गोलबजार–लगडी गदियानी सडक : पेटीमा जिम्मा दिएर म्याद थपेको थप्यै

पाँच वर्षमा २८ प्रतिशत काम, २५ करोड बढी भुक्तानी

जेष्ठ ३१, २०८२

विनय आजाद

Golbazar-Lagdi Gadiani Road: After handing over to the box, the deadline has been extended

सिरहा — सिरहामा राम्रोसित पानी नपरेको एक साताभन्दा बढी भयो । तर, गोलबजार–लगडी गदियानी सडक खण्ड अन्तर्गत अर्नमा गाउँपालिका–१ महनौर चोकस्थित सडकमा एक साताअघि नै बर्खाको पानी जमेर बनेको हिलो अहिले पनि छँदैछ ।

गोलबजारदेखि लगडी गदियानीसम्म ठाउँ–ठाउँमा यस्तै हिलै हिलोले कुरुप बनेको यो सडक बर्खाको पानी सुकेर सुख्खा भएका ठाउँमा भने धुलै धुलोले आक्रान्त छ । यो अहिलेको मात्र समस्या होइन, २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौंदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ । 

यहाँका सर्वसाधारणले सुख्खायाममा भोग्ने धुलोको सास्ती भनिसाध्य छैन भने बर्खामा हिलोले गर्दा यो सडकमा एम्बुलेन्ससमेत गुड्ने अवस्था हुँदैन । सिरहा क्षेत्र नम्बर ३ मा पर्ने यो सडक हरेक चुनावमा चुनावी मुद्दा बन्ने गर्छ । तर, चुनावसँगै यो सडकको मुद्दा हराएर जाने गरेको स्थानीय सुनाउँछन् । ‘म बुझ्‌ने भएदेखि नै यो सडक बन्दैछ भनेर सुन्दै आएको छु, हामीले यही सडकको आशमा धेरै नेतालाई भेट पनि दियौं, तर सबैले ठग्ने काम मात्रै गरे,’ अर्नमा गाउँपालिका–३ का ४० वर्षीय सिकेन्द्र यादवले भने, ‘बर्खामा हिलोले हिँड्नै र सुख्खामा धुलो थेग्नै मुस्किल हुन्छ, हामी हैरान छौं ।’

यो सडकमा कामै नभएको भने होइन । हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले झन्डै पाँच वर्षदेखि यो सडक निर्माण गरिरहेको छ । तर, यो लामो अवधिभरमा अहिलेसम्म सडकका केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक खासै काम भएको छैन । 

Golbazar-Lagdi Gadiani Road: After handing over to the box, the deadline has been extended

निर्देशनालयले २०७७ भदौ २४ मै ३० महिना अर्थात् २०७९ फागुन २३ भित्र काम सम्पन्न हुने गरी यो सडक निर्माणका लागि ९१ करोड ३९ लाख ७९ हजार ६० रुपैयाँमा कन्टेक प्रालि, काठमाडौंलाई ठेक्का दिएको थियो । तर, सम्झौता अवधि सकिँदा पनि सामान्य भौतिक प्रगति पनि गर्न नसकेको यो ठेकेदारलाई निर्देशनालयले पहिलो चोटी २०८० फागुन २२ र दोस्रो चोटी २०८१ फागुन २२ सम्म एक–एक वर्ष गरी दुई पटक म्याद थप गरिदिएको थियो । 

यो म्याद पनि सकिसक्दा अहिलेसम्ममा सडकको भौतिक प्रगति करिब २८ प्रतिशत मात्रै रहेको निर्देशनालयले जनाएको छ । तर, यसबापत ठेकेदार कम्पनीलाई भुक्तानी भने भ्याटबाहेक २५ करोड ४९ लाख ७ हजार ७ सय १४ रुपैयाँ भइसकेको छ । 

Golbazar-Lagdi Gadiani Road: After handing over to the box, the deadline has been extended

निर्देशनालयले फेरि यही ठेकेदार कम्पनीलाई एक वर्षको म्याद थप्ने प्रक्रिया अगाडि बढाएको छ । ठेकेदार नयाँ प्रतिबद्धतासहित आएको र अब एकचोटी अन्तिम पटक समय मागेकाले थप्न लागिएको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले बताए । ‘यो विषयमा कति चोटी उच्चस्तरीय बैठक पनि भएको छ, हामी एक वर्षभित्र काम सक्छौं, म्याद थपिदिनपर्‍यो भनेपछि एक वर्ष दिन लागेका हौं,’ उनले भने, ‘आशा गरौं, यो अवधिभित्रै काम सम्पन्न हुन्छ, भएन भने हामी ठेकेदारलाई कारबाही गर्ने प्रक्रियातर्फ अगाडि बढ्छौं ।’

Golbazar-Lagdi Gadiani Road: After handing over to the box, the deadline has been extended

अर्नमाका भागेन्द्र यादवका अनुसार सडक बनाउने ठेक्का कन्टेक प्रालिले पाए पनि मिलेमतोमा राजनीतिक पहुँच भएका अन्य ठेकेदारहरुले पेटीमा ठेक्का लिएर काम गरिरहेका छन् । यसै कारण सडक निर्माण अलपत्र बनेको उनको भनाइ छ । ‘यहाँ मूल ठेकेदारको अत्तोपत्तो छैन, अन्य ठेकेदारलाई कहिलेकाहीँ सडकमा काम गरेको देख्छौं,’ उनले भने, ‘पैसा जोगाउने र भ्रष्टाचार गर्ने नियतले यो सडकको काम अलपत्र पारिएको छ, सडकको काम र भुक्तानी रकम हेर्दा पनि यो कुरा क्लियर हुन्छ, यसमा सबैको मिलेमतो छ ।’

निर्देशनालयका प्रमुख महतोले पनि मूल ठेकेदारले पेटीमा अन्य ठेकेदारलाई ठेक्का दिएर काम गराएको सुनेको स्वीकार गरे । यद्यपि, उनले यसबारे आफूलाई त्यति थाहा नभएको र आफूहरुको कुनै मिलेमतो नभएको उनको दाबी छ । ‘हामीले पनि पेटीमा ठेक्का लगाएको सुनेका छौं, तर त्यति थाहा छैन,’ उनले भने, ‘कसले के गरे भन्दा पनि हामीले चिन्ने भनेको मूल ठेकेदारलाई हो ।’

Golbazar-Lagdi Gadiani Road: After handing over to the box, the deadline has been extended

यस्तै, ठेकेदार कम्पनी कन्टेक प्रालिका साइट इन्चार्ज अंकित साहले पनि पेटीमा ठेकेदार राखेर काम गराएको स्वीकार गर्दै कतै साइट क्लियर नहुने र कहिले भुक्तानीमा झमेला हुने कुराले काममा ढिलाइ भएको आरोप लगाएका छन् । ‘हामीले पेटीमा ठेक्का दिएर गराएकै हो, कति आए, कति गए,’ उनले कान्तिपुरसित भने, ‘तर, खासमा कतै साइट क्लियर नहुने र कहिले भुक्तानीमा झेल हुने कुराले काममा ढिलाइ भएको हो ।’

Golbazar-Lagdi Gadiani Road: After handing over to the box, the deadline has been extended

यो सडक निर्माणमा ठेकेदार कम्पनी तथा निर्देशनालयले चरम बदमासी गरेको र यसका कारण यहाँका सर्वसाधारणले सहिनसक्नु सास्ती भोग्नपरेको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवको गुनासो छ । तर, आफूले सबैतिर गुहार्दा पनि आश्वासनबाहेक केही नपाएको उनले सुनाए । ‘मैले ठेकेदारलाई धेरै पटक मेरो कार्यालयमै बोलाएर छिटो काम गर्न भनेको छु, अहिले उनीहरु मेरो सम्पर्कमै छैनन्, निर्देशनालयलाई कति चोटी भनेको छु, यस क्षेत्रका सांसद लिलानाथ श्रेष्ठलाई पनि भनेर थाकिसकेँ,’ उनले भने, ‘तर, सबै ठाउँबाट आश्वासबाहेक केही पाइनँ ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully