नवरात्री : नवदुर्गाका नौ रुप

नवरात्री पर्व धार्मिक आस्था र आध्यात्मिक मान्यताको आधारमा मनाईन्छ। ९ रात, ९ देवी, ९ कथा रहेको नवरात्रीमा हरेक दिन अलग - अलग देवीको आराधना हुन्छ ।

आश्विन १७, २०८१

संघाई थेबे

Navratri: Nine forms of Navadurga

काठमाडौँ — संसारमा सबै प्राणीका लागि मातृभावको महिमा महत्त्वपूर्ण छ। मानवको अधिक श्रद्धा स्वाभाविक रूपमा आफ्नो माताको चरणमा अर्पित हुन्छ । मानिसले सर्वप्रथम माताको गोदमा लोकदर्शनको सौभाग्य प्राप्त गर्दछ । 

यसैले माता नै सबै प्राणीका आदिगुरुको रूपमा प्रतिष्ठत छिन्। उनीको करुणा र कृपाले बालकका लौकिक तथा पारलौकिक कल्याणका आधार हुन्, त्यसैले भन्ने गरिन्छ कि- ‘मातृदेवो भव : पितृदेवो भव : आचार्यदेवो भव : 

यस श्रुतिवाक्यमा सबसे पहिले माताको नै स्थान रहेको छ । जो भगवती महाशक्तिस्वरुपिणी देवी तथा समष्टिस्वरुपिणी सम्पूर्ण जगतकी माता, उनी नै सम्पूर्ण लोककल्याणका मार्ग प्रदर्शित गर्ने ज्ञानगुरुस्वरुपा हुन्।

वास्तवमा महाशक्ति नै पम्ब्रह्मको रुपमा प्रतिष्ठित छिन्, जो विभिन्न रूपमा अनेक लीला गर्ने गर्छिन्। उनको शक्तिद्वारा ब्रह्मा विश्वको सृजन गर्छन्, विष्णु पालन गर्छन् र भगवान शिव संहार गर्छन्, अत: उनी नै जगतका सृजन - पालन - संहार गर्ने आदिनारायणी शक्ति हुन् । 

यी महाशक्ति नौ दुर्गा तथा दश महाविद्याको रूपमा प्रतिष्ठित छिन् । अभिप्राय यो हो की- परमात्मस्वरुपिणी महाशक्ति विविध रुपमा सर्वत्र क्रीडा गर्छिन् -  `शक्ति क्रीडा जगत् सर्वम्´ सम्पूर्ण जगत शक्तिको नै क्रीडा ( लीला ) हो। 

 त्यसै कारण नौ दुर्गासँग सम्बन्धित नवरात्री पर्व धार्मिक आस्था र आध्यात्मिक मान्यताको आधारमा मनाईन्छ। ९ रात, ९ देवी, ९ कहानी हरेक दिन अलग - अलग देवीको आराधना हुन्छ ।

पहिले यो बुझ्न जरुरी छ कि- नवरात्रिको ९ दिन नै किन ? १० दिन , ११ दिन या अरुदिन चाहिँ किन भएन, यहाँ ९ दिन जो अंक एकल अन्तिम अंक हो ।

९ अंक उत्कृष्टता र सम्पूर्णताको प्रतिक मानिन्छ, जसले पूर्णताको प्रतिनिधित्व गर्ने मान्यता राखिन्छ । नवरात्र शब्द दुई शब्दमिलेर बनेको छ पहिलो नव (९) र दोस्रो रात्रि अर्थात् नवरात्रि अर्थात् नौ रात्रिको पर्व भनेर बुझिन्छ । वैदिक धर्ममा नवरात्रिको गणना ९ रात्रिमा गर्ने विधान छ ।

 ज्योतिषशास्त्रमा ९ ग्रहको मान्यता अनुसार  हरेक ग्रहका सम्बन्ध माँ दुर्गाको ९ स्वरूपसँग सम्बन्धित हुन्छ । ९ अंक मानव जीवनसँग अटुट सम्बन्ध एवं ज्यादै गहिरो प्रभाव रहनुको साथै यसको सर्वाधिक महत्त्व छ ।  नवरात्रिको ९ दिन पूजा र उपासनाको लागि सर्वोत्तम दिन मानिन्छ। 

 घटस्थापना

आज नवरात्रि पहिलो दिन घटस्थापना यस पर्वलाई कसरी बुझ्ने त ? पूर्वीय दर्शन (एसियाली दर्शन) खासगरी भारतवर्ष भनेर चिनिने त्यसमा पनि हिमवत् खण्ड दक्षिण एसियामा उत्पत्ति भएका वैदिक सनातन दर्शन भित्र रहेका जतिपनि धर्म, संस्कृति, संस्कार, सभ्यता, परम्परा छन् ती सबै ॐकार भित्र रहेका र ॐलाई नै मूल धर्म मानेर जप, ध्यान, पूजा-पाठ गर्ने, अनुष्ठान गर्ने वैदिक सनातन धर्म भित्र पर्दछ।

देवी शक्तिको आह्वान गर्न पूजा-पाठ, ध्यान, व्रत, उपासना, जागरण द्वारा दुर्गा शक्तिको आह्वान गरिन्छ। प्रथम दिन घटस्थापना द्वारा सुरुवात गरिन्छ । 

असोज महिनाको शुक्ल पक्ष प्रतिपदाका दिनदेखि नवमी (नौरथा) सम्म शक्तिको आराधना गरि अष्टभुजाधारी देवीको पहिलो स्वरूपमा सैलपुत्रीको पूजा,आराधना गरिन्छ।

नवरात्री : पहिलो देवी शैलपुत्रीको उपासना

नवरात्रिमा दुर्गाको नौ रुपका पूजा - उपासना अधिक विधि विधानका साथ गरिन्छ। यी देवीका रुपको पछाडि तात्विक अवधारणाका धार्मिक परिज्ञान, सांस्कृतिक, आध्यात्मिक एवं सामाजिक विकासका लागि आवश्यक रहन्छ। माँ दुर्गाको सर्वप्रथम शैलपुत्रीको रुपमा पुजिन्छ।

अष्टभुजाधारी देवी शैलपुत्री - पर्वतराज हिमालयको पुत्रीका रूपमा जन्मलिएका कारण उनीको नामकरण शैलपुत्री रहयो। इनका वाहन वृषभ हो, यसैले यी देवीलाई वृषरुढाको नामले पनि चिनिन्छ। दायाँ हातमा त्रिशुल र बायाँ हातमा कमल पुष्प सुशोभित छिन् । कथा अनुसार एकपल्ट दक्ष प्रजापतिले यज्ञ गर्दा सम्पूर्ण देवताको निमन्त्रणा गर्दा भगवान शंकरलाई चाहिँ गरेनन्।

तर सती यज्ञमा जान इच्छुक र प्रवल आग्रह देखेर भगवान शंकरले जाने अनुमति दिए। उस यज्ञमा भगवान शंकरप्रति तिरस्कारका भाव दक्षद्वारा अपमानजनक वचनले दु:खित सतीले आफ्नो पतिको अपमान सहन सकिनन्न र योगाग्निद्वारा जलेर भष्म भइना् । यस दारुण दु:खमा व्यतित भइ भगवान शंकरले उस यज्ञको विध्वंस गरिदिए । यहि सती अघिल्लो जन्ममा शैलराज हिमालय पुत्रीको रूपमा शैलपुत्री भइन्। शैलपुत्री भगवान शंकरका अर्द्धागिनी बनिन्। यीनको महत्त्व र शक्ति अनन्त छ । वृषभमा सवार शैलपुत्री चन्द्रको धारण गरेकी छिन् । दुर्गा शक्ति  शैलपुत्रीलाई सौभाग्य, समृद्धि र शक्तिका रूपमा लिइन्छ। अर्को प्रकृति माताको रूपमा पनि प्रतिष्ठित छिन् । 

घटस्थापना प्रतिपदा तिथिमै कलश स्थापना गरि कलश सुख-समृद्धि, ऐश्वर्य प्रदान गर्ने तथा मंगलकारी मानिन्छ ।  कलशको मुख भगवान विष्णु, गला रुद्र, मूल ब्रह्मा तथा मध्य देवी शक्तिको निवास मानिन्छ। नवरात्रिको समय ब्रह्माण्डमा उपस्थित शक्ति यस घट (कलश) मा आह्वा क्रियालाई घटस्थापना भनिन्छ। सबै विपद् दायक तरंग नष्ट गर्न तथा घरमा सुख-शान्ति, समृद्धि बनाइराख्न कलशको स्थापना गरिन्छ। उहि दिन या रात्रिमा माँ शैलपुत्रीको आराधना गरिन्छ

 देवी शक्तिको केन्द्र हो, इनका भुजामा रहेको शस्त्रले ज्ञानको भावार्थ बुझाउँछ आत्मा ज्ञानद्वारा जीवन जीउन सिकाउँछ। माँ शैलपुत्रीको सम्बन्ध चन्द्रग्रहसँग रहने हुँदा यीनको आराधनाले  व्यक्तिको कुण्डलीमा चन्द दोष निवारण हुने शास्त्रीय मान्यता छ।

दोस्रो दिन देवी ब्रह्माचारिणी उपासना

नवरात्रिको दोस्रो दिन देवी ब्रह्मचारिणी पूजा, आराधना र उपासना गरिन्छ। माँ ब्रह्मचारिणी पूजा गर्नाले ज्ञान एवं वैराग्य प्राप्ति हुने शास्त्रीय मान्यता छ। ब्रह्माचारिणीको अर्थ हुन्छ कि - तप (साधन), चारिणी आचरण रहनेदेवी। शास्त्रमा हर एक रुपको पूजा विधि र कथाको महत्व बताएको पाइन्छ। 

माँ ब्रह्मचारिणी तपको आचरण गर्ने देवीको यस रुप पूर्ण ज्योतिर्मय अत्यन्त भव्य छ, माँको दायाँ हातमा जप माला र बायाँ हातमा कमण्डलु धारण गरेकी छिन्। पूर्वजन्ममा यी देवीले हिमालयको घरमा पुत्रीको रूपमा जन्म लिइन् , नारदजीको उपदेश अनुसार भगवान शंकर पतिको रुपमा प्राप्त गर्न घोर तपस्या गरेकी देवी यस कठिनतपस्याको कारण इनलाई तपश्चारिणी अर्थात्  ब्रह्माचारिणी नामले सम्बोधित गरियो, अर्को नाम अर्पणा, उषा नामले जानिन्छ।

समेटिने शक्ति र नकारात्मक बिकारबाट बचाई राख्न बाहिरी चिज र बस्तुहरुबाट अलग राख्ने आध्यात्मिक ज्ञानको कौशल रूपमा देवी ब्रह्मचारिणीलाई बुझिन्छ। जप, तप, ज्ञान, बुद्धि र विवेक दिने देवी ब्रह्माचारिणी मानिन्छ। सौभाग्य प्रदान प्राप्तिका निमित्त मंगलको नियन्त्रित गर्ने देवी हुन् ।

 जीवनको कठिन संघर्षमा मन स्थिर र विचलित नभई रहनु हो। यसको अतिरिक्त देवीको शरीरमा सफेद साडीले पवित्रताको प्रतिनिधित्व गर्छ, कमल ज्ञानको प्रतीक हो। सरल, शान्त र सौम्यका प्रतीक मानिन्छ। 

तेस्रो दिन चन्द्रघण्टाको उपासना

नवरात्रिको तेस्रो दिन देवी चन्द्रघण्टाको पूजा-आराधना गरिन्छ। दुर्गाको तेस्रो स्वरूप शक्ति चन्द्रघण्टाको उपासना र पूजाको अत्यधिक महत्त्व छ। यस दिन देवीको विग्रहका पूजा- आराधना गरिन्छ।

देवीको स्वरूप परम शान्तिदायक र कल्याणकारी छ। देवीको चेहरा स्वर्ण समान कान्तिमय, शान्त र सौम्य छ। देविको मस्तकमा घण्टाको आकारमा अर्धचन्द्र छ, यसकारण देवीलाई चन्द्रघण्टा नामबाट सम्बोधित गरियो। माँ युद्ध मुद्रामा सिंहमाथि विराजमान हातमा त्रिशुल, धनुष, गदा र तरबार छ। अर्धचन्द्र विराजमान देवी चन्द्रघण्टा पार्वतीको विवाहित रुप हो ।

देवी चन्द्रघण्टा तन्त्र साधनामा `मणिपुर´ चक्र नियन्त्रित गर्ने देवी हुन् भने ज्योतिषमा यीनको सम्बन्ध मंगल ग्रहसँग रहन्छ। अस्त्र-शस्त्र  ज्ञान जगाउने दीप्तिमान चन्द्रघण्टा देवीलाई तन्त्र साधनाको देवीको रूपमा पनि जान्न सकिन्छ। माता दुर्गा युद्धमा महिषासुरको वध गरी असुरबाट सबै देवतालाई अभयदान दिलाउने देवी चन्द्रघण्टा भनेर बुझिन्छ । चन्द्रघण्टाको उपासनाबाट मनुष्य समस्त सांसारिक कष्टबाट मुक्त हुने शास्त्रगत कथन रहेको पाइन्छ ।

चौथो दिन : दुर्गा कुष्माण्डाको उपासना

नवरात्रिको चौथो दिन माँ कुष्माण्डाको उपासना,पूजा- आराधना गरिन्छ। माँ कुष्माण्डादेवी दुर्गाको चौथो अवतार मानिन्छ। यसदिन विशेष साधक साधिकालाई साधना सिद्धि गर्न साधकका मन ‘अनाहत' चक्रमा अवस्थित हुन्छ, भने देवीको सम्बन्ध ज्योतिषमा बुध ग्रहसँग रहन्छ, ज्ञान र बिद्याकी देवी रूपमा मानिन्छ। पौराणिक कथा अनुसार  जब सृष्टिको अस्तित्व थिएन चारैतर्फ अन्धकार थियो, तब यही देवीले ब्रह्माण्डको रचना गरेकी थिइन् । अत: यसैले यी देवीलाई सृष्टिकी आदि-स्वरुपा, आदिशक्ति मानिन्छ। यही कारण माँ कुष्माण्डा नामले सम्बोधित भइन्  साथै अष्टभुजा भएकी देवी भनेर चिनिन्छ। माँ कुष्माण्डा सिंहमाथी विराजमान देवीको निवास स्थान सूर्यमण्डल हो। यीनको शरीरको कान्ति र प्रभा सूर्य समान दैदिप्यमान स्वरूप तेज प्रकाशले दशै दिशा प्रकाशित रहन्छ। यी अष्टभुजा देवीको हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल-पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा छ ।

पाँचौ दिन : दुर्गा स्कन्दमाताको उपासना

नवरात्रिको पाँचौं दिन स्कन्दमाताको पूजा-आराधना गरिन्छ। माँ स्कन्दमाता हिमालयकी पुत्री पार्वती हुन्। पौराणिक कथा अनुसार स्कन्दमाताको चार भुजाको गोदमा पुत्र स्कन्द भगवान कार्तिकेयलाई लिएर सिंहासनमा विराजमान देवीले मातृप्रेमको प्रतिनिधित्व गर्दछ, साथै मातृत्वका प्रतीक मानिन्छ।

स्कन्दको अर्थ भगवान कार्तिकेयको अर्थ माता (देवी) हुन्छ। वात्सल्यकी मूर्ति सन्कदमाता हुन्, अत: यस कारण यीनको नामको अर्थ स्कन्दमाता रहयो। पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताको सेनापति भगवान स्कन्दको माता थिइन, कुमार कार्तिकेयको रक्षाका निमित्त दुर्गाको पाँचौ अवतार स्वरूप स्कन्दमाता प्रकट भइन् ।  स्कन्दको वाहन सिंह हो भने सदैव कमल पुष्पमा विराजमान देवीलाई पद्मासना देवी नामले जान्न सकिन्छ । सांसारिक जिवनमा नवचेतना निर्माण गर्ने शक्ति स्कन्दमाता थिइन । स्कन्द माताको पूजाले सन्तान प्राप्तिमा सरलता हुने धार्मिक मान्यता छ ।

छैटौं दिन : कात्यायनीको उपासना

 नवरात्रिको छैटौं दिन नवदुर्गाको षष्ठं स्वरूप कात्यायनीको पुजा - उपासना, आराधना गरिन्छ। कात्यायनीको जन्म महर्षि कात्यायनका घरमा कात्यायन ऋषिको पुत्रीको रूपमा जन्म भएको थियो। यही कारण दुर्गाको छैटौं अवतार स्वरूपलाई कात्यायनी नामले सम्बोधित गरियो।

 देवीको चार भुजामा दायाँतर्फ माथिल्लो हात अभयमुद्रा तथा मुनितर्फको हात वरमुद्रामा रहेको छ, बायाँतर्फको हातको माथिल्लो हातमा तरबार र मुनितर्फ कमल फूल सुशोभित छ। शास्त्रअनुसार कात्यायनीको शक्ति भद्रकाली, चण्डीका, कालीको स्वरूपमा सामेल गरिएको पाइन्छ। कात्यायनी देवीलाई योगसाधना, तन्त्र साधनाका लागि विशेष मानिन्छ 

सातौं दिन : कालरात्रीको उपासना 

 नवरात्रिको सातौं दिन दुर्गाको सातौं स्वरूप शक्ति कालरात्रीको पूजा-उपासना गरिन्छ। कालरात्रीको शुभंकरी नामबाट पनि जान्न सकिन्छ। यीनको नाम दुई शब्द मिलेर बनेको छ । कालको अर्थ मृत्यु र रात्रिको अर्थ अन्धकार। कालको दुई अर्थ पनि लाग्छ समय अर्को मृत्यु जो कालरात्रीले आफ्नो अन्तर समाहित गर्छिन् जो रात्री घोर,अशिम रात्री कालरात्रीको मातृत्व, सिर्जनात्मक करुणामय स्वरुपले आफ्नो अन्तर समय र मृत्यु पनि विलीन गराउँछिन् । 

कालरात्री दुष्टको विनाश गर्ने दानव, दैत्य, राक्षस जस्ता नकारात्मक शक्तिको संहार गर्ने ज्यादै भयानक स्वरूपको रुपमा मानिन्छ । चण्ड-मुण्ड दैत्यको वध गर्न दुर्गाले कालरात्री अवतार लिएको कथाहरूमा पाइन्छ । 

आठौं दिन : महागौरीको उपासना

नवरात्रिमा अष्टमी तिथि र नवमी तिथि विशेष महत्व रहन्छ।अष्टमी तिथिमा महागौरी र नवमीमा सिद्धिदात्री देवीको पूजा-अर्चना, उपासना गरिन्छ। नवरात्रीको आठौं दिन दुर्गाको अष्टम स्वरुप महागौरीको पूजा-अर्चना, उपासना गरिन्छ ।

महागौरीको ध्यान, पाठस्मरण, पुजा-आराधनाले समस्त भक्तको सर्वाधिक कल्याणहुने भन्ने धार्मिक पौराणिक कथन छ । 

नवौं दिन : सिद्धिदात्रीको उपासना

महारात्रीको अन्तिम तिथि नवरात्रको पूर्णता लागि महानवमी तिथिमा सम्पूर्ण देवीको पूजा-उपासना गरिन्छ। यसदिन शास्त्रीय विधि-विधान र पूर्ण निष्ठाका साथ साधनामा लिन साधकको सबै कामना र सिद्धि प्राप्ति हुने धार्मिक विश्वास छ। 

 महानवरात्रिको नवमी थिति ज्यादा महत्त्वपूर्ण छ। नवमी तिथि स्वयं देवी मानिन्छ । नवौं दिन दुर्गाको स्वरुप सिद्धिदात्री पूजा- अर्चना, उपासना गरिन्छ । यसदिन शास्त्रीय विधि विधानका साथ पूर्ण  निष्ठाका साथ उपासक,भक्त एवं साधक सबैमा सिद्धि प्राप्ति हुने भन्ने पौराणिक कथा, आध्यात्मिक, धार्मिक मान्यता रहेको पाइन्छ । 

सिद्धिदात्री देवीको जुन स्वरूप छ त्यहाँ सबै देवीको स्वरुप अन्तर समाहित हुन्छ। दुर्गाको नौ शक्ति नाम सिद्धि जसले सबै प्रकारका सिद्धि प्रदान गर्ने देवी मानिन्छ। 

(लेखक धर्मसंस्कृति अध्येता हुन्)

संघाई

Link copied successfully