डा. ओम फाउन्डेसनले विद्यार्थीलाई छात्रवृत्ति दिने

माघ १७, २०८१

कान्तिपुर संवाददाता

Dr. OM Foundation to provide scholarships to students

काठमाडौँ — डा. ओम फाउन्डेसनले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । छात्रवृत्तिका लागि कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले माघ १७ देखि फागुन ५ सम्म आवेदन दिनुपर्नेछ । 

वरिष्ट मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलका अनुसार विद्यार्थी स्वयं वा विद्यार्थीका लागि विद्यालय र अभिभावकले आवेदन दिन सक्नेछन् । आवेदनमा विद्यार्थीको अघिल्लो कक्षाको ग्रेडसिट, चालू शैक्षिक सत्रका दुई त्रैमासिकको ग्रेडसिट, परिचयपत्र, अन्य कुनै प्रकारको छात्रवृत्ति प्राप्त नगरेको प्रमाण र विद्यार्थीको शैक्षिकस्तरसम्बन्धी विद्यालयको सिफारिस समावेश गर्नुपर्नेछ । ‘पढ्न चाहेका तर आर्थिक स्थिति कमजोर भएकालाई फाउन्डेसनका तर्फबाट सहयोग रहने छ,’ उनले भने ।

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो । ‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम फाउन्डेसनबाट खर्च गरिने उनले जानकारी दिए । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित डा. ओम फाउन्डेसनले विभिन्न स्थानमा सातवटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरिसकेको छ । ती शिविरमा ईको, ईसीजी, सुगर, प्रेसरलगायत जाँच गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । 

विपन्न तथा सीमान्तकृत समुदायका ३ सय ५० घरपरिवारलाई कम्बल (ब्ल्यांकेट) समेत वितरण गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनले जानकारी दिएको छ । स्वदेश र विदेशमा बसोबास गर्ने नेपालीका निम्ति निःशुल्क टेलिमेडिसिन सेवा पनि फाउन्डेसनले प्रदान गर्दै आएको छ ।

–अभिषेक अधिकारी, प्रशिक्षार्थी 

कान्तिपुर

Link copied successfully