पाँचथर — राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको सुरुवाती बिन्दुमा सडक निर्माणको काम लथालिङ बनेको छ ।
यो राजमार्गको विभिन्न तीन खण्डमा कालोपत्र गर्ने जिम्मेवारी लिएको रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले काममा लापरबाही गर्दा निर्माणले गति लिन सकेको छैन । हालसम्म यो सडक अन्तर्गतको पहिलो खण्डमा २७, दोस्रो खण्डमा १४ र तेस्रो खण्डमा ४९ प्रतिशत मात्रै काम भएको छ । जबकि यो सडक २०७८ सालमै पूरा भइसक्नु पर्थ्यो ।
निर्माण व्यवसायीले ज्याला भुक्तानी नदिएका कारण मजदुरले काम छाडेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत ५० किलोमिटर क्षेत्र लाथलिङ छ । विभिन्न तीन खण्डमा राजमार्ग कालोपत्र गर्ने जिम्मेवारी लिएको रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले भुक्तानी नदिएका कारण यहाँ काम गरिरहेका १ सय ५० जना कामदार १५ दिनअघि काम छोडेर हिँडेका हुन् । उनीहरुले ६ महिनादेखि काम गरेको ज्याला नपाएको गुनासो गरेका छन् ।
निर्धारित समयमा काम नसकेको कम्पनीलाई सरकारले पटक पटक गरेर ३ चोटी म्याद थपिदिएको छ । तेस्रो पटक थपिएको म्याद आउँदो मंसिरमा सकिँदैछ । सन्तोषी शिवशक्ति जेभीका कारण दोस्रो खण्ड झनै लथालिङ छ । पहिलो र तेस्रो खण्डमा पनि वर्षायाम गाडी गुड्ने सम्भावना अत्यन्तै न्यून रहेको याङवरक गाउँपालिका–१ का वडासदस्य नरबहादुर गुरुङ बताँउछन् । सडक निर्माणको निरन्तर अनुगमन गरिरहेका वडासदस्य गुरुङका अनुसार निर्माण व्यवसायीले कामदारलाई झन्डै एक करोड पारिश्रमिक भुक्तानी दिन बाँकी छ ।
निर्माण व्यवसायी सुरेन्द्र पाठकले पटक पटक काम अगाडि बढाउने प्रतिबद्धता जनाए आवश्यकता अनुसारका औजार, उपकरण, यन्त्र र जनशक्ति नखटाएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय फिदिमले जनाएको छ । याङवरक–४ दारिम्बादेखि ओयाम वडा २ फलैंचा र वडा १ च्याङथापु हुँदै सिक्किमसँगको सीमावर्ती नाका चिवाभञ्ज्याङ जोड्ने यो सडकको काम चाँडो सक्न पटकपटक ताकेता गर्दा पनि व्यवसायीले नटेरेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले बताए ।
सडक कालोपत्र गर्ने ठेक्का लिएको निर्माण कम्पनी सन्तोषी शिवशक्ति जेभीका सञ्चालक पाठकले तीनवटै खण्डको ठेक्का पाउनु पनि दुर्भाग्यपूर्ण भएको पाण्डेको टिप्पणी छ । सडक लथालिङ हुँदा पाँचथरको याङवरक गाउँपालिका–१ २ र ३ सँगै छिमेकी जिल्ला ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ र २ का बासिन्दालाई सास्ती भएको छ । वर्षायाम यो ठाउँमा खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ हुनेमा स्थानीय चिन्तित छन् ।
जिल्ला प्रशासन कार्यालय आयोजना कार्यालय हुँदै मन्त्रीस्तरमा यो सडकको ठेक्का तोड्न छलफल भइरहे पनि त्यसले सार्थकता पाएको छैन । ठेक्का तोडिएपछि कसरी काम गर्ने भन्ने विषयमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय बीचको तादम्यता नमिल्दा पनि सडकको यो अवस्था भएको हो ।
दारिम्बादेखि चिवाभन्ज्याङ सम्मको ५१ किलोमिटर सडक कालोपत्र गर्न २ वर्षभित्र सक्ने गरी १ अर्ब २५ करोड रुपैयाँ लागतमा काम सक्ने गरी २०७६ माघमा शिवशक्ति निर्माण सेवाले सरकारसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का लिएको ६ वर्षसम्म यो सडकमा अपेक्षित प्रगति हुन सकेको छैन । यहाँको ओयाम खोला, ओसाम खोला र फलाम खोलाका पुलसँगै विभिन्न खोल्सामा लगाएका कल्भर्ट र कजवे गत वर्ष असार २ को वर्षाले बगेका थिए । यी खोला–खोल्सामा पानी नपर्दा जेनतेन गाडी र मान्छे तर्न सकेपनि वर्षाका बेला वारपार गर्न सकिँदैन ।
शिवशक्ति निर्माण सेवाका प्रोप्राइटर सुरेन्द्र पाठक सधैंझैं कोरोनाकाल, २०७९ को निर्वाचन हुँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण निर्धारित समयमा काम गर्न नसकेको दाबी गर्छन् । ठेकेदारले जेजस्तो बाहाना गरे पनि काममा ध्यान पटक्कै नदिएको आयोजना प्रमुख पाण्डेय बताउँछन् । ‘हिँउदभर कहाँ जान्छन्, वर्षा लाग्न थाल्दा २–४ कामदार ल्याएर फिल्डमा छोड्छन् उनको यही प्रवृतिले सडक यो हालतमा रहेको हो,’ पाण्डेयले भने ।
दारम्बिादेखि चिवा भञ्ज्याङ जोड्ने यो सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । तीनवटै खण्डको ठेक्का शिवशक्ति निर्माण सेवाले ‘ज्वाइन्ट भेन्चर’ (जेभी) मा पाएको हो । पहिलो खण्डमा रोशन/शिवशक्ति जेभी, दोस्रो खण्ड सन्तोषी/शिवशक्ति जेभी र तेस्रो खण्ड रोशन/शिवशक्ति जेभीले ठेक्का लिएको छ । यद्यपि तीनवटै खण्डका प्रोपाइटर भने सुरेन्द्र पाठक नै हुन् । वर्षा सुरु हुनुअघि करिब दुई घन्टामा पार गर्ने थर्पुदेखि च्याङथापुसम्मको २१ किलोमिटर सडक पार गर्न आजकल दिनभर लाग्ने गरेको चालक मोहन लिम्बू सुनाउँछन् ।
निर्माण व्यवसायीको लापरबाहीकै कारण थर्पुदेखि ओयामसम्मको सडक खण्ड क्षतविक्षत भएको याङवरक–३ का वडाध्यक्ष विमल राईले बताए । याङवरक–३ कै विज्ञान प्रसाईंले ठेकेदारले काम अधकल्चो छोड्दा यो थर्पु च्याङथापु सडक खण्डमा दैनिकजसो दुर्घटना हुने गरेको सुनाए । हिलाम्य बाटोमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका उनी यो क्षेत्रको विकासमा मध्यपहाडी राजमार्ग नै बाधक बनिसकेको दु:खेसो पोख्छन् । च्याङथापुभन्दा माथि सीमावर्ती बिन्दुसम्मको करिब ३० किलोमिटर सडक बेहाल छ । सडकमा ब्याक–कटिङ गरे छाडिएकाले सवारीसाधन फस्ने गरेका छन् । सडकको मध्य भागमा थुप्रिएका ढुंगाले यातायातका साधन गुड्नै नसक्ने अवस्था छ । चिवाभन्ज्याङस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर आउट पोस्ट (बीओपी) का लागि खाद्यान्न र अरू सामग्री पुर्याउन सकस हुन थालेको छ । औसतमा ३२ सय मिटर उचाइको चिवा क्षेत्रमा रहेका चौंरीगोठ, भेडीगोठमासमेत दानापानी ओसार्दाको सास्ती छ ।
पूर्वमा पाँचथरको चिवाभन्ज्याङबाट पश्चिम बैतडीस्थित झुलाघाटसम्म जोड्ने मध्यपहाडी राजमार्गको कुल दूरी १ हजार ८ सय ७९ किलोमिटरमा पाँचथर खण्ड १ सय १४ किमि पर्छ, जसमध्ये तमोर नदीदेखि दारिम्बासम्म कालोपत्र भइसकेको छ । दारिम्बा–चिवाभन्ज्याङ खण्डमा काम ढिला सुरु भएपनि सरकारले मध्यपहाडी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर निर्माण थालेको १७ वर्ष पुगिसकेको छ । सरकारले कामको प्रगति नै नहेरी यसअघि तीन पटकसम्म म्याद थप गरेर ढिलासुस्ती गर्ने ठेकेदारलाई प्रसय गरेको याङवरक गाउँपालिका अध्यक्ष भीमबहादुर योङया बताउँछन् ।
‘कामलाई गति दिने हो भने दारिम्बादेखि सुरु गर्नुपर्छ, निर्माण व्यवसायीले चिवा भञ्ज्याङदेखि काम थालेर उल्टो बाटो हिँडे, पुग्दो कामदार र उपकरण खटाएको छैन, काम नगर्ने कम्पनीलाई कारबाही गर्नुको साटो पटक पटक म्याद थपेर पुरस्कृत गरियो,’ योङयाले भने ।
