सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड’

पुस ११, २०८१

कान्तिपुर संवाददाता

”Raymond Milefsky Award” to border scientist Buddhinarayan Shrestha

काठमाडौँ — बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ । 

दक्षिण एसियाको पहाडी, विवादित भूभागमा रहेको सिमानाको व्याख्या र उजागर गरेको भन्दै आइब्रुले श्रेष्ठलाई सम्मानित गरेको हो । 

सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकका रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ का रूपमा आफूलाई अघि सारेका हुन् । सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनर्प्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले आफूले सीमा अध्ययनमा केन्द्रित गरे । ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका विषय समेटेर उनले १४ वटा पुस्तक लेखेका छन् । 

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमन्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसियतबाट सम्भव भएको हो, जो आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक रहेका थिए । पुरस्कारको राशि ७ सय ४५ स्टर्लिङ पाउन्ड रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully