काठमाडौँ — संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक नियोग, यूनेस्कोका नेपाल प्रतिनिधि याको डु ट्वाइले पत्रकारहरूको नैतिक दायित्य भनेकै आचारसंहिताको पालना गर्दै आमपाठकमा समाचार सामग्रीप्रतिको विश्वास कायम गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।
सेन्ट् जेभियर्स कलेजअन्तर्गत आमसञ्चार तथा पत्रकारिता संकायद्वारा आयोजित मिडिया संवादको ३९ औं श्रृंखलामा बोल्दै ट्वाइले गलत तथा भ्रामक समाचारलाई दुरुत्साहित गर्न पत्रकारहरुले नैतिक पत्रकारितालाई आत्मसात गर्न सुझाए ।
निडर पत्रकारको पहिचान बनाएकी बिनु सुवेदीले महिला पत्रकारहरूले पाइला पाइलामा दुर्व्यवहारको जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताइन् । सुवेदीले भनिन्, 'यही कारणले मलाई अझ ठूलो स्वरमा बोल्न बाध्य बनाएको छ, तर ती सबै संघर्ष अन्त्यमा सार्थक हुने गरेको छ ।'
कलेजका प्राचार्य फादर डा. अगस्टिन थोमस, एस.जे.ले सामाजिक सञ्जालले जनमतमा गहिरो प्रभाव पारिरहेको अवस्थामा नैतिक पत्रकारिता केवल पेसा मात्र नभएर सार्वजनिक विश्वासको विषय बनेको बताए ।
पत्रकारिता संकाय प्रमुख तथा मिडिया संवादका संयोजक चुनबहादुर गुरुङले उक्त कार्यक्रममा संक्रमणका कारण पत्रकारिता कठिन अवस्थामा गुज्रिरहेको बताएका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा सञ्चार विज्ञ डा. विनोद भट्टराईले पनि विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए ।
