ताप्लेजुङ,जुम्ला — पूर्वका हिमाली जिल्लामा दशक अघिसम्म यहाँ याक, चौंरी परिवार हुनेखानेमा गनिन्थे । पशुपालक खर्कभरि चौंरी बनाउन हरसम्भव प्रयत्न गर्थे । सीमापारि चीनको तिब्बत र भारतको सिक्किमका चौंरीपालक पनि नश्ल सुधारका लागि नेपाली गोठमा आँखा लगाउँथे । नेपालका चौंरीको मूल्य हरेक वर्ष बढेको बढ्यै हुन्थ्यो । त्यो मूल्य बिक्रेता नेपालीले नभएर किन्ने तिनै छिमेकी देशका पशुपालकले बढाउँथे र रोजीरोजी लैजान्थे ।
समय यसरी बदलियो कि, अहिले चौंरी, याक सल्टाएर (बिक्री गरेर) गोठ चिटिक्क (सानो) बनाउने चिन्ता ताप्लेजुङका अधिकांश याक, चौंरीपालकलाई छ । किसानलाई खर्कमा भरिएका चौपायालाई नुन–भुस खुवाउन हम्मे परेको छ ।
कोरोना संक्रमणसँगै बन्द भएका ताप्लेजुङको टिप्ताला भञ्ज्याङ, संखुवासभाको किमाथांका नाका २०८१ जेठ ११ गतेदेखि खुलेका थिए । तर, नाकाबाट अहिलेसम्म चौपाया ओसारपसार खुला नहुँदा सबैभन्दा बढी मार याक, चौंरीपालकलाई परेको छ ।
चीनमा कोरोना संक्रमणको सबैभन्दा लामो असर हिमाली भेगमा पालिने चौंरी र याक व्यवसायी किसानलाई परेको छ । चौंरी, याक कृषक महासंघ ताप्लेजुङका अध्यक्ष नुपु शेर्पा आफूहरूले कल्पना नै नगरिएको असर परेको बताउँछन् । आफ्नो खर्क र रेखदेखको हिसाबले अधिकतम ६० वटासम्म पाल्न सक्ने नुपुको खर्कमा अहिले ९५ वटा चौपाया छन् । उनले ८० याक र १५ चौंरी पालेका छन् ।
चौंरी भारी बोकाउने प्रयोजनका लागि पालेका हुन् । याक हुर्काएर बिक्री गर्ने उद्देश्य हो । तर अहिले दुवैको उपयोग कम छ । यातायातको बिस्तारले अहिले लामो दुरीमा भारी बोकाउने सामान पनि भेटिँदैन । बिक्रीका लागि चिनियाँ बजार ठप्प छ ।
बाबुबाजेले गरेको व्यवसायलाई निरन्तरता दिएका नुपुले चार वर्षयता सुको पैसा साट्न पाएका छैनन् । हरेक वर्ष २५ देखि ३० वटासम्म बाच्छाबाच्छी थपिन्छन् । वर्षमा १५ देखि २० वटासम्म मर्छन् । ‘कुनै वन्यजन्तुको आक्रमणबाट मर्छन्, कुनै बुढो भएर त कुनै रोगले मर्छन्,’ नुपुले भने, ‘पशुपालनबाट भविष्य के हुन्छ पत्तो भएन ।’ वयस्क भएपछि बेचिदिने, नगद साट्ने र बाच्छाबाच्छीलाई हुर्काउने हो । तर उनीहरूले त्यो अनुसारको क्रियाकलाप गर्न पाएका छैनन् ।
कोरोना संक्रमणसँगै बन्द भएको चिनियाँ सीमा नाका खुलेपनि चौपाया बिक्री प्रतिबन्ध नखुलेका कारण नेपाली पशुपालक समस्यामा परेका हुन् । हिउँ पर्ने सिजन मंसिर/पुसमा औलतिर झार्ने र चैत/वैशाखदेखि भदौ/असोजसम्म चीनसँगको सिमाना टिप्ताला भन्ज्याङ, मौवाटारसम्म पुर्याउने नेपाली किसान यिनै खर्कमा वरिपरि घुमाइरहनु परेको बताउँछन् । हिउँ, पानी, पहिरो छल्दै एकपछि अर्को डाँडामा पुर्याउने किसानले गोठ राख्नका लागि वार्षिक २५ देखि ६० हजारसम्म दिएर साहुको खर्क किन्नुपर्छ । मिक्वाखोला–५ पापुङका नाइके चुङदाक शेर्पा गोठमा अढाई सय चौपाया भएर पनि बिक्री गर्न नपाएको गुनासो गर्छन् । गत वर्ष लम्पी स्किनको संक्रमणमा उनले ६७ याक, चौंरी र बाच्छाबाच्छी गुमाएका थिए । अहिले रोगको समस्या देखिएको छैन तर बिक्रीको समस्या उस्तै छ ।
यस्तो समस्या ताप्लेजुङ मात्रै नभएर देशको उत्तरी ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बू, तेहृथुमसम्मका किसानलाई छ । ताप्लेजुङ, तेहृथुम र संखुवासभाको संगमस्थल गुफापोखरीमा टम्म चौंरी, याक भेला पार्ने किसानहरू हरपल बजारको समस्यामा छन् । नुपुले भने, ‘सबैको प्रतीक्षा चीनको बजार कहिले खुल्छ भन्ने मात्रै छ । बिक्री नभएकाले नुनभुस खुवाउन सक्ने अवस्था कम छ ।’ पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेहृथुम, संखुवासभा, सोलुखुम्बुलगायतका हिमाली तथा पहाडी जिल्लामा पालिने चौपाया तिब्बत र भारतको सिक्किममा किनबेच हुन्थ्यो । तिब्बत, नेपाल, भारतको सिक्किमका खर्कमा पालिने चौंरी, याकको आयात निर्यात दोहोरो हुन्थ्यो । ती देशको पैसा ठूलो र जनसंख्या धेरै भएकाले नेपाली किसानले खर्कमा पाल्ने र छिमेकी देशमा बिक्री गरेर राम्रै नगद आर्जन गर्थे ।
पशुसेवा कार्यालय ताप्लेजुङको तथ्यांक अनुसार जिल्लामा ८ हजार बढी बिक्रीयोग्य चौंरी, याक छन् । सबैभन्दा बढी मिक्वाखोला गाउँपालिका–५ पापुङ र वडा–४ साँवाका गोठमा पालिएका छन् । यो पालिकामा ३५ सयको संख्यामा रहेको तथ्यांक छ । त्यसपछि फक्ताङलुङ गाउँपालिकामा २५ सय बढी पालिएका छन् । मेरिङदेन, मैवाखोला, सिदिङवा र सिरिजंगा गाउँपालिकामा पनि किसानले गोठ डुलाइरहेका छन् । फुङलिङ नगरपालिकामा पनि दुई वटा गोठ छन् । चीनको बजार खुले पाँच हजार चौंरी, याक तत्काल बिक्री गर्ने अवस्थामा रहेको नुपु बताउँछन् । चीनले भने यहाँका याक, चौँरी नश्ल सुधारदेखि दूध, मासुका लागि खरिद गर्ने गरेको छ । याक, चौंरी कृषक महासंघका अनुसार जिल्लामा १ सय ८० कृषक परिवार यही पेसामा पूर्णरुपमा संलग्न छन् । चार/पाँचदेखि आठ/दस वटासम्म पाल्नेको परिवार संख्या तीन सयभन्दा बढी छ । चीन निर्यातमा भएको अवरोध नै अहिले सबै चौंरीपालकको साझा समस्या हो ।
चीनसँग नाका जोडिएको फक्ताङलुङ–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा चीनले क्वारेन्टाइन राखेर मात्रै लैजाने सोच बनाएको पाइएको बताउँछन् । ‘हामीले डिङ्जे काउन्टीमा सोध्दा केन्द्रको निर्देशन हो भन्छन्,’ वडाध्यक्ष छेतेनले भने, ‘नेपालसँगको कुनै नाकाबाट पनि पशुचौपाया छाडेको छैन, यसलाई संघीय सरकारले अपनत्व लिएर पहल गर्नुपर्छ ।’
गत मंसिर २९ गते सीमा बैठकका लागि चीनको डिङ्जे काउन्टी गएका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि चिनियाँ समकक्षीसँग यो समस्याको विषय उठाएका थिए । ‘मैले कृषि उपज अन्तर्गतको विषयमा राखेर यसलाई एजेन्डाकै रूपमा उठाएँ, चिनियाँहरूले माथिल्लो निकायबाट सबै नाकामा रोक लगाएकाले यो कुरा त्यहाँ पुर्याउने जवाफ दिए ।’
दुवै देशका स्थानीयको आवश्यकतालाई बुझिदिन र आफ्नो निकायमा बुझाइदिन आग्रह गरेको दोभासेको भूमिकामा रहेका वडाध्यक्ष छेतेनले बताए । चौपाया बढ्दा खर्कको अभाव हुने र त्यसलाई चलायमान बनाउने किसानसँग पैसा नहुने छेतेन बताउँछन् । ‘हामी जनप्रतिनिधिलाई पनि दबाब छ तर खै के गर्नु र ?,’ शेर्पाले भने ।
चीनको बजार मूल्य र अहिलेको संख्यालाई आधारमान्दा एक अर्ब बढीको चौंरी, याक ताप्लेजुङका खर्कमा रहेको याक, चौंरी किसान महासंघको तथ्यांकले देखाएको छ । तत्कालका लागि ६० प्रतिशत बिक्री गर्ने वातावरण बने किसानमा उत्साह बढ्ने र कलिला बाच्छाबाच्की हुर्काएर थप प्रवर्द्धन हुनसक्ने पशु सेवा कार्यालयको बुझाइ छ ।
जुम्लामा लोभलाग्दो चौंरीपालन गरिरहेको चोत्रागाउँ
जुम्ला गुठीचौर गाउँपालिका–१ चोत्रा गाउँका साङबु गुरुङ ९० चौंरी गाईको गोठालो छन् । उनी हरेक तीन वर्षमा ३० देखि ३५ वटा चौंरी बेच्छन् । चौंरीको दूधबाट उनले घ्यू र छुर्पी बनाएर पनि बेच्ने गरेका छन् । ‘हाम्रो आम्दानीको स्रोत अरू केही छैन,’ उनले भने, ‘पुर्खाले गर्दै आएको चौंरीपालन हामीले पनि छाडेका छैनौँ ।’ उनका अनुसार याक किन्न मनाङ र चीनबाट व्यापारी गाउँमै पुग्छन् । याक ५० हजार रुपैयाँ र चौंरी अधिकतम ६५ हजार रुपैयाँसम्म किनबेच हुने गरेको उनको भनाइ छ । चौंरी गाउँमै पनि किनबेच हुने गरेको छ । चोत्राकै टोन्डुल गुरुङको गोठमा १ सय १५ चौंरी छन् । उनले घरबाट चराउन लैजाँदा देखिने चौंरीको लोभलाग्दो हूल देखिन्छ । टोन्डुलले भने, ‘हाम्रो रोजीरोटी पनि चौंरी हो । बालबच्चाको पठनपाठन, औषधि उपचारदेखि तीर्थव्रत जानेसम्मको खर्च चौंरीबाटै भइरहेको छ ।’
६४ घरधुरी रहेको चोत्रा गाउँका हरेक घरमा १० देखि १ सय १५ सम्म चौंरी पालिएको छ । उनीहरूले घाट, आकाशेताल, भित्रखोला, चिनडाब, अगुल्टे, व्याउलीपाटन, भरर्भरे, पातारासी हिमालको आधारशिविरसम्म चौंरी चराउन लैजाने गरेका छन् । बर्खामा खुर्सको डाला, निगाली झारदेखि हिउँदको बुकी पाटनसम्म चौंरी चराउन अनुकूल स्थान मानिन्छ । अहिले चोत्रा गाउँलाई चौंरी पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रयास भइरहेको छ । एक साताअघि मात्रै स्थानीय किसानलाई पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले ४० वटा चौंरी वितरण गरेको छ । किसानहरूको चौंरीपालनप्रतिको आकर्षणका कारण चौंरी दिइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले जानकारी दिए । ३७ वटा चौंरी र ३ वटा याक दिइएको हो । याक ७० हजार रुपैयाँ र चौंरी ८५ हजारका दरले खरिद गरेर किसानलाई कुल ३० लाख रुपैयाँ लगानी भएको उनले बताए । ‘चोत्रा गाउँको चौंरीपालन निकै लोभलाग्दो छ । किसानमा जागरूकता छ । व्यावसायिक चौंरी पालनले गाउँको भविष्यसमेत उज्ज्वल छ,’ प्रमुख बुढथापाले भने, ‘किसानको हौसला बढाउनको लागि दुई वर्षदेखि किसानलाई चौंरी उपलब्ध गराइरहेका छौँ ।’
कर्णाली प्रदेशको पशुपन्छी उत्पादन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत साझेदारीमा तीन वर्षे कार्यक्रमसमेत सुरु भइसकेको छ । १५ लाख रुपैयाँ पशु सेवा कार्यालय र १५ लाख रुपैयाँ किसान समूहको लगानी रहेको छ । गत वर्ष पनि यो गाउँमा २० वटा चौंरी दिइएको थियो । बर्सेनि चौंरी थपिन थालेपछि किसान उत्साहित छन् । वडाध्यक्ष अर्जुनकुमार महताराले चौंरी स्रोत केन्द्रका रूपमा अघि बढाउन पहल भइरहेको बताए । उनले भने, ‘यो गाउँका किसान चौंरी पालनमै निर्भर छन् । किसानको मिहिनेतले रहरलाग्दो चौरीपालन भइरहेको छ ।’ वडाध्यक्ष महताराका अनुसार चोत्रा गाउँमा १ हजार ६ सय भन्दा धेरै चौंरी पालिएका छन् । जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले चौंरीपालन बढाएर किसानको जीविकोपार्जन सुधार भइरहेकाले चोत्रालाई स्रोत केन्द्रका रूपमा अघि बढाउने प्रयत्न हुने बताए । जुम्ला हुँदै डोल्पाको शे फोक्सुण्डो, त्रिपुरा सुन्दरी, जुम्ला आउने हरेक पर्यटकको आकर्षणको केन्द्रसमेत चौंरीपालन भइरहेको छ ।
