उदयपुर — गाईघाटदेखि बिसनपुरसम्म त्रियुगा नदी किनारमा झण्डै तीन सय घर छन् । वर्षायाममा त्रियुगा नदीको बाढी झेल्दै आएका उनीहरुलाई यस वर्ष पनि दुःखद् खबर छ, किनभने त्रियुगा नदी नियन्त्रण कार्यालय खारेज भएको छ ।
त्रियुगा नदीमा बाँध निर्माण हुन्छ र वर्षायाममा ढुक्कले बस्न पाइन्छ भन्ने आश गरेका उनीहरुका लागि दुःखद् खबर हो यो । सरकारले त्रियुगा नदी नियन्त्रण कार्यालय खारेज गरेपछि नदी नियन्त्रणको काम मात्रै अलपत्र परेको छैन, वर्षामा बाढीले कति क्षति पुर्याउने हो भन्ने चिन्ता सुरु भएको छ ।
बिसनपुरस्थित हरितपार्कदेखि दक्षिणतर्फको त्रियुगा नदीमा यस वर्ष पनि तटबन्ध निर्माण हुन सकेन । गत वर्ष त्रियुगा नदीको बाढीले हरितपार्क डुबाएको थियो । हरितपार्कमा त्रियुगा नगरपालिका र कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा त्रिवेणी बालकेन्द्र, बाल आश्रम, वृद्धआश्रम र क्रिकेट रंगशालाको निर्माण भइरहेको छ । नदीमा तटबन्ध नहुँदा यस वर्ष पनि सो क्षेत्र डुबानमा पर्ने सक्ने भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् ।
‘बर्सेनि आउने बाढीले जहिल्यै क्षति गरिरहेको छ, खोला नजिक घर छ, दुःख भोग्नै पर्छ,’ बिसनपुरका प्रथमलाल चौधरीले भने । ‘यसपाली बाँध निर्माण होला र त्रियुगाको बाढीले सास्ती भाग्नु नपर्ला सोँचेको बाँध निर्माण नै भएन, अब बसाई सर्नु कि के गरौँ दोधारमा छु,’ उनले गुनासो गरे ।
बाँध निर्माण नहुँदा यस वर्ष पनि ठूलो सरकारी संरचना र घरखेत डुबाउने जाखिम रहेको स्थानीयहरुको गुनासो छ । ‘बर्षा सुरु भैसकेको छ, नदीमा बाँध छैन,’ बिसनपुर त्रिवेणी टोलकी मञ्जु राईले बताइन् । नदीको बाढी बस्ती पसेर फेरि ठूलो क्षति गर्ला भन्ने डरमा जोखिम मोलेर बसनुपरेको उनले बताइन् ।
त्रियुगा नदीको मुहानदेखि सप्तरीको फत्तेपुरसम्म नदीको दुबैतर्फ तटबन्ध गर्न ४ वर्षअघि स्थापना भएको त्रियुगा नदी नियन्त्रण कार्यालय सरकारले खारेज गरिदिएपछि नदी नियन्त्रणको काम अन्योलमा छ । ‘असारबाट जिल्लामा कार्यालय नरहने केन्द्रबाट परिपत्र आएको छ, अब विराटनगरमा कार्यालय रहनेछ, यहींबाट काम हुन्छ,’ त्रियुगा नदी नियन्त्रण कार्यालय गाईघाटका निमित्त कार्यालय प्रमुख राजेन्द्रप्रसाद देवले बताए ।
त्रियुगा नदी नियन्त्रणका लागि ८ अर्बको डीपीआर तयार भएकोमा अहिलेसम्म २ अर्ब मात्र खर्च भएको उनले बताए । ‘त्रियुगा नदीको शिरदेखि पुछारसम्म एक सय एक किलोमिटर बाँध निर्माण गर्नुपर्नेमा हाल ३० किलोमिटर मात्रै काम भइरहेको छ, बजेट अभावले यस वर्ष ७ करोडको मात्र काम भयो,’ उनले भने ।
बहुबर्षे ठेक्काअन्तर्गत त्रियुगा, चौदण्डी र बेलका नगरपालिकाअन्तर्गत पर्ने त्रियुगा खोला किनारमा कालिका र गजरमुखी कन्ट्रक्सनले बाँध निर्माणको काम गरिरहेको उनले बताए । त्रियुगा नदी नियन्त्रणका लागि २०६९/०७० मा गाईघाटमा आयोजना कार्यालय स्थापना भएको हो । नदीले बर्सेनि कटान गर्ने गरेको कारण जोगिदह, हडिया, सुन्दरपुर, बसाहा र तपेश्वरीको झन्डै ९० प्रतिशत खेतीयोग्य जमिन बालुवामा परिणत गरेपछि नदी नियन्त्रणको काम अघि बढाइएको थियो । बाढीका कारण खोला आसपासका बस्तीमा कटान र धेरैको घरबार बगाएर त्यस क्षेत्रका बासिन्दाहरु विस्थापित भएका थिए । त्रियुगा नदीले हजारौं हेक्टर जमिन कटान गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्रियुगा नगरपालिका-७ चिसापानीदेखि सप्तकोशीमा मिसिने विन्दुसम्म ४२.५ किलोमिटर दूरीमा नदीको दायाँबायाँ जैविक प्रविधिमा आधारित बाँध बाँध्ने उद्देश्यले सरकारले आयोजना कार्यालय स्थापना गरेको प्रमुख देवले बताए ।
योजना सम्पन्न भएपछि त्रियुगा, चौदण्डिगढी, बेलका नगरपालिका र सप्तरीको कंचनपुरसहित सप्तकोशीका हजारौं बासिन्दा बाढीको चपेटाबाट मुक्त हुने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार तटबन्धबाट १० हजार घरधुरीका ८० हजार जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने, २ हजार २ सय हेक्टर जमिनलाई फाइदा पुग्ने र ४ सय हेक्टर जमिन तटबन्धको कारण उकास हुने योजनाको लक्ष्य रहेको छ । तर बजेट अभावले आयोजनाले लक्षअनुसार काम गर्न सकेको छैन ।
