आयातको भरमा स्वदेशी जुट उद्योग

जुट उद्योग सञ्चालन गर्न अहिले भारत र बंगलादेशबाट कच्चा जुट आयात नगरी सम्भव छैन । भएका उद्योगलाई आवश्यक पर्ने ६५ हजार टन कच्चा जुटमध्ये स्थानीय उत्पादनले २५ प्रतिशत मात्र थेग्छ । बाँकी ७५ प्रतिशत भारत र बंगलादेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । उहिले भने दृश्य अर्कै थियो । पूर्वी तराईमा उत्पादित कच्चा जुट भारत निर्यात हुन्थ्यो ।

श्रावण ३१, २०८२

पर्वत पोर्तेल

Domestic jute industry dependent on imports

What you should know

विराटनगर — कुनै समय पूर्वी तराईको प्रमुख नगदे बाली थियो, जुट (पाटा) खेती । तर, अब त्यो समय बितिसकेको छ । पछिल्ला वर्षमा जुटको उत्पादन घटेको मात्रै छैन, खेती नै मासिने अवस्थामा पुगेको छ । यसको प्रत्यक्ष असर स्थानीय उद्योगमा परेको छ ।

अहिले जुट उद्योग सञ्चालन गर्न भारत र बंगलादेशबाट कच्चा जुट आयात नगरी सम्भव छैन । उहिले भने दृश्य अर्कै थियो । पूर्वी तराईमा उत्पादित कच्चा जुट भारत निर्यात हुन्थ्यो ।

विसं १९९३ मा विराटनगरको सीमावर्ती रानी क्षेत्रमा मुलुकको पहिलो उद्योग ‘विराटनगर जुट मिल’ स्थापना भएपछि करिब ९० वर्षअघि किसानहरूले व्यावसायिक रूपमा जुट खेती सुरु गरेका थिए ।  विसं १९९३ मा विराटनगरको सीमावर्ती रानी क्षेत्रमा मुलुकको पहिलो उद्योग ‘विराटनगर जुट मिल’ स्थापना भएपछि करिब ९० वर्षअघि किसानहरूले व्यावसायिक रूपमा जुट खेती सुरु गरेका थिए । त्यतिबेला उत्पादन यति धेरै हुन्थ्यो कि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका करिब दर्जन जुट उद्योगले पनि स्थानीय कच्चा जुट खपत गर्न सक्दैनथे । विराटनगरका एक पुराना व्यवसायी रमेश राठी भन्छन्,‘छेलोखेलो भएर उब्रिएको जुट भारत पठाइन्थ्यो ।’

तर अहिले अवस्था उल्टिएको छ । विराटनगर र आसपास क्षेत्रमा हाल आधा दर्जन निजी जुट उद्योग सञ्चालित छन् । केही समय अघि दर्जन जति जुट मिल थिए, आधा दर्जन बन्द भइसके । ती उद्योगलाई आवश्यक पर्ने ६५ हजार टन कच्चा जुटमध्ये स्थानीय उत्पादनले २५ प्रतिशत मात्र थेग्छ । बाँकी ७५ प्रतिशत भारत र बंगलादेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको जुट उद्योगी राजकुमार गोल्छाको भनाइ छ । ‘हामी हरेक वर्ष करिब ३ अर्बको कच्चा जुट आयात गर्छौं र ७ अर्बभन्दा बढीको तयारी सामान फेरि भारत पठाउँछौँ’, उनले भने । 

जुट विकास संस्था अस्तित्वमा रहँदा किसानलाई मल र बिउमा अनुदान, प्रविधि र तालिम उपलब्ध गराइन्थ्यो । तर विसं २०४१ तिर संस्था बन्द भएपछि किसान क्रमशः जुट खेतीबाट टाढिँदै गए । सरकारको असहयोग, जुट कुहाउने खाडलको अभाव, मजदुरको कमी, र उत्पादन लागतअनुसार उचित मूल्य नपाउने जस्ता कारणले किसान यो खेतीबाट टाढिँदै गएका हुन् । 

Domestic jute industry dependent on imports

करिब तीन दशकअघि मात्र मोरङ, सुनसरी र झापामा ७० हजार हेक्टर क्षेत्रमा जुट खेती हुन्थ्यो र वार्षिक उत्पादन १ लाख टनभन्दा बढी पुग्थ्यो । तर अहिले खेती क्षेत्र घटेर जम्मा ६ हजार ९ सय ८५ हेक्टरमा सीमित भएको छ र वार्षिक उत्पादन पनि झरेर करिब १० हजार टनमा पुगेको कृषि निर्देशनालय, विराटनगरले जनाएको छ ।

जुट खेतीको इतिहास विराटनगरका प्रतिष्ठित उद्योगी रामलाल गोल्छासँग प्रत्यक्ष जोडिन्छ । भारतको बंगालमा जन्मिएका गोल्छाले विसं १९७८ मा नेपाल प्रवेश गरी मोरङको देवानगञ्जबाट कच्चा जुटको व्यापार सुरु गरेको इतिहास छ । २३ वर्षको उमेरमा मासिक पाँच रुपैयाँमा घर र गोदाम भाडामा लिएर व्यापार थाल्दै, केही वर्षमै विराटनगर सरेर भारतको कटिहारमा जुट पठाउने काम गर्न उनले थालेको जानकारहरु बताउँछन् । 

Domestic jute industry dependent on imports

व्यापार विस्तारसँगै उनले उद्योग स्थापना गर्ने योजना बनाए । भारतको कटिहारस्थित जुट मिलका प्राविधिक र कलकत्ताको श्री इन्डस्ट्रिजसँगको साझेदारीमा वि.सं. १९९३ मा उनले विराटनगर जुट मिल स्थापना गरे । त्यसपछि रघुपति जुट उद्योग खोलेपछि पूर्वी तराईमा व्यावसायिक जुट खेतीको सुनौलो युग सुरु भएको थियो । हाल सरकारी स्तरको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । निजी लगानीका रघुपति, अरिहन्त, बाबालगायतका जुट मिल भने अझै सञ्चालनमै छन् । 

किसानलाई चटारोसँगै चिन्ता

लामो खडेरीपछि रोपाइँ मैझारो गरेका सुनसरीको भोक्राहा नसिंह गाउँपालिकाका किसान मोहम्मद साजिदलाई अहिले अर्को चटारोले समातेको छ । उनी पाटा काट्न व्यस्त छन् । विगतमा १० बिघाभन्दा बढीमा जुट (पाटा) खेती गर्ने साजिदको जमिन अहिले घटेर करिब ३ बिघा मात्र बाँकी छ । ‘अर्को वर्ष अझै घट्ने पो हो कि’, भन्दै उनी चिन्ता पोख्छन् ।

Domestic jute industry dependent on imports

केही किसानलाई पाटा कुहाउन भ्याइनभ्याइ छ भने केही कुहिएको पाटालाई जुटमा रूपान्तरण गर्ने ध्याउन्नमा छन् । पूर्व–पश्चिम राजमार्गको इनरुवा–कोशी ब्यारेज सडक खण्डका दर्जनौं किसान अहिले खेतबाट पाटाको बोट उखेलेर निकालिरहेका देखिन्छन् । हुर्किएका पाटा १५ दिन हिलो दहमा कुहाएपछि मात्र डन्डीबाट सुनौलो धागो जुट निकाल्न सकिन्छ । डन्डीलाई यहाँ ‘सन्डी’ भनिन्छ, जुन घरको वेरा लगाउन र दाउराको रूपमा प्रयोग हुन्छ । तर खेती घट्दै जाँदा किसानहरूको भविष्य अनिश्चित देखिन्छ । उत्पादन कम, लागत धेरै र बजारको दबाबबीच जुटको सुनौलो इतिहास बिस्तारै पुरानो स्मृतिमा मात्र सीमित हुँदै जाने खतरा बढ्दो छ ।

बढ्दो आयात, घट्दो उत्पादन

स्थानीय उत्पादनले माग पूरा गर्न नसकेपछि विराटनगरका उद्योगीहरूले भारत र बंगलादेशबाट जुट आयात गरी उद्योग सञ्चालन गरिरहेका छन् । जुटको आयात वर्षेनि तीव्र गतिमा वृद्धि भइरहेको छ । तर, उत्पादन भने बर्सेनि साँघुरिँदै गएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्र ८१ करोड ८७ लाखभन्दा बढी मूल्यको कच्चा जुट आयात भएको छ । यसै अवधिमा ३१ लाख ४६ हजार भन्दा बढी मूल्यको सनपाटको धागो (डोरी) र २६ लाख लाख ५० हजार मूल्यको जुटबाट बुनिएको कपडा आयात भएको छ ।

उक्त वर्षमै ३३ करोड ४६ लाख ५७ हजार मूल्यको सनपाटको धागो र ६ अर्ब ३ करोड ३८ लाखभन्दा बढी मूल्यको जुटबाट बुनिएको कपडा निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । 

Domestic jute industry dependent on imports

यस्तै, मेची भन्सार कार्यालय काँकडभिट्टाबाट समेत जुट आयात हुँदै आएको छ । भन्सार कार्यालयका अनुसार यो नाकाबाट मुख्यतः बंगलादेशी जुट आयात हुन्छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब ४५ करोड ५७ लाख मूल्यका जुट तथा जुटजन्य उत्पादन आयात भएको छ । यो मेचीबाट आयात हुने प्रमुख १० वस्तुमध्ये दोस्रो हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ४६ करोड ९६ लाख मूल्यका जुट तथा जुटजन्य उत्पादन आयात भएको थियो ।

अघिल्लो वर्ष भन्दा २८ दशमलव ४ प्रतिशतका दरले आयात वृद्धि भएको छ । उनले भने, ‘मूलतः बंगलादेशबाट बढी जुट आयात हुन्छ, भारतीय जुटको हिस्सा भने केही प्रतिशत मात्र छ ।’ 

तथ्यांकमा जुटको आयात/निर्यात

आर्थिक वर्ष २०८१/०८२ विराटनगर भन्सारबाट

आयात (रुपैयाँ)

जुट – ८१,८७,८७,३०६।–

सनपाटको डोरी (धागो)– ३१,०४,६२६।–

जुटका बुनिएका कपडा–२६,५०,९०८।–

निर्यात

सनपाटको डोरी– ३३,४६,५६,३१६।–

जुटबाट बुनिएको कपडा–६,३०,३८,६३,८९२।–

मेची भन्सारबाट

आयात(रुपैयाँमा)

आर्थिक वर्ष २०८१/०८२

जुट तथा जुटका उत्पादनहरू–४,४५,५७,२४,०००।–

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully