकको आय र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको फागुनको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गएको आठ महिनामा अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड डलर पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले मात्र बढेको थियो । गएको २९ महिनायता हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदै आएको छ । यसअनुसार गत असोजमा हालसम्मकै सबैभन्दा बढी २ खर्ब १ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । तर केही महिनायता पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा तनाव बढ्दै जाँदा नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सिधा असर पर्ने देखिएको छ ।
हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । रोजगारीका लागि हरेक वर्ष बिदेसिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन् । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्पमा भन्दै यत्रतत्र प्रत्याक्रमण गरिरहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसमा खाडी मुलुकको हिस्सा ६ खर्ब ७३ अर्ब थियो । गत फागुनमा अमेरिकी डलरमा रेमिट्यान्स ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ ।आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसमा खाडी मुलुकको हिस्सा ६ खर्ब ७३ अर्ब थियो । गत फागुनमा अमेरिकी डलरमा रेमिट्यान्स ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।
फागुनसम्म विदेशी मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ । गत असारको तुलनामा यो २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ ।
आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । यस वर्ष कम्तीमा ६ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ ।
गत फागुनसम्म चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा छ । गत वर्षको फागुनमा चालु खाता १९७ अर्ब ३ करोडले बचतमा थियो । यस्तै, गएको आठ महिनामा १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ मात्र थियो ।
गत फागुनसम्म शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
