नदी किनारका अधिकांश बस्तीहरु भेरी नदीबाटै निर्भर, अत्यधिक दोहन र पूर्वतयारी नहुँदा नदी किनारामा प्राकृतिक प्रकोपको जोखिम
सुर्खेत — रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीका ३९ वर्षीय रञ्जन बादीको दैनिकी ठूलीभेरी नदी आउजाउमै बित्छ । उनका बाजे मोतिलाल र बाबु सुरवीरले पूरै जीवन नदी किनारामै बिताए भने उनी, पत्नी जानकीसहित दुई छोरा सुदन र गौरवको जिउने आधार पनि ठूलीभेरी नदीनै बनेको छ ।
‘बेलुका गएर भेरीमा पासा थाप्छु, बिहान निकाल्दा ३/४ किलो माछा पर्छन्, त्यहीँ माछा बेचेको पैसाले नुनभुटन र छोराहरुको पढाइको खर्च उठ्छ,’ उनले भने, ‘दिउँसो जाल खेलेर थप १/२ किलो माछा मार्छु, पुस्ताको मायाले यो नदी किनार छोड्नै मन लाग्दैन ।’
आसपासका गाउँका अधिकांश युवा भारत र खाडीमुलुक गएको बेला उनी दिनभरि भेरीका माछा मार्छन् भने पत्नी जानकी नदीबाट बालुवा निकाल्छिन् । बर्खा लागेसँगै भने परिवारका सदस्यले ठूलीभेरीले बगाएर ल्याउने काठदाउरा समाउने र त्यहीँ बिक्री गरी खर्च चलाउँछन् ।
उनका काका ६४ वर्षीय देवसिंहको ९ जनाको परिवार पनि यसरी नै पालिएको छ । उनी दुई छोरासहित वर्षभरि नै जाल र पासामार्फत माछा मार्छन् भने पत्नी लालसरी दुई बुहारीसहित असोजदेखि वैशाखसम्म बालुवा बटुल्छिन् । ‘भेरी नदीकै किनारमा मेरो त जुगै बित्यो, शान्त स्वभावको भेरीदेखि आसपासका गाउँहरु विनाश गर्नेगरी बगेको भेरीको रौद्ररुप पनि देखेको छु,’ उनले भने, ‘यही नदीसँगै जीवन गाँसिएकाले अन्यत्र बसाइँ सर्न मनै लाग्दैन ।’
उनका अनुसार २०१८ सालतिर घुम्दैघुम्दै बादीहरु आठबीसकोटस्थित भेरी किनार आइपुगेका हुन् । त्यसबेला ५/६ परिवार आएका हौं, युद्ध (सशस्त्र द्वन्द्व) कालसम्म ७० घरसम्म पुगेका थियौँ, अहिले जम्मा १९ परिवार मात्र छौं,’ उनले भने, ‘भेरीमा बाढी आएपछि ६/७ वर्ष त अन्यत्रै गयौँ, फेरि यहीको मायाले तानेर फर्कियौं ।’ जोखिमका साथ नदीमा पस्ने, काठदाउरा, बालुवा संकलन गर्ने र माछा मारेर त्यही बिक्रीबाट आएको पैसाले परिवार पाल्नुपर्ने बाध्यता रहेको उनले बताए । सरकारले किनिदिएको ७६ देखि ८३ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गामा अहिले बादी परिवारका घर बनेका छन् । तर अरु आम्दानीको स्रोत नभएपछि ठूलीभेरी नदीले नै आफूहरुलाई पालेको उनले बताए ।
बादी अगुवा कपिल बादीले आसपासका गाउँका सबै युवा विदेशमा भए पनि आफूहरु ठूलीभेरी नदीकै कारण भारत पस्नु नपरेको बताए । ‘माछा नै नपाइने, बालुवा नभेटिने र दाउरा पनि भेरीमा बगेर नआउने भएपछि बस्ती नै रित्तो हुन्थ्यो,’ उनले भने, ‘अरु गाउँमा युवा नै भेटाउन मुस्किल छ, हाम्रा युवाहरु भने ठूलीभेरी नदी किनारमै रमाइरहेका छन् ।’
डोल्पाको छार्काबाट सुरु हुने भेरी नदी डोल्पा सदरमुकाम दुन त्रिपुरासुन्दरी हुँदै आठबीसकोट भएर रिम्नामा सानीभेरी नदीसँग मिसिन्छ । सानीभेरी नदी भने धौलागिरी हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाइ बगेको छ । बाग्लुङको ढोरपाटन हुँदै रुकुम पूर्वको तकसेरा, जाङ, नायगाड, रुकुमकोट, पोखरा, रुकुम पश्चिमको माछ्मी, गरायला हुॅदै ठूलीभेरीमा मिसिएपछि भेरी नदीले स्वरूप पाएको छ । रिम्ना जाजरकोट र रुकुम पश्चिमको व्यापारिक केन्द्रसमेत हो ।
‘दुईवटा नदी मिसिने ठाउँ भएकाले यो धार्मिक र ऐतिहासिक महत्त्वको क्षेत्र पनि हो, अहिले यतैबाट डोल्पा जोडिने सडक पनि खनिएकाले आसपासका गाउँबाट किनमेल गर्न आउनेको घुँइचो हुन्छ,’ रिम्नाका नागरिक अगुवा वेदकुमार घर्तीले भने, ‘भेरी नदीका माछाका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।’ रिम्नाका सबैजसो होटलमा भेरी नदीकै उत्पादन सिमेसागको तरकारी, पुदिनाको चटनी र माछा पाइन्छ । तर नदीमा माछा मार्नका लागि करेन्टको प्रयोग गर्दा माछाको संख्या घटिरहेको उनको गुनासो छ । बालुवा र ढुंगागिट्टी निकाल्न डोजरलगायतका ठूला उपकरण प्रयोग गरिँदा नदीमा पानीको बहाव घट्दै गएको र आसपासका बस्तीहरु जोखिममा परेको उनी बताउँछन् ।
‘भेरी नदीबाटै हामीले सिँचाइ र खानेपानीको सुविधा पाएका छौं, भेरी नदीमा बगाएर ल्याएका काठ संकलन गर्दा सबैको वर्षभरिको खाना पाकिरहेको छ, छार्क टार्न मुस्किलै भए पनि नदीमा माछा मारेर, किनारमा उम्रिएको पुदिना, सिमेसाग पकाएर छार्क टार्न पाएका छौं,’ उनले भने, ‘अरु केही नगर्दा पनि भेरीकै भरमा रिम्नाका सबै परिवारले वर्षभरि खान पाउँछन्, तर नदीमा डोजरको प्रयोग गर्दा माछालगायत जलचरहरुको प्रजनन् प्रक्रियामा असर पर्यो, यसले पर्यावरणमा त नकारात्मकता ल्यायो नै प्राकृतिक प्रकोपको जोखिम निम्त्याएको छ ।’ डोजर लगाएर जथाभावी बालुवा निकाल्दा नदीले गाउँतिर धार परिवर्तन गरिरहेको उनले गुनासो गरे । उनका अनुसार अहिले भेरी नदीमा सहर र असला माछा पाइन छोडेको छ ।
भेरी किनारबाटै खनिएको मध्यपहाडी राजमार्ग र डोल्पा सडकका कारण रिम्ना आसपासका झण्डै दुई दर्जन गाउँहरु बजारमा परिणत भएका छन् । जहाँ सबैभन्दा बढी भेरी नदीकै माछाकै किनबेच हुने गरेको चौरजहारी नगरपालिका—१ नाखिराका सूवर्ण बादीले बताए । उनका अनुसार चौरजहारीका बादी समुदाय र भेरी नदीको सम्बन्ध झण्डै चार पुस्तादेखिको हो । उनका अनुसार २०२० सालतिर उनीहरु यहाँ आएका हुन् ।
‘हाम्रो मुख्य पेशा नै माछा मार्ने हो, माछा मार्ने क्रममै चार पुस्तादेखि हामी यहाँ बसिरहेका छौं,’ उनले भने, ‘हिउँद र गर्मी महिनामा माछा मार्ने, नदीको बालुवा निकाल्ने र वर्षायाममा नदीले बगाएका काठपात संकलन गर्ने काममा परिवारका सबैजसो सदस्य व्यस्त हुन्छौं, यहीबाटै हाम्रो जीवन चल्छ ।’ चौरजहारी नगरप्रमुख पुष्प बादीले नाखिरासहित–४ नम्बर वडाको स्यालखोला, टाटागाउँलगायत ठाउँमा अहिले पनि बादी समुदायको बस्ती रहेको र उनीहरु पूर्णरुपमा भेरी नदीमै निर्भर भएको बताए । उनका अनुसार अहिले नगरपालिकाभित्र झण्डै २ सय ५० बादी समुदायको बसोबास छ । २०३५ सालतिर आफूहरु सल्यानको माल्नेटाबाट आएको र अधिकांश परिवार परम्परागत पेसामै निर्भर भएको उनले बताए ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका—३ का धनबहादुर घर्तीले कुनै बेला दिनमा २० किलोसम्म माछा मार्थे, अहिले ५ किलो माछा पाउन पनि दिनभरि लाग्छ । उनका अनुसार कुनै समय कर्णाली नदीमा १० किलोसम्मको एउटै माछा पाइन्थ्यो । ‘ठूला माछा देख्न मुस्किल भइसक्यो,’ उनले भने, ‘आजभोलि साना माछा पनि जालमा पर्दैनन् ।’ सिम्लीबजारका हेमबहादुर केसीले नदीमा माछाको संख्या घट्न थालेपछि कतिपयले सिम्लीबजारमा मजदुरी गर्न लागेको बताए । ‘भेरी नदीले हामीलाई पहिचान मात्र दिएको छैन, धेरै परिवारका लागि जीविकोपार्जनको आधार भएको छ,’ उनले भने, ‘तर पछिल्लो समय हाम्रै गतिविधिले भेरीको अस्थित्व संकटमा पर्न थालेको छ ।’
जाजरकोटको छेडाबजारमा झण्डै दुई दर्जन होटलमा दैनिकजसो माछाकै परिकार पाक्छ । तर पछिल्लो समय विष हालेर र करेन्ट लगाएर माछा मार्दा सबै जलचर लोप हुन लागेको होटल व्यवसायी कल्याणी खड्काले बताइन् । उनको होटलमा दैनिक ५ हजार रुपैयाँसम्मका माछाका विभिन्न परिकार बिक्री हुन्छन् । करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि स्थानीय जातका माछा लोप भइरहेको उनले बताइन् ।
भेरी नदीमा माछाको संख्या घटेपछि मूल्य पनि बढिरहेको उनको भनाइ छ । ३ वर्ष अघिसम्म प्रतिकिलो १ सय ५० रुपैयाँमा पाइने माछा अहिले कर्णाली नदी किनारमै ६ सयदेखि एक हजार रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिइन् । सुकाएको माछाको मूल्य झन् बढिरहेको छेडाबजारका अर्का व्यवसायी वीरबहादुर गिरीले बताए । उनका अनुसार अहिले सुकाएको माछा प्रतिकिलो ३ देखि ५ हजार रुपैयाँमा बिक्री हुन्छ । भेरी नदी किनारै किनार खनिएका सडकका कारण पनि जलचर संकटमा परेको उनको गुनासो छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—११ झुप्राखोलाको ३९ परिवारको बस्ती पनि भेरी नदीमै निर्भर छ । भेरी नदीबाट निकालेको बालुवाले आफूहरुको जीवन धानिएको स्थानीय हिरालाल गन्धर्बले बताए । उनको ६ जनाको परिवारका सदस्यहरु दिनभरि बालुवा निकाल्छन् । ‘दिनमा दुई ट्याक्टरसम्म बालुवा निस्किन्छ, एक ट्याक्टर बालुवा एक हजारदेखि १५ सयमा बिक्री हुन्छ,’ उनले भने, ‘नदी सङ्लो भएको बेला माछा मार्छौं भने धमिलो भएको बेला बगाएर ल्याएको काठदाउरा निकाल्छौं ।’ उनकी छिमेकी सुनिता टमाटाले पनि आफूहरुको पेट पाल्ने बाटो बालुवा भएको बताइन् ।
भेरी नदीले स्थानीयलाई आश्रय मात्र दिएको छैन कतिको उठीबाससमेत लगाएको छ । २०७१ साल साउन अन्तिम साता बाढी आएपछि सुर्खेतको बराहताल–२ स्थित थापाडेराका वीरबहादुर थापाले अहिलेसम्म बिस्थापित जीवन बिताइरहेका छन् । उनको ७ जनाको परिवार अहिले पनि बराहताल गाउँपालिका—२ गीरीघाटमा त्रिपालमै जीविकोपार्जन गर्न बाध्य छ ।
उक्त बाढीमा सुर्खेतका ९ सय ७० परिवार विस्थापित भए भने २४ जनाको मृत्यु भयो । बेपत्ता भएका ९१ जनालाई पनि सरकारले मृत घोषणा गर्यो । त्यतिबेला आएको बाढीले सुर्खेतका लेकपराजुलसहित वीरेन्द्रनगर, हरिहरपुरलगायतका ठाउँमा क्षति भएको थियो । अहिले बाढीपीडितहरु सुर्खेतको गिरीघाटसहित तिखाकुना, मसिनालगायत ठाउँमा अस्थायी टहरा र त्रिपालमा बस्न बाध्य छन् ।
सरकारले पुनर्वासको व्यवस्था नगर्दा वर्षा, खडेरी र कठ्यांग्रिदो जाडोमा पनि च्यातिएका त्रिपालमुनि बस्नुपरेको अर्का बिस्थापित वकिल विकले बताए । ‘सरकारले न पुर्ख्यौली गाउँमा जान दिन्छ न कतै घर बनाएर पठाउँछ,’ उनले भने, ‘दैनिक मजदुरी नगरे साँझ—बिहानको चुलो बल्न गाह्रो हुन्छ ।’ उनका अनुसार गिरीघाटमा अहिले करिब ७० परिवारले विस्थापित जीवन बिताइरहेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले भने जग्गा भएका सबै बाढीपीडित पुनर्स्थापना भइसकेको बताए । ‘कतिपय विस्थापित पुनर्निर्माणको रकम नै लिन आएनन्,' उनले भने, ‘कतिपयको जग्गा नै नभएपछि उनीहरुलाई पुनःस्थापना गर्न समस्या भयो ।’ नदीहरू मानिसको जीवन, जीविका, संस्कृति, सभ्यता र भावनासँग गहिरो रूपमा जोडिएको नदी संरक्षण अभियन्ता कमल शर्मा बताउँछन् ।
‘नदी हाम्रा लागि जीवनदायिनी स्रोत हो, आर्थिक र सांस्कृतिक पक्ष, पारिस्थितिकीय सन्तुलन पनि नदीसँग जोडिएको छ,’ उनले भने, ‘नदी र मान्छेबीचको सम्बन्ध आमा र सन्तान जस्तै हो, आमा कमजोर भयो भने सन्तानको अस्तित्व संकटमा पर्छ, त्यसैले नदीको संरक्षण गर्नु आफ्नै भविष्य जोगाउनु हो ।’ मानिसले नदीलाई आवश्यकताभन्दा बढी दोहन गर्दा नदीहरू सुक्दै गएको र त्यसले प्रदूषण र प्राकृतिक प्रकोपको खतरा निम्त्याइरहेको उनले बताए ।
विकास निर्माणमा वातावरणीय पक्षलाई उपेक्षा गर्दा नदीको अस्थित्व संकटमा पर्दै गएको वातावरणविद् सनद अधिकारीले बताए । वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा प्राकृतिक विपद् र पारिस्थितिक प्रणाली असन्तुलनको ठूलो क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ ।
‘नदीमा बस्ने जीवहरुको जीवनचक्रलाई ख्याल नगरी विभिन्न विकास संरचना निर्माण गर्दा मानिसकै जीवनचक्र खलबलिएको छ,’ उनले भने, ‘नदीसँग जोडिएको सभ्यता, धार्मिक, सांस्कृतिक पक्ष र त्यसमा आश्रित समुदायको जीवनशैलीलाई उपेक्षा गरिएको छ, जसका कारण नदी तथा खोलाहरुको नियमित प्रवाह बदलिएको छ भने तल्लो तटीय क्षेत्रमा विपद्लगायत ठूला समस्या देखिन थालेका छन् ।’ उनले विकासका लागि प्राकृतिक प्रवाह परिर्वतन गर्दा ठूलो क्षेत्र सुख्खा भएको र यसले मानव जनजीवन समेत प्रभावित भएको बताए ।
