लियोले अन्तर्राष्ट्रिय युवा शिविर गर्दै

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Leo doing an international youth camp

काठमाडौँ — युवाको नेतृत्व विकासका लागि लियो जिल्ला परिषद् ३२५ एल नेपालले पुस १९ देखि २१ सम्म चितवनको सौराहामा अन्तर्राष्ट्रिय युवा शिविर आयोजना गर्ने भएको छ । 

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं लियो जिल्ला परिषद्का अध्यक्ष अभय थापाले दक्षिण एसियाका युवाहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा, युवा नेतृत्व, वातावरण संरक्षण, विविध परिदृश्यको अनुभव प्राप्त गर्न र सामुदायिक सेवाको स्थायी भावनामा एकताबद्ध गर्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

भने, ‘कार्यक्रमले नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामाजिक उत्तरदायित्वका लागि गतिशील प्लेटफर्म प्रदान गर्नेछ, यसबाट सहभागीको व्यक्तिगत तथा व्यावसायिक क्षमता अभिवृद्धि हुनेछ ।’ 

उक्त युवा शिविरमा नेतृत्व, सार्वजनिक भाषण, उद्यमशीलता र व्यक्तिगत वृद्धिजस्ता आवश्यक सीपहरूमा केन्द्रित रही कार्यशाला हुने आयोजकले जनाएको छ ।

‘यसबाट युवा नेताहरूले बलियो सार्वजनिक सम्बन्ध विकास गर्ने, पारस्परिक सम्मान र मित्रताको विश्वव्यापी नेटवर्क विकास गर्ने मौका पाउने अपेक्षा छ,’ कार्यक्रम संयोजक थापाले भने । ‘विश्वभरबाट १५ सय बढीको आवेदन प्राप्त हुने अपेक्षा छ । त्यसबाट ६० जना छनोट गरिनेछ । जसमा ५० जना युवा नेपाल र १० जना अन्य देशबाट हुनेछन्,’ थापाले भने । 

कान्तिपुर

Link copied successfully