बहराइनको तेलखानीका नेपाली श्रमिक : जो हरेक दिन जीवनसँग लडिरहन्छन्

श्रावण ५, २०८२

होम कार्की

Nepalese oil workers in Bahrain: who are fighting for life every day

What you should know

मन्मा (बहराइन) — जमिनमुनिबाट अप्रशोधित तेलको लेदो (क्रुड) तान्ने मेसिन (डगी पम्प) रोकिएको छैन । ढिकीले धान कुटेझैँ मेसिनले तेल तान्दै प्रशोधनका लागि पाइपमार्फत ट्याङ्कीतिर पठाइरहन्छ । एकपल्ट मेसिन चलाइदिन बिजुली आवश्यक पर्छ, त्यसपछि पर्दैन । मेसिन स्वचालित हुन्छ ।

त्यो मेसिनले एकपटक तेल तानेर फाल्न १० सेकेन्ड लाग्छ । यही गतिमा मेसिन २४ घण्टै चलिरहन्छ ।

यो दृश्य बहराइनको राजधानी मन्माबाट करिब ३० किलोमिटर टाढा रहेका जेवेल, दुखानमा देख्न पाइन्छ, जहाँ पहिलो पटक सन् १९३१ मा तेल उत्खनन थालिएको थियो । उतिखेर प्रयोग गरिएको परम्परागत प्रविधि अहिलेसम्म हेर्न सकिन्छ । यिनै प्रविधिसँगै बहराइनले तेल प्रशोधनमा आधुनिक प्रविधि पनि प्रयोग गर्दै आएको छ ।

यहाँ मेसिन मात्र २४ घण्टा चल्दैन, श्रमिक पनि २४ घण्टै खटिन्छन् ।

गत असार १९ गते बिहीबार बिहान ४ बज्नुअघि नै ईश्वरपुर–१, सर्लाहीका २७ वर्षीय लालसिंह मोक्तानसहितको टोली दुखानमा पुगिसकेको थियो । बहराइनमा दिउँसो ११:३० देखि ३ बजेसम्म सिधै घाम पर्ने ठाउँमा काम गर्न पाइँदैन । जुनदेखि सेप्टेम्बरसम्म श्रमिकलाई दिउँसो काम गर्न अनुमति दिइँदैन । ड्युटीको समय फेरिएको हुन्छ । बिहान ४ बजे नै साइट (कार्यस्थल)मा पुग्नुपर्छ ।

Nepalese oil workers in Bahrain: who are fighting for life every day

लालसिंह तीन वर्ष छ महिनादेखि बहराइन पेट्रोलियम कम्पनी (वाप्को) मा स्काफफोल्डिङको काम गरिरहेका छन् ।‘म अफिस ब्वाईमा आएको थिएँ । यसमा मलाई रुचि भएन । त्यसपछि मैले स्कापफोल्डिङको तालिम लिएँ । योसम्बन्धी सबै जान्नुपर्ने, बुझ्नुपर्ने, सेफ्टीको प्रोटोकलमा परीक्षा दिएपछि स्कापफोल्डिङको लाइसेन्स पाएँ,’ उनले भने,‘त्यसपछि मात्रै तेल तथा ग्यास क्षेत्रभित्रको स्कापफोल्डिङमा काम गर्न पाइन्छ ।’ 

स्काफफोल्डिङलाई फलामको काम पनि भन्ने गरिन्छ । यसलाई कडा कामको रूपमा लिइन्छ ।

बिहान ४ बजे साइटमा पुग्न तीन बजे नै उठेर तयार हुनुपर्ने हुन्छ ।

 Nepalese oil workers in Bahrain: who are fighting for life every day

काम सुरु गर्नासाथ बैठक हुन्छ । कसले कहाँ के गर्ने भनेर कामको बाँडफाँड हुन्छ । सुपरभाइजरले लालसिंहको टोलीलाई ‘कन्फाइन्ड स्पेस’ (ट्याङ्की) भित्र स्काफफोल्डिङ खोल्ने जिम्मा दिए । कन्फाइन्ड स्पेस भित्रको कामलाई खतराको हिसाबले ‘रिस्क टु’ मा राखिन्छ । त्यसमाथि झन् ‘हिट स्ट्रेस’ त छँदैछ ।

त्यहाँ भित्र सहजै छिर्न पाइँदैन । सुरक्षा मापदण्डहरू पूरा गरेपछि मात्र प्रवेश अनुमति दिइन्छ । 'कन्फाइन्ड स्पेसभित्र चार वटै भित्ताहरू बन्द हुन्छन् । मान्छे छिर्ने सानो प्वाल हुन्छ । ढकनी लगाएर बन्द इनारभित्र पसेजस्तै हुन्छ । कतिखेर कहाँबाट एचटुएस ग्यास चुहावट हुन्छ, पत्तो हुँदैन,' उनले भने, 'त्यहाँभित्र हावाको मात्रा न्यून हुन्छ, निसास्सिएको महसुस हुन्छ । गर्मी अत्यधिक हुँदा हिट स्ट्रेसका कारण बेहोस हुने, हातखुट्टा बटारिने जस्ता समस्या देखिन्छन् । भित्रै मर्ने डर हुन्छ ।'

Nepalese oil workers in Bahrain: who are fighting for life every day

कन्फाइन्ड स्पेसभित्र जानुअघि श्रमिकहरूले उपकरणहरू बोकेका थिए । उद्धारका लागि स्ट्रेचर, हावामा कुन ग्यास मिसिएको छ भनेर थाहा पाउन मल्टीग्यास डिटेक्टर, अक्सिजनका लागि ‘सेल्फ कन्टेन्ड ब्रिथिङ अपरेटस’ (स्काबा), दुई वटा अक्सिजन सिलिन्डर, आपत्मा सिट्ठी, हार्नेस, ट्राईपड आदिसहित तयारी गरिएको थियो । ‘कोही भित्र बेहोस भइहाल्यो भने हिरो बनेर बचाउन जान मिलेन । पहिला आफ्नै सुरक्षाको सुनिश्चित आफैंले गर्नुपर्छ । त्यसको लागि दुई वटा अक्सिजन सिलिन्डर अनिवार्य बोक्नुपर्छ,’ उनले भने,‘आपत् परेको जानकारी दिन सिट्ठी, खस्नबाट जोगिन हार्नेस र मान्छेलाई तान्नको लागि ट्रोईपड बोक्यौँ ।’

लालसिंहका अनुसार यो पनि ग्यास र तापक्रमसँगको लडाइँ हो । कार्यक्षेत्रअनुसारको जोखिम फरक–फरक हुने उनले बताए ।

बिहान ६ बजेसम्म उनीहरूले तयारी सकेका थिए, तर 'वर्क परमिट' लिएका थिएनन् । वर्क परमिट विना भित्र छिर्न पाइँदैन । ६ बजेसम्म सामान्य तापक्रम बिस्तारै बढ्दै गइरहेको थियो ।

Nepalese oil workers in Bahrain: who are fighting for life every day

कन्फाइन्ड स्पेसको अनुमति आउन ढिलो भएपछि सुपरभाइजरले टोलीलाई तेल रिसिभर ट्याङ्कीमा बनाइएको स्काफफोल्डिङ खोल्न लगाए । त्यो काममा ११ जना नेपाली संलग्न थिए । तीन जनाले खोल्न थाले, अरूले पाइप समात्ने, गाडीमा हाल्ने काम गरे । स्काफफोल्डिङ खोल्दा ७:३० बजेको थियो ।

पछि वर्क परमिट आयो । घाम चर्किसकेको थियो । पसिनाले मोजासम्म भिजिसकेको थियो । कन्फाइन्ड स्पेसका लागि लालसिंहको नेतृत्वमा ९ जना तोकिए । उनीहरू थिए : विरहम लिम्बू, गुञ्जामान तामाङ, कृष्णबहादुर तामाङ, विकास मोक्तान, प्रकाश बोहरा, मुकेश झा, शिव खुलाल, र गाडी चालक ऋषिराज पन्त ।

सबैभन्दा खतरा (रिस्क टु) मानिएको ठाउँमा उनीहरू पुगे । लालसिंह ‘जब वाचर’ को भूमिकामा थिए । संगीत कुमार ‘परमिट रिसिभर’को भूमिकामा थिए । उनीहरूले कन्फाइन्ड स्पेसभित्रको ग्यास रहे–नरहेको परिक्षण गरे ।  अक्सिजन २०.७ पीपीए, कार्बनडाइअक्साइड शून्य, हाइड्रोजन सल्फाइड (एचटुएस) शून्य देखियो । अर्को विषालु मानिएको एलइएल ग्यास थियो । यसको पनि परीक्षण गरियो । फलामको काममा  ठोकठाक गर्दा झिल्को निस्किएर आगो जल्न सक्ने हुदाँ एलइएल भएको नभएको पत्ता लगाउन जरुरी थियो ।  

एसटुएसले मान्छे मरेको घटनाहरू छ । डोरीमा ग्यास डिटेक्टरलाई भित्र छिराएर परीक्षण गर्दा एसटुएस र कार्बन डाइअक्साइड शून्य देखियो । ग्यास चुहावट नदेखिएपछि भित्र छिर्ने र बाहिर बस्ने तय गरियो ।

Nepalese oil workers in Bahrain: who are fighting for life every day

विरहम लिम्बू, गुञ्जामान तामाङ, कृष्णबहादुर तामाङ, र विकास मोक्तान भित्र छिरे । उद्धारको तयारीमा प्रकाश बोहरा, मुकेश झा, शिव खुलाल बाहिर तयार रहे । ड्राइभर पन्त गाडीमै कुरिरहे । 

कन्फाइन्ड स्पेसभित्र बनाइएको स्काफफोल्डिङको संरचना खोल्नु थियो । एक्कासि भुईँमा नबजारियोस् भनेर हार्नेस लगाएर पालैपालो भित्र जान थाले । लालसिंह कमजोर भएको महसुस भएको थाहा पाउने बित्तिकै तुरुन्तै खबर गर्नु भन्दै साथीहरूलाई सम्झाइरहेका थिए । भित्र स्काफफोल्डिङ खोल्ने क्रम सुरु हुँदै थियो, वाप्को कम्पनीको सुपरभाइजर आइपुगेर ‘वर्क परमिट’ माग्यो ।

 Nepalese oil workers in Bahrain: who are fighting for life every day

तर, उनले कामलाई अगाडि बढ्न दिएनन् । त्यहाँभित्र भल्भ फेर्न बाँकी रहेछ । तीन इन्चको भल्भ लगाउनुपर्नेमा ५ इन्चको लगाइएको रहेछ । जसले तेल तान्न प्रेसर नपुगेको भन्दै सुपरभाइजर आइपुगेका थिए । भित्र काम गरिरहेका चार जनालाई नै बाहिर बोलाए । अब भल्भ नफेरेसम्म लालसिंहहरूको काम रोकियो ।

त्यतिखेर ८:३० बजेको थियो । उनीहरू नजिकै घाम छल्न बनाइएको छाहरीमा गएर आराम गर्न थाले । त्यो ठाउँ श्रमिक भेला हुने ठाउँ पनि हो । त्यहाँ २५–२५ लिटरको पानीको जार राखिएको थियो । ताप बढ्दै गएपछि हरेक १५–१५ मिनेटको दूरीमा एक गिलास पिउनुपर्ने नियम छ । तर, यसलाई अधिकांशले पालना गरेको देखिँदैन । बिहानै गर्मीसँगै तातो हावा त्यत्तिकै बहिरहेको थियो । खुला मरुभूमिमा चलेको हावामा बालुवाका कणहरू मिसिन्छन् । एकातिर तातो घाम, अर्कोतिर धुलो मिसिएको हावाले आरामसँग बस्न पाइरहेको थिएन । खाना बोकेर ल्याएकाहरूले गाडीभित्र खाना खान गए । अधिकांशले रोटी र तरकारी ल्याएका थिए ।

Nepalese oil workers in Bahrain: who are fighting for life every day

एक घण्टाभित्र अर्को टोलीले भल्भ फेरिदियो । उनीहरूको पालो आयो । भित्र छिर्ने बेलामा फेरि ग्यासको परीक्षण भयो । सबै स्थिति सामान्य भएपछि फेरि भित्र छिरे । लालसिंह पलपलमा ट्याङ्कीबाट भित्र छिर्ने प्वालमा बसेर तल हेरिरहेका थिए । छिनछिनमा वाकीटकीबाट सोधपुछ गरिरहेका थिए । खोल्दै गरेको स्काफफोल्डिङलाई बाहिर निकालिरहेका थिए । त्यहाँ पानी नपिउन भनिरहेका थिए । ‘भित्र पानी पिउन रिस्क हुन्छ । एचटुएस ग्यास पानीसँग मिसिएर आएको हुन्छ,’ उनले भने ।

बाहिरभन्दा भित्र तीन गुणा गर्मी हुन्थ्यो । अत्यधिक पसिना बगेर को कतिखेर ढल्छ भन्ने जोखिम उच्च हुन्थ्यो । १० बजेतिर फेरि अर्को टिम आइपुग्यो । उनीहरूले पाइपमा फर्म हाल्न छुटेछ भन्दै खोलिसकेको स्काफफोल्डिङ फेरि गाँसिदिन भने । ‘हामी सक्दैनौँ । बिहानदेखि हाम्रो काममा बाधा पुगिरहेको छ । हाम्रो सुपरभाइजरलाई भन्नुस्,’ जब वाचर लालसिंहले त्यो टोलीलाई भने ।

Nepalese oil workers in Bahrain: who are fighting for life every day

टोलीले सुपरभाइजरलाई फोन गर्दै अनुरोध गर्‍यो । सुपरभाइजरको निर्देशनपछि लालसिंहको टोलीले फेरि खोलिसकेको स्काफफोल्डिङ जोड्न थाले । त्यसपछि फेरि बाहिर आएर आराम गर्न थाले । अर्को टोलीले १५ मिनेटमै फर्म हालेर निस्किए । उनीहरू फेरि चारै जना भित्र छिरे । उनीहरूले सतर्कतापूर्वक स्काफफोल्डिङ खोल्दै गए । सबै खोल्न एक घण्टा लाग्यो । त्यसपछि सबै फलामका डन्डी निकालेर बाहिर निस्किए । ९ जना नै मिलेर गाडीमा लोड गरे । सामान छोडिएको छ कि छैन भनेर जाँच गरे ।

 Nepalese oil workers in Bahrain: who are fighting for life every day

कन्फाइन्ड स्पेसको ढकनी लाग्दा १२ बजिसकेको थियो । उनीहरू त्यसपछि क्याम्पतिर फर्के । ‘जुनदेखि सेप्टेम्बर महिनासम्म ड्युटीको बीचमा हामीलाई ब्रेक हुँदैन । खानाको लागि छुट्टै समय छुट्टाइएको हुँदैन । फुर्सद मिल्ने बेला खाने हो,’ लालसिंहले भने, ‘अब हामी क्याम्पमै गएर खाना पकाएर खाने हो ।’

Nepalese oil workers in Bahrain: who are fighting for life every day

उनीहरू हरेक दिन यस्तै जोखिमसँग लड्दै आफ्नो ड्युटी निर्वाह गरिरहेका छन् । यसरी वाप्को आयोजनाभित्र जोखिम मोलेर स्काफफोल्डिङमा काम गर्ने नेपाली श्रमिक तीन हजारभन्दा बढी छन् । ‘म किन जीवनसँग खेलिरहेको छु भन्ने मनमा लाग्छ । ज्यानको बाजी लगाएर कमाइरहेको छु,’ लालसिंहले भने, ‘यो सबै परिवारको लागि हो । गाउँमा बोल्न नसक्ने बाबुआमा हुनुहुन्छ । हामी दुई दाजुभाइ भाग्यमानी छौँ । हाम्रो बोली फुटेको छ । यही जोखिमपूर्ण कामले मेरो बाबुआमाको दैनिक गुजारा चलिरहेको छ । यसमै म खुसी छु ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully