काठमाडौँ — नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीचको सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरेका हुन् । फोटो पत्रकार क्लब, नेपालको सहकार्यमा मंगलबारदेखि सुरु फोटो प्रदर्शनी मंसिर २४ सम्म चल्नेछ ।
फोटो प्रदर्शनीमा एडीबीसँगको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षयता भएका विकास निर्माणका कामलाई दृश्यमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । ‘धेरै सकारात्मक कामहरू भएका छन् । नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्याएको सहयोगका लागि धन्यवाद,’ ऊर्जा राज्यमन्त्री तामाङले भने ।
एडीबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताउँदै उनले न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा पुगेकोमा खुसी व्यक्त गरे ।
त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एडीबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरू निर्माण भइरहेको बताए । उनले आगामी दिनमा पनि एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताए । फोटो प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको छ ।
ऊर्जा उत्पादनमा एडीबीको सहयोगमा निजी क्षेत्रबाट ६० मेगावाट क्षमताको खिम्ती हाइड्रोपावर र एक सय मेगावाट क्षमताभन्दा बढीको १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माण भएको छ ।
नेपाल अहिले जलाशययुक्त आयोजना निर्माणमा लागिरहेको भन्दै एडीबीले १४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावरमा वित्तीय र प्राविधिक सहयोग गरिरहेको जनाएको छ । प्रसारणलाइन लगानी गर्दा घाटा कम गराउने, ग्रिड विद्युतीकरण र अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुग्ने एडीबीले जनाएको छ ।
