यस्तो बसपार्क जहाँ एउटा पनि बस राखिँदैन !

एउटा यस्तो बसपार्क : भित्र फोहोरले भरिएको छ, बाहिर झाडीले घेरिएको छ ।

श्रावण १, २०८२

शिव पुरी

Such a bus park where not a single bus is kept!

What you should know

रौतहट — पूर्व–पश्चिम राजमार्गको मुख्य चोक र गौर खण्डको सडकमै सवारी राखेर अस्तव्यस्त पारिएपछि चन्द्रपुर नगरपालिका–४ स्थित टेकानटोलमा २०६९ सालमा नयाँ बसपार्क निर्माण गरियो । सडकलाई पार्किङ बनाएर बस राख्ने चलन अन्त्य हुने अनुमानसाथ तामझाम, बाजागाजासहित गाडीको लावालस्कर लगाएर नयाँ बसपार्क उद्घाटन पनि गरियो ।

दुई–तीन महिना गौर-चन्द्रपुर चल्ने बसहरू त्यहीँबाट सञ्चालन पनि गरियो । ६ महिना नबित्दै सुरक्षाको कारण देखाएर व्यवसायीहरूले बसपार्कमा बस लग्न छाडे । अहिले बसपार्कमा एउटा पनि बस छैन । १३ वर्षदेखि बसपार्क अलपत्र थियो । अहिले चार्जिङसहितको सुविधासम्पन्न बसपार्क बनाइएको छ । तर एउटा पनि बस छैन । यो सञ्चालनमा आएको छैन । नगरपालिकाले सञ्चालन गर्ने वा ठेक्का लगाउने भन्नेमा ठोस निर्णय लिन सकेको छैन ।

गत वर्ष सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले चार्जिङ स्टेसनसहितको सुविधासम्पन्न बसपार्कमा शौचालय, स्नानकक्ष, विश्रामकक्ष, चमेनागृह निर्माण गरेको छ । ठेकेदार कम्पनीले काम सकेर गत फागुन १५ गते चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर चार महिना बितिसक्दा पनि अहिलेसम्म बसपार्कमा एउटा पनि बस छैन । ठेकेदारले पालिकालाई हस्तान्तरण गरेपछि अहिले बसपार्कको मुख्य गेटमा ताला लगाइएको छ । भित्र फोहोरले भरिएको छ, बाहिर झाडीले घेरिएको छ । ९ वटा सटरसहितको भवन त्यत्तिकै अलपत्र छन् ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय काफ्लेले आगामी साउनमा बसपार्कमा बस राखिने बताए । ‘हामी कसरी बस त्यहाँ लग्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘चाँडै नै बसपार्क सञ्चालनमा ल्याउँछौँ । अब ढिला हुँदैन । नगरपालिकाले नै सञ्चालन गर्ने वा ठेक्का लगाउने भन्ने निर्णयमा पुग्न बाँकी छ ।’

Such a bus park where not a single bus is kept!रौतहटको चन्द्रपुर–४ स्थित सुविधासम्पन्न प्रयोगविहीन बसपार्क। तस्बिर : शिव पुरी/कान्तिपुर

बसपार्कभित्र विभिन्न विद्युतीय सवारी साधन चार्ज हुने मेसिन जडान गरिएको छ । अहिले ती मेसिनहरू छोपेर राखिएको छ । चारैतिरका पर्खालहरू चर्किन थालेको स्थानीयले सुनाए । सवारीहरू पार्किङ नगरिएपछि बसपार्क सुनसान बनेको छ ।

माओवादीबाट प्रदेश सांसद युवराज भट्टराईले बसपार्क सञ्चालनमा कठिनाइ भए आफू सहयोग र पहल गर्न तयार रहेको प्रतिक्रिया दिए । ‘अब के कुराले सञ्चालनमा बाधा भएको छ? यसरी अलपत्र छाडिँदा भोलिका दिनमा समस्या आउन सक्छ,’ उनले भने, ‘सडकभरि सवारी राखेर दुर्घटना निम्त्याउनुभन्दा सबै सवारी त्यहीँ लगेर चाँडै सञ्चालन गर्न राम्रो होला ।’

बसपार्क नहुँदा बस व्यवसायीहरूले मुख्य सडक र ग्यारेजको बाहिर सवारी साधन पार्किङ गर्थे । लामो समय यही नै चल्यो । स्थानीय र ट्राफिकले सवारी दुर्घटनाको जोखिम बढेको र बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै टेकानटोलमा बनाइँदै गरेको बसपार्कमा बसहरू राख्न दबाब दिए । चाँदी नदी छेउको सरकारी जमिनमा चारैतिर तारबारले घेरेर सुरुमा चन्दा उठाएर स्थानीयले बसपार्क बनाए । लगत्तै ठूलो संख्यामा स्थानीय र गाडी मजदुर भेला भएर बाजागाजासहित बस र आधा दर्जन टाटा सुमोलाई एकैसाथ लाइन लगाएर बसपार्कभित्र राखियो । केही समय मुख्य चोकको अस्तव्यस्तता हट्यो । केही समय सवारी जामको अन्त्य भएको महसुस स्थानीयले गरे । त्यसपछि सञ्चालनमा आएको ६ महिनामै बसपार्कमा गाडीहरू लग्न छाडियो ।

बसपार्क निर्माण समितिका तत्कालीन अध्यक्ष प्रताप लामाले बसपार्कको सुरुवात गरेका हुन् । रौतहट बस व्यवसायी संघका अध्यक्ष लालबाबु गिरिले सुरक्षाको कारण टेकानटोलमा बस राख्न समस्या भएको सुनाए । उनले कुनै हालतमा पनि टेकान बसपार्कमा बस राख्न नसकिने जिकिर गरे । ‘हामीलाई पर्याप्त सुरक्षाको अनुभूति नभएसम्म टेकानमा बस लगाउँदैनौं,’ उनले भने, ‘पहिला पनि बस पार्किङ गरेका हौँ, त्यस बेला रातारात बसका इन्धन चोरी हुन थाल्यो । बस कर्मचारीहरू असुरक्षित हुन थालेपछि पार्किङ गर्न छाडेका हौँ ।’

Such a bus park where not a single bus is kept!संघमा आबद्ध ७५ वटा बसहरू छन् । तिनीहरूलाई पार्किङको असुविधा हुँदै आएको अध्यक्ष गिरिले बताए । संघले टेकानको अलावा अन्यत्र बसपार्क सञ्चालन गर्न अनुरोध गरेको छ । संघले बस लैजान अस्वीकार गरे सुरक्षाकर्मीको सहयोग लिएर भए पनि टेकानमा पार्किङ गराउने तयारीमा नगरपालिका लागेको छ । जसरी पनि मनाएर व्यवसायीहरूलाई बाटोमा पार्किङ गर्न छाडेर सुविधासम्पन्न पार्कमा राख्न पहल थाल्ने नगरप्रमुख काफ्लेले बताए। यही कारण व्यवसायीहरूलाई राखेर छलफल गर्ने र चाँडै बसपार्क सञ्चालनमा ल्याउन तयारीमा लागेको उनको दाबी छ । 

सुरुमा गौरबाट आउने र जाने सबै गाडी सिधै टेकान जानुपर्ने नियम बनाइएको थियो । तर, व्यवसायीहरूले सुरक्षाका कारण जनाउँदै बस लग्न छाडे । नगरपालिकाले सरोकारवालालाई बोलाएर सबै बसहरू बसपार्कमै लग्न पहल थाल्ने जनाएको छ । नगरपालिकाले पूर्वको चाँदी पुल क्षेत्रमा बसको होल्डिङ सेन्टर निर्माण र टेकानटोलको बसपार्क चाँडै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर चोक र गौर रोडको दुवैतिर बस, ट्रक, ई-रिक्सा, जिपहरू अहिले पनि सडकमै पार्किङ गर्छन्। चाँदीपुलदेखि पश्चिम जंगलटोल जाने बाटोको सडक दायाँ, बायाँतर्फ उस्तै अवस्था छ।  नियमले सडकमा सवारी पार्किङ गर्न पाइँदैन । ट्राफिकले नो पार्किङको बोर्ड राखे पनि सवारी मजदुरहरूले नियमविपरीत राख्ने गरेका छन् । रौतहट जिल्ला ट्राफिक प्रमुख लोकेन्द्र अधिकारीले नयाँ बसपार्क सञ्चालनमा आएपछि राजमार्गमा जथाभावी सवारी राख्ने समस्या हल हुने सुनाए । ‘अहिले जता मन लाग्यो त्यतै सवारी राख्ने गर्छन्,’ उनले भने, ‘बसपार्क सञ्चालनमा आएपछि सिधै त्यतै लग्नुपर्छ। त्यसपछि अस्तव्यस्त चोक सफा देखिन्छ ।’

Such a bus park where not a single bus is kept!नगरप्रमुख काफ्लेले पनि बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित बस पार्किङको समस्या हट्ने दाबी गरे। ‘चाडपर्वका बेला राजमार्गमा हुने सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न बसपार्क उपयोगी हुन्छ,’ उनले भने, ‘हामी व्यवसायीहरूलाई सुरक्षाको अवस्थाबारे विश्वस्त पार्छौं ।’ सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले सुविधासम्पन्न चार्जिङ स्टेसनसहित बसपार्क बनाउन बजेट विनियोजन गरेको हो ।

विनायक/प्रजिल जेभी सुकुलढोका, भक्तपुरलाई बसपार्कसहित १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयाँमा चार्जिङ स्टेसनसहितको बसपार्क, कालोपत्रे सडक र नालाको ठेक्का पाएको कम्पनीका प्रतिनिधि इन्जिनियर मनिषकुमार सिंहले बताए। नगरपालिकाले अलपत्र अवस्थामा रहेको बसपार्क चाँडै प्रयोगमा ल्याउने दाबी गरेको छ । लामो समयदेखि बसपार्क अलपत्र परेको र प्रयोगविहीन भएको भन्दै नगरपालिकाले आलोचना खेप्दै आएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully