रोल्पामा पालिकाका अस्पताल : कतै भवन निर्माण सकियो, कतै सुरुआत मात्रै 

‘एक स्थानीय तह, १५ शय्याको एउटा अस्पताल’ नीतिअनुसार रोल्पाका १० स्थानीय तहमा धमाधम अस्पताल बन्दै तर बजेटको समस्या

जेष्ठ २७, २०८२

काशीराम डाँगी

Municipal Hospital in Rolpa: Some buildings have been completed, some have just begun

रोल्पा — सरकारले २०७७ मा  'एक स्थानीय तह, एक अस्पताल' नीतिअनुसार अस्पताल निर्माणको घोषणा गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ९६ पालिकामा एकसाथ ५ देखि १५ बेडसम्मका अस्पतालको शिलान्यास पनि गरे । कतै कामै सुरु भएको छैन, कतै अन्योल छ । रोल्पाको थबाङ गाउँपालिकाले भने अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । यहाँ पालिकाले सामुदायिक अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरिसकेको छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक तुलबहादुर पुनले भवन निर्माण कार्य सकिएको र अस्पतालको सेवा त्यहीँबाट सञ्चालन गरिएको जानकारी दिए । ‘हरेक स्थानीय तहमा निर्माण गर्ने १५ शय्याको अस्पताल भवन बनाउने सरकारको नीतिअनुसार हामीले भवन निर्माण गरिसक्यौं । अब यहीँबाट अस्पताल सेवा प्रवाह गर्छौं,’ उनले भने । यसअघि थबाङमा सामुदायिक अस्पताल समुदायबाटै सञ्चालित हुँदै आएको थियो । अब भने नयाँ भवनमा सामुदायिक स्वास्थ्य सेवा सञ्चालन गरिनेछ । पालिकाले पनि त्यसैअनुसार नीति र कार्यविधि तयार गरेको छ । 

अस्पतालको नेतृत्व दुई दशकअघिदेखि कार्यरत जापानी चिकित्सक डा रुकिची इसिदाले गर्नेछन् । उनी थबाङमै बस्दै आएका छन् । उनले बिनाशुल्क स्वास्थ्य सेवा दिँदै आएका छन् । जापानको सरकारी अस्पतालबाट सेवा निवृत्त भएका उनी वरिष्ठ हाडजोर्नी विशेषज्ञ समेत हुन् । सामुदायिक अस्पतालमा काम गर्ने गरेर स्थानीय दुई छात्राले यसअघि नै एमबीबीएस अध्ययन गरिसकेका छन् । एक जनालाई जापानी चिकित्सकले नै एमबीबीएस पढ्न सघाएका हुन् ।   

त्यस्तै, रुन्टीगढी गाउँपालिकाले होलेरीमा यसअघि नै साबिकको प्राथमिक स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गरिसकेको छ । गाउँपालिकाले त्यसै भवनमा केन्द्र सञ्चालन गर्दै आएको छ । स्थानीय तहको नयाँ पुनःसंरचना गर्नुअघि नै रोल्पाका होलेरी र सुलिचौरमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थिए । होलेरीमा रहेको स्वास्थ्य केन्द्रबाट प्रभावकारी सेवा विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले १५ शय्या बराबरको भवन निर्माण गरेको हो । अब पालिकाले नै त्यसै भवनबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले त्यसै केन्द्रबाट अस्पतालले सेवा विस्तार गर्ने योजना रहेको बताए । ‘हाम्रो पालिकामा निकै अघिदेखि नै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको छ । अब त्यसै भवनबाट नै १५ शय्या अस्पतालले दिने सेवा दिने निर्णय भएको छ,’ अध्यक्ष पुनले भने । उनले १५ शय्याको छुट्टै अस्पताल सञ्चालन गर्न विविध समस्या हुने भएकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई नै सक्रिय बनाएर जनतालाई सेवा दिने लक्ष्य लिइएको बताए । 

Municipal Hospital in Rolpa: Some buildings have been completed, some have just begun

त्रिवेणीको केन्द्र नेर्पा नजिकै अस्पताल भवन निर्माण अन्तिम अवस्थामा छ । पालिकाका स्वास्थ्य सेवा प्रमुख पूर्णबहादुर बुढामगरले १५ शय्याको अस्पताल भवन बनाउन स्थानीयले दान दिएको जग्गामा नै अस्पताल भवन निर्माण थालिएको बताए । उनका अनुसार अस्पताल भवन २४ रोपनी क्षेत्रफलमा निर्माण हुँदै छ भने ६० कोठाको भवन निर्माण हुनेछ । पालिकाभित्रको जनसंख्या र भूगोललाई आधार मान्ने हो भने यहाँ एउटा अस्पतालको खाँचो भएको प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले बताए । उनका अनुसार हाल एक जना चिकित्सकबाट स्वास्थ्य चौकीमार्फत नै स्तरीय सेवा दिने गरिएको छ । त्रिवेणीका अध्यक्ष कर्णबहादुर बाँठामगरले अस्पताल भवन निर्माण भएसँगै सेवा विस्तार गर्ने बताए । ‘अस्पताल सञ्चालन गरेर जनताको स्वास्थ्य अवस्थाको सुधार गर्ने हाम्रो योजना छ । भवन निर्माण भएपछि स्तरीय सेवा दिनेछौं,’ उनले भने । 

त्रिवेणी जसरी परिवर्तन गाउँपालिकाले पनि भवन निर्माणको काम धमाधम गरिरहेको छ । परिवर्तनका प्रवक्ता एवं वडा २ का अध्यक्ष हरिप्रसाद बुढामगरले निर्माण व्यवसायीका कारण भवन बनाउन केही समय ढिला भए पनि अब अन्तिम चरणमा पुगेको बताए । ‘हामीले प्राथमिकता दिएरै अस्पतालको भवन बनाउन लगाएका हौं, अब छिट्टै नै भवन तयार हुनेछ,’ उनले भने ।

अस्पताल आफ्नै क्षमता र जनशक्तिले सञ्चालन गर्ने उद्देश्यले परिवर्तन गाउँपालिकाले आफ्नै खर्चमा एकजनालाई एमबीबीएस अध्ययन गर्न खर्च छुट्याएको छ । त्यसैअनुसार स्थानीय एक छात्रालाई पालिकाले नै खर्च दिएर अघिल्लो वर्षदेखि चिकित्सा विज्ञान पढ्न पठाएको हो । स्थानीयलाई छात्रवृत्ति प्रदान गरेर गाउँमै अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थानीय तहले नमुना कार्यअन्तर्गत एमबीबीएस अध्ययन गर्न सघाएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगरले बताए । 

Municipal Hospital in Rolpa: Some buildings have been completed, some have just begun

रोल्पा नगरपालिकाले पनि एक जनालाई छात्रवृत्ति दिएर एमबीबीएस अध्ययन गर्न आर्थिक सहयोग दिने निर्णय गरेको छ । नगर प्रमुख सुरेन्द्र घर्तीमगरले नीतिगत रुपमा हरेक वर्ष एक जनालाई एमबीबीएस पढाउन सघाउन सकिनेछ । त्यसबाट आफ्नो क्षेत्रमा सञ्चालित रोल्पा अस्पताललाई सञ्चालन गर्न सजिलो हुने उनको विश्वास छ । तर जिल्ला अस्पताललाई प्रादेशिक क्षेत्राधिकार भित्र पार्ने हालको प्रावधान रहेको छ । यद्यपि अस्पतालमा जनशक्ति र अन्य सेवाका लागि नगरले पनि आर्थिक भार बेहोर्दै आएको नगरले जनाएको छ । 

यसरी पहिलो क्रममा अस्पताल निर्माण गर्नेमा थबाङ र रुन्टीगढी गाउँपालिका हुन् भने त्रिवेणी, माडी र परिवर्तनले पनि निर्माण कार्य सक्नै थालेका हुन् । तर माडीमा लामो समयसम्म जग्गा विवादले अदालतसम्मै मुद्दा लड्नुपर्‍यो । हाल मुद्दा जितेपछि मात्रै काम थालिएको छ । माडीका सूचना अधिकारी पहलमान वलीले मुद्दाको फैसला भएपछि काम थालिएको र धमाधम काम भइरहेको बताए । माडीका अध्यक्ष अमरसिंह घर्तीमगरले अस्पताल भवन निर्माणलाई पहिलो प्राथमिकता दिए पनि जग्गा विवाद र मुद्दा खेप्नुपर्दा समय लागेको बताए । ‘अब काम थालिएको छ । धमाधम काम भएपछि आउँदो वर्षमा भवन तयार हुनेछ भने चाँडै अस्पताल सेवा सञ्चालन गर्न सकिनेछ,’ उनले भने । 

सुनछहरी, लुंग्री, सुनिलस्मृति र सुकीदह गाउँपालिकाले भने भर्खरै अस्पताल भवन निर्माणको काम थालेका छन् । सुनछहरीमा भवन निर्माण कार्य सुरु भइसकेको छ । पहिलो चरणमा संघ र स्थानीयको ८ करोड बजेट छुट्याइएको गाउँपालिकाका प्रवक्ता अमरजित पुनले बताए । त्यस्तै सुकीदहमा डीपीआर सम्पन्न भइसकेको छ । हाल स्वास्थ्य चौकी रहेको जिनाबाङमै अस्पताल भवन बनाउने योजना छ । सुकीदहका सूचना अधिकारी तिलक केसीले डीपीआर भर्खरै भएकाले अब काम थाल्ने बताए । 

लुंग्री र सुनिलस्मृतिमा जग्गा खरिद गर्न र अन्य प्रक्रिया यथावतै भएकाले भवन निर्माण गर्ने कार्य सुरुआती चरणमै अड्किएको छ । विविध कारणले जिल्लाका विकट र कम विकसित मानिएका कतिपय स्थानीय तहले नै काम गर्न ढिलाइ गरेका छन्, जसका कारण स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको छैन । सुनिलस्मृतिमा भने यसअघि नै प्राथमिक स्वास्थ्य केन्द्र भएकाले त्यसैबाट चिकित्सक समेतको सेवा प्रवाह हुने गरेको छ । पालिकाको केन्द्र सुलिचौरमा नै अस्पताल भवन बनाउन जग्गा खरिद र बजेट विनियोजन गर्ने प्रक्रिया सुरु भएको हो । 

‘एक स्थानीय तह, १५ शय्याको एउटा अस्पताल’ भन्ने सरकारको नारा र नीति अनुसार रोल्पाका १० स्थानीय तहमा धमाधम अस्पताल भवन निर्माण कार्य चलिरहेको छ । हरेक तहमा कम्तीमा एउटा अस्पताल सञ्चालन गर्ने नीति अनुसार यहाँका अधिकांशमा तहले अस्पताल भवन बनाउन थालेका हुन् । 

स्थानीय तहले भवन बनाउन तीव्र गतिमा काम गरिरहेका छन् । योजनाअनुसार कतै भवन निर्माण सकिएको छ भने कतै निर्माण कार्य सुरुवाती चरणमा छ । केहीमा भने भवन निर्माण कार्य आधाआधी जति भएको छ । सदरमुकाममा रहेको रोल्पा नगरपालिकाले यसअघि नै जिल्ला अस्पताल सञ्चालनमा भएकाले बेग्लै अस्पताल भवन बनाउने योजना बनाएको छैन । उसले जिल्ला अस्पताललाई नै साथ दिँदै आएको छ । यसबाहेक यसअघि नै प्राथमिक स्वास्थ्य केन्द्र रहेको होलेरीस्थित रुन्टीगढी गाउँपालिकाले पनि उक्त केन्द्रलाई सञ्चालन गर्दै आएको छ । त्यहाँ पनि छुट्टै अस्पताल भवन बनाउने योजना छैन । तर प्राथमिक केन्द्र रहेको पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाले भने १५ बेडको अस्पताल सञ्चालन गर्न भवन बनाउने कार्य अघि सारेको छ ।  

Municipal Hospital in Rolpa: Some buildings have been completed, some have just begun

स्थानीय तहको पुनःसंरचनापछि अत्यावश्यक अन्य सेवाझैं अस्पताल निर्माण गरेर सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुने भन्ने लक्ष्य र उद्देश्यअनुसार हरेक तहमा १५ शय्याको अस्पतालको अवधारणा अघि सारिएको हो । संघ सरकारले स्थानीय तहलाई अस्प्पताल भवन बनाउन केही बजेट प्रदान गर्ने भएपछि सबै तहले यो योजना अघि सारेका हुन् । त्यस क्रममा रोल्पामा केही तहले भने यसअघि नै भवन निर्माण गरेर अस्पतालसमेत सञ्चालन गरिसकेका छन् । सरकारले हरेक स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने नीति बनाउन र कार्यान्वयन गर्न निर्देशन दिएपछि रोल्पामा अस्पताल भवन निर्माण थालिएको हो । 

समस्या बजेटको

१५ शय्याको अस्पताल भवन बनाउन ढिला हुनुमा सबैभन्दा ठूलो कारण बजेट अभाव नै हो । स्थानीय तहको पुनःसंरचनापछि विकास भित्र्याउन प्राथमिकता चयन गर्ने क्रममा सडक निर्माणलाई पहिलो मानिएको थियो । त्यसैले अधिकांश तहले सडक निर्माण गर्ने कार्यलाई नै प्राथमिकता दिए । भवन बनाउन त्रिवेणीले १८ करोड, माडीले १८ करोड, परिवर्तनले १५ करोड बजेट छुट्याए । सबै काम टेन्डरमार्फत गरिएको छ । अन्य पालिकाले पनि करिब यही आकारले बजेट विनियोजन गरेका छन् । यसरी अस्पताल भवन बनाउनमै रोल्पाका स्थानीय तहले करिब डेढ अर्ब बजेट खर्चनुपर्ने अवस्था छ । अर्कातिर भवन तयार भएपछि अस्पताल सञ्चालन गर्न स्तरीय ल्याब सुविधासहित चिकित्सकहरुलाई नियुक्त गर्नुपर्ने हुन्छ । 

सरकारले स्थानीय तहमाथि नै उक्त जिम्मेवारी थप गरेकाले लामो समयसम्म चिकित्सकलाई नियुक्त गर्न नसक्ने गुनासो हुने गरेको छ । थबाङ, माडी, त्रिवेणी र रुन्टीगढीले चिकित्सक नियुक्त गरेर सेवा प्रवाह गरे पनि केही तहले बीचमै सेवा अवरुद्ध गर्न बाध्य भएको जनाएका छन् । 

‘गाउँमै अस्पताल हुनु राम्रो हो, तर सेवा दिन सकिने अवस्थाप्रति आशंका हुनु हुँदैन । अर्कोतिर सेवा स्तरीय र जनताले थेग्न सक्ने हुनुपर्छ । अहिलेको अवस्थामा स्थानीय तहले सरकारले योजना ल्याए अनुसारका अस्पताल सञ्चालन गर्न सक्नेछन् भन्न सकिने ठोस आधार छैन,’ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका नवौं तहका अधिकृत विशाल सुवेदीले भने । 

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully