लियो जिल्ला परिषद् ३२५ एलले पुस १९ देखि २१ सम्म अन्तर्राष्ट्रिय युवा शिविर आयोजना गर्ने

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Leo Zilla Parishad 325 L will organize an international youth camp from December 19 to 21

काठमाडौँ — युवाहरुको नेतृत्व विकासका लागि आउँदो पुस १९ देखि २१ सम्म अन्तर्राष्ट्रिय युवा शिविर आयोजना हुने भएको छ ।  लियो डिस्ट्रिक्ट काउन्सिल ३२५एल नेपालले चितवनको सौराहामा अन्तर्राष्ट्रिय युवा शिविर  आयोजना गर्न लागेको हो । 

कार्यक्रम संयोजक एवं लियो डिस्ट्रिक्ट काउन्सिलका डिस्ट्रिक्ट प्रेसिडेन्ड लियो अभय थापाले मिड भ्याली इन्टरनेशनल कलेज, ज्ञानेश्वरमा पत्रकार सम्मेलन गरेर साउथ एशियाका युवाहरुलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा, युवा नेतृत्व, वातावरण संरक्षण, विविध परि दृश्यहरूको अनुभव प्राप्त गर्न र सामुदायिक सेवाको स्थायी भावनामा एकताबद्ध गर्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । 

‘कार्यक्रमले नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामाजिक उत्तरदायित्वको लागि गतिशील प्लेटफर्म प्रदान गर्नेछ,’ उनले भने, ‘यसबाट सहभागीहरुलाई व्यक्तिगत र व्यावसायिक रुपमा क्षमता अभिवृद्धिमा मद्दत पुर्याउनेछ ।’  तीन दिन चल्ने क्याम्पमा नेतृत्व, सार्वजनिक भाषण, उद्यमशीलता, र व्यक्तिगत वृद्धिजस्ता आवश्यक सीपहरुमा केन्द्रित हुने कार्यशाला हुने आयोजकले जनाएको छ । 

लायन्स इन्टरनेशनलअन्तर्गतको लियो डिस्ट्रिक्ट काउन्सिल ३२५एल नेपालले सेवा, नेतृत्व विकास र सामुदायिक संलग्नतामार्फत युवा सशक्तिकरण, वातावरण संरक्षण, सामाजिक सेवादेखि शिक्षा र स्वास्थ्य सचेतनाजस्ता विषयमा जागरण ल्याउने प्रयासस्वरुप युथ क्याम्प गर्न लागेकोले  युवाहरुलाई उपस्थित हुन अपिल पनि गरेको  छ ।

कान्तिपुर संवाददाता

Link copied successfully