बागलुङमा तीनवटा राष्ट्रिय गौरवका र चारवटा रणनीतिक सडक योजना छन् । आधा दर्जन ठूला भवन तथा त्यति नै पक्की पुल वर्षौंदेखि निर्माणाधीन छन् । दशकअघि सुरु गरिएका ती योजना अझै पूरा भएका छैनन् ।
काठमाडौँ — बागलुङ जिल्लाभित्र तीनवटा राष्ट्रिय गौरवका आयोजना छन् । चारवटा रणनीतिक सडक र आधा दर्जन ठूला भवन तथा त्यति नै पक्की पुल वर्षौंदेखि निर्माणाधीन छन् । ती सबै आयोजना दशकदेखि अधुरै छन् ।
सञ्चालनमा आउन नसकेका ती योजना बेलाबेला चुनावी नारा मात्रै बन्ने गरेका छन् । २०७१ सालमा ठेक्का लगाइएको मध्यपहाडी लोकमार्गको सदरमुकाम बाग्लुङ बजारदेखि घोडाबाँधे तर्फको २५ किमि सडक अहिलेसम्म पूरा भएको छैन । पटकपटकको म्याद थपेर पनि ठेकदारले काम अलपत्र पारेपछि सूर्य कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ भने सिद्धिसाइ भारत संयुक्त निर्माण कम्पनीले पनि काम अलपत्र पारेको छ । पेटी ठेकेदारमार्फत थालिएको काम पनि पूरा भएको छैन ।
सडक जोखिमपूर्ण भएपछि जिल्लाभित्र र पश्चिम नेपालका रुकुम, जाजरकोट, दैलेख, रोल्पा र डोल्पादेखि चल्ने बस तथा अन्य सवारीका यात्रीले सास्ती खेपेका छन् । यो खण्डमा हिउँदमा धुलाम्मे, बर्सातमा हिलाम्मे हुने गरेको छ । पहिरोले सडक अवरुद्ध भइरहन्छ ।
निर्माण भइसकेको सडकखण्ड पनि जीर्ण छ । गलकोट नगरपालिका–१ चौराहा र झाँक्रीस्थान, वडा ९ को मल्ममा पनि सडक अलपत्र छ । वडा ११ मा दरमखोला जलविद्युत् कम्पनीले सडक अतिक्रमण गरेपछि जोखिमयुक्त भएको छ । बनिनसक्दै ठाउँठाउँमा व्यक्तिगत घर बनाएर पनि मापदण्ड मिचिएको छ । निर्माण सुरु भएको १२ वर्षसम्म पनि राजपत्र प्रकाशित नभएपछि सडक अतिक्रमण भइरहेको हो ।
कालीगण्डकी करिडोरको बलेवा मालढुंगा खण्ड पनि अलपत्र छ । बिहीबार पनि पहिरोबाट ढुंगा खसेर एक सवारीमा क्षति पुगेको छ । एक्लेसालमा ५ वर्षदेखि खसेको पहिरो व्यवस्थापन नभएपछि पटकपटक सवारी अवरुद्ध भइरहन्छ । पहिरोको विकल्पसमेत खोजिएको छैन ।
बलेवादेखि गुल्मीको रिडीसम्मको ६० किलोमिटर कालोपत्र भइसक्दा बिडारी कन्स्ट्रक्सनको जिम्माको १० किलोमिटर खण्ड अलपत्र परेको हो । यो खण्डको सडक नबन्दा दक्षिण बागलुङवासीसहित गुल्मी, पाल्पादेखि मुक्तिनाथका लागि छोटो बाटो भन्दै हिँडेका यात्री अलपत्र छन् । अहिले पनि यो खण्ड पानी पर्दा हिलाम्मे भएको छ । स्थानीय तहले पटकपटक पहल गरेर पनि ठेकदार कम्पनीले काम पूरा नगरेको हो ।
बागलुङको चौथो जिल्ला सभाले ती दुवै योजनासहितका दर्जनभन्दा बढी अलपत्र काम छिटो सक्न राज्यको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ‘हामी बाध्य भयौं, वर्षौदेखि जोखिमयुक्त सडकमा हिँड्नुपर्ने बाध्यता हटाउने निर्णयमा पुग्यौं,’ समन्वय समिति प्रमुख अमरबहादुर थापाले भने, ‘काम लिएर अलपत्र पार्ने ठेकदारलाई कडा कारबाहीको लागि सिफारिस पनि गरेका छौं ।’ अनुगमन समितिको हैसियतले राज्यको ध्यानाकर्षण गराएको उनले बताए ।
सालझन्डी ढोरपाटन सडकको बागलुङ खण्डमा पनि काम भएको छैन । निर्माण सुरु भएको १६ वर्ष पुग्दा यो सडकको बागलुङ खण्डमा यात्रुले कष्ट भोग्न बाध्य छन् । अझै पनि बागलुङभित्रको ६१ किलोमिटरमध्ये अधिकांश ट्रयाक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रुपमा खुलेको खण्डमा त कुनै परिवर्तन नै भएको छैन । ‘हामीले काम गरौं बेरुजु आउँछ, नगरौं जनताले सास्ती खेपेका छन्,’ बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले भने, ‘काम नगर्नेलाई कारबाही गर्न मन्त्रालयमा पहल गरेका छौं ।’ तत्काल सडक निर्माणको काम थालेर पूरा गर्न पनि पहल गरेको बताए ।
जिल्लाभित्रको ६१ किमि सडकमध्ये बुर्तिबाङदेखि ढोरपाटन पुग्ने सडकभित्रको पनि २२ किलोमिटर खण्डको ठेक्का अलपत्र छ । बुर्तिबाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३५ प्रतिशत मात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगति नभएको सालझण्डी ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए ।
२०७८ कात्तिकमा ठेक्का लिएर २०८१ वैशाख ४ गते पूरा गर्ने लक्ष्यको ३० प्रतिशत मात्रै काम भएको हो । त्यो पनि संरक्षण नभएर सबै ठाउँ भत्केको छ । चिप्लो र खाल्डैखाल्डा भएकोले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । २५ करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म वित्तीय प्रगति पनि ३० प्रतिशत माथि जान नसकेको हो ।
बुधबार सम्पन्न भएको जिल्ला सभाले लोकमार्गको उपल्लाचौरदेखि बिहुँ खण्ड, सालझन्डी ढोरपाटन र करिडोरलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यसबाहेक गलकोट र जैमिनी नगरपालिकाको प्रशासकीय भवन पनि म्याद सकिँदा ५० प्रतिशत प्रगति गरेर अलपत्र छ ।
कुश्मीसेरा–बरेङ–शान्तिपुर रणनीतिक सडक अलपत्र परेपछि स्थानीयले पटकपटक आन्दोलन गरेका छन् । गलकोटको हरिचौरदेखि मल्म, पाण्डवखानी हुँदै गुल्मी जोड्ने सडक, बुर्तिबाङदेखि बोङगादोभान, सोले हुँदै म्याग्दी जोड्ने सडक, गलकोटदेखि ताराखोला हुँदै म्याग्दी जोड्ने सडक पनि अलपत्र छन् । ती चारवटै रणनीतिक सडक हुन् ।
दरमखोला र भुजीखोलाका पक्की पुल दशकदेखि अलपत्र छन् । ती सबै योजनाबारे सभाले गम्भीर ध्यानाकर्षण गराएको हो । दशकअघिका योजना अलपत्र पारेपछि ठेक्का रद्द भएपछि नयाँ सुरु नभएको हो । ठेक्का रद्द भएको र नयाँ कामका लागि रकमको सुनिश्चतता नभएको, कानुनी अड्चन आएको र बाँकी कामको लागि प्राविधिक रुपमा के गर्ने भन्ने निर्णय नभएर काम अगाडि बढ्न नसकेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले बताए ।
गौरवका आयोजना अलपत्र पर्नु दुर्भाग्य भएकाले काम थाल्न सरकारको ध्यानाकर्षण गराउने बागलुङ क्षेत्र नं १ का सांसद तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले बताए । ‘काम अलपत्र पारेर ठेकेदारहरुले राज्यलाई प्रभावमा पारेका छन्,’ केसी भन्छन्, ‘काम ठग्नेलाई कडा कारबाही नगरेसम्म ठूला योजना सधैं अलपत्र पर्छन् ।’ कारबाही गर्न निर्मम बन्नुपर्ने र काम गरेकालाई पुरस्कृत गर्नुपर्ने उनले सुझाए ।
