किन थातथलो फर्कन चाहँदैन हायू परिवार ?

गोलन्जोर गाउँपालिका–६ बिप्पर कटेरीमा बस्दै आएको हायू परिवार अन्धविश्वासका कारण आफ्नो घर छोड्न बाध्य भएको छ।

श्रावण २८, २०८२

राजकुमार कार्की

Why does the Hayu family not want to return to Thathathalo?

What you should know

बिप्पर कटेरी, सिन्धुली — सल्लेरी वनको वरिपरि सुनसान ठाउँ छ । मुस्किलले एउटा पाइला राख्न मिल्ने ठाडो ओरालो बाटोको पुछारमा सानो खोल्सी पर्छ, त्यहीँबाट सुरु हुने बारीमा सुकेका मकैका बोट छन् ।

अलिमाथि छपक्कै ढाकेको फर्सीका झ्याङ छन् । सन्नाटा छाएको घर वरिपरि असरल्ल काठ, केटाकेटीले चप्पल, किताबकापी, लुगाफाटालगायत सामग्री छरिएका छन् । 

तीन वर्षअघि मृत्यु भएका साने हायूले रोजेको गोलन्जोर गाउँपालिका–६ बिप्पर कटेरीको थातथलो उराठलाग्दो बनेको छ । साउन १० गते मध्यरातमा १६ जनाको परिवार थातथलो छाडेर निस्किएपछि यो घर उराठ बनेको हो । तेस्रो दिन परिवारै हराएको दिनभर खैलाबैला भएपछि राति कास्कीको पोखरामा फेला परेको हायू परिवार साउन १९ गते फर्किए पनि आफ्नो घरमा भने पुग्न सकेको छैन ।

५२ वर्षीया उर्मिला हायूसहित फर्किएका २२ जनाको परिवारले वडाध्यक्ष रविनकुमार श्रेष्ठको सुँगुरेमा रहेको तीनकोठे घरमा आश्रय पाएको छ । पोखरा पुगेर लगातारको प्रयासपछि हायू परिवारलाई थातथलो फर्काउन वडाध्यक्ष श्रेष्ठले आफ्नै घरमा बस्न दिने वचन दिएर फर्काएका हुन् । घर, चौपाया, पन्छी, लत्ताकपडा, खाद्यान्न असरल्ल छाडेर हिँडेका हायू परिवार आफ्नो घर फर्कन किन मान्दैनन् ? 

रामेछाप नगरपालिकाको वादीबाट ५०/६० वर्ष अघि हायू परिवार सिन्धुलीको गोलन्जोर-६ बाशेश्वरमा आएका थिए । वादी र बाशेश्वर वारिपारी हो । सुनकोसी नदीले सिमाना छुट्याउँछ । भण्डासमा ४ रोपनी पाखोबारी खरिद गरेर बसेको हायू परिवार काठको काम गर्ने भएकाले बिप्पर कटेरीमा सरेका हुन् । उनीहरुको आफ्नै जग्गा रहेको स्थान भण्डासबाट गिरीराज कोइराला र ढुण्डीराज कोइरालाको जमिन बिप्पर कटेरी एक घण्टाको दूरीमा छ । उर्मिलाका अनुसार बुढाबूढी मिलेर घरको झ्याल ढोका बनाउने, हलो, जुवा तथा अन्य सामग्री बनाएर बिक्री गरी गुजारा चलेको थियो । जंगल नजिक भएकाले कोइराला परिवारको जमिनमा घर बनाएर हायू परिवार बसेको हो ।

Why does the Hayu family not want to return to Thathathalo?

उर्मिलाबाहेक ६ छोरा, ६ छोरी, १ बुहारी, १ नाति र १ नातिनी गरी १६ जना रहेको परिवारमा जेठा छोरा राजु दुई वर्षअघि रोजगारीमा खाडीमुलुक छिरेका थिए । उनी स्वदेश फर्किएको डेढ महिना पुग्दैछ । उनीहरुको परिवारमा जेठी छोरी कमलाका श्रीमान् धनबहादुर तामाङ पनि दुई वर्षदेखि ससुराली (बिप्पर कटेरीमै) बसिरहेका थिए । तीनवटा कोठा रहेको घरमा ठूलो परिवार भएकाले बसाइँ अस्तव्यस्त नै थियो । डेढ वर्षदेखि घरमा बालबच्चा बर्बराउने, बेहोस हुने, कुद्ने गर्न थालेपछि उर्मिला चिन्तित थिइन् । काइँली छोरी अस्मितामा यो समस्या बढी थियो । परिवारमा देउता चढेर यस्तो भएको अन्धविश्वास थियो । 

दिवंगत बावु शरीरमा प्रवेश गरेको भन्दै छोरी बर्बराउने गर्न थालिन् । उनले बर्बराएर भने अनुसारकै काम गर्न थालियो । ‘छोरीमा प्रवेश गरेको आत्माले जे भन्छ त्यहीँ गर्नुपर्ने हुन्थ्यो । दिनको तीन/चार पटक नुहाएर शुद्ध हुनुपर्ने, वर्ष दिन पनि नपुगेको नातिलाई रातिको १२ बजे उठाएर नुहाउनुपर्ने, साना बालबालिका एक्लै हिँड्न नहुने, शौचालय जाँदासमेत चार/पाँच जना साथमा जानुपर्थ्यो,’ उर्मिलाले थातथलो छाड्नुको कारण सुनाइन्, ‘जतिखेर पनि यो ठाउँमा बस्न ठीक छैन, चाँडोभन्दा चाँडो छाड भनेर मात्र बकाउन थालेपछि बाध्य भइयो ।’ 

हिँड्ने दिन पनि कसैलाई थाह नपाउने गरी जानु भनेकाले जंगलको बाटो मध्यपहाडी लोकमार्गमा निस्किएर गाडी चढेको उनले सुनाइन् । यस्तो बकाउने कामको टुनामुना भने ज्वाइँ धनबहादुरले गराउने उर्मिलाले बताइन् । ‘घरमा भएका बिहे नभएका जति सबै छँटाउन थालेपछि अब बस्नु ठीक छैन भन्ने पारिवारिक निष्कर्ष भयो,’ उनले भनिन् । 

Why does the Hayu family not want to return to Thathathalo?

गोलन्जोर-७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालका डा. सरोजकुमार शाहले हायू परिवारको काइँली छोरी अस्मितालाई जाँच गरेका थिए । ‘चार/पाँच दिनअघि मध्यरातमा बिरामी भनेर अस्पतालमा ल्याएका थिए, त्यस्तो केही थिएन, पेट दुख्यो भनेपछि हामीले एउटा सुइ मात्र लगाएका हौं । घरमा हिस्टेरियाको लक्षण देखिएको रहेछ । हाम्रो भाषामा कन्भर्सन डिसअर्डर भन्छन् । केही घण्टा अब्जरभेसनमा राखेर पठाएका हौं,’ उनले भने, ‘उनीहरुको कुरा सुन्दा त्यो परिवार अन्धविश्वासमा जकडिएको रहेछ । मनोचिकित्सकको परामर्श र काउन्सिलिङ भएमा त्यो ठीक हुने समस्या हो ।’ 

किन परिवारै घर छाड्न बाध्य भयो ? 

साउन ९ गते शुक्रबारको दिन घरमै पालेका दुई वटा सुँगुर काटेर छोरी ज्वाइँले खुर्कोटको एक होटललाई बिक्री गरे । उर्मिलाको परिवारका आधाजसो सदस्य माछामासु खाँदैनन् । जेठा छोरा राजुका अनुसार दिनभर यताउता गर्दै बित्यो, साँझ परेपछि काइँली बहिनी बर्बराउन थालिन् । ‘नुहाएर सबैलाई चोखो हुन भनियो । रात छिप्पिँदै गएपछि सबैले आफ्नो मोबाइलको सिम झिकेर फाल्न भनियो । आजै राति १ बजे घर छाड्न भनेपछि सोहीअनुसार गरियो । आत्तिएर खसीबाख्रा र कुखुरा छाड्न पनि भुलेछौं,’ राजुले भने, ‘भान्सा कोठामा आगो लागेको, लुगाफाटा असरल्ल भएको केही थाह भएन । ज्यान बचाउनकै लागि हिँडेका हौं ।’ ज्वाइँ पोखराकै भएकाले गाडी रिजर्भ गरेर राति २ बजेतिर उतै हिँडेको राजुले सुनाए । दुई वर्ष विदेश बसेकाले आफू अन्धविश्वासमा नलाग्ने खालको भए पनि डेढ महिनाको दौरान भोगेको कष्टले आजित बनाएर घर छाड्नु परेको राजुले सुनाए ।Why does the Hayu family not want to return to Thathathalo?

विकासका पूर्वाधार नभएको विकट ठाउँ बिप्पर कटेरीको चारैतिर सल्लेरी वनले ढाकेको खोंचमा बस्थ्यो हायू परिवार । काठको काम गर्ने भएकाले श्रीमान्‌ले यस्तो ठाउँ रोजेको हुनसक्ने उर्मिलाले बताइन् । खोंचबाट आधा घण्टाको ठाडो उकालो लागेपछि मात्र छिमेकी नारायण हायूको घर भेटिन्छ । पश्चिमतिर त्यस्तै दूरीमा एक घर छिमेकी छन् । कहीँकतैबाट छरछिमेकसँग भेट नहुने एकलासमा रहेको छ उर्मिलाको घर । हुर्कंदै गएका लालाबाला एक घण्टाको दूरी पार गरेर सोही वडामा रहेको मंगला माध्यमिक विद्यालय घोक्सिलामा अध्ययन गर्न आउजाउ गर्थे । बिरामी परेमा बोकेर लैजाने गोरेटो बाटोसमेत छैन । लगातार बिरामी पर्न थालेपछि स्वास्थ्य, शिक्षा र सडकको पहुँच नभएकाले घर छाड्न बाध्य भएको राजुको भनाइ छ ।

राजुका अनुसार भाइबहिनीको आङमा के आएर भट्भट्याएर भररात सुत्न नपाएको झण्डै एक महिना भएको थियो । ‘रातभर रुँगेर बस्यो, बिहानपख सुत्न लाग्यो फेरि अर्कोलाई भेटिहाल्ने आजित भएर ज्वाइँले भने अनुसार नै घरबार छोडेर हिँड्यौं । ज्वाइँले पोखरातिरै जाऔं आमा केही काम गरेर खाउँला । यस्तो बिरामी भएर बस्नु हुँदैन भन्नुभयो, अनि हामी हिँड्यौं,’ उर्मिलाले भनिन् ।

पोखरा पुगेको तीन दिनमा नै हल्लाखल्ला भएपछि प्रहरी, पत्रकार आउन थाल्दा घरबेटीले पनि कोठा छोड्न भनेकाले अलपत्र जस्तै भए । वडाध्यक्ष रविन श्रेष्ठ गएर फर्किऔं भनेपछि फेरि ज्वाइँले नै अब जाँदा हुने तर पुरानो घरमा नजानु भनेकाले त्यहाँ नगएको उर्मिलाले सुनाइन् । 

फेरि उस्तै

२० साउनबाट १६ जनासहित दुई ज्वाइँ, माइलो छोराका दुई साली, छोरीपट्टिका नातिनातिना गरेर २२ जना वडाध्यक्ष श्रेष्ठको घरमा बस्न थालेका छन् । राजुका अनुसार यहाँ आएपछि पनि बेहोस हुने, छट्पटाउने गर्न थाले । यस्तो कुरा पत्याउँदैनन् भनेर अति भएपछि मैले वडाध्यक्षलाई राति १२ बजे बोलाएर देखाउँदा उनी पनि चकित भएको राजुले सुनाए । वडाध्यक्ष श्रेष्ठसितको सल्लाहपछि बिहे भएका छोरी र ज्वाइँहरुलाई आआफ्नो घर पठाएपछि तीन/चार दिनदेखि बाँकी सबैले आरामले बस्न पाइएको राजुले बताए । यतिखेर कोही विद्यालय गएका छन् । कोही खोलातिर खेल्न गएका छन् । 

बुबाले बनाएको घर, बारीमा भएको मकै, रछ्यानमा फलेका तरकारी, फलफूल, लहलह घाँस देखेर १७ दिनपछि सोमबार आफ्नो घरमा पुगेका राजु र भाइ लालबहादुर भक्कानिए । 

Why does the Hayu family not want to return to Thathathalo?

निकैबेर टोलाएपछि घरबारी घुमेर असरल्ल सामान समेटे । ‘हामीले भान्सा घरमा आगो लागेको त थाहै पाएनौं । कसरी आगो लाग्यो थाहै भएन, धन्न पानी परेकाले भान्सा मात्र जलेछ,’ राजुले भने । श्रीमान्‌को मृत्यु पनि रहस्यमय भएको हुँदा पछिल्लो पटक बालबच्चा बर्बराउन थालेपछि परिवारकै ज्यान जोगाउन डराएर हिँड्नु परेको उर्मिलाले बताइन् । ‘घरबाट झगडा गरेर हिँड्नु भएको थियो । तीन दिनसम्म खोजखबर गरिएन । पछि सबैतिर खोज्दा तीन महिनापछि श्रीमान्‌को हाडखोर मात्र भेटियो,’ उनले सुनाइन् ।

...

अन्धविश्वासले जरो गाडेका कारण हायू परिवारले थातथलो छाडेको वडाध्यक्ष श्रेष्ठको बुझाइ छ । ‘अहिलेलाई मेरो घरमा बस्न दिएको छु । विद्यालय नजिक छ । विस्तारै परिवारका सदस्यलाई रोजगारीको वातावरण सिर्जना गर्न लागेका छौं,’ उनले भने, ‘अन्धविश्वासलाई हटाएर उनीहरुको मनमा पसेको डर भगाउने यत्न भइरहेको छ ।’ पुरानो थलोमा हाल नफर्किए पनि त्यहाँ भएका घटनालाई सुक्ष्म रुपमा केलाउने काम भइरहेको उनले सुनाए । बालबालिका पढाउने, उमेर पुगेकाले रोजगारी र गर्ने केही जग्गा जोडिदिएर घर बनाइदिनेसम्मको योजना बनाएको उनले बताए । 

जनप्रतिनिधि भएका नाताले १६ जनाको परिवार घरबार छाडेर हिँड्दा विक्षिप्त भएर हरेक चुनौती सामना गर्ने आश्वासन दिएर फर्काएको वडाध्यक्ष श्रेष्ठले बताए । सबैको सहयोगमा यो लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत हायू परिवारलाई थातथलोमा अड्याउन सकिए बल्ल सफल भइनेछ । हायू जातिको जनसंख्या २०७८ जनगणनाअनुसार ३ हजार ६९ रहेकोमा गोलन्जोरमा मात्र ५१९ छन् । 

यतिखेर हायू परिवार कामको खोजीमा छ । जेठा छोरा राजु पहिला पनि अटो चालक भएकाले उनी त्यतै जोडिन खोज्दैछन् । माइला छोरा हिमाल खेतीकिसानी र ज्यामी काम खोज्दै छन् । अरु छोराछोरी भने पढाइमा जोडिँदै छन् । घरमुली उर्मिलाले बाख्रापालन र कुखुरापालनका लागि सरकारी निकाय संघसंस्था गुहारेकी छन् । हामीलाई स्थापित गर्न वडाध्यक्षकै पहलमा सिड्स नेपालले माग सुनेर गएका छन्, पक्कै पनि सहयोग होला । वडाध्यक्षकै खेत कमाएर खानु भनेका छन्, खेती पनि गर्छौं । लालाबालाको पढाइमा पनि पक्कै सहयोग होला उर्मिलाले सुनाइन् ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully