विद्युत खपत् वृद्धि र खनिज इन्धनको खपत् न्यूनीकरणसम्बन्धी कार्ययोजना स्वीकृत

पुस १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले खनिज इन्धनको प्रयोग घटाउने र विद्युत् खपत् बढाउनेसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले सरकारले विद्युत्‌को खपत् बढाउने र खनिज इन्धनको खपत् न्यूनीकरण गर्नेसम्बन्धी कार्ययोजना स्वीकृत गरेको जानकारी दिइन् ।

उनका अनुसार बैठकले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि र हातहतियार खरखजना नियमावली (बाह्रौं संशोधन) स्वीकृत गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ भने राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गरेको छ । 

बैठकले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ । त्यस्तै, घुन्सा खोला जलविद्युत् आयोजनाको लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

बैठकले पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निजगढ बर्दिबास खण्डमा पर्ने घर टहरा तथा जग्गाहरुको मुआब्जा/क्षतिपूर्ति/राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

कान्तिपुर

Link copied successfully