मुग्लिनमा २०२६ सालदेखि होटल व्यवसाय सुरु भएको हो । मुस्ताङबाट आएका थकालीले भात खुवाउन होटल खोलेका थिए । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक तयार भएसँगै पूर्वपश्चिमबाट काठमाडौं या पोखरा हिँडेका यात्रुले खाने ठाउँ मुग्लिन भयो । मुग्लिनले खाना खाने होटल भएको ठाउँका रूपमा देशभर ख्याति पाएको बजार हो । तर अहिले यहाँ पहिलेजस्तो रात्रिकालीन व्यवसायको रमझम छैन ।
What you should know
चितवन — सौराहामा आउँदो असोजमा सञ्चालनमा आउन लागेको पाँच तारे ‘होटल टुलिप’ले परिसरभित्र २४ सै घन्टा खुल्ने ‘माझीघर’ रेस्टुरेन्ट सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ ले असार अन्तिम सातादेखि क्षेत्रपुरमा हरेक शुक्रबार साँझ ७ देखि १० बजेसम्म सडक पेटीमा रात्रिकालीन बजार सञ्चालनमा ल्याएको छ ।
राजमार्ग क्षेत्रका खाना–खाजा पाइने होटल र नारायणगढ, भरतपुर, रत्ननगरका केही दोहोरी रेस्टुरेन्ट तथा डान्स क्लबले धानेको रात्रिकालीन व्यापारका यी दुई निर्णयले चितवनमा रात्रिकालीन बजारको सम्भावनालाई चर्चामा ल्याएको छ ।
साँझ नछिप्पिँदै बन्द हुने चितवनको बजार क्षेत्रका सटरबाहेक राजमार्ग किनारका होटल राति ११ बजेसम्म खुल्ने गर्छन् । ‘अरू होटल राति ११ बजेपछि बन्द गर्नुपर्ने नियम छ । दोहोरी रेस्टुरेन्ट १२ र डान्स क्लब १ बजे बन्द गर्ने तोकिएको छ,’ होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष यज्ञबहादुर कार्कीले भने । संघमा आबद्ध भए/नभएकोसमेत गरेर चितवनमा ९ सय हाराहारी होटल रहेको उनले जानकारी दिए । तीबाहेक २ सय होटल राजमार्ग क्षेत्रमा रहेको उनले सुनाए ।
राजमार्ग क्षेत्रमा पनि पहिला जस्तो रात्रिकालीन व्यवसायको रमझम छैन । ‘नारायणगढ–मुग्लिन सडकको रामनगरदेखि सिमलतालसम्म हाम्रो इकाइको क्षेत्र हो । जहाँ खाना, खाजा खुवाउने ४३ होटल छन् । पहिला रातिमा बसका यात्रुलाई खुवाउन अबेरसम्म खुला हुने होटल २५ जति थिए । अहिले २० वटा छन्,’ होटल व्यवसायी संघ रामनगर सिमलताल इकाइका संयोजक गणेश न्यौपानेले भने । खाना खुवाउने होटल राति २/३ बजेसम्म खुले पनि अरू होटल ११ नबज्दै बन्द हुन्छन् ।
साँझ ८ बज्दै गर्दा बारा जितपुरका रामभजन चना मुग्लिन बजारमा चटपट बेच्दै गरिरहेका थिए । गुप्ताले मुग्लिन आएर यो व्यवसाय गर्न थालेको १७ वर्ष भयो । दिउँसो २ बजेपछि व्यापार गरेको उनको अनुभव छ । मुग्लिनले खाना खाने होटल भएको ठाउँका रूपमा देशभर ख्याति पाएको बजार हो । अहिले यो संख्या घटेको छ । ‘मैले पनि गत वर्षदेखि गाडीका यात्रुलाई भात खुवाउन छाडेको छु । साना गाडी आए दुई/चार जनाले खान्छन् । नभए खाजा बेच्छु, राति ११ बजेपछि बन्द गर्छु,’ होटल संघ मुग्लिन इकाइ संयोजक मीनबहादुर श्रेष्ठले भने । यो इकाइमा मुग्लिनदेखि चितवन धादिङ सिमाना मौवा खोलासम्मका ९२ होटल आबद्ध छन् ।
यीमध्ये आधा जति होटलले बसका यात्रुलाई पनि खाना खुवाउने गरेको श्रेष्ठले बताए । ‘भात खुवाउने होटल राति २/३ बजेसम्म पनि खुल्छन् । त्यसले रातिसम्म फलफूल, चटपट, चिया पनि बिक्री हुन्छ । खाजा मात्रै खुवाउने होटल राति ११ बजेपछि बन्द भइसक्छन्,’ श्रेष्ठले भने । खाना खुवाउने होटलमा राति १० बजेपछि मात्रै चहलपहल सुरु हुने उनले बताए ।
मुग्लिनमा २०२६ सालदेखि होटल व्यवसाय सुरु भएको हो । मुस्ताङबाट आएका थकाली समुदायले भात खुवाउन होटल खोलेका थिए । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक तयार भएसँगै पूर्वपश्चिमबाट काठमाडौं या पोखरा हिँडेका यात्रुले खाने ठाउँ मुग्लिन भयो । ‘यहाँ मारवाडीको शाकाहारी होटलदेखि मुस्लिम, थकाली सबै समुदायका होटलमा रोजीरोजी खान पाइयो,’ श्रेष्ठले भने । मुग्लिनले यसकारण धेरैको मन जितेको उनले बताए । तर माओवादी सशस्त्र संघर्षका बेला राति कर्फ्यू लाग्न सुरु भएसँगै मुर्झाउँदै गएको मुग्लिनको व्यापार २०७६ चैतमा कोरोनाका कारण लकडाउन भएसँगै नराम्ररी थला परेको श्रेष्ठ बताउँछन् । ‘मुग्लिनमा ५० को दशकको जस्तो कारोबार र व्यापारिक चहलपहल अहिले छैन । तर रात्रिकालीन व्यापार कसरी गर्न सकिन्छ भन्ने सिकाइ यहाँबाट हुन सक्छ,’ उनले भने ।
रात परेपछि चहलपहल बढ्ने, देशदेशावरका मान्छेको जमघट हुने ठाउँमा पनि कहिल्यै कुनै नराम्रो ठूलो घटना तथा लफडा नभएको उनले सुनाए । ‘मुख्य कुरा प्रहरीको सक्रियता रहेछ । वरपर डुलिरहने प्रहरी बोलाए तुरुन्तै आउँछन् । यसबाहेक सबै व्यवसायीबीच राम्रो समन्वय पनि छ,’ उनले भने । एउटा होटल या पसलमा केही समस्या पर्दा समाधान गर्न अरू पनि जाने गरेका कारण मुग्लिनमा कुनै दुखद घटना नभएको उनले सुनाए ।
मुग्लिनको व्यवसाय प्रायः परिवार मिलेर सञ्चालन भएको हुँदा त्यसले व्यवसायीमा सेवासत्कारकै भावना रहेको उनले बताए । ‘यी कुरा रात्रिकालीन व्यवसाय सुरु गर्ने हो भने अन्यत्र पनि अनुकरण गर्न सकिन्छ,’ उनले भने, ‘चितवनमा अन्य क्षेत्रमा पनि रात्रिकालीन व्यवसायको सम्भावना धेरै छ ।’
वन्यजन्तु पर्यटनका लागि चितवन पहिलो गन्तव्य हो । राम्रो सडक सञ्जाल, देशको मध्य भाग, काठमाडौं–पोखरा जाने मुख्य बाटो भएका कारण यहाँ रात्रिकालीन व्यवसाय फस्टाउन सक्ने आधारहरू पर्याप्त रहेको पर्यटकीय होटलहरुको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहा (हान)का महासचिव महेश खनाल बताउँछन् । ‘जिल्ला प्रशासनले कार्यविधि बनाए त्यही अनुसार गर्न व्यवसायीहरू तयार छन्,’ उनले भने । बसपार्क क्षेत्रकै होटल अहिले ११ बजे बन्द गर्नुपरेकाले यात्रुलाई पनि समस्या भइरहेको चितवन होटल व्यवसायी संघका उपाध्यक्ष यज्ञबहादुर कार्कीले बताए । ‘देशभरका यात्रु आएर रोकिने ठाउँमा ११ बजेपछि कोही नारायणगढ या भरतपुर झरेर बस्न खोजे होटल पाउन सक्दैन,’ उनले भने ।
नारायणगढ, भरतपुर र रत्ननगर क्षेत्रमा गरेर चितवनमा ११ वटा दोहोरी रेस्टुरेन्ट छन् । नारायणगढ सहिद चोकस्थित संगम दोहरीका सञ्चालक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका पूर्वध्यक्ष आनन्द रञ्जितले व्यापार अहिले निकै सुस्ताएको बताए । चाँडै बन्द गर्नु पर्दा झनै गाह्रो हुने गरेको उनले बताए । ‘१०/११ बजेपछि मान्छे दोहोरी छिर्छन्, १२ बजे बन्द गर्नुपर्छ । समय बढे हाम्रो व्यापार पनि बढ्थ्यो,’ रञ्जितले भने । उनले नारायणगढ भरतपुर क्षेत्रका नौ वटा दोहोरी रेस्टुरेन्टहरुले कलाकारदेखि होटलका स्टाफसम्म गरेर करिब तीन सय जनालाई प्रत्यक्ष रोजगारी दिएको बताए । रोजगारी सिर्जना गरेको क्षेत्रलाई सरकारले बचाउन लाग्नुपर्ने र सुरक्षामा आफूहरूले पनि ध्यान दिने गरेको उनले बताए ।
नारायणगढ भरतपुर क्षेत्रमा दुई वटा क्लब छन् । ती दोहोरीभन्दा थप एक घन्टा बढी खुल्छन् । चितवन उद्योग संघका पूर्वउपाध्यक्ष युगराज वस्ती रात्रिबजार फस्टाए यो क्षेत्रमा कम्तीमा एक अर्ब वार्षिक राजश्व थप्न सकिने आधार आफूले दुई वर्षअघि नै दिएको बताउँछन् । ‘रात्रिबजार विभिन्न थिममा चलाउने गरिन्छ । पर्यटनलाई थिम बनाएर चितवनका विभिन्न ठाउँमा राति बजार चलाउन सकिने आधार छ,’ उनले भने । उनले नारायणी किनार रात्रिबजारको राम्रो क्षेत्र भएकाले यसको उपयोग गर्नुपर्ने सुझाए । ‘राति बजार चल्न सक्ने ठाउँ अन्यत्र पनि छन् । रात्रिबजार चलाउन सुरक्षा मुख्य कुरा हो । सामाजिक स्वीकृति पनि चाहियो । सबै कुरा ख्याल गरेर योजना बनाए रात्रिबजार चितवनमा राम्रो चल्छ,’ वस्तीले भने । चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली पनि चितवनमा मनोरञ्जन क्षेत्रलाई केन्द्रमा राखेर पर्यटन लक्षित रात्रिबजार चलाए यसले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने बताउँछन् ।
‘सुरक्षाको प्रत्याभूति भए व्यवसायी र पाहुना दुवै रात्रिबजारका लागि तयार देखिन्छन्,’ ओलीले भने । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आर्थिक गतिविधिका साथै रात्रिकालीन व्यापारका अन्य प्रभाव बुझेर यसमा जान सकिने बताए । ‘चितवनमा अहिले नै रात्रिकालीन बजारको माग भइसकेको देखिँदैन । क्यासिनो भएका सहरमा रात्रिबजार चलेका पनि छन् । चितवनमा त्यो छैन । फेरि अहिले चितवन जोड्ने सडक चुस्त दुरुस्त छैनन् । त्यसैले योबेला रात्रिकालीन बजारको ठूलो सम्भावना छ भन्ने लाग्दैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
रात्रिकालीन बजारमा व्यवसायी, कामदार र सेवाग्राही सबैको सुरक्षालाई केन्द्रमा राख्नुपर्ने उनले बताए । गर्मी इलाकामा रातमा जमघट हुने चलन भएकाले सडक पूर्वाधार सुधार गरेर योजना बनाउन सके यहाँ रात्रिबजारको सम्भावना राम्रो पनि बनाउन सकिने उनले बताए । ‘तर रात्रिकालीन बजारमा रमाउन प्राय आफ्नै गाडी लिएर आउने हुन्छन् । जिल्लाभित्रै र बाहिरबाट आउनलाई सडक सञ्जाल दुरुस्त हुनु पर्यो । त्यसैले योजना बनाएर लागे तत्कालै नभए पनि पछि सम्भावना देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
