डढेलो नियन्त्रणबाहिर

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका ३, डाँडेमा भएको आगलागीमा ६ घर जले । रमिते जंगलको डढेलो शनिबार बस्तीमा पस्दा मनप्रसाद, हर्कबहादुर, राजकुमार, डम्बरबहादुर, धनप्रसाद पालुङवा र वेदमाया पौडेलको घर जल्यो । 

वडाध्यक्ष मदन गौतमका अनुसार बस्तीको आगो नियन्त्रणमा आए पनि जंगलको डढेलो भने आइतबार साँझसम्म पनि नियन्त्रणमा छैन । जंगलमा शनिबार दिउँसोदेखि डढेलो सुरु भएको थियो ।


ताप्लेजुङको सिरिजंघा गाउँपालिका ६, खेबाङको डाँडामा शुक्रबार दिउँसोदेखि आगलागी भइरहेको छ । मानवीय बस्तीभन्दा निकै टाढा रहेकाले यहाँ आइतबार दिउँसोसम्म पनि निभाउन जाने प्रयास कसैले गरेको छैन । हावाको चापसँगै आगो एकपछि अर्को ठाउँमा सरेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङको ठीक पारिपट्टि रहेको मिक्वाखोलाको खोक्लिङ र लिवाङको जंगल डढेलोले भरिएको जस्तै छ । घामले तात्ने दिउँसो आगोको ज्वाला देखिँदैन । राति भने जंगल भरिएजस्तै डढेलोले छोपेको देखिने गरेको छ । हावा चल्दा राप उर्लिन्छ, नचल्दा मन्द गतिमा डढेलो बढ्छ ।


ताप बढेसँगै पूर्वका यी २ जिल्लाका जंगल यतिबेला डढेलाले भरिएका छन् । ताप्लेजुङको पूर्वी, सिरिजंघा, सिदिङवादेखि पश्चिमी मरिङदेन, मिक्वाखोला गाउँपालिकासम्मका जंगलमा डढेलो लागिरहेको छ । यी सबै विगत वर्षको पुनरावृत्ति हो । अघिल्लो वर्ष डढेलो लागेका जंगलमा दोहोरिने र नयाँ जंगलमा पनि लाग्ने भएकाले बर्सेनि क्षतिको मात्रा बढेको हो । डिभिजन वन कार्यालयका प्रमुख श्रीमोहनलाल कर्ण आगलागी भएको क्षेत्रमा वनरक्षक कर्मचारी परिचालन गरेको तर नियन्त्रणमा कठिनाइ भएको बताउँछन् ।


एक दिनमा कति ठाउँमा आगलागी भइरहेको छ, मापन गर्ने विधि नभएकाले दैनिक तथ्यांक भने राख्न नसकिने उनले बताए । कतिपय आफैं र धेरै ठाउँमा लगाएरै आगो लाग्ने गरेको उनले बताए । ‘हामीले सुक्खा मौसम हावाहुरीका समयमा आगो नसल्काउनुहोस् भनेर जनचेतना जगाएका छौं तर नियन्त्रणमा लिन सकेका छैनौं,’ कर्णले भने, ‘नयाँ पालुवाका लागि आगो लगाउने गरेको पाइएको छ तर लगाउने व्यक्तिको पहिचान भएको छैन ।’ देशभरि अहिलेसम्म आगो लगाउने व्यक्ति एकजना पनि पक्राउ नपरेको उनले बताए । धेरै ठाउँमा खरबारीमा लगाएको आगो उम्किएर डढेलामा परिणत हुने गरेको बुझाइ कार्यालयको छ ।


पुराना पुस्ताकालाई पुरानो पतझड नजलाएसम्म नयाँ पलाउन पाउँदैन भन्ने मान्यता रहेको सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष सुरज ओझा बताउँछन् । त्यसलाई चिर्न आफूहरूले नयाँ पुस्तालाई प्रयोग गरेको त्यो पुस्ता प्रभावमा नआएसम्म नियन्त्रण कठिन रहेको उनले बताए । लगाउनैपर्ने ठाउँमा हावा नचलेको बेला धेरै जनशक्ति जुटेर नियन्त्रित आगो लगाउनुहोस् भनेर सल्लाह दिएको तर समुदायका मानिस एक्लैले लगाउन खोज्दा समस्या रहेको ओझा बताउँछन् । आगलागी गर्नेको पहिचान गरेर कारबाहीका लागि सामुदायिक वनले पनि अहिलेसम्म सिफारिस गरेको छैन ।


अहिलेसम्म खोला किनारमा माछा मार्न गएकाले खाना पकाएर आगो ननिभाउँदा, घर र जंगल आसपासमा झ्यासझुस जलाउँदा, गलत मनस्थिति भएकाहरूले जानाजान आगो झोसिदिँदा आगलागीका घटना भएका छन् । कतिपयले बदमासी गरे दशाग्रह टर्छ भन्ने रूढिवाढी परम्पराका कारण पनि डढेलो लगाउने गरेका छन् । सामुदायिक वनका कोषाध्यक्ष घनेन्द्र थापा आगो सल्किएपछि बस्ती जोगाउन खोज्नुको विकल्प नहुने बताउँछन् ।


सडकको पहुँच नहुँदा र दमकल जिल्लामा एउटा मात्रै हुँदा पानी लगाएर निभाउन पनि समस्या रहेको छ । गत वर्ष धुसेनी भिरमा लागेको आगो नियन्त्रणका लागि भने दमकलको प्रयोग गरिएको थियो । जंगलको आगो बस्तीमा पस्दा ताप्लेजुङमा अहिलेसम्म पाथीभरा याङबरक १ नाङखोल्याङको सेसम्बु, फक्तालुङ गाउँपालिका ३ लिंखिमको सिंवा बजारमा आगलागी भएको छ । जंगल छेउका बस्ती त थुप्रै डढेलाको निसानामा परेका छन् ।

प्रकाशित : चैत्र ४, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?