कोल्टी जान ४२ किमिमा ६ गाडी फेरेर २ हजार भाडा, साइपालको गोरेटो डेढ महिनादेखि अवरुद्ध

बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको ४२ किलोमिटर पार गर्न ६ ठाउँमा गाडी फेर्नु पर्ने बाध्यता छ भने उक्त दूरी पार गर्न दुई हजार रुपैयाँसम्म भाडा लाग्ने गरेको छ । यस्तै, पहिरोका कारण पैदल बाटो बिग्रिँदा बझाङको विकट साइपाल गाउँपालिकामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प छ ।

भाद्र १०, २०८२

अर्जुन शाह, वसन्तप्रताप सिंह

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

What you should know

धनगढी, बझाङ — सुदूरपश्चिमका दुई विकट पहाडी जिल्ला बाजुरा र बझाङमा पहिरोले सडक र गोरेटो अवरुद्ध हुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । बाजुरामा चार वर्षअघि कालोपत्रे भइसक्नुपर्ने सडकको काम पूरा नहुँदा यात्रुले चर्को भाडासँगै ६ वटासम्म गाडी फेरेर यात्रा गर्नुपरेको छ । उता बझाङको विकट साइपाल गाउँपालिका जाने गोरेटो पहिरो अवरुद्ध हुँदा डेढ महिनायता सामान ढुवानी हुन नसकेर उपभोग्य वस्तुको अभाव भइरहेको छ । 

बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको ४२ किलोमिटर पार गर्न ६ ठाउँमा गाडी फेर्नु पर्ने बाध्यता छ । उक्त दूरी पार गर्न दुई हजारसम्म भाडा लाग्ने गरेको छ । यो खण्डमा दर्जनौं ठाउँ पहिरो खसेका कारण मार्तडीबाट हिँडेको गाडी सिधैं कोल्टी पुग्दैन । बाजुराको बुढीनन्दा नगरपालिका तथा स्वामिकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिकासहित कर्णालीका मुगु, हुम्ला र कालिकोटका १३ वटा स्थानीय तहका बासिन्दाको आवतजावत गर्ने यो मुख्य सडक हो । ठाउँ ठाउँमा सडक भत्केका कारण सदरमुकाम मार्तडीदेखि कोल्टी पुग्न ६ ठाउँमा गाडी फेर्नुपर्ने बाध्यता आएको हो । 

मार्तडीदेखि बाहुली खोलासम्म एउटा, बाहुलीदेखि अनाई खोलासम्म हिँडेर अनाई पार गरेपछि त्यहाँदेखि जिल्लीसम्म अर्को गाडी चढ्नु पर्छ । जिल्लीबाट तेस्रो गाडीमा रजातोली पुगिन्छ । रजातोलीको पहिरो पैदल छिचोलेपछि भासुपातलसम्मका लागि चौथो गाडीमा यात्रा गर्नुपर्ने हुन्छ । भासुपातलदेखि दानसाँघुसम्म पुग्न पाँचौ गाडी बदल्नु पर्छ । त्यहाँबाट झोलुंगे पुल पार गर्दै खोला पारिसम्म हिँडेर बड्डीगाडको पल्लो किनारसम्म पुगेपछि कोल्टी बजार पुग्न छैटौं गाडीको जोहो गर्नुपर्ने अवस्था छ । यसरी ४२ किलोमिटर कोल्टी पुग्न एक दिन पूरै लाग्ने गरेको स्थानीयले बताए । 

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

जिप व्यवसायीले अनाई खोलादेखि दानसाँघुसम्म पुग्न एक हजार भाडा लिने गरेका छन् । मार्तडी र दानसाँघुमा रहेका जिप काउन्टरहरुले टिकट काट्छन् । बीचमा बदलिने गाडीलाई उनीहरूले नै भाडा मिलाउने गरेका छन् । त्यसबाहेक मार्तडीदेखि बाहुलीसम्म गाडी चढ्नु परे पाँच सय र दानसाँघुबाट कोल्टीसम्म जिप चढ्नु परे थप पाँच सय लाग्ने गरेको स्थानीयले बताए । ‘हामीले अनाईदेखि दानसाँघुसम्मको एक हजार भाडा लिन्छौं,’ मार्तडीस्थित जिप काउन्टरका प्रतिनिधि मनोज बोहराले भने, ‘मार्तडीदेखि बाहुलीसम्म र उता दानसाँघुदेखि कोल्टी बजारसम्म गाडी चढ्नु परे सम्बन्धित गाडीले बेग्लै भाडा लिन्छन् ।’ 

