बाढीले खेत बन्यो बगर, चन्दा उठाएर जैविक तटबन्ध बनाउँदै झल्झलियाबासी 

०६४ सालदेखि बाढीको मारमा परेका झल्झलियाका परिवारले आफ्नो थातथलो गुमाउँदा गुजाराका लागि भारतमा मजदुरी गर्न बाध्य भएका छन् ।

भाद्र ३, २०८२

अर्जुन शाह

Jhaljliabasi, making a biological embankment by raising donations and turning the farm into a flood

What you should know

धनगढी — कैलालीको भजनी नगरपालिका–४ झल्झलियाका फाँट धानबालीले पहेँलपुर भएका थिए । किसानहरू धान काट्ने तरखर गर्दै थिए । गत वर्ष असोज ५ गते कान्द्रा नदीमा आएको बाढीले झल्झलियाको करिब पाँच सय बिघा धानखेती क्षणभरमै बगर बनाइदियो । भीमलादेवी ल्वार परिवारले १० कट्ठा खेतीपाती हुने जमिन किनेको थियो । जग्गा किनेको दोस्रै वर्षको बाली भित्र्याउने बेला लहलह झुलेका धानसहितको सबै जमिन बाढीले सखाप पार्‍यो । जग्गाजमिन बगर भएपछि देवर चन्द्रको परिवार गाउँ छाडेर भारतको बैंग्लोर हिँड्यो । भीमलादेवीका श्रीमान् जस्या ल्वार बिरामीले थला परेर हिँडडुल गर्न सक्दैनन् । वृद्धावस्थाकी भीमलादेवीलाई यतिबेला मर्नु न बाँच्नु जस्तै भएको छ । 

झल्झलियामा भीमलादेवी जस्तै ४२ परिवारको करिब ५० बिघा खेती पोहोर सालको बाढीले बगर बनायो । पाक्न थालेको बालीमा नदी बग्यो । हरेक परिवारको १० कट्ठादेखि एक बिघासम्म धान खेती थियो । रंगबहादुर धामी, रंगबहादुर शाही, चर्तुभूज बमलगायत १५ परिवारको थातथलो नै बगर बनेपछि घरबारविहीन भएर आश्रय लिन झल्झलिया शिविरमा सरे ।

‘१० कठ्ठाभन्दा कम कसैको थिएन । धान काटौं भन्ने बेला अकस्मात् बाढीले खेती गर्नै नमिल्ने गरी बगर भयो,’ स्थानीय टेकबहादुर रावलले भने, ‘मेरो परिवारको पनि १० कट्ठा सबै लग्यो । अहिले हाम्रै जमिन छेउमा नदी बगिरहेको छ ।’ झल्झलियाका ४२ परिवारकै खेत कान्द्राले नामेट बनाएपछि उनीहरू पनि अलि वर बसाइँ सरेका छन् । ‘हरपल त्यही बगर बनेको जग्गामा झुल्ने धानका बाला आँखामा घुमिरहन्छन्,’ स्थानीय निर्मलादेवी देउवाले भनिन् ।

कान्द्राको बाढीले झल्झलियाका बासिन्दाले पाएको दु:खको कथा लामो छ । ०६४ सालमा पहिलो पटक आएको बाढीले करिब दुई सय बढी परिवारको उठीबास भयो । उनीहरूले खेतीपाती गर्दै आएको जमिनमा अहिले कान्द्राको पल्लो किनार बनेको छ । ‘सयौँ बिघा खेतीयोग्य जमिनमा अहिले बगर बनेको छ,’ स्थानीय दिलबहादुर बुढाले भने, ‘हाम्रो त सर्वस्व नै गयो । अरू धेरै परिवारको बिचल्ली भयो ।’ 

Jhaljliabasi, making a biological embankment by raising donations and turning the farm into a flood

कान्द्राले घरखेत बगर बनाएपछि अहिले झल्झलियामा गुजाराका लागि परदेश नगएको कुनै परिवार छैन । नगरपालिकाद्वारा गठित टोल विकास संस्थाका सदस्यहरूका अनुसार झल्झिलियामा करिब ३ सय ८० परिवारको बसोबास छ । ‘अन्य कतिपय परिवार सधैंका लागि विस्थापित भइसके । जग्गाजमिन बगेपछि पेट पाल्ने उपायको खोजीमा गाउँ छाड्ने बाध्यता आयो,’ झल्झलियाका भलमान्सा भरत चौलागाईले भने, ‘गाउँ छाडेका १५/१६ परिवार अहिले कता, के गर्दैछन् भन्ने कुनै खबर छैन ।’ विस्थापितहरू धेरैजसो भारतको बैंग्लोरलगायतका सहरमा मजदुरी गर्न हिँडेको उनले सुनाए । 

गणेश कठायत आफ्नो परिवारको एक बिघा खेतमा पूरै बालुवाले ढाकिएपछि बस्ती छाडेर बैंग्लोर गए । तेजबहादुर भुल, सिद्ध विकलगायतका २० परिवारले पनि थातथलो छाडेको स्थानीयले बताए । जग्गा बगाएपछि गाउँमा बसिरहेका परिवारलाई अन्य आम्दानीको उपाय छैन । त्यसैले कुनै घरमा छोरा, कुनैमा बाबु मजदुरी गर्न भारत पसेका छन् । ‘म पनि पाँच महिना भारतको नैनीतालमा मजदुरी गरेर भर्खर फर्केँ । पाँच महिनामा ५० हजार भारु जति कमाएर ल्याएँ,’ देवीथान टोल विकास संस्थाका सचिव टेकबहादुर बुढा भन्छन्, ‘छोरा काठमाडौंमा लोकसेवा तयारी गरिरहेको छ । उसको खर्चको जोहो पनि गर्नै पर्छ ।’

Jhaljliabasi, making a biological embankment by raising donations and turning the farm into a flood

आफ्नो गाउँ, टोल, समाजको विकास कार्यमा अग्रसर गराउने उद्देश्यले भजनीमा सहकर्मी समाजको सहकार्यमा नगरपालिकाबाट गाउँ गाउँमा टोल विकास संस्था गठन गरिएका छन् । ती संस्थाहरूले अहिले समुदाय विकासका क्रियाकलाप गरिरहेका छन् । नदी कटान रोकथामका लागि हालसम्म कुनै पनि सरकारी निकायबाट काम नभएको स्थानीयको गुनासो छ ।

‘गत वर्ष बाढीले क्षति पुर्‍याएपछि नगरपालिकाबाट ११ लाख रुपैयाँ विनियोजन भएको थियो । तटबन्ध बनाउने काम गर्न नसकेर बजेट फ्रिज गयो,’ वडा ४ का अध्यक्ष जनताराम चौधरीले भने, ‘झल्झलियाका बासिन्दा सधैँ कटानको मारमा छन् ।’ गत आर्थिक वर्षमा उपभोक्ता समितिले काम गर्न नसक्दा बजेट फ्रिज भएको वडाध्यक्ष चौधरीले बताए । ‘उपभोक्ता समितिले सरिया, सिमेन्ट जस्ता निर्माण सामग्री जुटाउन नगद पनि भएन, उधारोमा पनि पाएन । समयमा काम गर्न नसक्दा बजेट फ्रिज गयो,’ उनले भने । 

Jhaljliabasi, making a biological embankment by raising donations and turning the farm into a flood

सरकारी निकायबाट सहयोग नभएपछि घरखेत गुमाएका झल्झलियाका बासिन्दा यतिबेला टोल विकास संस्थामार्फत नदी कटान रोकथाम गर्नका लागि जैविक तटबन्ध गर्न कस्सिएका छन् । सहकर्मी समाजमा कार्यरत राम ऐरका अनुसार झल्झलियामा पाँच वटा टोल विकास संस्था गठन भएका छन् ।

प्रतीक्षालय टोल विकास संस्थामा आबद्ध ६० घरपरिवार, चेतनशीलमा आबद्ध एक सय ५०, कालिकामा आबद्ध ४१, बडिमालिकाका ८० र देवीथान टोल विकास संस्थाका ५२ परिवार गरी ३ सय ८० परिवार जैविक तटबन्ध गर्न कस्सिएका हुन् । उनीहरूले हालै हरेक घरबाट एक/एक सय रुपैयाँ संकलन गरेर बाँस, बोरालगायत आवश्यक सामग्री खरिद गरे । हरेक परिवारबाट एक जना अनिवार्य उपस्थित हुने निर्णय गर्दै उनीहरू नदी कटान रोकथामका लागि जैविक तटबन्ध गर्न श्रमदानमा जुटे ।

Jhaljliabasi, making a biological embankment by raising donations and turning the farm into a flood

देवीस्थान टोल विकास संस्थाका सचिव टेकबहादुर रावल भन्छन्, ‘घरघरबाट रकम संकलन गरेर १२ दिनसम्म श्रमदान गर्‍यौं । यस वर्ष ठूलो बाढी नआएर पनि होला, जैविक बाँधले पनि रोकेर बाढी माथि चढ्न पाएको छैन ।’ रावलका अनुसार ५२ परिवार बाढीको उच्च जोखिममा छन् । कटान भइरहेको ठाउँमा बास गाडेर बोरामा माटो भरिरहेको उनले बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully