कपिलवस्तु — यशोधरा गाउँपालिका–२ भावपुरका जयप्रकाश पाण्डेले ७५ कट्ठा खेतमा रोपाइँको तयारी गर्न ८/१० वर्षअघि हलो जोताई र हेगाई गर्न झन्डै ४५/४६ हजार खर्च गर्थे । खेताला राखेर काम गर्दा १० दिनसम्म लाग्थ्यो । त्यसमाथि खेताला खोज्न उस्तै सास्ती हुन्थ्यो । अचेल उनलाई न खेतालाको चिन्ता छ न हलो तयार गर्ने । अहिले आधुनिक कृषि उपकरणको प्रयोग गरेर खेती गर्न थालेका उनी खुसी मात्र छैनन् लागत, श्रम र समय बचत हुँदा दंग परेका छन् ।
‘कल्टिभेटर र रोटाभेटरबाट रोपाइँ गर्न थालेपछि खर्च र समय दुवै बचत भएको छ,’ उनले भने, ‘त्यहीँ खेतमा रोपाइँ भ्याउन अहिले २३/२४ हजार लाग्छ । कृषि उपकरणले काम गर्दा एकदिनमै सकिन्छ ।’ भावपुरकै रामदास केबट पनि कृषि उपकरण प्रयोग गरेर खेती गर्न पाउँदा दंग छन् ।
६० परिवारको बसोबास रहेको यो गाउँमा केबटसित मात्रै एक हल गोरु छ । ८० कट्ठा बढी खेत जोत्न र बाली दाउन उनी गोरु प्रयोग गर्दैनन् । उनी अचेल आफ्नो सबै खेत कल्टिभेटर र रोटाभेटरबाट जोतेर रोपाइँ गरी कम्बाएन हार्भेस्टरले स्याहार्छन् । उनको घरमा गोरुगाडाको प्रयोग पनि घटेको छ । ‘हलो बनाउने, गोरु नार्ने काठ पाइँदैन, जोत्ने कुरा त परै जाओस्,’ उनले भने । गोरुगाडाको प्रयोग खेतमा मल फाल्न र अन्न ओसार्न मात्र गरिरहेको उनले बताए ।
परम्परागत र निर्वाहमुखी खेती गर्दै जेनतेन जीविकोपार्जन गर्दै आएका कृषकमा अहिले आधुनिक यन्त्रको प्रयोग बढ्दै गएको छ । समयसँगै विकास भइरहेका कृषि उपकरणले कृषक र कृषि क्षेत्रलाई सहज बनाउँदै लगेको छ । त्यहीँ भएर यहाँका किसानले यान्त्रिक औजारको प्रयोग गरेर मानो छरेर मुरी भित्र्याइरहेका छन् । औजार खरिदमा पाइने सरकारी अनुदान र उत्पादन लागत कम हुने भएपछि यान्त्रीकीकरणमा कृषकको आकर्षण बढेको हो ।
परम्परागत प्रविधिमा महँगो ज्याला, दक्ष कामदार अभावले उत्पादन लागत झन्डै दोब्बर बढी हुने भएपछि कृषक आधुनिक कृषि उपकरण प्रयोग गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर पौडेलले बताए । खेताला नपाउँदा हुने तनाव अहिले मेसिनले काम हुन थालेपछि टरेको उनले बताए । खेती गर्न र उब्जनी भित्र्याउन अहिले जिल्लाका ९० प्रतिशत कृषक उपकरण प्रयोग गर्दै आएको उनले बताए । ‘सहज, कम लागत भएपछि आम्दानी पनि बढाएको छ । यहीँ गतिमा उपकरणको विकास र प्रयोग गर्दै जाने हो भने कृषिमा भविष्य खोज्नेको आकर्षण बढ्छ,’ उनले भने ।
अहिले अधिकांश स्थानीय तहले अनुदान, लागत सहभागितामा सानादेखि ठूला कृषि उपकरण कृषकलाई वितरण गर्न थालेपछि कृषकमा उत्साह बढेको छ । जिल्लामा खासगरी खेतबारी जोतेर बिउ छर्न जमिन तयार गर्ने मिनी टिलर, बाली लगाउनुअघि जमिन तयार गर्न खनजोत प्रयोग गरिने पावर टिलर र खेत खनजोत गर्न कल्टिभेटर प्रयोग गरिन्छ । त्यस्तै, खनजोत तथा माटो मसिनो बनाउन कल्टिभेटर, बाली काटेर उब्जनी स्याहार्ने गर्ने कम्बाइन हार्भेस्टर, थ्रेसर, ट्र्याक्टर, च्याफ कटर, स्पेयर र रिपर प्रयोगमा छन् ।
त्यस्तै, सिँचाइका लागि बोरिङ, पम्मसेट र मोटर प्रयोग गरिन्छ । यहाँ बिउ छर्ने र रोप्न मेसिन भने कम प्रयोग गर्ने गरिएको छ । रोप्न प्रयोग गरिने बिउका लागि सुरुमा फरक खालले ब्याडमा बिउ राख्नुपर्ने हुँदा कृषकहरू अप्ठयारो मान्छन् । धान रोप्ने मेसिन पनि जिल्लामा छैन । धान रोप्नुअघि यहाँ तीन पटकसम्म जोत्ने गरिन्छ । कतिपयले दोस्रो पटकमै धान रोप्ने गर्छन् । मजदुर प्रयोग गरेर हलोले ३० कट्ठा खेत एक पटक जोत्दा करिब २० हजार खर्च लाग्छ । त्यहीँ खेत एक पटक रोटाभेटर प्रयोगले जोत्दा ९ हजार रुपैयाँ पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत रामसुरत पालले बताए । ‘तीन कट्ठा धान काट्न मात्रै मानवीय जनशक्तिले १ हजार ८ सय लाग्छ ।
‘उता करिब ४ कट्ठा खेतको धान कम्बाइन हार्भेस्टरले १ हजार २ सयमा काटेर खलोमा उब्जनी राखिदिन्छ,’ उनले भने, ‘मजदुरले दिनभरि लगाउँछ । कम्बाइन हार्भेस्टरले एकछिनमै काटेर स्याहार्छ । मान्छेले काटेको धानलाई बोझ बनाएर दाइँ गरेर ओसाउन छुट्टै थप रकम बेहोर्नुपर्दा खर्चिलो पर्छ ।’ उनका अनुसार मेसिनबाट बीउ राख्दा र रोप्दा यसले उत्पादन लागत २५ प्रतिशत बढी घटाउँछ भने उत्पादन २० देखि ३० प्रतिशतले बढाउँछ । कृषि मजदुर नपाइने र बढी उत्पादन लागत लाग्ने चिन्ताले खेती गर्न नसकेका किसानलाई प्रविधिको प्रयोगले निकै सहजता भएको उनले बताए ।
तराईमा पछिल्लो समय धान रोप्न पनि मेसिनको प्रयोग बढ्दो छ । ज्याला र समय बचतसँगै पानी पनि कम चाहिने भएकाले कृषकको मेसिनमा आकर्षण बढ्दै गएको हो । मध्यम खालको धान रोप्ने मेसिनलाई करिब १५ लाख रुपैयाँ पर्छ । मेसिनले एक घण्टामा १० कट्टा खेत रोप्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर पौडेलले बताए । त्यसका लागि करिब ३ हजार ५ सय खर्च लाग्ने उनले बताए । मजदुरबाट १० कट्ठा खेत रोप्न करिब ६ हजार ज्याला लाग्छ । दिनभरजसो ९ जनाले रोपाइँ गरे भने बल्ल १० कट्ठा धान रोप्न सकिन्छ । मेसिनले रोप्न छुट्टै किसिमले बिउ राख्नु पर्छ । बिउलाई फरक किसिमले झिकेर मेसिनमा राखेर रोप्नु पर्छ । ‘मान्छे बिउ रोप्दा धेरै पानी चाहिन्छ । मेसिनले रोप्दा भने धेरै पानी पनि चाहिँदैन,’ उनले भने ।
