कुखुरा उत्पादनको राजधानी मानिने चितवनमा चौपायाको मासुमात्रै वार्षिक झन्डै १८ हजार मेट्रिक उत्पादन हुने गरेको छ । तर यति ठूलो मासुको किनबेच हुने जिल्लामा व्यवस्थित वधशाला भने छैन ।
What you should know
चितवन — कुखुरा उत्पादनको राजधानी मानिने चितवनमा चौपायाको मासुमात्रै वार्षिक झन्डै १८ हजार मेट्रिक उत्पादन हुने गरेको छ । यहाँको धेरै उत्पादन राजधानी काठमाडौंसहित बाहिरका जिल्ला जान्छ भने केही भित्रिने पनि गरेको छ ।
यति ठूलो मासुको किनबेच हुने जिल्लामा व्यवस्थित वधशाला भने छैन । महानगरभित्र अत्यावश्यक पूर्वाधारमा पर्ने वधशालाका लागि भरतपुरले अहिलेसम्म जग्गाकै टुंगो लगाउन सेकेको छैन । व्यवस्थित वधशालामा नभएर चौपायाको स्वास्थ्य जाँच बिनै पसलमा आफ्नै तरिकाले मासुका लागि वध गर्दै आएका छन् । त्यस्ता मासु पसलको नियमित अनुगमन पनि हुने गरेको छैन ।
पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था एनिमल नेपालले व्यवस्थित वधशालाका लागि महानगरपालिकाको पटक पटक ध्यानाकर्षण गराउने गरेको छ । तर महानगरले अहिलेसम्म वधशाला निर्माण कार्यान्वयनमा लैजान सकेको छैन । मासुका लागि पशु वध हुने स्थल खास गरेर राँगाभैंसी निकै अव्यवस्थित रूपमा खोला किनारमा खुला ठाउँमा काट्ने गरेको भेटिएको एनिमल नेपालका प्रतिनिधिहरूको भनाइ छ ।
‘त्यो देख्नेहरुले सायदै मासु खालान् । देख्दै बान्ता हुने गरेर राँगाभैंसी काट्ने गरेको भेटेपछि हामीले व्यवस्थित पशु वधशाला निर्माणका लागि महानगरको पटकपटक ध्यानाकर्षण गराएको हो,’ एनिमल नेपालका चितवन संयोजक रामचन्द्र आचार्यले भने ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको संयोजकत्वमा समिति बने पनि काम अगाडि बढेको छैन । महानगरले उपमेयर चित्रसेन अधिकारीको संयोजकत्वमा दुई वर्षअघि नै व्यवस्थित पशु वधशाला निर्माण समिति गठन भएको थियो । महानगरभित्र पशुवध हुने स्थल भद्रगोल अवस्थामा भेटिएको उपमेयर अधिकारी पनि स्वीकार गर्छन् । ‘पशु वधशालाको अवस्था कस्तो छ भनेर कुरै नगरौं, भद्रगोल छ । ४०/५० वर्षअघि जुन हालतमा पशु वध हुन्थ्यो अहिले पनि त्यहीँ अवस्था छ,’ उपमेयर अधिकारीले भने ।
वधशाला निर्माणका लागि महानगरले जग्गा नै नपाएको उनले बताए । ‘कम्तीमा पाँच/सात विघा जमिन आवश्यक पर्ने रहेछ । सहरको केन्द्रबाट धेरै पर राखेर पनि वधशाला नै नचल्ला । बजारको केन्द्रमा यति धेरै जमिन पाउन सकिएको छैन । हामी खोजिरहेका छौं,’ अधिकारीले भने । पर्यावरणको हिसाबले नदी र खोला आडमा राख्न पनि नमिल्ने उनले बताए ।
बस्तीमा पनि राख्दा विरोध आउने गरेको अधिकारीले सुनाए । ‘जमिन पाउन नै गाह्रो भएको छ । वधशाला बनाउने त भनेको हो तर यो निकै अफ्ठ्यारो काम रहेछ । हामी लागि रहेका छौं । आशा गरौं बन्ने छ,’ उपमेयर अधिकारीले भने । जमिन पाए बजेटको समस्या नरहेको उनले बताए । जमिन भेटिए महानगर या अपुग भए प्रदेश र संघीय बजेट पनि ल्याउने उनको भनाइ छ । महानगरमा मात्रै हैन चितवनमै वधशाला छैन ।
कुखुरा उत्पादनको प्रमुख क्षेत्र हो चितवन । माछा र राँगा, खसी बोका पनि प्रशस्त उत्पादन हुन्छ यहाँ । तर जिल्लामा व्यवस्थित वधशाला अहिलेसम्म छैन । पशु सेवा कार्यालय चितवन भरतपुरबाट प्राप्त विवरण अनुसार गत आर्थिक वर्षमा जिल्लामा कुखुरा र हाँसको मासु १३ हजार १ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । राँगाभैंसीको मासु २ हजार ८ सय ४८ टन, खसीबोका, भेडाको १ हजार ४ सउ ५ टन उत्पादन भएको थियो । सुँगुर, बंगुरको मासु १ सय ८५ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्यांक छ । त्यसैगरी ४ हजार ६ सय ७९ टन माछा उत्पादन हुने गरेको पनि कार्यालयले जानकारी दिएको छ ।
‘बजार अनुगमनका बेला मासु पसल पनि हेर्ने हो, माछा मासु बढी खपत हुने चाडपर्वका बेला नियमित अनुगमन हुन्छ,’ पशु सेवा कार्यलय चितवनका सूचना अधिकारी डा. सविना मिश्रले भनिन् । उत्पादन र खपतको अवस्था हेर्दा चितवनमा वधशाला आवश्यक रहेको उनले बताइन् ।
पशु वधशाला तथा मासु जाँच ऐन २०५५ ले मासु जाँच निरीक्षक तोक्ने र विभागले तोकेको यस्ता निरीक्षकले वध गर्ने पशुको स्वास्थ्य अवस्था र त्यसबाट उत्पादन हुने मासुको गुणस्तरसम्म हेरेर टाँचा हान्ने र त्यस्तो मासु मात्रै मासु पसलबाट उपभोक्ताका लागि बिक्री गर्न मिल्ने व्यवस्था गरेको छ । तर चितवनमा न वधशाला छ, न मासु जाँच निरीक्षक नै तोकिएका छन् ।
‘वधशालामा जुन पायो त्यहीँ पशु काट्न पाइँदैन । स्वस्थ्य पशु मात्रै प्रक्रिया पूरा गरेर वध गर्न पाइन्छ । सबैखाले पशु र मासु एकै ठाउँ राख्न पाइँदैन । चितवन जस्तो ठाउँमा व्यवस्थित वधशाला नहुनु बिडम्बना नै हो,’ एनिमल नेपालका संयोजक आचार्यले भने ।
