सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग तीव्र रूपमा बढेसँगै नेपालमा ‘साइबर स्टकिङ’सहित साइबर अपराधका घटना पनि बढेका छन् । यतिसम्म कि सामाजिक सञ्जालमा ब्लक गरेपछि इसेवामा १ रुपैयाँ पठाउँदै रिमार्क्समा जे पायो त्यही लेख्ने गरेको पाइएको छ ।
What you should know
काठमाडौँ — केही दिनअगाडि स्मृति पौडेललाई एक व्यक्तिले सामाजिक सञ्जालबाट टर्चर दिएको विषय सार्वजनिक भयो । काठमाडौंको लैनचौरस्थित अमृत क्याम्पसमा ब्याचलर पढ्दै गरेकी स्मृति पौडेलले इन्स्टाग्राममा गत शुक्रबार पोस्ट गरिन्,‘म महिनौंदेखि म चुपचाप सहिरहेकी थिएँ । तर, अब उसको हर्कतले सबै सीमा नाघिसक्यो । मलाई बोल्न बाध्य बनाइयो ।’
टर्चरले ‘इनफ इज इनफ’को रूप लिएपछि उनले स्टाटस लेखेरै घटना बाहिर ल्याएकी थिइन् । उनीमाथि भएको व्यवहार अस्वाभाविक, अपत्यारिलो देखिन्छ । स्मृतिमाथि ती व्यक्तिले जुन किसिमको व्यवहार गरेका छन् त्यसलाई लिएर धेरैले यस्तो पनि हुन्छ? र भन्दै आश्चर्य मानेका छन् ।
स्मृतिले ११ पेज लामो स्टाटस पोस्ट गर्दै आफूलाई सुमित भट्टराईले एक वर्षदेखि सामाजिक सञ्जालबाट म्यासेज गरी धम्की दिने, कलेजदेखि घरसम्म पछ्याउने, अभद्र व्यवहार गरेको खुलाएकी थिइन् ।
आफूले वास्ता नगर्दा सुमितले आफूलाई टर्चर दिएको स्मृतिको भनाइ छ । त्यतिमात्र होइन सुमितले स्मिृतिको नाममा इन्स्टामा फेक एकाउन्ट पनि खोलेका थिए । स्मृतिले बेवास्ता गरिरहिन्, सुमितले दु:ख दिइरहे । स्मृतिले सबैतिर ब्लक गरेपछि सुमितले अचम्मको उपाय अपनाए । यहाँसम्म कि उनले इसेवामा सयौँ पटक १/१ रुपैयाँ पठाउँदै रिमार्क्समा थरिथरिका म्यासेज पठाए । उनले इसेवामा पैसा पठाउँदै लेखे, ‘मैले तिमीलाई मात्र माया गर्छु अरुलाई हेर्दिनँ ।’ त्यति मात्र होइन उनले अपमानजनक शब्द नै लेख्थे । कहिले इमेलको सब्जेक्टमा ‘बुढी’ शब्दले सम्बोधन गर्दै सयौं इमेल पठाउँथे । यस्तो हर्कतले स्मृतिलाई दिनप्रतिदिन गाह्रो बनाइराखेको थियो ।
यो केवल दुर्व्यवहार मात्र होइन । यो स्टकिङ हो । यो एक खतरनाक मान्छेको पागलपन होसुमितले स्मृति हिँड्ने, कलेज जाने बाटोमा पिछा गरेर पनि हैरान पार्थे । कहिले स्मृति चढेको माइक्रोबस पिछा गर्न भ्याउँथे, त कहिले उनी चढेको ट्याम्पो । स्मृतिले आफू कानुनी प्रक्रियामा जाने चेतावनी दिँदा पनि सुमितले भने झन् उग्र शैलीमा देखिन थाले । स्मृतिले उक्त दिन एक भिडियो पोस्ट गरेकी थिइन् । उनी चढेको माइक्रोबसमा सुमित पिछा गर्दै आएका देखिन्छन् । र सुमितले उनलाई छुने प्रयास पनि गरेका छन् । स्मृतिले भने 'नछो मलाई' भन्दै आफू प्रहरीमा जाने बताउँछिन् । त्यसैबीच दुई जनाबीच भनाभन भएको छ । सोही भिडियो अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेको छ । ‘मेरो परीक्षा केन्द्रमा समेत आइपुग्छ । हेरेर बस्छ ताकि म डराउँ र मेरो परीक्षा बिग्रियोस्,’स्मृतिले पोस्टमा भनेकी छिन् ।
कलेजमा शिक्षक नभएको बेला कक्षाकोठामै आएर डर देखाएको र साथीले आफ्नो पक्षमा बोल्दा मार्ने धम्कीसम्म दिएको उनले उक्त पोस्टमा उल्लेख गरेकी छिन् । सुमितको व्यवहारले सीमा नाघेपछि स्मृति प्रहरी वृत्त कालीकाटीमा समेत निवेदन दिएकी थिइन् । साइबर ब्युरोसम्म पुगे पनि सुमितले स्मृतिको पिछा छोडेनन् । स्मृतिले सहनै नसकेर इन्स्टामा आफूले भोग्नु परेको पीडालाई आफ्ना मनका पीडा पोस्टमार्फत पोखिन् । पोस्टको अन्त्यमा उनले आफूलाई शान्तिसँग बाँच्न र पढ्न दिन आग्रह गरेकी थिइन् । 'यो केवल दुर्व्यवहार मात्र होइन । यो स्टकिङ हो । यो एक खतरनाक मान्छेको पागलपन हो,' उनले लेखेकी थिइन्,'यदि म, मेरो परिवार वा मेरा साथीलाई केही भयो भने त्यसको जिम्मेवार उही हुनेछ ।'
स्मृतिले राखेको सोही पोस्ट एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । सबैले आवाज उठाएपछि सुमित फक्राउ परिसकेका छन् । सुमितको 'म्यासेज' र 'फलोअप'ले टर्चर भएको भन्दै स्मृतिले प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएकी थिइन् । दुवै पक्ष राखी छलफल गरी अब यस्तो नगर्ने भनी मिलापत्र गरी अभिभावकको जिम्मा लगाइएको थियो । तर साउन २१ गते फेरि सुमितले सार्वजनिकस्थलमा आफूलाई गालीगलौज र लछारपछार गरेको भन्दै स्मृतिले प्रहरीमा जाहेरी दिइन् । सुमितलाई प्रहरीले भदौ ८ मा अभद्र मुद्दामा पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रेमका नाममा यातना
सामाजिक सञ्जालको दुरुपयोगबाट पीडित हुने स्मृति पहिलो व्यक्ति भने होइनन्, पछिल्लो समय यस्तै प्रकृतिका हुन् वा योभन्दा फरक धेरै नै घटनाहरू बढ्दै गएको देखिन्छ । सामाजिक सञ्जालबाटै पीडित भएकी अर्की युवती हुन् कृपा(नाम परिवर्तन) । फेसबुकबाट चिनजान भएका एक पुरुषसँग प्रेम सम्बन्धमा परेकी कृपा केही समयमै समस्यामा परिन् । प्रेमीले बारम्बार नग्न तस्बिरहरू पठाउन आग्रह गरे । कृपालाई पनि आफूले माया गरेको व्यक्ति भन्ने भएर विश्वासले नग्न भिडियो प्रेमीलाई पठाइन् । तर विस्तारै सम्बन्धमा दरार आउन थाल्यो र दुवै जना छुट्टिए । एकदिन एक्कासि कृपाको च्याटमा एक अन्जान नम्बरबाट आफ्नो पूर्वप्रेमी कृतज्ञजंग थापालाई पठाएको भिडियो पठाउँदै, सामाजिक सञ्जालमा बेइज्जत गर्ने धम्की बारम्बार आउन थाल्यो ।
उक्त व्यक्तिले पैसा दिएमा भिडियो डिलिट गर्ने आश्वासन दिन थाले । कृपाले उसको कुरालाई पत्याइन् र १० हजार पैसा उसले पठाएको इसेवा नम्बरमा पठाइन् । तर उसले फेरि विभिन्न किसिमका माग कृपासँग राख्न थाले । आपत्तिजनक शब्दको प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नगएमा उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिने बारम्बार धम्की दिन थाले । कृपालाई निकै नै तनाव हुन थाल्यो । अन्जान व्यक्तिले आफूलाई निकै नै तनाव दिएपछि कृपाले साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । अनुसन्धानका क्रममा उनलाई ब्याकमेल गर्ने व्यक्ति ललितपुर घर भएका २४ वर्षीय आयुष अधिकारी रहेको खुल्न गयो । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा गत चैत २६ गते प्रहरीले अधिकारीलाई पक्राउ गरेको थियो ।
आफ्नैबाट पीडित
यस्तै घटनाबाट पीडित छिन् अछाम घर भएकी १९ वर्षीया कल्पना(नाम परिवर्तन) । दैलेख पुर्ख्यौली घर भई हाल बर्दिया बस्दै आएका हरि (नाम परिवर्तन) सँग २ वर्षअगाडि कल्पनाको सामान्य कुराकानी हुन्थ्यो । केही समयमा पुरुषले दिएको दबाब र ब्ल्याकमेलका कारण विवाह भयो । त्यसबेला कल्पना फुपूको घरमा बसेर ब्याचलर पहिलो वर्षमा पढ्दै थिइन् । त्यसपछि उनका श्रीमान्ले झगडा गर्ने, शंका गर्ने, बारम्बार कुटपिट गर्ने गर्न थाले उनी यातना सहनै नसक्ने अवस्थामा पुगिन् । कल्पना माइती गइन् । सहमतिमै छुट्टिएर बस्ने निधो गरेर दुवैजनाले सल्लाहमा सम्बन्धलाई टुंग्याए । तर हरिले भने कल्पनाको फोटो सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्दै आइरहेका छन् । हरिले फेसबुकमा कल्पनाको फोटोमा अपशब्द प्रयोग गरी स्टाटस राख्ने, फोटो पोस्ट गर्दै आइरहेका छन् ।
हरिको हर्कतले आफूलाई मानसिक तनाव भएकोले कानुनी सहारा लिने योजनामा रहेको कल्पनाले बताइन् । आफैंले रोजेको केटाले यतिसम्म गर्ला भनेर नसोचेकाले तत्काल कानुनी प्रक्रियामा नगएको उनी बताउँछन् । उनी भन्छिन्,‘पहिला त आफैंले रोजेको केटा, यतिसम्म गर्ला भन्ने सोचेकै थिइनँ । अर्को कुरा समाजले सजिलै हेर्दैन । आफैंले रोजेर गई अहिले नानाथरिको नाटक भन्ने जस्ता कुरा गर्छन् कि भन्ने डरमा थिएँ,’ उनले भनिन्, ‘बारम्बार फेसबुक, टिकटकमा मेरो चरित्र हत्या गरी राखेका फोटोले मलाई निकै नै पीडा भइरहेको छ । अब कानुनी प्रक्रियामा जान्छु ।’
प्रहरीको साइबर ब्युरोका सूचना अधिकारी दीपकराज अवस्थीका अनुसार साइबरसम्बन्धी विभिन्न किसिमका अपराध निकै नै बढ्दै गएको बताउँछन् । उनी भन्छन्,‘यसको क्षेत्र निकै बढ्दै रहेको छ । यसका राम्रा, नराम्रा दुवै पक्ष छन् । तर धेरै मानिसले यसको दुरुपयोग गरेको कारण,साइबर अपराध, साइबर स्टकिङ जस्ता घटना दिन प्रतिदिन बढ्दै गएको छ ।’
मानिसहरू सामाजिक सञ्जाललाई आफ्नो फुर्सदको समयमा हेर्ने वा काम पर्दा चलाउनेभन्दा पनि सामाजिक सञ्जालबाटै पैसा कमाउने उद्देश्य बढ्दै गएको र यस्ता खालका घटना लिएर साइबर ब्युरो आउने पीडित बढेको अधिकारी बताउँछन् ।
सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग तीव्र रूपमा बढेसँगै नेपालमा ‘साइबर स्टकिङ’का घटना पनि बढेका छन् । पछिल्लो समय फेसबुक म्यासेन्जर, इन्स्टाग्राम जस्ता विभिन्न सामाजिक सञ्जालको माध्यमबाट नचाहँदा नचाहँदै पनि अरुलाई बोल्न बाध्य पार्ने, पिछा गर्ने, धम्की दिने, अश्लील भिडियो पठाउने, ठगी गर्ने, पीडितको व्यक्तिगत फोटो दुरुपयोग गरी ब्ल्याकमेल गर्ने घटना बढ्दै गइरहेको देखिन्छ ।
साइबर ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/८९ को साइबरसम्बन्धी कसुरमा काठमाडौंमा मात्र ४ हजार ६ सय ८६ निवेदन दर्ता भएको थियो । आर्थिक वर्ष २०७९/८० मा उक्त तथ्यांक बढेर ९ हजार १३ भएको थियो । त्यस्तै २०८०/८१ मा ह्वात्तै बढेर १९ हजार ७ सय ३० र २०८१/८२ मा १८ हजार ९ सय २६ वटा उजुरी परेको थियो ।
कसरी बच्ने ?
पूर्वडीआईजीसमेत रहेका साइबर सुरक्षा विज्ञ राजीव सुब्बा साइबरसम्बन्धी सुरक्षाका बारेमा ज्ञान नभएकैले पनि अपराध बढेको बताउँछन् । उनी भन्छन्, 'साइबर अपराधका बारेमा हामीलाई खासै ज्ञान छैन । यसका बारेमा सर्वसाधारणलाई पढाइँदैन । सोसल इन्जिनियरिङ भनेको मानिसको व्यवहार हेरेर ह्याकरहरुले अपराध गर्छन् ।' पछिल्लो समय अनलाइनमार्फत विभिन्न लिंक पठाएरसमेत ठग्ने गरेको पाइएको छ । अनलाइन 'ह्यारेस' गर्नेहरूको संख्या पनि बढिरहेको सुब्बाको भनाइ छ ।
सामाजिक सञ्जालमा राखिने व्यक्तिगत विवरणका कारण पनि साइबर अपराध बढिरहेको तथ्यांक रहेको सुब्बाले बताए । उनी भन्छन्,‘जन्मदिन, परिवार, आफू बस्ने ठाउँ, आफ्नो गाडी नम्बरदेखि लिएर फोन नम्बर सबै सामाजिक सञ्जालमा पब्लिक गर्छौं, त्यही कुराले ह्याकरलाई सजिलो हुन्छ । त्यसैले नै साइबरसम्बन्धी अपराध बढेका छन् ।’ कसैको केही सामान भेटिए सम्पूर्ण जानकारी खुल्ने गरी राख्न नहुने उनको सुझाव छ । 'कसैको नागरिकता भेटिएमा सामाजिक सञ्जालमा उसको सूचना सबै देखाएर राखिन्छ, त्यस्तो गर्न हुँदै हुँदैन । यस कुराको ज्ञान सरकारी निकायलाई नै छैन, सर्वसाधरणलाई त हुने कुरै भएन ।'
ध्यान दिनुपर्ने कुराहरू