०७९/८० मा लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पहाडी जिल्ला पाल्पा, गुल्मी र तराईका कपिलवस्तु र बाँकेमा गरिएको अध्ययनले ७२ प्रतिशत खाद्यान्न बाली र बाँकी तरकारी, अन्य र तेलहन बालीमा यान्त्रीकरण प्रयोग गर्ने गरेको देखाएको थियो । त्यस्तै, पहाडमा परम्परागत तरिकाले खेत जोत्दा प्रति रोपनी २ हजार ५ सय ९० रुपैयाँ लागत देखियो भने हाते ट्र्याक्टरमार्फत १ हजार २ सय ८२ खर्च भएको पाइएको थियो । त्यस्तै, तराईमा परम्परागत रूपले धान काट्दा/चुट्दा प्रतिहेक्टर झन्डै १५ हजार र आधुनिक उपकरणबाट हार्भेस्ट थ्रेसर गर्दा प्रतिहेक्टर ८ हजार एक सय १५ लागत परेको पाइएको थियो ।
कृषि उत्पादनका मुख्य उत्पादन सामग्री जमिन, श्रम, पुँजी र व्यवस्थापन हुन् । अन्य उत्पादन सामग्री स्थिर रहेपनि पछिल्लो समयमा भने कृषिमा श्रमको समस्या जटिल बन्दै गएको कृषि विज्ञ खुर्सेद अहमद खाँले बताए । थोरै जनशक्ति, समयको बचत, उत्पादन वृद्धि र तुलनात्मक रूपमा लागत कम हुँदा यान्त्रीकरणको माग बढेको उनले बताए । युवाको विदेश पलायन र कृषिमा परम्परागत श्रमको प्रयोगले लागत बढ्न गई कृषि नाफामूलक व्यवसाय हुन नसक्दा समस्या थपिएर कृषि औजारको प्रयोग बिस्तारै बढ्न थालेको हो । ‘कृषि उपकरण अलि महिलामैत्री हुन सकेका छैन,’ उनले भने, यसलाई सुधार गरियो भने अझ बढी प्रभाव पर्छ ।’
कृषि उपकरणबाट १० वर्षयता खेतीपाती गर्न थालेपछि बुद्धभूमि नगरपालिका–१० देउपुराका तरकारी कृषक बहरैची केबटको जीवन नै फेरिएको छ । कृषिलाई पुर्ख्यौली पेसा बनाएका उनी आजभोलि माटोमै सुन फलाइरहेका छन् । परम्परागत तरिकाले खेती गर्दागर्दै थाकेका उनी अहिले लाखौंको मालिक बनेका छन् । एक कट्ठा १४ धुरबाट खेती सुरु गरेका उनले अहिले जग्गा जमिन जोड्दै १ सय २० कट्ठा पुर्याएका छन् । झन्डै ६० कट्ठामा तरकारी र बाकीमा धान, गहुँ, तोरी र रहर खेती गर्छन् । ‘सबै बालीमा आधुनिक उपकरण र प्रविधि प्रयोग गर्छु,’ उनले भने, ‘राम्रो आम्दानी गर्छु । मान्छे लगाएर खेती गर्दा धेरै समस्या भयो ।’ लागत धेरै हुने, उत्पादन कम हुने र बजारीकरणमा समस्या भएपछि उनले खेत जोत्न पावर टिलर किने । पछि ५० प्रतिशत अनुदानमा ३२ हजार खर्च गरेर मिनी टिलर लिएका छन् । उनले बजारमा सिजन अनुसार तरकारीको माग र मूल्य अध्ययन गरेर रोप्ने गरेका छन् । कृषि कर्मबाट वर्षको १० लाख बढी आम्दानी हुने गरेको उनले बताए । आधुनिक यान्त्रीकरण, सीप र प्रविधिबाट खेती गरेर सदरमुकाम तौलिहवाका दुई ठाउँमा ठूला घर बनाएका छन् । आधुनिक उपकरणको प्रयोग कसरी गरिन्छ भनेर राम्ररी बुझेका छन् ।
भर्खर उनले कृषि क्षेत्रको प्रवर्द्धन गर्दै कृषकको सम्मान गर्ने उद्देश्यले जिल्लामा आयोजित एग्रिवस्तु कृषि तारा–२०८२ मा प्रथम पुरस्कार समेत जितेका छन् । पुरस्कार बापत एक लाख नगदसहित सम्मानपत्र प्राप्त गरेका थिए । ‘पहिलो पटक यति ठूलो राशि पुरस्कार जित्दा खुसी लागेको छ,’ उनले भने, ‘अब कृषिमै भविष्य खोज्न युवालाई प्रेरणा दिन्छु ।’ केबटबाट प्रेरणा लिएर कृषिकर्ममा लाग्न अरुलाई पनि आग्रह गर्ने बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठले बताए । कृषि क्षेत्रबाट पलायन भइरहेको जनशक्तिको पूर्ति गर्न र कृषिमा युवा आकर्षण थप्न कृषिमा यान्त्रीकरण अपरिहार्य भएको महाराजगन्ज नगरपालिकाका कृषक अगुवा बुद्धिसागर शुक्लाले बताए । कृषि यान्त्रीकरणले कृषिजन्य वस्तुको उत्पादकत्व बढ्ने, लागत न्यूनीकरण हुने मात्र नभइ उत्पादित कृषि वस्तुको गुणस्तर कायम राख्न सघाउ पुग्ने उनले बताए ।
०६७/६८ मा गरिएको एक अध्ययनले नेपालको कृषि क्षेत्रको मुख्य श्रमशक्ति जनावर (गोरु, राँगा) र दोस्रोमा मानव श्रम र तेस्रोमा उपकरण देखाएको थियो । अहिले अवस्था फेरिएर यान्तत्रीकरण पहिलो भएको छ । सरकारले २०७१ मा कृषि उत्पादकत्व वृद्धि गर्न, दिगो र प्रतिस्पर्धी बनाउन कृषि यान्त्रीकरण प्रवर्द्धन नीति ल्याएपछि अहिले त्यसको प्रभाव जनस्तरसम्म परेको हो । कृषि विकास रणनीतिमा किसानमा यन्त्र र उपकरणको पहुँच बढाउने लक्ष्य राखिएको थियो । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन हुनु र तरकारी, माछा, धान जोन कार्यक्रम सञ्चालन हुनुले यान्त्रीकरणमा कृषकको पहुँच बढेको देखिन्छ । कृष्णननगर नगरपालिकाका कृषक रमाकान्त चौधरी खेतीपाती भनेको मान्छे र गोरु/राँगाले मात्र गरिन्छ भन्ने मान्यता छोटो समयमै भित्रिएका प्रविधिले बदलिएको बताए ।
जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन भएपनि ८१ हजार ५ सय ७६ हेक्टरमा खेती हुँदै आएको छ । धान ६५ हजार ८ सय ५२ हेक्टरमा खेती हुँदै आएको छ । धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । गहुँ ३१ हजार ७ सय ३५ हेक्टरमा खेती हुँदै आएको छ । गहुँको उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन छ । त्यस्तै, दाल ७ हजार ४ सय ६६ हेक्टर, तोरी ४ हजार ३ सय ६१ हेक्टर र मकै १ हजार ३ सय ९० हेक्टरमा खेती हुँदै आएको छ ।
