काठ तस्करीका गाडी झाडीमा

मधेश प्रदेश वन कार्यालयहरूमा समयमा लिलाम व्यवस्थापन नहुँदा बरामद गाडी खुला आकाशमुनि रहेका काठसँगै कुहिन थालेका छन् । राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा काठ तस्करी गर्न लाग्दा बरामद गरिएका गाडी अदालतबाट मुद्दाको किनारा नहुँदा कबाड बन्ने र कुहिने डिभिजन वन कार्यालयहरूको भनाई छ ।

भाद्र ९, २०८२

शिव पुरी

Timber smuggling vehicles in the bush

What you should know

रौतहट — डिभिजन वन कार्यालय रौतहटको परिसरमा काठसँगै सयौँ सवारीसाधन झाडीभित्र हराउन थालेका छन् । काठ तस्करीमा प्रयोग भएका यी गाडी झन्डै डेढ दशकदेखि अलपत्र परेका हुन् । डिभिजन र सेक्टर वन कार्यालय गरी रौतहटमा मात्रै अवैध रूपमा काठ ओसारपसार गर्दा बरामद भएका स्कारपियो, टोयटा जिपदेखि ट्रक, बस, मोटरसाइकलसम्म झन्डै ३ सय ३० सवारीसाधन झाडीमा थुप्रिएका छन् । 

मधेश प्रदेशका आठवटै जिल्लाका वन कार्यालयहरूमा काठ तस्करीमा बरामद भएका सवारीसाधनको अवस्था यस्तै छ । समयमा लिलाम व्यवस्थापन नहुँदा बरामद गाडी खुला आकाशमुनि रहेका काठसँगै कुहिन थालेका छन् । राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा काठ तस्कर गर्न लाग्दा बरामद गरिएका गाडी अदालतबाट मुद्दाको किनारा नहुँदा कुहिन लागेको डिभिजन वन कार्यालयहरूको भनाई छ । अधिकांश गाडीका ब्याट्रीलगायत महत्त्वपूर्ण पार्टपुर्जा गायब भइसकेका छन् । 

विभिन्न समयमा काठ तस्कारीमा प्रयोग गरिएका सवारीसाधन कुहिएर कामै नलाग्ने अवस्थामा पुगेका छन् । डिभिजन वन कार्यालय र मातहतका सेक्टर कार्यालयमा त्यस्ता साधन सडेर कामै नलाग्ने भएका छन् । डिभिजन वन कार्यालय रौतहटको सशस्त्र वनरक्षक कार्यालय परिसरमा ४ वटा ट्रक, महँगा जिप, ट्र्याक्टर कुहिएर कामै नलाग्ने जस्तो भएका छन् । डेढ दशकदेखि थन्किएका यी गाडी झाडीमा पुरिन लागेका छन् । त्यस्तै, वन प्रमुखको निवास अगाडि पनि स्कारपियो, सफारी जिप र ट्र्याक्टर, टाटामोबाइललगायत गाडी सड्न थालेका छन् । 

रौतहट डिभिजन वन प्रमुख हेमन्त साहले कुहिन लागेका गाडीको हकमा अहिलेसम्म लिलाम गर्ने कुनै प्रक्रिया अघि नबढेको बताए । ‘हामीले लिलामको लागि कुनै प्रक्रिया अघि बढाएका छैनौं,’ उनले भने, ‘के कसो गर्ने छलफलमै छौं ।’ रौतहट जिल्ला अदालत गौरका स्रेस्तेदार उपसचिव केशरनाथ अर्यालले भर्खर सरुवा भएर आएकाले वन कार्यालयमा काठचोरी तस्करीका बरामद गरेका गाडी लिलाम प्रक्रियाबारे बुझिरहेको बताए । उनले भने, ‘फिर्ता गर्नु, नपर्ने भए कसरी प्रक्रिया बढाउने भन्ने प्रमुखहरूले निकास निकाल्नु पर्छ ।’ केही मुद्दा जिल्लाबाट उच्च हुँदै सर्वोच्चसम्म पुगेकाले फैसला हुन समय लागेको हुन सक्ने उनले जनाए । Timber smuggling vehicles in the bush

काठसहित पक्राउ परेका केही व्यक्ति भने धरौटीमा रिहा भएका छन् । बेवारिसेको हकमा गाडीको दाबी गर्न अहिलेसम्म कोही नआएको वन कार्यालयहरूको भनाइ छ । डिभिजन वन रौतहटका अनुसार विभिन्न स्थानबाट अवैध काठसहित ४ वटा ट्रक, २१ वटा स्कारपियो, सफारी जिप, टोयटा गाडी, टाटमोबाइल जिप, ट्र्याक्टर ८ वटा बरामद भएका छन् । अवैध काठ लोड गरेको अवस्थामा एउटा बससमेत बरामद गरेको छ । काठ लोड भएका ३१ मोटरसाइकल र ३ ई–रिक्सा बरामद गरेको वन कार्यालयका जम्दार रामपुकार साहले बताए । बरामद भएका अधिकांश साधन खुला स्थानमा राखिएका कारण कुहिँदै गएको वनकर्मचारीहरु बताउँछन् । २०६४ सालमा धन्सार क्षेत्रबाट बरामद भएका ४ वटा ट्रक कुहिएर कामै नलाग्ने भएको छ । वनले सवारीसाधन बरामद भएपछि धनी पत्ता लगाउन यातायात कार्यालय वीरगन्जमा पत्राचार गरेको थियो । तस्करले ३ वटासम्म नम्बर प्लेट राखेर सवारी प्रयोग गरेकाले धनी पत्ता लगाउन कठिन परेको कर्मचारीको भनाई छ । इन्जिन, चेचिस नम्बर र यातायातको अभिलेखमा भएको नम्बर फरक परेपछि समस्या भएको वन कार्यालयले जनायो । 

केही घटनामा तस्करले गाडीको नक्कली नम्बर राखेर सवारीसाधन चलाउँदा सवारीधनी पत्ता लगाउन वन कार्यालयलाई समस्या पर्ने गरेको छ । बरामद भएका धेरैजसो गाडीको महत्त्वपूर्ण पार्टपुर्जा निकालिएको अवस्थामा छ । ब्याट्री त्यतिबेलै कर्मचारीले निवासमा इन्भर्टरमा प्रयोग गरेको वन कार्यालयकै एक कर्मचारीले बताए । गाडीको बाहिरी भाग खिया लागेर कुहिन लागेको छ ।  

डिभिजन वन धनुषाले चोरी तस्करीमा प्रयोग भएका सवारीसाधन लिलाम प्रक्रिया अघि बढाएको जनाएको छ । लामो समयसम्म राख्दा कबाड बन्ने र कुहिने भन्दै समयमा अदालतबाट निकासा आदेश लिएर लिलाम गर्न लागेको डिभिजन वन प्रमुख विनोद सिंहले बताए । ‘हामी कहाँ जेजति सवारीसाधन काठ चोरीमा प्रयोग भएको बेला बरामद गरेका छौं ती सबै लिलामको प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘चाँडै सूचना प्रकाशित हुन्छ र लिलाम गरेर राजस्व संकलन गर्छौँ ।’ धनुषा वन कार्यालयले काठ तस्करी गर्न लागेको अवस्थामा बरामद गरेको मोटरसाइकल, ट्र्याक्टर र पिकअप जिप गरी १३ वटा सवारीसाधन लिलाम गर्न लागेको हो । लिलामका लागि वन कार्यालयले बरामद गरेको सवारीसाधनको प्राविधिक मूल्यांकन पछि मात्र प्रक्रिया अघि बढ्छ । 

बारामा ७ वर्षअघि तत्कालीन डिभिजन वन प्रमुख शिवशंकर ठाकुरको कार्यकालमा केही सवारी साधन लिलाम गरेको थियो । तर लिलाम स्वीकृत गर्ने बेला सकार गर्नेसित ४० हजार घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लियो । त्यसपछि उक्त लिलाम प्रक्रिया बीचैमा रोकियो । बारामा काठ तस्करीमा प्रयोग भएका टाटा पिकअप, ट्रक, ट्र्याक्टर, मोटरसाइकल, टेम्पो, स्कुटर गरी ४६ वटा सवारीसाधन कबाड बन्दै गएका छन् । डिभिजन वन कार्यालय पर्साले विभिन्न स्थानमा काठ तस्करीमा प्रयोग भएका पिकअप जिप, ट्र्याक्टर, मोटरसाइकल गरी ६३ वटा बरामद गरेको जनाएको छ । ती सबै लिलाम हुन सकेको छैन । 

Timber smuggling vehicles in the bush

कार्यालयलाईसमेत कुरूप बनाउने गरी वर्षौँदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं मूल्य पर्ने सवारीसाधन सरकारी कार्यालयको आँगनमै कुहिँदै गइरहेका छन् । सामुदायिक र सरकारी वनबाट तस्करी भइरहेका बेला नियन्त्रणमा लिइएका सवारी राखेकै ठाउँमा नष्ट भइरहेका छन् । यसले सरकारको करौडौं राजस्व गुमेको भन्दै सरोकारवालाले चर्को आलोचना गर्दै आएका छन् । वन तस्करी नियन्त्रण गर्न खटेको वन र प्रहरीको टोलीले काठ र सवारीसाधन नियन्त्रणमा लिने गर्छन् । तस्करीमा संलग्न व्यक्ति केही मात्रको पहिचान खुल्छ । कतिपय नियन्त्रणमा पनि पर्छन् । तस्करीको काठ र प्रयोग भएका सवारीसाधन व्यवस्थापन गर्ने स्पष्ट आधार नहुँदा मधेश प्रदेशमा ठूलो संख्यामा सवारीसाधन वन कार्यालय परिसरमा सड्दै गएका छन् । 

डिभिजन वन कार्यालय सर्लाहीले काठ तस्करीमा बरामद गरेका ट्रक, पिकअप जिप, म्याजिक भ्यान, मोटरसाइकल, ई–रिक्सा गरी ४९ वटा सवारीसाधन बरामद गरेको जनाएको छ । ती सवारीसाधन लिलाम हुन सकेको छैन । 

डिभिजन वनमा धेरै पुराना कति सवारीसाधन यसरी थुप्रिएका छन् भन्ने तथ्यांक छैन । कतिपय काठ र सवारीसाधन कुन समयदेखि, कुन मुद्दाका हुन् भन्ने रेकर्ड पाउन नसकिएको वनकै कर्मचारीहरू बताउँछन् । धेरैजसो मुद्दाको काठ र सवारीको हकमा समयमा मुद्दा किनारा लाग्न नसके पछि समस्या भएको वन कर्मचारी बताउँछन् । यसले महँगा गाडी सडेर कामै नलाग्ने हुन थालेको छ । 

सिराहा डिभिजन वनका अनुसार विभिन्न स्थानमा काठ चोरीतस्करीमा प्रयोग भएका पिकअप जिप, ट्र्याक्टर, टिपर, मोटरसाइकल, एक्स्काभेटर गरी २१ वटा सवारीसाधन बरामद गरिएको छ । ती सबै लिलाम हुन सकेका छैनन् । समयमा लिलाम गर्दा महँगो मूल्य पर्ने एक्स्काभेटरबाट सरकारलाई करौडौं राजस्व आउँछ । 

डिभिजन वन कार्यालय महोत्तरीसित पुराना गाडीहरूको तथ्यांक छैन । आर्थिक वर्ष २०८१/०८२ मा काठ तस्करीमा बरामद भएका ट्र्याक्टर एक, मोटरसाइकल दुई थान मात्र उपलब्ध गराएको छ । धेरै पुराना सवारीको हकमा तथ्यांक उपलब्ध गराउन नसक्ने कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय सप्तरीले विभिन्न मितिमा काठ तस्करीमा प्रयोग भएका १० वटा ट्रक बरामद गरेको छ । ती ट्रक ७ वर्षअघि बरामद गरेको हो । कार्यालयका अनुसार मिनी टक्र एक, मोटरसाइकल एक, ट्र्याक्टर एक गरी १३ वटा सवारीसाधन वन कार्यालयमा थन्किएका छन् । केही सवारीसाधन लिलाम बिक्री गरेको जनाए पनि के कति लिलाम भयो भन्ने तथ्यांक कार्यालयसित छैन । 

अहिले मधेश प्रदेशकै वन र सेक्टर वन कार्यालयमा सड्न लागेको सवारीसाधन र काठ थुप्रिएको छ । चोरीका काठ ओसार्न प्रयोग भएका ट्रक, जिप, बस, ट्र्याक्टर, स्कारपियो, एक्स्काभेटर, साइकल लगायत सयौँ सवारीसाधन नष्ट हुने क्रममा छन् । गाडीसहित काठ नियन्त्रणमा लिएपछि वनले मुद्दा प्रक्रियामा लैजान्छ । फैसला नहुन्जेल बरामद सामान वन कार्यालयकै नियन्त्रणमा रहन्छ । सवारीको हकमा पहिचान खुलाउन यातायात कार्यालयमा पत्राचार गर्छ । त्यसपछि अदालतमा मुद्दा लग्छन् । 

Timber smuggling vehicles in the bush

वन कार्यालयका अनुसार कतिपय सवारीको धनी थाहा भए पनि तस्करीमा गाडी मालिकको संलग्नता देखिँदैन । तस्करीको काठ ओसार्न प्रयोग भएका सवारी चालकले दुरुपयोग गर्ने गरेको पाइएको छ । भाडाका ट्रक र जिपहरू यस्तोमा संलग्न पाइएको वन कर्मचारीले बताए । 

काठ तस्करीमा प्रयोग भएका सवारी लिलामी प्रक्रियामा जाने कानुनी बाटो नभएको होइन । कसुरजन्य सम्पत्ति लिलाम बिक्री सम्बन्धी कानुनले यस्ता सामग्री किनारा लगाउने बाटो खोलेको छ । कानुन कसले प्रयोग गर्ने भन्नेमा मुख्यगरी जिल्ला प्रशासन र डिभिजन वनको समन्वय हुन नसकेको एक वन कर्मचारीले सुनाए । अदालतको बाटो कुर्दा गाडी कुहिएर कामै नलाग्ने हुँदै गएको भनेर चाँडो लिलाम प्रक्रिया अघि बढाउन प्रदेश वन मन्त्रालयले समेत चासो देखाएको छ ।  

प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले मधेशका आठ वटै जिल्लाका डिभिजन वन प्रमुखलाई अदालतबाट निकासा लिएर काठ तस्करीमा प्रयोग भएका बरामद गाडी लिलाम प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । ‘कतिपय गाडीहरू बेवारिसे अवस्थामा पनि फेला परेको छ । तर जे भएपनि अदालतबाट लिलाम प्रक्रियाको लागि निकासा आदेश लिएर पछि ठहर्ने गरी लिलाम गर्न सके सरकारलाई कराडौं राजस्व उठ्थ्यो,’ उनले भने, ‘मैले सबै जिल्लाबाट गाडीको अवस्था र तथ्यांक मागेको छु । चाँडै लिलाम प्रक्रिया अघि बढाउँछन् होला ।’   

मधेश प्रदेशका वन कार्यालयहरुमा काठ तस्करीमा बरामद सवारीसाधनको संख्या : 

ट्रक, मिनि ट्रक, बस, टिपर : १७ 

जिप, भ्यान : ५२

ट्र्याक्टर: ७६

एक्स्काभेटर : २

साइकल : ५६१

मोटरसाइकल, अटो : ११९

कुल : ८२७ 

                                                     स्रोत : डिभिजन वन कार्यालयहरु

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully