सडकको ठेक्का म्याद थपेको थप्यै, काम सकिने टुंगो छैन

असार २६, २०८२

आश गुरुङ

In addition to the extension of the road contract, the completion of the work is not finalized

लमजुङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा लमजुङका २ वटा सडक धुमधामले शिलान्यास गरे । २०७६ माघ १० गते बागलुङपानी–घलेगाउँ–भुजुङ सडक र ०७७ मंसिर २३ गते उदिपुर–रिट्ठेबगर–दोर्दीको बाजागाजाका साथ शिलान्यास भयो ।

बागलुङपानी–घलेगाउँ सडक १० किलोमिटर कालोपत्र गर्नुपर्नेमा ४ किलोमिटमात्रै कालोपत्र भएको छ । ७ किलोमिटर कालोपत्र गर्नुपर्ने दोर्दी जोड्ने सडक ढलानसमेत गरी करिब ३ किलोमिटरमात्रै कालोपत्र भएको छ । सम्झौतादेखि २ वर्षमा सक्नुपर्ने दुवै सडकको कालोपत्र कार्य ५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन भने ठेक्का म्याद थपेको थप्यै छ । घलेगाउँ–भुजुङतर्फको सडकका लागि ३ पटक म्याद थपिसकिएको छ । दोर्दीतर्फको सडकको छैटौं पटक म्याद थपिएको छ । अन्तिम पटक भन्दै थपिएको म्यादमा पनि काम सकिनेमा शंका छ ।

यी दुई सडक उदाहरणमात्र हुन् । चौथो पटकसम्म म्याद थपेर चालु आर्थिक वर्षमा मात्रै ग्राभेल सकिएका सडक पनि छन् । मन्त्री गुरुङकै गाउँ गिलुङ–टक्सारको ८ किलोमिटर ग्राभेल गर्न ४ पटक म्याद थपेर ६ वर्षमा भर्खरै सकिएको छ । घलेगाउँ–भुजुङ जोड्ने सडक पनि उनकै पालिकाभित्र पर्छ । म्यादमात्रै थप्ने, समयमा काम नसक्ने सडकका उदाहरण अरु धेरै छन् । 

घलेगाउँ–भुजुङतर्फको सडक कालोपत्र तथा ग्राभेल गर्ने जिम्मा लिएका निर्माण व्यवसायी पूर्णबहादुर तामाङ संसद्‌मा छन् । रामेछापबाट प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस नेता तामाङले उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनको कम्पनी कान्छाराम–नाना जेभीले ०७६ असोज ३० गते २ वर्षका लागि घलेगाउँसम्मको १० किमि सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको ७ किमि सडक ग्राभेल गर्ने सम्झौता गरेको थियो । मन्त्री गुरुङले सांसद तामाङलाई नामै किटेर संसद्‍मा विरोध गर्ने चेतावनीसमेत दिएका थिए । संयोगवश अहिले दुवैको पार्टी सरकारमा छन् । यता सडकको कालोपत्र र ग्राभेल कार्य भने अलपत्र छ ।

सम्झौताअनुसार सडक निर्माण कार्य ०७८ असोज २९ सम्म नसकेपछि ०७९ असोज २८ गतेसम्मका लागि पहिलोपटक म्याद थप गरियो । काम पूरा नभएपछि दोस्रोपटक ०८१ असोज २८ गतेसम्मका लागि म्याद थप भयो । यो समयमा पनि काम भएन । पुनः ०८२ चैत ३० गतेसम्मका लागि तेस्रो पटक म्याद थप भएको छ । 

In addition to the extension of the road contract, the completion of the work is not finalized

क्व्होलासोथार गाउँपालिका–१ बागलङपानीबाट सुरु भएको कालोपत्र कार्य गाउँपालिका केन्द्र मालिङ र घलेगाउँ जाने चोकसम्म पुगेको छ । त्यसपछि २ सय मिटर अगाडि एकतर्फी कालोपत्र गरेर छाडिएको छ । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ सडक छिटो निर्माणका लागि पहल गर्दै आएको दाबी गर्छन् । ‘पछिल्लो समय काम त अघि बढेको हो । हामी झक्झक्याइरहेका छौं । कहिले निर्माण व्यवसायीले नै ढिलाइ गरेको देखियो । कहिले भुक्तानी दिन नसक्दा ढिलाइ भएको देखिन्छ । हामी प्रयास गरिरहेका छौं,’ उनले भने । उनी पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाका स्वकीय सचिव हुन् ।

पूर्वाधार विकास कार्यालय लमजुङका परामर्शदाता इन्जिनियर राजेश अधिकारीका अनुसार घलेगाउँ–भुजुङतर्फका सडक निर्माण व्यवसायीलाई २५ करोड ४७ लाख ८६ हजार ४ सय ७ रुपैयाँ ४५ पैसा भुक्तानी भइसकेको छ । भ्याटसहित ३४ करोड ७७ लाख १४ हजार ४ सय ८ रुपैयाँ ७९ पैसामा निर्माण सक्ने जिम्मा लिएको कान्छाराम–नाना जेभीले समयमा काम सक्नुको सट्टा उल्टै १ करोड ८९ लाख ५३ हजार ७ सय ६६ रुपैयाँ ७५ पैसा भेरिएसन अर्डर गरेको छ । कामको प्रगति ६९ प्रतिशत भएको पूर्वाधार कार्यालयको दाबी छ । ‘नेता, मन्त्रीलाई भनियो । हाकिम, ठेकेदारलाई भनियो । जति भने पनि समयमा काम भएन । अझै पनि कति वर्ष लाग्ने हो थाह छैन,’ क्व्होलासोथार गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले भने । उनका अनुसार अहिले सडक कालोपत्र भएको ठाउँदेखि घलेगाउँसम्मको सडकमा हिलोले सवारी हिँड्नै नमिल्ने भएको छ । भुजुङतर्फको सडकलाई क्षतविक्षत बनाएको छ ।

गण्डकी प्रदेशको ‘एक पालिका–एक सडक’को अवधारणाअनुरुप कालोपत्र कार्य थालिएको उदिपुर–रिट्ठेबगर–दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा जोड्ने सडक ५ पटक म्याद थप्दा पनि सकेको छैन । कन्टेक प्रालि काठमाडौंले पूर्वाधार विकास कार्यालयसँग २०७७ असार ३० गते सम्झौता गरेअनुसार २०७९ असार २ भित्र ७ दशमलव १२१ किमि सडकको कालोपत्र र ढलान सक्नुपर्ने थियो । २६ करोड २८ लाख १५ हजार ३ सय ५१ रुपैयाँ ३९ पैसामा सम्झौता गरेको उक्त सडकका लागि निर्माण कम्पनीले समयमै सडक सक्नुका सट्टा १ करोड ९९ लाख ४१ हजार ९ सय ६४ रुपैयाँ ५८ भेरिएसन अर्डर थपेको छ ।

In addition to the extension of the road contract, the completion of the work is not finalized

पूर्वाधार विकास कार्यालयका अनुसार उदीपुर–रिट्ठेबगर–दोर्दी जोड्ने सडकका लागि पहिलोपटक २०७९ पुस २४ गतेसम्मका लागि म्याद थप भएको थियो । दोस्रोपटक ०८० असार २९ सम्मका लागि म्याद थप भएको थियो । तेस्रोपटक ०८० मंसिर २८ सम्म म्याद थप भयो । चौथोपटक ०८१ वैशाख ३१ सम्म म्याद थप भयो । पाँचौंपटक ०८१ मंसिर २८ सम्म म्याद थप भयो । यो समय पनि खासै काम भएन । पूर्वाधार विकास कार्यालय निमित्त प्रमुख इन्जिनियर नरेशराज जोशीका अनुसार पछिल्लो समय सार्वजनिक खरिद ऐनको चौधौं संशोधनबाट ०८२ मंसिर मसान्तसम्म म्याद थप गरिएको छ । ‘अब यो अन्तिमपटक हो । तोकिएको समयमा काम नसकिए कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने । 

उनका अनुसार हालसम्म करिब २ किलोमिटर सडकको कालोपत्र भएको छ । यसअघि १ किलोमिटर हाराहारी सडक ढलान गरिएको छ । कालोपत्रको काम अब ४ किलोमिटर जति रहेको उनले बताए । ‘यो सडकको काम अब मंसिरसम्म पूरा नगरी हुँदैन,’ उनले भने । उनका अनुसार निर्माण कम्पनीबाट यसअघि खटिएको टीमले काम नगरेपछि पछिल्लो समय अर्को टीमले काम गरेको हो । 

अर्को टीमले काम द्रुतगतिमा अघि बढाएको उनले बताए । सडकको ८५ प्रतिशत काम सकिएको छ । करिब ८० प्रतिशक्त भुक्तानी भइसकेको उनले बताए । ‘अहिले काम रोकिएको छ । मौसमले साथ दिनेबित्तिकै काम अघि बढ्छ,’ उनले भने । उनका अनुसार हालसम्म २२ करोड ५९ लाख २८ हजार ४ सय ४३ रुपैयाँ भुक्तानी भइसकेको छ । चालु आर्थिक वर्षमा मात्रै साढे ५ करोड रुपैयाँ भुक्तानी भएको उनले बताए । अझै भुक्तानी दिन बाँकी रहेको उनले सुनाए ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सडक निर्माण कार्य अत्यधिक ढिलो भएको बताए । उनका अनुसार निर्माण कम्पनी र प्रदेश सरकारका कारण यो सडक निर्माणमा ढिलाइ भएको हो । ‘बजेट भएको बेला व्यवसायी बेपत्ता भए । खोज्दा खोज्दै हैरान । बल्ल बल्ल खोजेर काम अघि बढायो, सरकारले पैसा दिनै सकेन, अनि काम भएन,’ उनले भने । पछिल्लो समय काम तीव्रगतिमा भएको र अब पनि यही गतिमा काम अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

म्याद थपेर पनि अलपत्र अवस्थामा रहेको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडकको कालोपत्र गर्ने कार्य अहिले अलपत्र छ । डबल विटुमिन्स सर्फेस ड्रेसिङ (डीबीएसडी) प्रविधिको यो सडक निर्माणका लागि महावीर–प्रधान जेभी काठमाडौंले ठेक्का लिएको छ । कुल १० दशमलव ८ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीले २०८० असोज २१ सम्म सक्ने गरी ०७८ असोज २२ गते २७ करोड ३४ लाख ६९ हजार ८ सय ८६ रुपैयाँ ६५ पैसामा सम्झौता गरेको थियो । पहिलो सम्झौताको म्याद सकिएको करिब २ वर्ष पुग्नै लाग्दासमेत निर्माण कार्य अझै ८० प्रतिशत बाँकी रहेको पराशर्मदाता इन्जिनियर अधिकारीले बताए । व्यवसायीलाई हालसम्म ११ करोड ५९ हजार ४ सय २८ रुपैयाँ ७९ पैसा भुक्तानी भइसकेको छ ।

पहिलोपटक ०८१ असार ३१ सम्म म्याद थपेको यो सडकका लागि दोस्रोपटक ०८३ असार २ सम्म म्याद थप भएको छ । सुन्दरबजार नगरपालिका-२, परेवाडाँडाको हाँडेटार नजिकैबाट सुरु भएको यो सडकको स्ट्रक्टर निर्माणको काममात्रै सकिएको छ । इन्जिनियर अधिकारीका अनुसार सबग्रेडसमेत राम्रोसँग हुन सकेको छैन । ६ वटा कल्भर्ट राख्नुपर्नेमा ५ वटामा काम गरेका छन् । सवबेस, बेस बनाएर कालोपत्र गर्नुपर्नेमा निर्माण व्यावसायीले फागुनतिर आएर काम गरेजस्तो गरे । त्यसअघि र त्यसपछि काम नहुँदा यो सडकको निर्माणकार्य अलपत्र अवस्थामा छ ।

In addition to the extension of the road contract, the completion of the work is not finalized

मुस्किलले निर्माण सिङ्दी–पसगाउँ–बगैंचाको १५ किलोमिटर ग्राभेल र यसभित्र २ दशमलव ३ किलोमिटर ढलान कार्यका लागि मोतीदान कन्ट्रक्सन सेवा प्रालिले चौंथोपटकसम्म म्याद थप्यो । ०७८ फागुन ६ गते सक्ने गरी ०७६ फागुन ७ गते सम्झौता गरेको मोतीदानलाई यो सडकको काम सक्न ०८१ पुससम्म अर्थात् ५ वर्ष लाग्यो । यसमा पनि निर्माण कम्पनीले १ करोड ८८ लाख २२ हजार ८ सय ६ रुपैयाँ १ पैसा भेरिएसन अर्डर लिए । कुल २८ करोड २७ लाख १२ हजार २ सय ५२ रुपैयाँ ३ पैसा लगानी भएको छ । क्व्होलासोंथार–५ सिङ्दीका वडाध्यक्ष गीतबहादुर गुरुङका अनुसार सडक निर्माण भए पनि बर्खायाममा हिँड्ने बाटो नै छैन । ‘सुरुमा गरेका कामहरु कता पुग्यो पुग्यो । कतै सडक बगाएको छ । कतै पहिरो गएको छ । नयाँ अलि अलि देखिन्छ,’ उनले भने ।

मोतीदानलाई करापुटार–चिसंकू–डडुवा–साल्मेभज्याङ–मालिङ सडकको पहिलो खण्ड डडुवा–साल्मे भन्ज्याङको ८ दशमलव ७ किलोमिटर ग्राभेल गर्न २ वर्षको समय दिइएको थियो । सञ्चारमन्त्रीकै गाउँको यो सडकका लागि ४ पटक म्याद थपेर ५ वर्षमा बल्ल काम सक्यो । ०७६ फागुन ७ गते सम्झौता गरेको यो आयोजनाका लागि ०७८ फागुन ६ सम्म म्याद थियो । मोतीदानले चौंथोपटक म्याद थपेको ०८२ असार १९ मा काम सक्यो । कुल १७ करोड १५ लाख ४१ हजार ४ सय ४२ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता गरेको मोतीदानले १ करोड ७६ लाख १२ हजार ५ सय ८१ रुपैयाँ ३९ पैसा भेरिएसन अर्डर लियो । 

लमजुङमा सडक आयोजनाहरु म्याद नथपी काम सकिएका उदाहरण विरलै छन् । यसअघि सकिएका आयोजनाहरुले पनि कम्तीमा २ वर्ष म्याद थपेका छन् । पूर्वाधार कार्यालयमार्फत अघि बढेका सडक योजनाहरुमध्ये करापुटार–चिसंकू–डडुवा–साल्मेभज्याङ–मालिङ सडकको दोस्रो खण्डका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को लागि बजेट नै विनियोजन गरे । 

चिसंकूदेखि डडुवा बजारसम्मको साढे ९ किलोमिटर सडक ढलानका लागि ०७८ असोज १३ गते रसुवा–ज्यादम्बा जेभी काठमाडौंले २ वर्षमा सक्ने गरी सम्झौता गरेको थियो । ०८० असोज ७ सम्म सक्नुपर्ने उक्त योजनाका लागि तेस्रोपटकसम्म म्याद थप्नु परेको छ । ०८२ भदौ २४ सम्म तेस्रोपटक म्याद थपेको छ । कुल ३१ करोड २३ लाख ३० हजार २ सय ७१ रुपैयाँ ०८ पैसामा सम्झौता गरेकोमा २७ करोड ४३ लाख ३६ हजार १ सय ५२ रुपैयाँ ४३ पैसा भुक्तानी भइसकेको छ । 

In addition to the extension of the road contract, the completion of the work is not finalized

पूर्वाधारले अघि बढाएको बेंसीसहर–बागलुङपानी सडक, बोराङखोला–बिचौर सडक, साल्मेभन्ज्याङ–मालिङ सडकको अवस्था पनि उस्तै छ । हाल रनिङ योजनाहरु करिब ९ वटा छन् । गत वर्षदेखि सुरु गरिएका यी सडकहरु पनि समयमै सक्नेमा आशंका छ । म्याद नथपीकन यी आयोजना पनि बन्नेमा स्वयम् प्राविधिकहरु ढुक्क छैनन् । 

राइनास नगरपालिका–२ बोराङखोला बजारदेखि दूधपोखरी गाउँपालिकातर्फ ४ दशमलव २ किलोमिटर सडक अहिले अलपत्र छ । भ्याटसहित ११ करोड ३५ लाख रुपैयाँमा ठेक्का लागेको यो सडक चालु आर्थिक वर्षमा २ करोड रुपैयाँको काम भए पनि गण्डकी प्रदेश सरकारबाट बजेट नआउँदा अलपत्र परेको निर्माण कम्पनी रामसागर विके एसके जेभीको दाबी छ । दूधपोखरी गाउँपालिका–४ इलमपोखरीका केबी गुरुङले सरकार र ठेकेदार दुवैको मिलेमतोका कारण सडक कालोपत्र हुने सडक अलपत्र परेको गुनासो गरे ।

पहिलेका आयोजनाहरु ढिलाइ हुनका कारण बाढीपहिरो, इन्धन अभाव, भारतीय नाकाबन्दी, भूकम्पलगायत कारण देखाउँदै निर्माण व्यवसायीले ढिलाइ गर्थे । पछिल्लो बाहना कोभिड १९, बाढीपहिरो, पेट्रोलियम पदार्थको अभाव, सरकारले बजेट नदिने जस्ता गर्ने गरेका छन् । बाहना बनाएर निर्माण व्यवसायीले समयमा काम नसक्दा नागरिकले सास्ती खेप्नुपरेको संविधानसभा सदस्य जमीन्द्रमान घले बताउँछन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully