चुरेका जंगलमा सामान्य रेस्टुरेन्टदेखि अर्बौं लगानीका होटल खुल्दै, चुरे पहाड केन्द्रित तिन केबलकार सञ्चालनमा
What you should know
बुटवल — ७१ वर्षीय दीर्घबहादुर कुमाल चुरे संरक्षित क्षेत्र नुवाकोटको तीव्र विकास देख्दा दंग छन् । पाल्पाको तिनाउ गाउँपालिका–१ नुवाकोटका उनी बाल्यकालदेखि नै नुवाकोटको डाँडामा खनिखोस्री गर्दै आइरहेका छन् । आफूले जान्दा ८/१० घर मात्र रहेको नुवाकोटमा अहिले दैनिक घर बन्ने र होटल खुल्ने क्रम बढ्दो छ । दीर्घबहादुरले खनजोत गरेर अन्न उब्जाउने बारीमा बन्दै गरेका घरसँगै उनको विगतको भोगाइ र अहिलेको हेराइमा पनि व्यापक उचारचढाव छ ।
दीर्घबहादुर १५/१६ वर्षे जवान हुँदा नुवाकोटमा थोरै घर र धेरै जंगल थियो । तर, मानिसहरुको थामिनसक्नु भीड हुन्थ्यो । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा लगायतका पहाडबाट घ्यु बोकेर खस्यौली नुन लिन झर्थे मानिस । खस्यौली झर्नु अगाडि सँगै आएका मानिसको रेकर्ड राख्ने ठाउँ थियो, नुवाकोट डाँडा । घोडा, खच्चर र पैदलयात्रा गरेर आउने मानिसको चहलपहल हुन्थ्यो ।
हेर्दाहेर्दै त्यो अवस्था फेरियो । दीर्घबहादुर ३५ वर्षका लक्का जवान भए । यता बुटवल–पाल्पा सडक बन्यो । सडक खुलेपछि नुवाकोटको चमकधमक हरायो । चहलपहल देखिनै छोड्यो र सुनसान बन्दै गयो । समयको गतिसँगै अवस्था पनि फेरियो । दीर्घबहादुरको उमेर चढ्दै गयो । उनी ६० वर्ष लाग्दै गर्दा बढ्न थालेको नुवाकोटको चमक अहिले कहाँ हो कहाँ पुगेको छ । दैनिक ५० मोटरसाइकल, १५/२० कार जिप पुग्ने गरेका छन् । केबलकार चढेर जानेको संख्या पनि उत्तिकै छ ।
आफ्नो उमेरको बुढ्यौलीसँगै नुवाकोटले कोल्टे फेरेर आफ्नो सान फर्काएको दीर्घबहादुरले सुनाए । ‘हेर्नुस् त हेर्दाहेर्दै निमिछान्न पनि भयो, अहिले फेरि यी मान्छेको भीड !,’ उनले भने, ‘बैंस र ऐस फर्केर आउँछ भन्थे बुढापाका हो रै'छ त ।’ पहिला दु:ख गर्दै मान्छे नुवाकोट आउने गरेकोमा अहिले मोजमस्ती गर्न आउन थालेको उनले बताए ।
‘जमाना भने फेरिए, उतिबेला नुनका भारी बिसाउने चौपारी र रात पर्दा बास बस्ने थलो थियो नुवाकोट,’ उनले भने, ‘अहिले त दु:खेको मनलाई यहाँ ल्याएर हल्का गराउने र मोजमस्ती गर्ने थलो पो भयो ।’ अहिले नुवाकोटमा बुटवलबाट ४ घण्टाको पैदल हिँडाइदेखि हाइकिङ गर्दै पुग्नेहरु पनि छन् । केबुलकार चढेर जाने पनि छन् र ८ किलोमिटरको सडक यात्रा गर्दै पुग्ने पनि पर्याप्त छन् । पैदल, केबलकार र सवारी साधनमार्फत जाने मानिसको संख्या बढ्दै गएपछि अहिले नुवाकोट आन्तरिक र बाहृय पर्यटकको गन्तव्य बनिरहेको छ ।
नुवाकोटमा जानेका लागि होटल, रेस्टुरेन्ट र होमस्टे सञ्चालनमा छन् । अंग्रेज युद्धको इतिहाससँग जोडिएको नुवाकोट डाँडामा पछिल्ला पाँच वर्षयता पूर्वाधारको विकास, होटल, रेस्टुरेन्ट र मनोरञ्जनका क्षेत्रमा लगानी गर्नेको संख्या बढ्दो छ । नुवाकोटमा मात्र पछिल्लो दुई वर्षमा साना, ठूला गरी १२ वटा रेस्टुरेन्ट थपिएका छन् । तिनमा बुटवल र पाल्पाका युवा व्यवसायीको २५ लाखदेखि २ करोडसम्म लगानी भएको छ ।
नुवाकोट जस्तै चुरे क्षेत्रमै पर्ने बुटवलको शिरमा रहेको अर्को बसन्तपुर डाँडा पनि दुई वर्षदेखि गुल्जार बन्दै छ । साँझ परेपछि बसन्तपुर डाँडोमा बल्ने बत्तीले भैरहवा सहरलाई पहाडको नजिकै पुर्याएको आभाष दिलाउँछ । बसन्तपुरबाट देखिने बुटवलको झिलिमिली र सिद्धार्थ राजमार्गमा जोडिएका सडकबत्तिसँगै डोहोर्याउँदै क्षणभरमै भैरहवासम्म पुर्याउँछ । बसन्तपुरबाट देखिने दृश्यावलोकन जत्तिको मनमोहक छ, तर बसन्तपुरमा स्थानीयको बस्ती र चहलपहल भने छैन । २/३ घर मात्र स्थानीय छन् । झन्डै ८/१० घरलाई लुम्बिनी केबुलकारले मुआब्जा दिएर अन्यत्रै सारेको छ । केबुलकारको मात्र व्यवसायीक क्षेत्र रहेको बसन्तपुरले भारतीय पर्यटकको आकर्षण बढाइरहेको छ । बुटवलको उखरमाउलो गर्मीबाट केबुलकार चढेर बुटवलबाट १० मिनेटमै बसन्तपुर पुग्न सकिने भएकाले भारतीय पर्यटकचिसोको आनन्द लिन बसन्तपुर पुग्ने गरेका छन् । यहाँ बास बस्न मिल्ने ठूला होटल छैनन् । तर, साना रेस्टुरेन्ट भने केबलकार कम्पनीकै स्वामित्वमा चलिरहेका छन् । लुम्बिनी केबलकार सञ्चालन गरिरहेको आईएमई ग्रुपले बसन्तपुमै ३ अर्ब बढीको लगानीमा ५ तारे होटल खोल्ने तयारी गरिरहेको छ ।
महाभारतका चुरे क्षेत्रमा पर्ने यी दुवै डाँडामा पछिल्ला २ वर्षमा व्यावसायिक आकर्षणले तीव्र रुपमा गति लिएको छ । नुवाकोटमा बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकाले पूर्वाधार विकासमा प्राथमिकता दिइरहेका छन् । केबलकारसँगै नुवाकोट जोड्न बुटवलतर्फबाट सडक निर्माण भएर कालोपत्रे पनि भइसकेको छ । नुवाकोट र बसन्तपुर दुवै डाँडालाई छुट्टाछुट्टै दुई केबलकारले जोडेपछि बुटवलको समिप्यमा रहेका दुई डाँडा गुल्जार बन्न थालेका हुन् । गुल्जारसँगै चुरे क्षेत्रमा अतिक्रमण बढ्न थालेकोमा सरोकावालाको चिन्ता पनि बढ्दो छ । बसन्तपुरमा लुम्बिनी केबलकार सञ्चालनमा छ भने नुवाकोटमा सिद्धार्थ केबलकार चलिरहेको छ । दुवै केबुलकामा स्थानीयको लगानी र स्वामित्व भने छैन । लुम्बिनी केबलकारमा व्यवसायी चन्द्र ढकाल समूहको आईएमई ग्रुप र सिद्धार्थ कबलकारमा प्रभु ग्रुपको लगानी छ । दुवै डाँडामा केबलकारले चहलपहल बढाएपछि नुवाकोटमा रेस्टुरेन्ट खोल्ने, पर्यटकीय क्षेत्र विस्तार गर्ने क्रम बढेको छ । त्यस्तै, बसन्तपुरमा भने केबलकार ग्रुपबाटै थप पूर्वाधारका संरचना निर्माण भइरहेका छन् ।
हिमालय उत्पत्तिको क्रममा बनेको चुरे श्रृंखला भारतको ब्रम्हपुत्र नदीदेखि पाकिस्तानको इन्डस नदीसम्म फैलिएको छ । कान्छो पहाडका रुपमा चिनिने चुरे श्रृंखलालाई ‘शिवलिक’ भन्ने गरिन्छ । चुरे श्रृंखलाले नेपालका ३६ जिल्लाको झन्डै ८ सय किलोमिटर भूभाग समेटेको छ । पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म फैलिएको चुरे श्रृंखला लुम्बिनी प्रदेशमा भने दाउन्ने पश्चिमको बर्दघाटदेखि बर्दियासम्म रहेको छ । यसको उत्तर दक्षिण चौडाइ डाँडा अनुसार १० देखि १५ किलोमिटरसम्म रहेको छ । दाउन्ने पश्चिममा फुकेर रहेको चुरे क्षेत्र दाङको देउखुरी पुग्दा साँघुरो घाँटी बन्दै बाँके र बर्दिया क्षेत्रमा फेरि फुकेको छ । समथर तराईबाट उत्तरतर्फ देखिने होचा पहाडका श्रृंखला हुँदै दक्षिणतिरका होचा पहाड, समथर मैदानी भाग, खोंच र दुनलाई चुरे क्षेत्रका रुपमा संरक्षण गर्ने गरिएको छ ।
तिनै तराईको समथर जमिनको नजिकै बनेका अग्ला र हरियाली डाँडामा आन्तरिक र बाहृय पर्यटकको आकर्षण बढ्दै गएपछि गुल्जार बन्न थालेका हुन् । नुवाकोट, बसन्तपुर जस्तै नारायणी पश्चिमदेखि बर्दियासम्मका झण्डै एक दर्जन चुरेका पहाडमा अहिले व्यावसायिक होटल रेस्टुरेन्ट खोल्ने, पर्यटकीय पूर्वाधारको विकास गर्ने श्रृंखला पनि बढ्दै गइरहेको हो । नारायणी पश्चिम नजिकैको गैंडाकोट माथिको चुरे डाँडामा आईएमई ग्रुपले नै मौलाकालिका केबलकार सञ्चालन गरेको छ । ग्रुपकै १ अर्ब बढी लगानीमा चुरे क्षेत्रको जंगलमै इला होटल एन्ड रिसोर्ट पनि सञ्चालनमा छ । मौलाकालिका धार्मिकस्थल पनि हो । त्यसले पनि चुरेको क्षेत्रलाई धार्मिक पर्यटन पूर्वाधारका रुपमा विकास गरिरहेको छ । त्यस्तै, चुरेको दाउन्ने क्षेत्र, बर्दघाटको संसारकोट, सुनवलको घैयाबारी, रूपन्देहीको सैनामैना माथिको झिंगामारा, कपिलवस्तुको धानखोला क्षेत्र, दाङको राप्ती गाउँपालिका–९ को देवीकोट लगायतमा मानव बस्ती विकाससँगै होटल, रेस्टुरेन्ट खुलिरहेका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ मा पर्ने संसारकोट बर्दघाट बजारबाट ६ किलोमिटर दुरीमा पर्छ । त्यहाँ स्थानीय व्यवसायीले लोकल कुखुरा पाल्ने र त्यसकै परिकार त्यहाँ पुग्ने आन्तरिक पर्यटकलाई खुवाउने गरेका छन् । त्यस्तै, सुनवल नगरपालिकाको सुनवल बजारबाट ८ किलोमिटरको दुरीमा पर्ने घैयाबारीमा पनि रेस्टुरेन्ट खुलेका छन् । पाल्पाको सिमानामा पर्ने घैयाबारीबाट पाल्पा र तराईका धेरै क्षेत्रको दृश्यावलोकन गर्न सकिने भएकाले पनि आकर्षण बढ्दो छ । घैयाबारीमा स्थानीयको पनि बसोबास रहेको छ । रूपन्देहीको मुर्गिया बजारबाट झन्डै १२ किलोमिटरको दुरीमा पुग्न सकिने पाल्पाको तिनाउ गाउँपालिका–१ झिंगामारामा पनि पछिल्लो समय होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढीरहेको छ । होटल क्षेत्रमै ख्याती कमाएको पौवा होटल प्रालीले झिंगामारामा २ अर्ब बढी लगानी गर्ने गरी ५ तारे होटल खोल्ने तयारी गरिरहेको छ ।
पौवाले होटल खोल्ने तयारी गरेको क्षेत्र पूरै चुरे पहाड हो । पछिल्ला वर्षमा पहाडको हरियाली र शितलताले भारतीय पर्यटकलाई आकर्षण गरिरहेकाले आफूहरुले चुरे पहाडमा लगानी गर्ने तयारी गरेको पौवा होटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव न्यौपानेले बताए । ‘हामीले झिंगामारामा ३ सय ५० रोपनी जग्गा खरिद गरिसकेका छौं,’ उनले भने, ‘विस्तृत परियोजना तयार गरेर निर्माणको काम सुरु गर्दैछौं ।’ पर्यटन व्यवसायका लागि तराईसँग जोडिएका चुरेका पहाड अहिले उपयुक्त क्षेत्र बनेको उनले बताए ।
दाङको राप्ती गाउँपालिका–९ स्थित देवीकोट पनि पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बनिरहेको छ । रिडी राप्ती ग्रुप प्रालीले झण्डै २ करोडको लागतमा राप्ती एग्रो रिसोर्ट र प्याराग्लाइडिङसहितको योजना अघि बढाएपछि देवीकोटमा आकर्षण बढ्दै गएको छ । देवीकोटलाई पोखरापछिको उत्कृष्ट प्याराग्लाइडिङको रुपमा विकास गर्न सकिने र त्यो लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिएको रिडी राप्ती ग्रुप प्रालिका अध्यक्ष मानबहादुर बुढा मगरले बताए ।
‘चुरे क्षेत्रमा पर्ने देवीकोट आन्तरिक र बाहृय पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना देखिएपछि हामी त्यसमा लगानीका लागि उत्साहित भएका हौं,’ उनले भने, ‘प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिसकेका छौं । २ करोड बढीको लागतमा रिसोर्ट पनि खोल्दै छौं ।’ चुरेका डाँडाकाँडाको उपयोग गर्दै पर्यटक रमाउन सक्ने पूर्वाधार तयार हुँदा त्यहाँबाट देखिने मनमोहक राप्तीका फाँट, राप्ती नदी, बंगलाचुली र भारतका भूभागले पर्यटक आकर्षण गर्ने उनले बताए ।
चुरे क्षेत्र अन्तर्गत रहेका तराई नजिकका पहाड र तराईको दृश्यावलोकनसँगै त्यहाँको शितल वातावरणले पनि आकर्षण बढाइरहेको छ । मौलाकालिकादेखि बसन्तपुर, नुवाकोट, झिंगामारा हुँदै देविकोटसम्मकै चुरेका डाँडामा १२ महिना नै सिरसिर चिसो हावा चलिरहन्छ । तराईको समथर जमिनमा ४० डिग्री तापक्रम हुँदा चुरेका डाँडामा बढीमा २५ डिग्रीसम्म मात्र हुन्छ । त्यसले स्वदेशीसँगै भारतीय पर्यटकलाई तान्ने भएकाले पनि चुरेका पहाडमा होटल व्यवसाय खुल्ने क्रम बढेको बुटवलका होटल व्यवासयी एवं नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए ।
‘चुरेलाई संरक्षण गर्ने हाम्रो दायित्त्व हो,’ उनले भने, ‘त्यसको संरक्षण गर्दै उपयोगिता पनि लिनुपर्छ । त्यसैले पनि चुरे क्षेत्रको आवादी जमिनमा अहिले व्यवसाय गर्नेहरु बढ्दै गएका हुन् ।’ नुवाकोटमा खोलिएका अधिकांश होटल रेस्टुरेन्टहरु निजी जमिनमै खोलिएको र चुरेको क्षेत्र अतिक्रमण नभएको उनले बताए ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवलले लुम्बिनी प्रदेश अन्तर्गतका ९ जिल्लामा पर्ने चुरे क्षेत्रमा संरक्षणको काम गर्दै आएको छ । ९ जिल्लाका ५४ वटा स्थानीय तह कार्यालयको कार्यक्षेत्र भित्र पर्छ । चुरेमा मानव बस्ती र पूर्वाधार निर्माणले भइरहेको अतिक्रम नियन्त्रण गर्ने वा त्यसको अध्ययन गर्ने कार्यक्षेत्र वन कार्यालय र राष्ट्रपति चुरे तराई मधेश संक्षण विकास समिति अन्तर्गत नै रहेको कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका प्रमुख अणनाथ बरालले बताए । ‘चुरेका डाँडाहरुमा मानव बस्ती र पूर्वाधारका काम बढ्दो छ,’ उनले भने, ‘अनियन्त्रित बस्ती, पूर्वाधार विकास, खानीजन्य उत्खनन्, नदी दोहन चुरे अतिक्रमणका प्रमुख चुनौती हुन् ।’ तर, त्यसको नियमन र नियन्त्रणको अधिकारसमेत चुरे संरक्षण कार्यान्वयन इकाइ कार्यालयलाई नभएको र त्यसको अनुगमन, नियन्त्रणको काम समितिको बोर्ड र वन कार्यालयबाट मात्र हुने गरेको उनले बताए ।
चुरे श्रृंखला आफैंमा पूर्णरुपमा नखाँदिएको खुकुलो पत्र चट्टनले बनेको क्षेत्र हो । त्यसैले यो प्राकृतिक रुपमा अत्यन्तै संवेदनशील मानिन्छ । चुरेको संवेदनशीलतालाई बेलैमा बुझ्न नसके त्यसले ठूलो मानवीय विपत्ति निम्त्याउने वातावरण अध्ययता युवराज कँडेलले बताए ।
‘तर, त्यसको जानकारी हुँदाहुँदै पनि पूर्वाधार विकास र पर्यटन पूर्वाधारका नाममा चुरेलाई छियाछिया पार्ने काम बढिरहेको छ,’ उनले भने, ‘त्यसले कुनै पनि बेला ठूलै मानवीय विपत्ति निम्त्याउन सक्छ ।’ सरकारले चुरे क्षेत्र संरक्षण विकास समिति गठन गरेर चुरेलाई मानव बस्तीरहित बनाउने लक्ष्य लिएपनि त्यस अनुसार काम हुन नसकेको र पछिल्लो समय चुरेका डाँडा पर्यटकीय स्थलका रुपमा मानवबस्तीले भरिन थालेको उनले बताए ।