दसैं–तिहारलगायतका प्रमुख चाड नजिकिँदा यो सडकमा यात्रुको संख्या बढेको छ । तर सडकको अवस्थाले यात्रुले सास्ती व्यहोरिरहेका छन् । मानव विकास सूचकांकमा ७७ औं नम्बरमा रहेको बाजुरामा मार्तडी–कोल्टी सडक खण्डको बेहाल अवस्थाले यात्रुले सधैं दुख पाइरहेको बोहरा बताउँछन् । समयमा काम भइदिएको भए यो सडक २०७८ बाटै यात्रुले सहज रुपमा आउजाउ गर्न पाउने थिए । निर्माण कम्पनीले समयमा काम नगर्दा सडकको यो अवस्था आएको हो । 

मार्तडी–पिलुचौर खण्ड अन्तर्गत चुथीदेखि ढम्कनेसम्म ५ किलोमिटर बानियाँ–कुशेश्वर जेभीले र ढम्कनेदेखि २६ किलोमिटर कोल्टी किनार दानसाँघुसम्म पिएस–बानियाँ–कुशेश्वर जेभीले सडक कालोपत्रको ठेक्का लिएको छ । चुथीदेखि ढम्कनेसम्म ५ किलोमिटर कालोपत्रे गर्न ०७८ असार १७ सम्पन्न गरिसक्ने सर्तमा बानियाँ–कुशेश्वर जेभीले ०७६ कात्तिक ९ गते सम्झौता गरेको थियो । चार पटक म्याद थप गर्दा पनि काम पूरा गरेको छैन । पछिल्लो पटक ०८३ बैशाख ३० सम्मका लागि ठेक्का म्याद थप भएको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । यो खण्ड १२ करोड ११ लाख ७८ हजार ४९७ मा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय अछामका इन्जिनियर देवी उपाध्यायले बताए । 

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

मार्तडीदेखि १४ किलोमिटर दूरीमा पर्ने ढम्कनेदेखि ४० किलोमिटरमा पर्ने कोल्टी किनारको दानसाँघुसम्मको २६ किलोमिटर सडकको ठेक्का पनि पीएस–बाँनिया जेभीले लिएको छ । ०७७ असार २९ गते ठेक्का सम्झौता गरेका कम्पनीले ०८० असार १६ भित्र सम्पन्न गर्ने सर्त थियो । ५० करोड १६ लाख ९५ हजार ४५६ मा ठेक्का सम्झौतामा तेस्रो पटक ०८४ असार २० सम्मका लागि ठेक्का म्याद थपिएको कार्यालयले जनाएको छ । यो कम्पनीका सञ्चालक हाल बागमती प्रदेशका मुख्यमन्त्री रहेका इन्द्रबहादुर बानियाँ सञ्चालक थिए । तीन वर्षदेखि उक्त निर्माण कम्पनीको सञ्चालक आफू भएको ऋषिराज बानियाँले दाबी गरे । ऋषिराजले निर्माणस्थलसम्म जाने बाटोको समस्या, कोरोनाकाललागयत कारणले म्याद थप गर्नुपरेको बताए । निर्माणस्थलसम्म पुग्ने सडक र पुल नभएका कारण सुरुवातमा काम गर्न असहज भएको उनले बताए । ‘अहिले बर्खाले डिजेल लैजानै समस्या भएको छ । मेसिन र प्राविधिक निर्माणस्थलमै छन्, थपिएको म्यादमा काम सक्ने गरी तयारी गरेका छौं,’ उनले भने । 

०७६/०७७ सालदेखि सुरु भएको मार्तडी–कोल्टी–पिलुचौर सडक सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजना हो । पूर्वाधार विकास कार्यालय अछामका कर्मचारीहरूले भने दर्जनौं पटक पत्राचार गर्दा पनि ठेकेदार कम्पनीले सुनुवाइ नगरेको बताउँदै आएका छन् । ‘दर्जनौं पटक पत्र काटिसक्यौं, टेर्दैनन्,’ इन्जिनियर उपाध्यायले भने, ‘माथिबाटै म्याद थपिने गरेको छ ।’ 

मार्तडीदेखिको पहिलो प्याकेज ९ किलोमिटरमा पर्ने चुथीसम्मको निर्माण कार्य भने ०८१ असार १ मै सम्पन्न भइसकेको छ । २० करोड ६१ लाख ४६ हजार २४० रकममा धुलिखेल, गल्वा र श्याम एन्ड शंकर जेभी निर्माण कम्पनीले ०७६ कात्तिक ५ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीको इच्छाशक्ति भए निर्धारित समयमै काम गर्न उक्त कम्पनीले साबित गरिदिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहरा बताउँछन् ।

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

‘हामीले त पैसा भए पनि गाडी चढ्न नपाउने अवस्था भयो । नगरपालिकाले यति धेरै खर्च गरेर सडक सुधार गर्न सक्ने अवस्था हुन्न,’ नगरप्रमुख बोहरा भन्छन्, ‘यो त चरम लापरबाही हो । ठेकेदारले चाहे काम सकिने रहेछ भन्ने अर्को ठेक्काले देखाएकै छ ।’ सानोतिनो पहिरो नगरपालिकाले पन्छाएर यातायात सञ्चालनको प्रयास गर्दै आएको मार्तडीस्थित बडिमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का बताउँछन् । सडक अवरुद्ध हुँदा बाजुराको पूर्वोत्तर क्षेत्र र कार्णालीको हुम्ला, मुगु र कालिकोटका बासिन्दालाई सास्ती छ । बिरामीहरूलाई उपचारका लागि सदरमुकाम ल्याउनु परे एम्बुलेन्स सञ्चालन हुने अवस्था छैन । दसैंअघि सडक मर्मत गरेर यातायात सञ्चालन गराउने प्रयास गरिने पूर्वाधार विकास कार्यालय अछामका इन्जिनियर उपाध्याय बताउँछन् । 

गोरेटोमा पहिरैपहिरो, डेढ महिनादेखि साइपालमा खाद्यान्न ढुवानी ठप्प 

पहिरोका कारण पैदल बाटो बिग्रिँदा बझाङको विकट साइपाल गाउँपालिकामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । वर्षात सुरु भएयता दर्जनौं ठाउँमा बाटो भत्किएका कारण करिब डेढ महिनादेखि खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । 

मान्छे, खच्चर र भेडाच्यांग्राबाट ढुवानी गरिने यो ठाउँ पुग्ने पैदल बाटो पहिरोले ठाउँठाउँमा अवरुद्ध भएपछि सामान ढुवानी हुन नसकेको हो । ‘खच्चर त के मान्छे हिँड्न पनि जोखिम छ । माथिबाट पहिरो र ढुंगा खस्ने डरैडरमा हिँड्नु परेको छ,’ साइपाल–२ धलौनका वसन्त बोहराले भने, ‘गाउँमा चामल, साबुन, तेल जस्ता सामानको पनि अभाव भएको छ ।’ तलकोट गाउँपालिकाको आँगरदेखि साइपालको सम्देउसम्म ६ घन्टामा हिँडेर पुगिने बाटो ठाउँठाउँमा बिग्रेका कारण १० घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘हामीसँग ६ किलोजति मात्रै चामल बचेको छ, तीन जनालाई कति दिन पुग्छ थाहा छैन,’ साइपाल गाउँपालिकामा रहेको एभरेष्ट बैंकका कर्मचारी हरिश अवस्थीले भने, ‘गाउँमा कतै चामल पाइन्छ कि भनेर खोजिरहेका छौं । अहिलेसम्म भेटेका छैनौं ।’ उनले साइपालका अधिकांश घरमा चामल सकिएकोले पैँचो पाउनसमेत गाह्रो भइरहेको बताए । 

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

तलकोट गाउँपालिकाको लिस्नीगाड, आँगर, जाडलेक, र साइपालको गनई, सम्देउलगायतका ठाउँमा पहिरोका कारण बाटो ठूल्ठूला ढुंगा खसेका छन् । कतिपय ठाउँमा पहिरो हिँड्ने बाटोको नामोनिसान नै मेटाएको छ । ‘मान्छे नै हिँड्न नमिल्ने भएपछि हामी गाउँले मिलेर गनईदेखि सम्देउसम्मको बाटो अलिअलि मर्मत गरेर हिँड्न मिल्ने बनाएका छौं,’ साइपाल गाउँपालिका प्रवक्ता वडा–१ का अध्यक्ष नरेन्द्र धामीले भने, ‘ठूला ढुंगा खसेको ठाउँमा मान्छेले हटाउन सकिने अवस्था छैन । मेसिन नभई बाटो मर्मत सम्भव छैन ।’

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

पाँच वटा वडा रहेको साइपालको प्रवेशबिन्दुमा रहेको गाउँ धलौनदेखि जिल्लाकै उत्तरी क्षेत्रको अन्तिम मानव बस्तीसम्म पुग्न थप दुईदेखि तीन दिन हिँड्नु पर्छ । नजिकका गाउँका स्थानीयले जोखिम उठाएरै भए पनि एक दिनको पैदल दूरीमा पर्ने तलकोटको कुवाबाट थोरै थोरै परिमाणमा चामललगायत दैनिक उपभोग्य सामग्री पिठ्युमा बोकेर ल्याउने गरेको भए पनि उत्तरी गाउँहरुमा यो सम्भव नभएकाले झन् समस्या भएको धुलीका किन्थ्या रोकायाले बताए । ‘अहिले नै सबै कुराको अभाव भइसक्यो । धेरैको घरमा अक्षता बनाउन पनि चामल छैन,’ उनले भने, ‘पानी धेरै पर्ने भदौ महिना सिंगै बाँकी छ । बाटो खुलेन भने त हामी भोकै हुने डर छ ।’

गत वर्षबाट साइपाल गाउँपालिकाको सीमा क्षेत्र जाडलेकबाट सडक कटान सुरु भए पनि मान्छे नै हिँड्न गाह्रो हुने गरी पहिरो जान थालेको हो । भिरालो जमिनमा डोजरले सडक खन्दा मान्छे, खच्चर र भेडाच्यांग्रा हिँड्ने गोरेटो पहिरोले बगाउन थालेको हो । 

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

बाटो माथिबाट पहिरो लाग्दा बाटो हिँड्ने मान्छेलाई पनि जोखिम बढेको साइपाल गाउँपालिका पूर्वअध्यक्ष राजेन्द्र धामीले बताए । ‘हाम्रा पुर्खाले पुस्तौंदेखि हिँडेको बाटो हो । यस्तो पहिला कहिले भएको थिएन,’ उनले भने, ‘कति ठाउँमा सडक काट्दा थुपारेको ढुंगा माटोले पहिरो गएको छ । धेरै ठाउँमा सडक माथिबाट आएको पहिरोले बाटो हिँड्नै नमिल्ने भएको छ । बर्खाभरि बाटो बन्द भए पालिकाभरि नै भोकमरी हुन सक्छ ।’ सडक निर्माणका क्रममा स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को बेवास्ता गरी अन्तै सडक काटिएका कारण पनि पहिरोको संख्या बढेको उनको आरोप छ । 

2,000 fare by changing 6 cars in 42 km to go to Kolti, Saipal's goreto has been blocked for one and a half months

गत असारमा नेपाल सरकारले खाद्य व्यवस्था कम्पनीमार्फत ढुवानी अनुदानमा दिने चामलको अन्तिम लट साइपाल पुगेको र त्यसपछि चामल ढुवानी हुन नसकेको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए । ‘दसैं पनि नजिकियो, बाटो बिग्रेका कारण चामल ढुवानी नभएको पनि धेरै भएकोले अभाव देखिएको छ,’ उनले भने, ‘छिटोभन्दा छिटो खच्चर हिँड्न मिल्ने गरी बिग्रेको ठाउँमा बाटो बनाउने काम सुरु भइसकेको छ । केही दिनभित्रै यो समस्या समाधान हुन्छ ।’ उनले पालिकाले बाटो मर्मतको काममा वडा कार्यालयसँग समन्वय गरेर तीन/चार वटा टोली परिचालन गरेकोले छिट्टै समस्या समाधान हुने बताए । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully