१३ वर्षदेखि रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदी पुल अलपत्र
सुर्खेत — मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदी पुल निर्माणको काम २०६९ सालदेखि थालियो । एक दशक बित्दासमेत १८ प्रतिशत मात्र काम भएर पुल अलपत्र परेपछि उक्त ठेक्का तोडी गत आर्थिक वर्षमा दुईपल्ट नयाँ ठेक्का आह्वान गरियो । तर कसैले पनि निर्माण कम्पनीले ठेक्का नहालेपछि पुल निर्माण कहिले हुने हो भन्ने अन्योल छ ।
त्यस्तै, जाजरकोटको मन्ता भीरमा ट्र्याक खोल्नका लागि आर्थिक वर्ष २०७५/७६ देखि सडकको काम सुरु भयो । तर अझै करिब ४ सय मिटर ट्र्याक खुल्न बाँकी छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत पश्चिम खण्डको ४ सय ४ किलोमिटरमध्ये झन्डै ९१ प्रतिशत कालोपत्र सडकमा नियमित यातायातका साधन सञ्चालन भइरहेका छन् । तर मन्ता भीर र भेरी पुलका कारण राजमार्ग अधुरै छ । राजमार्गअन्तर्गतको दैलेखस्थित योजना कार्यालयले रुकुम पूर्वको पाथिहाल्नादेखि अछामको साँफेबगरसम्मको सडक हेर्दै आएको छ ।
आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको मध्यपहाडी राजमार्ग आयोजनाको म्याद २०८२/८३ सम्मको छ । सुरुमा बजेट, रेखांकन विवाद, मुआब्जा, कर्मचारी अभावलगायत कारण आयोजनाले ०७० सालदेखि मात्र गति लिएको हो । योजना कार्यालयले रुकुम पश्चिम खण्डको करिब ५९ किलोमिटर खण्ड सडक डिभिजन कार्यालय चौरजहारी र दैलेख खण्डको करिब ७८ किलोमिटर सडक सडक डिभिजन कार्यालय सुर्खेतलाई हस्तान्तरण गरिसकेको छ । कार्यालयका अनुसार अहिलेसम्म सडकको ३ सय ६६ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने ३८ किलोमिटर कालोपत्र हुन बाँकी छ ।
मन्ता भीरको १ हजार ४ सय मिटरमध्ये अहिलेसम्म झन्डै १ हजार मिटरमा ट्र्याक खोलिएको छ भने ट्र्याक खोलिएको करिब ३ सय मिटरमा ग्रेड मिलाउन बाँकी छ । झन्डै ४० करोडको लागतमा शर्मा/सिंह एन्ड ब्रोदर्श जेभीले नयाँ ट्र्याक निर्माणका लागि दुईपल्ट म्याद सकिसकेको छ ।
‘कडा चट्टानका कारण ट्र्याक खोल्नै समस्या भयो, अहिले साइडमा ३ वटा एक्स्काभेटरमार्फत काम भइरहेको छ,’ आयोजनाका इन्जिनियर नवीन खरालले भने, ‘मौसम र प्राविधिक समस्या नआए अबको १० दिनभित्र ट्र्याक खुलिसक्ने योजना छ, ग्रेड मिलाउन झन्डै एक महिना लाग्ला, दसैंअघि नै यातायातका साधन चलाउनेगरी निर्माणको कामलाई तीव्रता दिएका छौँ ।’ उनले नाला छोडेर ७ मिटर चौडाइको सडक निर्माण गर्नेगरी काम भइरहेको जानकारी दिए ।
भीरमा कडा चट्टानका कारण १० मिटर सडक खन्न दुईवटा एक्स्काभेटरलाई एक हप्ता लागेको र चट्टान लागेर एक साताअघि एउटा मेसिनमा क्षति पुगेको निर्माण कम्पनीका प्रतिनिधि नेत्र धारालाले बताए । ‘मान्छे लगाउँदा दुर्घटनाको जोखिम भएकाले अहिले मेसिनमार्फत मात्र काम भइरहेको छ,’ उनले भने, ‘ट्र्याक खुलिसकेपछि ग्रेड मिलाउन र सडक चौडा बनाइ ग्राभेलसम्मको काम गर्न मजदुर प्रयोग गरिनेछ ।’
राजमार्गअन्तर्गत जाजरकोटको भेरी र रुकुम पश्चिमको चौरजहारी नगरपालिका जोड्न भेरी नदीमा पुल निर्माणका लागि २०६९ असार २९ गते वाईपी कन्ट्रक्सन ललितपुरसँग १४ करोड ८४ लाख रुपैयाँमा सम्झौता गरिएको थियो । तर झन्डै १० वर्षसम्म कम्पनीले पुल निर्माण नसकेपछि २०७९ मंसिरमा ठेक्का तोडिएको थियो ।
पुल नबन्दा मध्यपहाडी राजमार्ग हुँदै रुकुम पश्चिम र त्यसभन्दा पूर्वतर्फ यात्रा गर्न सल्यानको सल्लीबजार र जाजरकोटको रिम्ना तथा रुकुम पश्चिमको सिम्ली हुँदै वैकल्पिक बाटो भएर जानुपर्ने बाध्यता छ । पुलमा उक्त कम्पनीले झन्डै १८ प्रतिशत काम सकेको थियो । पुलका लागि फाउन्डेसनको काम सकिएको छ भने जमिनमाथि र पुल मुनिको ‘सब स्ट्रक्चर’ र पुल र पुलभन्दा माथिको ‘सुपर स्ट्रक्चर’ को काम बाँकी छ । भेरी नदीमा सस्पेन्सन मोटरेबल ब्रिजका लागि डिजाइन परिवर्तन गरी पुलको निर्माणका लागि गत आर्थिक वर्षमा दुईपल्ट झन्डै २२ करोडको टेन्डर आव्हान गरिएको थियो । ‘अरुले काम गरेर छोडेको भन्दै कसैले पनि टेन्डर हालेनन्,’ इन्जिनियर खरालले भने, ‘फेरि आयोजना कार्यालयमार्फत ठेक्का खोल्ने तयारी गरेका छौँ ।’
मन्ता भीरमा सडक निर्माणको ठेक्का लिएको शर्मा/सिंह एन्ड ब्रोदर्श जेभीले मध्यपहाडीमा चारवटा खण्डमा ठेक्का लिएको छ । कम्पनीले जिम्मा लिएको ५५ किलोमिटरमध्ये अरू सडकमा प्रगति भएपनि स्याउली खोला–कार्कीगाउँ खण्डको साढे १७ किलोमिटरको काम लामो समयदेखि अलपत्र परेको हो । उसले २०७५ साउन ४ गते ३० महिनाभित्र काम सम्पन्न गर्नेगरी ५५ करोड रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । कम्पनीका सञ्चालक रमेश शर्मा हुन् ।
‘ठेकेदार कम्पनीले सय प्रतिशतभन्दा लामो समयका लागि म्याद थपिसक्यो, अझै काम सकिएको छैन, ठेकेदारको बेवास्ताले हामीले गाली खाइरहेका छौँ,’ आयोजनाका इन्जिनियर खरालले भने, ‘अहिलेसम्म पाँचपल्ट म्याद थपिसक्यौँ, काम अलपत्र पर्दा सडक माथिबाट आउने पहिरो पन्छाउनै हम्मेहम्मे भइसक्यो, धुलो र हिलोको कुरै नगरौँ ।’
टेवा पर्खाल लगाउने, नाली, ग्राभेल र कालोपत्र गर्नेगरी सडक निर्माणको ठेक्का लिएको कम्पनीले ७ वर्षमा मुस्किलले ६० प्रतिशत मात्र काम गरेको छ । अन्तिमपल्टका लागि पुस मसान्तसम्म म्याद थपिएको उनले जानकारी दिए । छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले ठेकेदारलाई पटकपटक काम सक्न आग्रह गरे पनि बेवास्ता गरिरहेको बताए ।
काम अलपत्र पर्दा यो खण्डमा दैनिकजसो गाडी फस्ने र यात्रुले घण्टौँ सास्ती पाइरहेको कार्कीगाउँका परमेश्वर कार्कीले बताए । ‘राष्ट्रिय गौरवको आयोजना भन्नु मात्र छ, वर्षौँदेखि हामीले यही सडकका कारण सास्ती भोगिरहेका छौँ,’ उनले भने, ‘दुर्घटनाको जोखिम उस्तै, धुलो, हिलो र पहिरोले दिनभरि गाडी फस्ने समस्या छ ।’
मध्यपहाडीमै रुकुम पूर्वको पाथिहाल्ना—रुपागाड खण्डको १३ किलोमिटर सडक पनि लामो समयदेखि अलपत्र छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी भारत महादेव/खिम्ती/सिद्धसाई जेभीले ठेक्का लिएको उक्त खण्डमा दुई वर्षयता कुनै काम पनि भएको छैन । कम्पनीले २०७२ सालमा झन्डै ४० करोड रुपैयाँमा ठेक्का लिएको थियो । उसले अहिलेसम्म ५ पल्ट म्याद थपिसकेको छ ।
‘सडक अलपत्र पर्दा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे यात्रा गर्न बाध्य छौँ,’ पाथिहाल्नाका रमेश बुढाले भने, ‘सडक झन् झन् जीर्ण बन्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ, ठेकेदारले राजनीतिक पहुँचका भरमा म्याद ठपेका थप्यै छन्, हामी भने दैनिकजसो सास्ती भोग्न बाध्य छौँ ।’
मध्यपहाडी राजमार्गमा अहिले दैनिक ३ सय बढी यातायातका साधन सञ्चालन भइरहेका छन् । अधिकांश सडक कालोपत्र भइसकेकाले अहिले सडक सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणका काम गरिरहेको योजना कार्यालय प्रमुख अन्जु परियारले बताइन् । उनका अनुसार जाजरकोट, दैलेख र अछाम खण्डको ८ किलोमिटरमा ट्राफिक सेफ्टी बार निर्माण गरिएको छ ।
त्यस्तै, सडक नियमित मर्मत, ट्राफिक चिह्नहरु राख्नेलगायत काम पनि भइरहेका छन् । मध्यपहाडी राजमार्ग निर्माणपछि पश्चिम खण्डमा झन्डै तीन दर्जन गाउँहरु व्यापारिक केन्द्रका रूपमा विकसित भएको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अध्यक्ष वीर्खबहादुर विष्टले बताए । उनका अनुसार अहिले स्थानीय उत्पादनहरूले सहजै बजार र भाउ पाएका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता भएको छ ।
‘सडकले संघीयदेखि प्रदेश राजधानीसम्मको पहुँच जोडिएको छ,’ उनले भने, ‘मध्यपहाडी राजमार्ग निर्माणपछि प्रदेश राजधानी सुर्खेतको यात्रा पाँच घण्टामा छोटिएको छ ।’
