हुम्लाको हिल्सा, मुगुको नाग्चेनाग्ला, क्याटो र डोल्पाको मरिम चीन सीमासँग जोडिएको छ । हिल्सा नाका गत वर्ष वैशाखदेखि चीनले खोले पनि बाह्रै महिना व्यापारिक सम्बन्ध कायम हुन सकेको छैन ।
What you should know
सुर्खेत — झन्डै दुई दशकदेखि मुगुको मुगमकार्मारोङ गाउँपालिका–२ मुगुगाउँका टासी लामा चिनियाँ खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामग्रीमै निर्भर छन् । हरेक वर्ष साउन महिनामा नेपाल–चीन सीमास्थित हयाजिमारमा लाग्ने १५ दिने व्यापारिक मेलामा उनले यार्सालगायत जडीबुटी बिक्री गर्ने र उपभोग्य सामग्री किनेर ल्याउने गरेका छन् ।
‘हामीलाई त सदरमुकाम पुग्नै एकतर्फी चार दिन लाग्छ, त्यहाँको सामान पनि महँगो, त्यसमा ढुवानी भाडा पनि अचाक्ली, चिनियाँ हाट नगइ वर्षभरिको खर्च जोहो गर्नै गाह्रो हुन्छ,’ उनले भने, ‘चीनतिरको बजार एक दिनमा पुगिन्छ, सामान पनि सस्तोमा पाउँछ, ढुवानी पनि सजिलो ।’ हाट लाग्ने स्थान सीमाबाट ३० किलोमिटर दूरीमा रहेको हयाजिमारबाट सीमापारिको स्थायी बजार चीनको ताक्लाकोट पुग्न झन्डै दिनभर लाग्छ ।
कर्णालीको चीन सीमा जोडिएको अर्को जिल्ला डोल्पाको उपल्लो डोल्पाका बासिन्दा पनि चिनियाँ सीमामा लाग्ने अस्थायी हाटबाटै वर्षभरिको खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामानको जोहो गर्छन् । डोल्पा सीमास्थित मरिम्ला नाकामा यो वर्ष साउन २५ गतेदेखि २० दिनका र मुगुपारिको हयाजिमारमा १५ दिने हाट बजार लाग्दैछ ।
डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीका अनुसार अहिले स्थानीय बासिन्दा हाट जाने तयारीमा छन् । उनका अनुसार हाटबजारका लागि दुई हजार दुई सय जना स्थानीयलाई सीमा प्रवेश पास जारी गरिएको छ । उनले सदरमुकामसम्म सडक सुविधा नहुँदा उपल्लो डोल्पाको शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका बासिन्दा चिनियाँ खाद्यान्नमै निर्भर रहेको जानकारी दिए । ‘सडक सुविधा नहुँदा र कठिन भूगोलका कारण सीमाक्षेत्रका बासिन्दालाई सदमुकाम आउन ४/५ दिन लाग्छ, चीन सीमामा भने एकदिनमै पुगिने भएकाले चिनियाँ सामग्रीकै भर छ,’ उनले भने, ‘त्यहाँ जडिबुटी र स्थानीय उत्पादनले पनि राम्रो भाउ पाउने भएकाले जिल्लावासीलाई राहत भएको छ ।’
शेफोक्सुण्डो गाउँपालिका उपाध्यक्ष पेम्मावाङछेन गुरुङले चीनको सिगात्चे काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग एक साताअघि गरिएको छलफलपछि हाटबजारको मिति तय भएको बताए । उनका अनुसार कोरोना महामारीका कारण झन्डै चार वर्ष बन्द भएको हाटबजार गत वर्ष साउन १७ गतेदेखि १५ दिनका लागि खोलिएको थियो ।
‘हाट खुलेयताको जडिबुटी र कृषिजन्य सामानले राम्रो मूल्य पाउँछ, उताबाट स्थानीयले सस्तोमा खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्छन्,’ उनले भने, ‘नाकामा चिनियाँ व्यापारीले अस्थायी रूपमा पाल टाँगेर उपभोग्य सामान बिक्री गर्छन्, स्थानीयले यार्सालगायत जडिबुटी पनि त्यहीँ लगेर बिक्री गर्छन् ।’ उपल्लो डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकोले पैदल हिँडेर आउजाउ गर्नुपर्ने र दैनिक उपभोग्यलगायत सामग्री खच्चड, याक, चौरीमा बोकाएर ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।
सरकारले वर्षभरिका लागि नाका खोल्न पहल नगर्दा कर्णालीका उत्तरी नाकामा यहीँ हाटमा मात्र नेपाल—चीनको व्यापार निर्भर छ । सडकको असुविधा र महँगो ढुवानी भाडाका कारण स्थानीयलाई चिनियाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता भएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार मुगुगाउँबाट चिनियाँ सीमा एक दिनमै पुगिन्छ भने खाद्यान्न पनि नेपाली बजारभन्दा झन्डै ३ गुणा सस्तोमा पाइन्छ । अत्यधिक चिसो र सिँचाइको असुविधाका कारण पालिकाभरि वर्षमा एक बाली उवा मात्र फल्ने उनले जानकारी दिए । ‘त्यसले ३ महिना पनि खान पुग्दैन, जसका कारण स्थानीय बाहिरकै खाद्यान्नमा निर्भर छन्,’ उनले भने, ‘चीन जान एक दिन र सदरमुकाम आउन ५ दिन लाग्ने, त्यसमा पनि नेपाली खाद्यान्न महँगो र ढुवानी भाडा पनि झन्डै दोब्बर लाग्ने भएपछि चिनियाँ खाद्यान्नको भर पर्नुपरेको हो ।’
गाउँमा खाद्य संस्थानको डिपो भए पनि कहिल्यै चामल नआउने मुगमकार्मारोङ—५ का छोटेल तामाङले बताए । ‘खाद्यान्न, लत्ताकपडा र अन्य सामग्रीका लागि चिनियाँ हाजबजार नगइ सुखै छैन,’ उनले भने, ‘नाका पूर्णरुपमा खुलेर बाह्रैमहिना व्यापारिक सम्बन्ध स्थापित भए हाम्रो जनजीवन निकै सहज हुन्थ्यो ।’ स्थानीय व्यापारी सुन्दुक लामाका अनुसार हाटबजारमा मुगुका बासिन्दाले काठका लौरी, चुलीका भुजा, भेडाको ऊन, छालाका सामग्री र यार्सागुम्बालगायत जडिबुटी बिक्री गर्छन् भने चीनबाट लत्ताकपडा, चामल, मैदा, चिनी, चिया, तेललगायत उपभोग्य सामग्री खरिद गर्छन् । ‘यहीँ मेलाबाट खरिद गरिएको सामग्रीले पालिकावासीको वर्षभरिको जोहो हुन्छ,’ उनले भने, ‘कोरोना महामारीका कारण झन्डै चार वर्ष हाटबजार रोकियो, पोहरदेखि फेरि मेला लाग्न सुरु गरेको छ, चिनियाँ हाटले जनजीवन फेरि सहज भइरहेको छ ।’
डोल्पोबुद्ध गाउँपालिका—४ का पेम्बा भोटेले चिनियाँ हाट खुल्ने भएपछि यसपाली यार्साले राम्रो मूल्य पाउने आशा गरेको बताए । उनका अनुसार गत वर्ष २६ लाख रुपैयाँ प्रतिकिलो यार्सा बिक्री भएको थियो । उनका अनुसार कोरोना महामारीका कारण चिनियाँ हाट नलाग्दा नेपाली बजारमा यार्साले राम्रो मूल्य पाएको थिएन । कोरोना महामारीको बेला यार्साले प्रतिकिलो २० लाखभन्दा बढी मूल्य नपाएको उनले बताए । ‘हाम्रा लागि स्थानीय उत्पादनको बिक्री र वर्षभरि चाहिने सामानको खरिद गर्ने ठाउँनै चीन सीमा बनेको छ,’ उनले भने, ‘सरकारले स्थायीरुपमा नाका खुलाए हाम्रो जनजीवन धेरै सहज हुन्थ्यो ।’
उनका अनुसार डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकामा वर्षमा एक बाली उवा मात्र फल्छ । जसका कारण बाहिरको खाद्यान्नको भर पर्नुपर्ने उनले बताए । ‘सडक सुविधा भए पनि सदरमुकाम गएर खाद्यान्न ल्याउन सकिन्थ्यो, खच्चडमा बोकाएर ल्याएको खाद्यान्न चार गुणा महॅगोमा उपभोग गर्नुपर्छ,’ उनले भने, ‘चीनबाट ल्याएको चामल किन्न पनि सस्तो र ढुवानी खर्च पनि कम लाग्ने ।’ उनका अनुसार सदरमुकाम दुनैमा ३० किलोको एक बोरा चामलको मूल्य २ हजारदेखि २ हजार ५ सयसम्म छ । तर त्यहीँ चामल माथिल्लो डोल्पा पुर्याउँदा ६ हजार ५ सय रुपैयाॅसम्म पर्ने गरेको छ । सदरमुकाम किनेको सामान प्रतिकिलो ९० रुपैयाँसम्ममा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । चीन सीमामा त्यही परिणामको चामल ८ सयदेखि १ हजार रुपैयाॅमा पाइने उनले जानकारी दिए ।
हुम्लाको हिल्सा, मुगुको नाग्चेनाग्ला, क्याटो र डोल्पाको मरिम चीन सीमासँग जोडिएको छ । हिल्सा नाका गत वर्ष बैशाखदेखि चीनले खोले पनि बाह्रै महिना व्यापारिक सम्बन्ध कायम हुन नसकेको हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङले बताए ।
उनका अनुसार १९१५ देखि मुगुगाउँका आदिबासी जनजातीले तिब्बतसँग व्यापारिक सम्बन्ध स्थापित गरेका थिए । अहिले हुम्ला सदरमुकाम सिमकोटदेखि चिनियाँ नाका हिल्सासम्म ९५ किलोमिटर सडक खुलेको छ । चीन सीमासम्मै सडक खुले पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल, साल्ट ट्रेडिङको नुन तथा स्थानीय व्यापारीको सामान्य सामान बाहेक अन्य बस्तुको ढुवानी चिनियाँ नाकाबाट हुन नसकेको उनको गुनासो छ ।
‘सीमासम्म सडक खुलेपछि सीमा क्षेत्रमा बाह्रै महिना चहलपहल हुनुपर्ने हो, खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामान सबै चीनतिरबाट आए महँगीको मार पनि कम हुन्थ्यो,’ उनले भने, ‘अहिले हिल्सा भएर भारतीय पर्यटक मानसरोवर जाने गरेकाले केही चहलपहल भए पनि अरु बेला नाका सुनसानै हुन्छ, सीमासम्म सडक खोले पनि नेपालले खासै फाइदा लिन सकेन, हिल्सापारि अर्कै संसार छ, यता अर्कै, उता पूर्वाधार र विकास निर्माणले फड्को मारेको छ, यता भने सबै सुनसान ।’
चिनियाँ सहर ताक्लाकोटमा मजदुरी गर्न जानेहरुले अहिले हिल्सा नाका प्रयोग गर्दै आइरहेका छन् । ताक्लाकोट जानका लागि झन्डै ७ हजार जनाले अस्थायी अनुमति पत्र बनाएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । उनका अनुसार चीनबाट फर्कदा स्थानीयले एक पोका (बोरा) मात्र सामान ल्याउन पाउँछन् ।
‘नेपालीहरुले चाहिनेजति सामान ल्याउन पाउने गरी चिनियाँ अधिकारीसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘स्थानीय व्यापारिक सामानको ढुवानी सहज बनाउन छलफल चलाइरहेका छौं, संघीय सरकारले कुटनीतिक सम्बन्ध स्थापित गरी दुई देशको व्यापारिक सम्बन्धलाई नियमित गर्न जरुरी छ ।’
