मधेशमा काठ तस्करी : शंका हुन नदिन महँगा गाडीको प्रयोग

मधेश प्रदेशमा स्कारपियो, टाटा सुमो लगायतका सवारीसाधन प्रयोग गरी अवैध काठ तस्करी बढ्दै गएको छ । नक्कली नम्बर प्लेट राखेर तस्करी गर्न थालिएपछि वन कार्यालयलाई नियन्त्रणमा कठिनाइ भएको हो ।

भाद्र १, २०८२

शिव पुरी

Timber smuggling in Madhesh: Use of expensive vehicles to avoid suspicion

What you should know

रौतहट — रौतहटको राष्ट्रिय वन क्षेत्रबाट गाडीमा काठ ल्याउँदै गरेको सूचनाका आधारमा वन कार्यालयको गस्तीले साउन १५ गते राति कटहरिया नगरपालिका–१ भसेडवा गाउँमा स्कारपियो रोकेर जाँच गर्‍यो । गाडी रोक्नासाथ चालक फरार भए । वन कार्यालयको टोलीलाई झनै शंका बढ्यो । स्कारपियोमा काठ लोड छ भन्ने वनले रत्तीभर शंका गरेको थिएन । तर भित्र गाडीको सिट हटाएर राखेको सालको गोलिया फेला पर्‍यो ।

वन अधिकृत विनोद जेठारको नेतृत्वको टोलीले राति भसेडवा गाउँमा एम एच ०४ डी बी ६३५३ नम्बरको स्कारपियोभित्र ४ थान काँचो सालको गोलिया फेला पारेको हो । स्कारपियोमा गोलिया देखेपछि वनको टोली आश्चर्यमा पर्‍यो । स्कोरपियोमा काठ तस्करी हुन्छ भन्ने वनले शंका गरेको थिएन ।

मधेशमा शानदार पहिचानको रूपमा चिनिने स्कोरपियो गाडी प्रायःले शोखको लागि खरिद गर्छन् । तर पछिल्लो समय यस्ता सवारीमा काठ तस्करी हुँदै आएको वनको ठम्याइ छ । डिभिजन वन प्रमुख हेमन्तकुमार साहले स्कोर्पियोमा काठ तस्कर हुन थालेको देख्दा अचम्म लागेको सुनाए । ‘पहिला टायर गाडा टेक्टर, साइकल वा ट्रकमा काठ तस्करी हुन्थ्यो,’ उनले भने,‘अहिले स्कारपियो, टाटासुमो, टाटा मोबाइल जस्ता सवारीमा काठ तस्करी हुन थालेको छ ।’

मालवाहक ट्रकमा काठ तस्करी गर्दा थाहा पाएर धमाधम पक्राउ पर्न थाले पछि अहिले मानिस चढ्ने जिपमा यस्ता धन्दा हुन थालेको प्रमुख साहले सुनाए । भषेडवामा स्कारपियोमा काठ बरामद गरेको दुई दिनपछि चन्द्रपुर नगरपालिका–६ बेलडीस्थित कटानी जाने बाटोमा इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले स्कोरपियोमा अवैध रूपमा सालको गोलिया लगिरहेको अवस्थामा फेला पारेको थियो । एचआर १४ सी ८६९७ नम्बरको भारतीय स्कारपियोलाई शंका लागेर जाँच गर्दा ५ थान अवैध सालको गोलिया फेला पारेको हो ।

Timber smuggling in Madhesh: Use of expensive vehicles to avoid suspicion

जिप रोक्नासाथ चालक फरार भए । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले एक महिनाअघि सालको अवैध काठसहितको पिकअप भ्यान बरामद गर्‍यो । धन्सार पोस्टका रेन्जर विकास लामिछानेको नेतृत्वको टोलीले राति महेन्द्र राजमार्गस्थित धन्सार पुलदेखि २ किलोमिटर पूर्व लच्कामा साढे ८५ क्यूफिट अवैध सालको काठ लोड भएको ना २ च ९३१९ नम्बरको बोलेरो पिकअप बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल जंगलसहियाको गस्ती टोलीले साउन ५ गते गुजरा नगरपालिका–४ लालबकैया खोलाको बाटो भएर जाँदै गरेको एचपी ३१ सीओ ७७३ नम्बरको भारतीय टाटा सफारी जिपभित्र जंगलबाट अवैध रूपमा राखिएको २० क्यूफिट सालको गोलियासहित नियन्त्रणमा लियो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ काठ तस्कर गाडी छाडेर भाग्न सफल भयो । सफारी गाडी मधेशमा हुने खानेले चढ्ने गर्छ । गाडीभित्र काठ हुनसक्ने सशस्त्रलाई कुनै शंका गरेको थिएन । वनले सवारीधनी पत्ता लगाउने प्रयास गरे पनि सकेन । भारतीय सवारी भएकाले यसको धनी पहिचान हुन नसकेको वन कार्यालयले जनायो ।

Timber smuggling in Madhesh: Use of expensive vehicles to avoid suspicion

मधेश प्रदेशको डिभिजन वन र सशस्त्र वनरक्षक कार्यालयहरुमा यतिखेर काठ तस्करमा प्रयोग भएका जिपहरू लाइन लगाएर राखिएको पाइएको छ । मानिसहरूले सोखका लागि खरिद गरेर चढ्ने स्कारपियो, टाटा सुमो र सामान बोक्ने टाटा मोबाइल जस्ता सवारी साधन पछिल्लो समय महँगो जातको काँचो सालको गोलिया लोड गरेर तस्करीमा प्रयोग गराइरहेका छन् । यसरी तस्करीमा प्रयोग हुने धेरैजसो स्कारपियो भारतीय नम्बर प्लेटको भएको पाइएको छ । त्यस्ता सवारीसाधन बरामद गर्न सवारीधनीको पहिचान गर्न समस्या भएको वन अधिकृतहरू बताउँछन् । नेपाली नम्बर प्लेटको हकमा यातायात कार्यालयमा जानकारी दिए पनि नक्कली प्लेट प्रयोग गर्ने हुँदा सवारीधनीको पहिचान खुल्न नसकेको वन कार्यालयले जनायो । यही कारण पनि मुख्य तस्करसम्म पुग्न नसकेको एक वन अधिकृतले सुनाए ।

भारतबाट सस्तो मूल्यमा खरिद गरी ल्याइएका जिपहरू धमाधम तस्करीमा प्रयोग हुन थालेको पाइएको छ । यस्ता जिप रातिको समयमा काठ तस्करीमा बढी प्रयोग हुने गरेको हो । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले ६ महिनायता काँचो सालको गोलियासहित ४ वटा स्कारपियो नियन्त्रणमा लिइसकेको छ । ‘हामीले फेला पारेका सबै जिपमा नेपाली नक्कली नम्बर राखेको भेट्टाएका छौं,’ वन प्रमुख साहले भने,‘अनुसन्धानको क्रममा यातायात कार्यालयबाट बुझ्दा चोरीको जिपमा नक्कली नेपाली नम्बर राखेको पाइयो । भारतीयका साथै नेपाली प्लेटका जिपहरू समेत काठ चोरीमा प्रयोग हुन थालेको छ ।’ धन्सार पोस्टले एक महिनाअघि बरामद गरेको नेपाली नम्बर प्लेटको टाटा सुमो जिपमा पनि काठ तस्करी गर्न लागिएको थियो ।

Timber smuggling in Madhesh: Use of expensive vehicles to avoid suspicion

मधेश प्रदेशका डिभिजन वन कार्यालयहरूले अहिलेसम्म काठ तस्करीमा प्रयोग भएका १ हजार २० वटा सवारी साधन बरामद गरेको छ । तीमध्ये सबैभन्दा धेरै साइकल छन् । साना सवारी साधनमा स्कारपियो, टाटा जिप, टाटा मोबाइल, पिकअप, ट्याक्टर, ट्रक, बस छन् । सर्लाही डिभिजन वन प्रमुख सन्तोषकुमार झाले काठ तस्करी हुने नाकाहरूमा कडाइ गर्दै आएको बताए । ‘हामीले विभिन्न स्थानमा सुराकी परिचालन गरेका छौं,’ उनले भने,‘सकेसम्म साना सवारीमा काठ लोड हुने बित्तिकै सुराकी आउँदा हामी एक्सनमा जान्छौं ।’ पछिल्लो समय चारपांग्रे त्यसमा पनि स्कारपियो जस्ता जिप प्रयोग हुन थालेको वन कार्यालयले जनाएको छ ।

काठ चोरीमा धेरैजसो भारतीय स्कारपियो प्रयोग हुन थालेको वन कार्यालयले जनायो । भारतमा यस्ता जिपको २ देखि ३ लाख भारतीय रुपैयाँमा पाइने गरेको छ । पारिबाट चोर बाटो हुँदै नेपाल भित्र्याउने यस्ता सवारीसाधनको कुनै पनि कागजपत्र हुँदैन । बरामद भएका जिपहरुमा वास्तविक नम्बर हुँदैनन् । नेपालमा चल्ने भन्दा भिन्न तरिकाले यसको बनावट हुन्छ । जिपको दुवैतर्फ भारतीय अक्षरले विभिन्न गीत तथा मुक्तक लेखिएका हुन्छन् । तस्करले ती सबै मेटाउँछन् । नम्बर प्लेट समेत पोतेर नेपाली राख्छन् । यस्ता सवारीसाधनमा नक्कली नेपाली नम्बरहरु टाँसिएको हुन्छ । राजमार्गमा तैनाथ ट्राफिक प्रहरीको आँखा छल्न उनीहरूले नक्कली नम्बर प्लेट राख्ने गरेका हुन् ।

Timber smuggling in Madhesh: Use of expensive vehicles to avoid suspicion

गएको जेठ ७ गते डिभिजन वनको गस्ती टोलीले पौराइ जंगलको राजमार्ग छेउबाट सालको काँचो गोलिया लोड गरेर लैजाँदै गरेको अवस्थामा एउटा बोलेरो चोरीको जिप बरामद गरेको थियो । जिपमा समेत नेपाली नम्बर लगाइएको थियो । काँचो रुख काटेर जिपमा अटाउने साइजको बनाइ काठ तस्करी गर्ने गरेको फेला परेको छ ।

एक दशक अघिसम्म तस्करले ट्रक, टेक्टर, मोटरसाइकल तथा साइकलमा सालको गोलिया लैजान्थे । अहिले महँगोका गाडीहरु स्कारपियो, बोलेरो, टाटा सुमो र भारतीय चोरीका जिप प्रयोग हुन थालेको सशस्त्र वन रक्षकका जमदार रामपुकार साहले बताए । ‘अब निजी सवारीमा प्रयोग हुने स्कारपियोमा समेत निगरानी बढाउनुपर्ने भयो,’ उनले भने,‘तस्करले ट्याक्टर, ट्रकमा काठ लैजान छाडे । अब चोरीका जिप, स्कारपियो जस्ता साधन प्रयोग गर्न थालेका छन् ।’ महोत्तरीको बर्दिबासमा गएको असारमा वन मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा मधेश प्रदेश वन मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले काठ तस्करले नयाँ/नयाँ प्रविधि अपनाउन थालेको गुनासो गरेका थिए । ‘वन कार्यालयले थाहा नपाओस् भनेर सवारी साधनको किसिम नै परिवर्तन गर्ने, दिउँसै ओसार्ने जस्ता हर्कत गर्छन् । यसलाई निस्तेज पार्न सबै सहयोग देखिन्छ,’ उनले भनेका थिए ।

Timber smuggling in Madhesh: Use of expensive vehicles to avoid suspicion

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका अनुसार कार्यालयले ५ वर्षको अवधिमा तस्करी गर्न प्रयोग भएका २१ वटा स्कारपियो, टाटा सफारी जिप, टाटा जिप, टोयटा जिप र टाटा मोबाइल गाडी बरामद गरेको छ । त्यस्तै अवैध सालको गोलिया तस्करी गर्न लागेको अवस्थामा ४ वटा ट्रक बरामद गरेको छ । मिनी बस एक थान बरामद गरेको छ । वनले ८ वटा ट्र्याक्टर, ३१ वटा मोटरसाइकल र काठ लोड भएको २७० वटा साइकल बरामद गरेको जानकारी दिएको छ । तस्करले कटान गरेको झन्डै ३ हजार ७४५ क्यूफिट काठ बरामद गरिएको छ ।

Timber smuggling in Madhesh: Use of expensive vehicles to avoid suspicion

काठ तस्करी बढी हुने नाकाहरूमा विशेष गस्ती परिचालन गरिएको र गोली चलाएर भए पनि तस्कर पक्राउ गर्न सेक्टर वनका कर्मचारीलाई निर्देशन दिएको वन प्रमुख साहले बताए । जिल्लाको धन्सार, वृन्दावन, रंगपुर, जंगलसैया, जुडिबेला, गैंडाटार, चन्द्रनिगाहपुरको वन क्षेत्रमा बढी काठ चोरी तस्करी हुने गरेको पाइएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully