बढ्दैछन् कानुन पढ्ने महिला

२०७२ सालदेखि २०८२ सम्मको तथ्यांकमा ३ हजार १२१ महिलाले अधिवक्ता प्रमाणपत्र लिएका छन्, यो अवधिमा अधिवक्ताको प्रमाणपत्र लिने पुरुषको संख्या ४ हजार १५४ रहेको छ ।

श्रावण १८, २०८२

आरती पौडेल

The number of women studying law is increasing

What you should know

काठमाडौँ — कानुन अध्ययनमा पछिल्लो समय महिलाको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गएको छ । विश्वविद्यालयमा कानुन विषय रोज्ने महिला विद्यार्थीको संख्या बर्सेनि बढिरहेको देखिन्छ । तर, कानुन पढेपछि सोही क्षेत्र या भनौं वकालत अभ्यासमा भने पुरुषको तुलनामा महिलाको संलग्नता अपेक्षाकृत कम देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल ल क्याम्पस, नेसनल ल क्याम्पस, पोखराका पीएन क्याम्पस लगायतमा कानुन अध्ययन गर्ने विद्यार्थीमध्ये झन्डै आधा महिला रहेका छन् । कतिपय क्याम्पसमा त महिलाको संख्या पुरुषभन्दा पनि बढी हुन थालेको देखिन्छ । कानुन पढेपछि महिला न्यायसेवा, मानव अधिकार, शिक्षक, आई/एनजीओ, बैंक तथा प्रशासनिक सेवाजस्ता अन्य क्षेत्रतर्फ भने महिलाको संलग्नता बढ्दै गइरहेको पनि देखिन्छ ।

नेपाल कानुन व्यवसायी परिषद्को तथ्यांकअनुसार २०५१ मा २८ महिलाले अधिवक्ताको परीक्षाका लागि दरखास्त दिएका थिए । जसमा १५ जना पास भएका थिए । सोही वर्ष ३ सय ३९ पुरुषले अधिवक्ता परीक्षाको फारम भर्दा १ सय ६४ जना पास भए । सो साल उत्तिर्ण हुने महिला प्रतियोगीको प्रतिशत ५३.५७ थियो भने पुरुषको ४८.३८ थियो । महिला र पुरुष गरी ३ सय ६७ मध्ये १ सय ७९ जना पास भएका थिए ।

त्यसको ६ वर्षसम्म अधिवक्ताको परीक्षा दिने महिलाको संख्या दोहोरो अंकमा रहेकोमा २०५७ मा आएर तीन अंकमा उक्लियो । सो वर्ष १ सय ८९ महिलाले अधिवक्ताको परीक्षा दिँदा १ सय ९ जना अधिवक्ता बने । यो वर्ष परीक्षामा सहभागी पुरुषको संख्या भने १ हजार ५ सय ६३ थियो । जसमध्ये ८ सय ९० पास भए । यो वर्ष पनि महिलाको उत्तिर्ण प्रतिशत ५७.६७ रहृयो जबकी पास हुने पुरुषको प्रतिशत ५६.९४ थियो ।

२०६० देखि २०६७ सम्म फेरि अधिवक्ताका लागि लिइने परीक्षामा महिला प्रतिस्पर्धीको संख्या दोहोरो अंकमा सीमित भयो । २०६० मा ९९ महिलाले अधिवक्ताको परीक्षा दिँदा ७३ जना पास भएका थिए । २०६६ मा ६७ जना महिलाले परीक्षा दिँदा ५१ जना पास भए । २०७४ पछि अधिवक्ताका लागि लिइने परीक्षामा महिलाको संख्या बढ्न थालेको देखिन्छ । यो वर्ष ४ सय ४४ महिलाले अधिवक्ताको परीक्षा दिँदा १ सय ७८ जना पास भएका थिए । सोही वर्ष पुरुष परीक्षार्थीको संख्या भने १ हजार ७२ थियो जसमध्ये ३ सय ८२ जना पास भएका थिए ।

अधिवक्ताका लागि भएको २८ औं परीक्षा २०७७ मा ७ सय ४७ महिला सहभागी भए । सो वर्ष १ हजार ३ सय १७ पुरुषले परीक्षा दिए । परीक्षामा सफल हुनेमा महिला ३९ प्रतिशत अर्थात् २ सय ९४ जना थिए भने पुरुष २८ प्रतिशत अर्थात् ३ सय ७९ जना मात्रै थिए । यसले पनि पुरुषको तुलनामा महिलाहरूले अधिवक्ताको परीक्षामा पास हुने प्रतशत सधैं उच्च रहेको देखिन्छ । 

अधिवक्ताको ३२ औं परीक्षामा १ हजार २ सय १० महिलाले परीक्षा दिँदा ४ सय ७९ जना उत्तीर्ण भए । यो वर्ष अधिवक्ताको परीक्षा दिने १ हजार ६ सय १९ पुरुषमध्ये ५ सय ४५ उत्तीर्ण भए ।

अधिवक्ताको ३१ औं परीक्षा दिने महिला १ हजार ३८ महिलामध्ये ४ सय ५० थियो । सोही परीक्षामा सहभागी पुरुष १ हजार ५ सय ७२ मध्ये ५ सय १६ जना मात्र पास भएका थिए ।

अधिवक्ताको ३० औं परीक्षामा ८ सय ४३ महिला सहभागी भए । जसमा ४९ प्रतिशत अर्थात् ४ सय १७ जना अधिवक्ताको लाइसेन्स प्राप्त गर्न सफल भए । २०७२ सालदेखि २०८२ सालसम्मको तथ्यांक हेर्ने हो भने ३ हजार १ सय २१ महिलाले अधिवक्ता प्रमाणपत्र लिएका छन् । यसै अवधिमा अधिवक्ताको प्रमाणपत्र लिने पुरुषको संख्या ४ हजार १५४ रहेको छ ।

अधिवक्ता तथा नेसनल ल क्याम्पसका सहायक प्रध्यापक राष्ट्रविमोचन तिमिल्सिनाका अनुसार कानुन विषय पढ्ने र कानुनी विद्याका अन्य क्षेत्र जस्तै सरकारी तथा गैरसरकारी क्षेत्रमा महिलाको प्रवेश बढिरहेको भए पनि वकालत क्षेत्रमा भने महिलाको उत्साहजनक सहभागिता नरहेको बताउँछन् । नेसनल ल क्याम्पसमा ७५ प्रतिशत हाराहारीमा कानुन विषय पढ्ने महिला र पुरुष २५ प्रतिशत रहेको बताउँदै उनी भन्छन्, ‘जसरी महिलाको कानुन विषय पढ्नेको संख्या बढेको छ त्यो हिसाबले वकालत क्षेत्रमा भने सहभागिता छैन । पहिलाको तुलनामा थोरै संख्यामा परिवर्तन आएपनि पुरुषको तुलनामा वकालत गर्ने महिलाको सहभागिता निकै कम देखिन्छ ।’

The number of women studying law is increasingकानुन अध्ययन गरेका महिला वकालत क्षेत्रमाभन्दा पनि सरकारी वकिल र न्याय सेवा, गैरसरकारी क्षेत्र र अन्तरसरकारी क्षेत्रमा संलग्न रहेको तिमिल्सिनाले बताए । ‘महिलालाई अहिले पनि समाजको अवधारणामा चल्न पर्ने बाध्यता छ । क्लाइन्टले पनि महिलालाईभन्दा पुरुषलाई नै सक्षम सोच्ने या भनौं पत्याउने र एउटा निश्चित समय नभएका कारणले पनि महिला वकालत क्षेत्रमा कम छन्,’ उनले भने ।

महिला कानुन पढेर अन्य क्षेत्रमा संलग्नता बढेपनि यसले समाज परिर्वतनमा भने सकारात्मक भूमिका खेल्ने बताउँछन् उनी ।

‘महिला र पुरुष दुवैको समाजलाई हेर्ने नजर फरक हुन सक्छ । महिलाको आकर्षण बढ्दै गएपछि लुकेको आवाज मिडिया र सामाजिक सञ्जालमा मात्र हैन वास्तविक आवाज र नीतिमा परिर्वतन ल्याउन मद्दत गर्छ । महिलाको सहभागिताले समाजमा सकारात्मक सन्देश प्रदान गर्छ । त्यसैले महिलाको कानुन विषयमा संख्या बढ्दा समाज सकारात्मक ढंगले अगाडि बढ्नमा मद्दत गर्छ,’ उनले भने ।

प्रतिस्पर्धाको हिसाबले महिला कम भने देखिँदैनन् । ३२ औं अधिवक्ता तहको परीक्षामा रोजिना आर्चाय क्षेत्री सर्वोत्कृष्ट भइन् । उक्त नतिजामा १० उत्कृष्ट मध्ये ७ जना महिला थिए । क्षेत्रीका अनुसार हरेक पेशामा महिलालाई समाजमा सक्षम भएता पनि हेर्ने नजर र गर्ने व्यवहार फरक भएसँगै कानुनी पेशामा पनि त्यस्तो अपवाद रहेको छ । समय परिर्वतन भएपनि महिलाले ठूला मुद्दा हेर्न सक्दैनन्, भन्ने धारणा अझै धेरैको मनसटलमा भएको कारण महिलाको वकालत क्षेत्रमा सोचे अनुरुप संलग्नता नरहेको बताउँछिन् । रोजिना भन्छिन्, ‘महिला भएपछि पुरुषभन्दा सक्षम नै भएपनि सक्षम छु है भनेर हरेक कुरामा बढी नै इफोर्ट लगाउनुपर्छ । महिला वकालत क्षेत्रमा सक्षम हुँदा हुँदै पनि डिभोर्स, मानाचामल र अन्य सामान्य केस बाहेक ‘क्रिटिकल केस’ मा नपत्याउने, महिलाले हेर्न सक्दैनन् भन्ने धारणाका कारण महिला वकालत क्षेत्रमा कम देखिएका हुन् ।’

The number of women studying law is increasing

काम गर्न सकेको खण्डमा भने पहिलाको तुलनामा अवसर र पहुँचको हिसाबले राम्रो भएका कारण महिलाले कानुन क्षेत्रका राम्रो गर्न सक्ने उनको भनाई छ । ‘अहिलेका महिला आफ्ना सपनालाई आफ्ना इच्छालाई खुम्चाएर राख्न चाहँदैनन् र पहिलाको भन्दा पहुँचको हिसाबले पनि राम्रो छ । गाह्रो छ, संघर्ष गर्नुपर्छ भन्ने कुरा सत्य हो तर सधैं यही सोच्यौं भने महिला वकालत क्षेत्रमा कम नै हुन्छन् । आँट र क्षमताका साथ सक्छु भन्ने धारणाले महिला अगाडि आएमा वकालत क्षेत्रमा महिलाको संलग्नता बढ्छ । यो कुराले आउँदो पुस्तालाई पनि प्रेरणा मिल्छ,’ उनले भनिन् ।

‘पारिवारिक संरचना, छोरी मान्छेले घर धान्नैपर्छ भन्ने सामाजिक सोच, बच्चा पाउने–हुर्काउने काम, घर परिवार र आफ्नो पेशामा सन्तुलन राख्न नसकेको कारण महिला वकालतबाट पलायन हुन बाध्य छन् । मेरो पेशामा जोडिएका व्यक्तिले गर्दा नराम्रो महसुस कहिल्यै भएन तर ‘क्लाइन्ट’ ले महिला भएकै कारण गर्ने व्यवहारले मेरो मन धेरै पटक दुःखेको छ’ – वरिष्ठ अधिवक्ता सविता भण्डारी

लामो समयदेखि वकालत पेशालाई अँगाल्दै आएका महिला क्षमताका हिसाबले भने कम छैनन् । समाज परिर्वतनमा उनीहरुले ठूलो भूमिका खेलेको देखिन्छ । वरिष्ठ अधिवक्ता सविता भण्डारीका अनुसार पहिलाको तुलनामा गुणस्तर र संख्याका हिसाबले अहिले महिलाका लागि वकालत क्षेत्रमा राम्रो भएको बताउँछिन् । तर पनि महिलालाई वकालत पेशामा पुरुषको तुलनामा गाह्रो रहेको उनको भनाई छ । उनी भन्छिन्, ‘वकालत पेशामा आएर धेरै महिला स्थापित हुन नसकेको उदाहरण छन् । पारिवारिक संरचना, छोरी मान्छेले घर धान्नपर्छ भन्ने धारणा, बच्चा पाउने–हुर्काउने गर्दा महिलाले घर परिवार र आफ्नो पेशा सन्तुलन राख्न नसकेको कारण पेशालाई छोडेर घर सम्हाल्न बाध्य हुन्छन् ।’

The number of women studying law is increasing

पेशामा रहेका पुरुषको कारणले भन्दा पनि सेवाग्राहीमा रहेका विभेदका कारणले वकालत पेशामा महिलालाई संघर्ष गर्नुपरेको भण्डारीको भनाइ छ । ‘मलाई सबैभन्दा सहज महसुस हुने ठाउँ नै अदालत र वकालत पेशा हो । न्यायाधीश, अधिवक्ताका कारण अथात् मेरो पेशाकाले कहिल्यै नराम्रो व्यवहार गरेनन् तर ‘क्लाइन्ट’ले महिला भएकै कारण गर्ने व्यवहारले, पुरुष वकिलको तुलनामा महिला कमजोर छन्‌जस्तो व्यवहारले मेरो पनि मन धेरै पटक दुःखेको छ,’ उनले भनिन् ।

समाज अझै पनि चाहेअनुरुप परिर्वतन नभएको तर पहिलाको तुलनामा वकालत क्षेत्रमा थोरै भएपनि महिलाहरुको सहभागिता बढेको देख्दा खुसी लाग्ने गरेको अनुभव उनले सुनाइन् । साथै घरपरिवारको सहयोग, पुरुष र महिलालाई समान व्यवहार गरेको खण्डमा हरेक क्षेत्रका प्रतिस्पर्धामा महिला अघि बढ्न सक्ने उनको भनाई छ ।

वकालत क्षेत्रमा संलग्न नभएका तर कानुन विषय पढेर सरकारी क्षेत्रमा सक्षम बनिरहेका महिलाको पनि सहभागिता राम्रो देखिएको छ । महिला कानुन विषय पढेर चाहे त्यसभित्रको जुनसुकै क्षेत्र आफ्नो इच्छा अनुरुपको पेशा अंगाले पनि सक्षमताको हिसाबले यो समाजको लागि सकारात्मक भएको जानकार बताउँछन् ।

सर्वोच्च अदालतमा शाखा अधिकृत रहेकी विनु गौतम न्याय सेवा र सरकारी वकिलमा महिलाको सहभागिता बढेको बताउँछिन् । उनी भन्छिन्, ‘प्राइभेट क्षेत्रभन्दा तुलनात्मक हिसाबले सरकारी क्षेत्र महिलाको लागि अलि सुरक्षित भएको र निर्धारित तोकिएको समय १० देखि ४ भनेजस्तो समय पनि भएकाले महिलाको सहभागिता बढ्दो छ । विनुलाई पनि महिला र पुरुषलाई हेर्ने र गर्ने व्यवहार सरकारी क्षेत्रमा पनि फरक नै रहेको महसुस हुने बताउँछिन् ।

‘एउटै पोस्टमा रहेका महिला र पुरुषलाई विभिन्न अवसरमा वा कार्यक्रममा पनि महिलालाईभन्दा पुरुषलाई नै बढी प्राथमिकता दिएको देखिन्छ । महिला प्राकृतिक हिसाबले बच्चा जन्माउनुपर्छ, घर परिवार हेर्नपर्छ भन्ने हिसाबले पनि व्यवहार गर्ने गरिन्छ । तर क्षमताको हिसाबले महिला पनि पुरुष सरह सक्षम र क्षमतावान् भने हुन्छन्,’ उनले भनिन् । तर कानुन विषय वकालत पेशा बाहेक अन्य जुन काममा लागेपनि कानुनका बारेमा धेरै कुरा थाहा हुने उनको भनाई छ ।

कानुन पढेर वकालत सँगसँगै शिक्षण पेशा अँगाल्दै आउने महिला र पुरुष दुवैको संख्या उच्च छ । आफूले पढाउने क्रममा हरेक वर्ष महिलाको कानुन विषयमा आकर्षण बढ्दो रहेको र कानुन विषयले कानुन र समानताको शिक्षा सिकाए पनि पेशामा समानता भने नभएको अधिवक्ता अनिता कोइराला बताउँछिन् । उनी भन्छिन्, ‘अवसर महिलालाई बढी दिएको छ जस्तो देखाउने तर अगाडि बढ्न खोज्दा निरुत्साहन गर्ने खालको वातावरण छ । जसले महिला अझै पनि खुलेर वकालत क्षेत्रमा आउान सकिरहेका छैनन् । देखाउन नभई व्यवहारमा महिलामैत्री नीति र समाजको सोच परिवर्तन नभएसम्म वकालत पेसामा महिला सहभागिता बढ्दैन ।’

वकालत गदै आएका पुरुषले पनि महिला सक्षम र योग्य भए पनि क्लाइन्टहरुले झट्ट 'महिलाले सक्छन् र?' जस्तो व्यवहार गरिदिएपछि महिला अधिवक्ताको आत्मबल कमजोर हुने बताउँछन् । अधिवक्ता भावेश गौतमका अनुसार पितृसत्तात्मक सोच अझै पनि समाजमा रहेको कारण महिला वकालत क्षेत्रमा कम नै रहेको हो । उनी भन्छन्, ‘जसरी पुरुषलाई समाजले कानुनी क्षेत्रका हरेक मुद्दामा असक्षम नै भएपनि विश्वास गर्ने प्रविधि छ, त्यसरी महिला सक्षम नै भएपनि सजिलै विश्वास गरेको देखिँदैन । यस्तो असमानता बिस्तारै हटे पनि पूर्ण रुपमा हटेको भने छैन ।’ उनका अनुसार यस्तो कुरा समाजबाट हटेमा वकालत पेशामा महिलाको सहभागिता बढ्नेछ ।

आरती पौडेल

Link copied successfully