ताप्लेजुङ — कोरोना संक्रमणका कारण २०७६ माघ ५ गतेदेखि बन्द भएको टिप्ताला भन्ज्याङ नाका २०८१ जेठ ११ मा खुल्यो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका ३३ जना नेपाली गलैंचा, छुर्पीलगायतका वस्तु लिएर पहिलो चरणमा तिब्बतको रिउ बजार पुगे । रिउमा व्यापारिक मेला लागेको थियो ।
झण्डै पाँच वर्षपछि पुगेका ओलाङचुङगोलाका बासिन्दाले तिब्बतमा रहेका आफन्तलाई त्यहीँ बजारमा भेटेर पाँच दिनपछि जेठ १८ गते स्वदेश फर्किए ।
०८१ चैतमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोली चीनको डिङजे काउन्टी पुगेर फर्कियो । प्रजिअसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख (डीएसपी) लिएर गएका शर्माको टोलीमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुसहित संरक्षण क्षेत्रका कर्मचारी सहभागी थिए । उनीहरु द्विदेशीय सीमा सुरक्षा बैठकमा सहभागी भएर फर्किएका थिए ।
छिमेकी मुलुक चीन र भारत दुवैसँग सिमाना जोडिएका नेपालमा दुई मात्रै जिल्ला छन्, पूर्वमा ताप्लेजुङ र पश्चिममा दार्चुला । ताप्लेजुङमा टिप्ताला भन्ज्याङले दुई देशको सिमाना छुट्याउँछ । तिब्बतसँग बिहेबारीको सम्बन्धसमेत हुने गरेको ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला र याङमा सिमानादेखि नजिकका बस्ती हुन् । चीनतर्फ रिउ र घुम्तीमा भन्ने बस्ती छन् । नाका खुलेपछि सिमाना आसपासका नेपाली तिब्बती बजारमा पुगे पनि चिनियाँ नागरिक भने अहिलेसम्म नेपाल आएका छैनन् ।
फक्ताङलुङ–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा नाका खुलेदेखि अहिलेसम्म एक जना चिनियाँ पनि नेपाल नआएको बताउँछन् । यसको कारणको विषयमा उनी पनि खास जानकार छैनन् । उनले तिमीहरु किन नआएको भनेर सोधेका पनि छैनन् । ‘उता चीनबाट त्यहाँको नागरिकलाई परमिट पनि दिएको छैन । उनीहरुको बासिन्दालाई छाडेका छैनन् । पशुचौपाया पनि आउन छोडेको छ । यता हाम्रोबाट गएकोलाई पहिला (कोरोनाअघि) जस्तो जताततै घुम्न दिएको पनि छैन,’ छेतेनले थपे, ‘हाम्रोबाट जानेले पास देखाएर जानुपर्छ उताबाट आउनेले पनि पास देखाएर मात्रै आउनु पर्छ । नियम कानुन बराबरी हुन्छ भनेको छु मैले । तर खै अहिलेसम्म आएको छैन ।’ नाका खुल्नासाथ यताको सबैजसो मान्छे गएर आफन्त भेटेकोले चिनियाँलाई हतार नभएको हुनसक्ने छेतेन बताउँछन् ।
कोरोना संक्रमण अघिसम्म डिङजे काउन्टीका जनसरकार प्रमुख, सुरक्षा अधिकारीसमेत गाडी नै लिएर ओलाङचुङगोलाको बस्तीसम्म आउने गरेका थिए । ‘कैयौंपटक उहाँहरुले यही (ओलाङचुङगोला) सम्म आएर गाडीमा चढाएर यताको मान्छे लिएर जानुभयो,’ निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेले भने, ‘ताप्लेजुङको सिडियो साबहरुलाई पनि उताको डिएसपीहरुले यही गोलाबाटै गाडीमा लिएर गएका हुन्, खै किन अहिलेचाँही आएका छैनन् ?’
ओलाङचुङगोला, याङमाका बासिन्दाले नाका खुलेपछि बर्षौंदेखि थन्किएको गलैंचा, घिउ, जडीबुटी रिउ बजार पुर्याएर बिक्रि गरेका छन् । रिउबाट नुन, पिठो, कपडालगायतका सामान ल्याएका छन् । तर, चीनका नागरिकलाई नै चाँही बस्तीमा स्वागत गर्न अहिलेसम्म पाएका छैनन् । यहाँका पशुपालकले चौंरी, याक, नाक बिक्री गर्न पाएका छैनन् । चीनका अधिकारी आए आफ्नो समस्या सुनाउन पाइन्थ्यो र समाधान पनि निस्कन्थ्योकी भन्ने उनीहरुलाई लाग्ने गर्छ । ओलाङचुङगोलाका नुपु शेर्पाले भने, ‘पहिलाकै जस्तो आफ्नै बस्तीमा खाँदा लगाइदिएर गुनासो सुनाउन पाए निकास निस्कन्छ कि भन्ने आशा थियो, तर खै उताकोहरु आएका छैनन् ।’
सिमानामा प्रशासनिक भवन बनाएको डिङ्जे काउण्टीले सूचना पाएसम्म बोर्डरमा पुग्ने नेपालका जनप्रतिनिधि, राजनीतिक दल, उच्च पदका कर्मचारीलाई स्वागत सम्मान गर्ने गरेका छन् । खाजा, खाना खुवाउने गरेका छन् । उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष (हाल निवर्तमान) नारान थापा नेतृत्वको टोलीलाई माघ पहिलो साता टिप्ताला भञ्ज्याङमा खादा लगाएर स्वागत गरेका थिए । ताप्लेजुङका व्यवसायी सडकको ट्रयाक खुलेपछि पहिलो पटक आफ्नै सवारी लिएर सिमानासम्म पुगेका थिए । यसअघि माओवादी केन्द्रीय सदस्य एवं ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाथोकी, कांग्रेस जिल्ला कार्य समिति ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ नेतृत्वको टोलीलाई यसरीनै खादा लगाएर आफ्नै प्रशासनिक भवन परिसरमा स्वागत गरेका थिए । उनीहरुलाई खुवाउन खाजा रिउ बजारबाट गाडीमा ल्याउने गरेको वडाध्यक्ष छेतेन बताउँछन् ।
नाका खुल्नुअघि सिमानामा पुगेका तत्कालीन प्रमुख जिल्ला अधिकारी आचार्य, हिरादेवी पौडेल, गोमादेवी चेम्जोङलाई पनि यसरी नै सम्मान गरेका थिए । नेपालतर्फ यस्तो संरचना नभएकाले उनीहरुलाई यसरी सिमानामा सम्मान गर्ने अवस्था नभएको वडाध्यक्ष छेतेन बताउँछन् । ‘दुई देशका अधिकारी भेला हुँदा हामी पनि खदा लिएर जान्छौं । उनीहरुलाई पनि लगाइदिन्छौं,’ छेतेनले भने, ‘उनीहरुले सिमानामा सिसी क्यामरा राखेका छन्, बोर्डरमा नयाँ मान्छे देखे सोदीखोजी गर्छन् हाम्रोमा त्यस्तो केही पनि संरचना छैन ।’
५१ सय मिटर उचाइमा रहेको सिमानामा चिनियाँ अधिकारी पनि ढुक्कै बस्दैनन् । सिसि क्यामरा राखेका छन् र रिउबाट नियमन गर्छन् । प्रशासनिक भवन भएको रिउ सिमानादेखि करिब ३५ किलोमिटर टाढा छ । पक्की सडक भएकाले चिनियाँ अधिकारी तलबाट छिनभरमै आउने नेपालीहरु बताउँछन् । जिल्ला प्रशासन कार्यालयले यात्रा अनुमति पत्र (पास) जारी गरेका सिमावर्ती क्षेत्रका नागरिकबाहेक अरुले भने चीन जान पाउँदैनन् ।
अहिलेसम्म सवारीसाधन मार्फत टिप्ताला भन्ज्याङ पुगेर फर्कन ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिन लाग्छ । सदरमुकाम फुङलिङबाट गाडीमा एकदिनमै सिमाना पुगेर ओलाङचुङगोलाको बस्तीसम्म पनि फर्कन सकिन्छ । तर अहिलेसम्म जानेले पहिलो दिन सदरमुकामवाट ओलाङचुङगोलाको बस्तीसम्म जाने, दोस्रो दिन सिमानासम्म पुगेर घुमेर बस्तीसम्म फर्कने र तेस्रो दिन सदरमुकाम फर्कने गरेका छन् । अहिलेसम्म बर्खाले सडक बिगारिहालेको छैन । तर खोलामा पानीको सतह बढ्न थालेको र ठाडाखोला धेरै भएकाले कतिबेलादेखि रोकिन्छ पत्तो नभएको ओलाङचुङगोला वडा कार्यालयका कर्मचारी तेन्जीङ वालुङ बताउँछन् । ‘यहा (ओलाङचुङगोला) आएपछि बाटो रोकियो भने बर्खाभरि यतै बस्नुपर्ने भएकाले अब गाडि धनीले ल्याउन मान्न छोडे,’ उनले भने, ‘तमोर नदीमा पनि पानीको सतह बढेकाले सुकेपानी र जोङगीनमा खोलो तर्न पनि गाहृो छ ।’
मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, घरेलु तथा साना उद्योग कार्यालयलगायतले सरकारी गाडी पनि सिमानासम्म पुर्याएर फर्काएका छन् । मुख्यगरी सुकेपानी र जोङ्गीनमा पुल छैन । यहाँ तमोर नदी तर्नुपर्ने हुन्छ । जोङगीनमा बेलिब्रिज निर्माण भइरहेको छ । तमोर नदीमा पानीको सतह बढ्न थालेकाले जतिबेला पनि यातायात अवरुद्ध हुने चिन्तामा स्थानीय छन् । नाका खुलेपछि चिराईतोलगायतका जडीबुटीसमेत यसैवर्ष चीन निर्यात भएको थियो । ट्र्याक्टरहरु समेत सिमानासम्म पुगेर फर्किएका थिए ।
ओलाङचुङगोलाबाट टिप्ताला भन्ज्याङ पुग्न २२ किलोमिटर छ । उद्योग वाणिज्य संघका अध्यक्ष थापा गोलाको बस्तीबाट ५ घण्टामा पुगेको र फर्कन तीन घण्टामात्र लागेको स्मरण गर्छन् । नेपाल–चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको टिप्ताला–रानी सडकखण्डको सबैक्षेत्र कालोपत्र भए यसले त्रिदेशीय व्यवसाय प्रवर्धनमा योगदान पुर्याउने दाबी व्यवसायीले गर्दै आएका छन् । डिङजी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारी बीच भएको अन्तरदेशीय सीमा सुरक्षा बैठकमा क्रममा सरकार–सरकार बीचको सहमति भए फुङलिङ–टिप्तालासम्मको सडक कालोपत्र गर्ने विषय अघि बढाउन सकिने तिब्बती अधिकारीले बताएका थिए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले तिब्बती अधिकारीसँगको सीमा सुरक्षा बैठकमा समावेश भएका विषयका बारेमा गृह मन्त्रालयमा लिखितै जानकारी गराएको पनि बताएका छन् । फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेनले ओलाङचुङगोलाको मौवाटारमा सुक्खा बन्दरगाह बनाउने कार्यका लागि सरकारसँग माग गर्दै आएका छन् । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतका अधिकारीबीच समन्वय गराउने तथा नेपालतर्फ दोभाषेको समेत काम वडाध्यक्ष छेतेनले गर्दै आएका छन् ।
