पूर्व–पश्चिम राजमार्गमा बर्खायाममा हरेक वर्ष हावाहुरीले रुख ढालेर सवारी साधनमा यात्रा गर्नेहरु जोखिममा पर्ने गरेका छन्, तर सम्बन्धित निकायको ध्यान त्यसतर्फ नजाँदा सडक तथा वन कार्यालयको आलोचना हुँदै आएको छ।
What you should know
रौतहट — तपाईं पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दै हुनुहुन्छ भने दायाँबायाँ ढल्किएका रुखको पनि ख्याल गर्नु होला । सडकमा भुईँ छुन लागेको रुख कतिखेर ढल्छ भन्ने पत्तो हुँदैन ।
यही साउन २ गते बिहान ८ बजे चन्द्रनिगाहपुर–बागमती खण्डको जंगलमा सालको रुखबीच सडकमै ढल्यो । नजिकै पुगेका सवारीसाधन धन्नले बचे । लामो समयदेखि धराप बनेको रुख व्यवस्थापन नभइरहँदा ठूलो दुर्घटना हुनबाट जोगियो । उक्त रुख ढल्दा मानवीय क्षति नभए पनि राजमार्ग भने डेढ घन्टा ठप्प भयो ।
रुख ढलेको खबर पाउनासाथ इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले आरा, बञ्चरोको मद्दतले रुख काटेर पन्छाउने प्रयास गरे । लाइफलाइनको रुपमा चिनिने यो सडकमा छोटो समयमै एक सयभन्दा बढी गाडीको लाम लाग्यो । चर्को गर्मीमा बीच जंगलमै रोकिनु पर्दा यात्रुले सास्ती भोगे । बर्दिबासबाट चन्द्रनिगाहपुर आउँदै गरेका बेकरी व्यवसायी अमर श्रेष्ठले समयमा सडक र वन कार्यालयले राजमार्गमा धराप बनेका रुख व्यवस्थापन गर्न नसक्दा यात्रु र चालकले सास्ती भोग्नु परेको सुनाए ।
‘रुख गाडीमाथि परेको भए मानवीय क्षति हुन सक्थ्यो । यस्ता कुराको हेक्का नराख्दा भोलिका दिनमा ठूलो समस्या निम्त्याउँछ,’ उनले भने,‘अहिले राजमार्ग छेउछाउका रुख एम्बुस थापेको जस्तै भएको छ । कतिखेर ढल्ने हो ठेगान हुँदैन ।’ उनले चलाएको कारभन्दा अगाडि दुई वटा मालवाहक ट्रक थिए । ट्रकलाई ओभरटेक गर्ने मनस्थितिमा थिए, उनी । तर अगाडि गर्ल्याम्मै रुख ढलेपछि मुस्किलले ज्यान जोगिएको उनले सुनाए ।
पछिल्लो समय पूर्व–पश्चिम राजमार्गको पथलैया–बर्दिबास क्षेत्रका दुवैतिर ठूला रुखहरु ढल्केर धराप बनेको देख्न सकिन्छ । राजमार्ग किनारमा झन्डै एक हजारको संख्यामा यस्ता रुख भेटिन्छन्, जहाँ हाँगा लर्केका तिनको तत्कालै व्यवस्थापन गर्न जरुरी देखिन्छ । चालकहरु राजमार्ग दायाँबायाँ, माथि हेर्दै सवारी चलाउनु परेको गुनासो गर्छन् । राजमार्गको यो दृश्यले हरेक वर्षको वर्षायाममा सवारीचालक, यात्री, मोटरसाइकलमा यात्रा गर्नेले त्रासमा हिँड्नु परेको गुनासो गर्छन् । जतिबेला पनि जोखिममा परिने त्रास हुने गरेको वीरगन्ज–जनकपुर चल्ने बसका चालक रामकुमार मिश्रले सुनाए ।
चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका चिकित्सक ज्ञानेन्द्र बिनको २०६५ वैशाख २२ गते साँझ चन्द्रपुर–१ स्थित पूर्व–पश्चिम राजमार्गको बागमती–चन्द्रनिगाहपुर खण्डमा पर्ने लच्कानजिक हावाहुरीले राजमार्गमा ढलेको रुखमा मोटरसाइकल ठोक्किएर घटनास्थलमै मृत्यु भएको थियो । राजमार्गमा ढलेको रुखमा उनी चढेको मोटरसाइकल ठोक्किएको हो । रुख ढलेर सडकमै अलपत्र थियो । घटनापछि डिभिजन सडक कार्यालयको आलोचना पनि भयो ।
बर्सेनि बर्खामा हावाहुरीले रुख ढालेर यात्री जोखिममा पर्दै आए पनि सम्बन्धित निकायको ध्यान जान नसकेको भनेर सडक र वन कार्यालयले चर्को आलोचना खेप्ने गरेको हो । वर्षाका बेला राजमार्गमा हाँगा झरेका साना रुखहरु ढलेका थुप्रै घटना छन् । तत्कालै हाँगा पन्छाएर सवारीसाधन पठाएपछि ट्राफिक, प्रहरीले त्यस्ता घटनाको तथ्यांक राख्ने गरेको पाइँदैन । साउन महिनामा मात्र ३ पटक सडक छेउका रुख ढलेर राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जानकारी दिएको छ ।
कार्यालयका अनुसार गत असार १८ गते पथलैया–निजगढ खण्डमा रुख ढलेर केहीबेर सवारी अवागमन ठप्प भएको थियो । साउन २ गते चाँदी पुलनजिक रुख ढलेर सवारी आवागमन बन्द भएपछि सुरक्षाकर्मीले काटेर पन्छायो । साउन १० गते चन्द्रनिगाहपुर–बागमती खण्डमा रुख ढलेर झन्डै डेढ घन्टा सवारी साधन अवरुद्ध भए । पथलैया ट्राफिक कार्यालयका प्रवक्ता डिएसपी वकिल सिंहले राजमार्गका दुवैतिरका धराप रुखले समस्या निम्त्याउन सक्ने बताए । ‘हामीले सम्बन्धित निकायको ध्यान जाओस् भन्नेमा छौं,’ उनले भने,‘सकेसम्म यस्ता रुखहरु समयमा व्यवस्थापन गरे राम्रो हुन्छ ।’
२०७९ वैशाख २७ गते हेटौंडाबाट चन्द्रनिगाहपुर मोटरसाइकलमा आउँदै गरेका चन्द्रपुर–४ का बिक्की थापा निजगढ–पथलैया खण्डमा अचानक रुख ढल्दा हाँगा उछिट्टिएर हातमा लाग्यो । थापालाई समान्य चोट लाग्यो । तीव्र गतिमा हावाहुरी चल्दा आफूभन्दा केहीपर सडकमा गर्ल्याम्मै सालको रुख ढलेको प्रत्यक्ष देखेको थापाले बताए । ‘धन्न हाँगा उछिट्टिएर हातमा लाग्यो । समान्य चोट लाग्यो । ठूलो दुर्घट्ना हुनबाट जोगिएँ,’ उनले भने,‘राष्ट्रिय राजमार्गको दुवैतिर रुखहरु सडकै छुनेगरी ढल्केको छ तर सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’
२०८१ जेठ १७ गते राति धन्सार क्षेत्रमा हावाहुरीले राजमार्गमा ढलेका रुखको हाँगा पन्छाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । त्यसबेला इलाका प्रहरी र ट्राफिकको संयुक्त टोलीले रुख काटेर रातारात पन्छाएपछि सवारी आवागमन खुलेको हो । बाराको पथलैयादेखि सर्लाहीको बाँके जंगलमा पर्ने राजमार्गको दायाँबायाँ सडक छेउका रुखहरु ढल्ने अवस्थामा पुगेका छन् । धेरै रुखको हाँगा लर्केर सवारी साधन आवागमनमा समस्या हुने गरेको पाइएको छ । समयमा हाँगाहरु काटिएन भने ठूलै दुर्घटना हुने बसका चालकहरु बताउँछन् ।
हावाहुरीको मौसममा हाँगा भाँचिँदा सवारी साधनमा पर्ने खतरा उस्तै हुन्छ । सडक र वन कार्यालयले राजमार्ग दायाँबायाँका रुखहरु सबै हटाउन चासो नदेखाएको आरोप लाग्दै आएको छ । राजमार्ग छेउका रुखका हाँगाहरु तल झर्न लागेको अवस्थामा देख्न सकिन्छ । हावाहुरीमा त्यस्ता हाँगा भाँचिएर गाडीमाथि पर्ने सम्भावना हुन्छ । सवारीमा पर्यो भने मानिसको ज्यान जान सक्छ । अहिले धेरै स्थानमा रुखका हाँगा भाँचिएर सडक छेउमा तल झरेको अवस्थामा देख्न सकिन्छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार लाल कर्णले वनसित स्वीकृति लिएर राजमार्ग अवरुद्ध हुने खालका रुखहरु काट्ने प्रक्रिया थालेको बताए । ‘ढल्न लागेका, जोखिम निम्त्याउने रुखहरु वनबाट आदेश लिएर काट्ने, व्यवस्थापन गर्ने काम गर्दै आएका छौँ,’ उनले भने,‘सडक अवरुद्ध हुन नदिन यस्ता रुखहरु काट्ने, हाँगा छाट्ने गरेका छौँ । अब चाँडै फोर लेनको बाटोको टेन्डर लागेपछि डराएर यात्रा गर्नुपर्ने समयको अन्त्य हुन्छ ।’
पूर्वदेखि पश्चिमका नेपालीलाई एक सूत्रमा बाँध्न महेन्द्र राजमार्गको अतुलनीय योगदान रहेको छ । यस राजमार्गको विकाससँगै देशले व्यापार वाणिज्यमा अतुलनीय विकास गरेको छ । पछिल्लो समय राजमार्ग छेउका रुखको हाँगा बढेर तल लर्केका छन् । सम्बन्धित निकायले यसलाई व्यवस्थापन गर्न सकेको छैन ।
तत्कालीन राजा महेन्द्रबाट विक्रम संवत् २०२२ सालमा यो राजमार्गको उद्घाटन भएको थियो । झन्डै एघार सय किलोमिटरभन्दा लामो पूर्वमा काँकडभिट्टा (मेची नगर) देखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोड्ने हालसम्म नेपालकै सबैभन्दा लामो राजमार्गमा दैनिक १० हजार बढी गाडी चल्छन् । राजधानी जोड्ने राष्ट्रिय राजमार्गमा यात्रा सुरक्षित हुनुपर्ने यातायात व्यवसायी बताउँछन् । रौतहट बस व्यवसायी सघंका अध्यक्ष लालबाबु गिरिले राष्ट्रिय राजमार्गको छेउका रुखको हाँगा काटेर पन्छाउनु पर्ने बताउँछन् । ‘चालकहरु एकसुरमा सवारी चलाइरहेका हुन्छन् ।
वर्षाको बेला हावाहुरीले रुख ढल्ने र हाँगा भाँचिने गर्छ,’ उनले भने,‘सडक विभागले तत्कालै राजमार्गको यस्ता अवरोध हटाउनु पर्छ । सवारी र यात्रुलाई सुरक्षित बनाउनेतिर पहल थाल्नु पर्छ ।’ पछिल्लो समय राष्ट्रिय राजमार्गमा रुखका हाँगा र बजार क्षेत्रमा अतिक्रमणका कारण समस्या हुने गरेको छ ।
पछिल्लो समय हावाहुरीका कारण रुख ढलेर घन्टौँसम्म सवारी अवरोध हुने गरेको छ । रुखको हाँगाले छोला कि भनेर चनाखो हुँदै चालकहरुले गाडी चलाउने गर्छन् । उनीहरु माथि, हेर्दै गाडी चलाउँछन् । सडकले समयमा रुखका हाँगाहरु काटेर राजमार्ग सफा बनाउनु पर्छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले सडकले पहल गरेको खण्डमा आफूले सहयोग गर्ने सुनाए ।
‘राजमार्गमा ढल्न लागेको रुखले सवारी आवागमन जोखिम हुने सम्बन्धमा माथिल्लो निकायमा जानकारी गराएकै छु,’उनले भने,‘राजमार्गमा झर्न लागेको हाँगाहरु काटेर सफा गर्न वनसित बजेटको अभाव छ ।’
गएको साउन २१ गते धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्री घाइते भए । गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा उक्त घटना भएको हो । गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको माइक्रो बसमाथि रुख ढलेर बजारिएको थियो । त्यसपछि सवारी आवागमन बन्द भएको थियो ।
