'स्पर' निर्माणमा बजेट अभाव, दर्जनौं बस्ती जोखिममा

बागमती-लालबकैया नदी नियन्त्रण आयोजनाले दुवै नदीमा ड्याम मर्मत र स्पर निर्माणका लागि ठेक्का सम्झौता गरे पनि बजेट न्यून भएको भन्दै निर्माण कम्पनीले काम सुरु गर्न मानेको छैन 

जेष्ठ २२, २०८२

शिव पुरी

Lack of budget in the construction of 'spur', dozens of settlements at risk

रौतहट — लालबकैया र बागमती नदीको बाढीबाट ड्याम र बस्ती जोगाउन ‘स्पर’ निर्माणको ठेक्का लगाएपछि आवश्यक बजेट उपलब्ध नहुँदा काम प्रभावित भएको छ । बागमती–लालबकैया नदी नियन्त्रण आयोजनाले दुवै नदीमा ड्याम मर्मत तथा स्पर निर्माणका लागि २०८१ चैत र यही जेठमा ठेक्का सम्झौता गरे पनि बजेट न्यून भएको भन्दै निर्माण कम्पनीले काम सुरु गर्न मानेको छैन । 

बर्खा अगावै ड्यामको मर्मत र स्परको काम नभए यसपटक पनि स्थानीयले डुबानको सास्ती झेल्नुपर्ने जोखिम छ । बागमती–लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख अखलाक अहमद सिद्दिकीले दुवै नदीको ड्यामको सुरक्षा, बाढी बस्ती पस्न नदिन स्पर निर्माण गर्न लगाएको ठेक्का बजेट अभावले प्रभावित भएको बताए । ‘दुवै नदी नियन्त्रण गर्न स्परका लागि १९ करोडमा ठेक्का लागिसकेको छ । तर अहिले सरकारले ४० लाख मात्र उपलब्ध गराउने भयो,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी निर्माणको काम अघि बढाउने । बजेटकै कारण देखाएर ठेकेदारले पनि काम गर्न चासो देखाएको छैन ।’ 

नदी नियन्त्रण आयोजनामार्फत अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि पहिलोपटक १५ करोडमा ९ वटा स्परको ठेक्का लागेको थियो । जोखिम न्यूनीकरण तथा विपद् प्राधिकरणमार्फत थप ४ करोडका ३ वटा ठेक्का लगाएको आयोजनाले जनाएको छ । १९ करोडको ठेक्कामा ४० लाख मात्र बजेट उपलब्ध भएपछि ठेकेदारले काम सुरु गरेको छैन । आयोजना प्रमुख सिद्दिकीका अनुसार अहिलेसम्म २ वटा मात्र ठेक्काको काम सुरु भएको छ । बाँकी १० वटाको काम भएको छैन । नयाँ बनाइएको बाँध र पुरानाको सुरक्षाका लागि आयोजनाले ठेक्कामार्फत एक वर्षभित्र सक्ने गरी स्पर बनाउन ठेक्का लगाएको हो । स्पर बनाउन नसकिए बाँध भत्किएर बाढी सिधै गाउँ पस्ने जोखिम बढ्ने आयोजना प्रमुख सिद्दिकीले सुनाए । 

लालबकैया र बागमती नदीको पूर्व र पश्चिम क्षेत्रमा बाढीको बेला पानी नियन्त्रण गर्न भारत सरकारले निर्माण गरिदिएको बाँध ठाउँ/ठाउँमा भत्किएको छ । यही बाँधबाट पानी गाउँ पसेर डुबानमा हुन्छ । भत्किएको स्थान मर्मत र स्पर निर्माण गर्न बजेटको अभाव भएको हो । आयोजनाले लालबकैयातर्फ ७ र बागमतीमा ५ वटा ठेक्कामार्फत स्पर निर्माण गर्न लागेको हो । ९ वटा ठेक्काको गत २०८१ चैत २० र ४ वटाको जेठ २ गते सम्झौता भइसकेको छ । तर ठेकेदार कम्पनीले बजेट विनियोजन नभएसम्म काम नगर्ने अडानमा बसेको छ । सबै ठेक्का एक वर्षभित्रमा सक्नु पर्ने सम्झौतामा उल्लेख छ । बजेट अभावले ठेक्का प्रभावित भएको आयोजनाले जनायो । 

गत साता प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको टोलीले लालबकैया र बागमती नदीको बाँध र स्पर निर्माण गर्नुपर्ने स्थलको अनुमगन गरेको थियो । त्यसपछि नदी नियन्त्रण कार्यालयलाई काम सुरु गर्न अनुरोध गरेको हो ।

Lack of budget in the construction of 'spur', dozens of settlements at risk

भारत सरकारले सन् १९८९ मा झन्डै ३७ किलोमिटर लामो बाँध निर्माण गरेको थियो । त्यही बाँधले बस्ती जोगाए पनि पछिल्लो समय मर्मतको अभावले भत्किएर पानी गाउँ पस्ने गरेको छ । गएको वर्ष पनि बजेटको अभाव भन्दै भत्किएको बाँधको ढिलो गरी मर्मत थालिएको थियो । राजदेवी नगरपालिकास्थित बागमती नदीमा नयाँ स्पर र पुरानो मर्मतको ठेक्का पाएको श्रीजी बिल्डर्सका सञ्चालक आनन्दसागर सिंहले स्पर निर्माणको लागि पेस्की रकम नदिएपछि काम सुरु गर्न नसकेको बताए । ‘हामीले काम सुरु गर्न केही रकम अग्रिम मागेका हौं । यसैको लागि प्रशासनमा समेत छलफल गरेका थियौं,’ उनले भने, ‘मौखिक रुपमा नदी नियन्त्रण आयोजनाले हुन्छ भने पनि दिन नसकेर काम अघि बढेको छैन ।’ उनले नयाँ स्पर र पुरानोको मर्मतका लागि ८३ लाखका ठेक्का सकारेका थिए । यस्तै ११ वटा ठेक्का लागेका र बजेट अभावले प्रभावित हुने सिंहले सुनाए । 

दुवै नदी दायाँबायाँ क्षेत्रको बाँध समयमा मर्मत नहुने भन्दै स्थानीय आक्रोशित छन् । बाँधको आडैमा बसेकाहरु झन् त्रसित छन् । बागमती बाँधको आडैमा झन्डै ४ सय घरधुरी छन् । बाँध भत्कियो भने सबै बगाउने खतरा बढेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । ‘बाँध मर्मत र नयाँ स्परको ठेक्का लगाएर बजेट सुनिश्चित नगरेकोले समस्या भएको छ,’ उनले भने, ‘यस बर्ष बाँध मर्मत भएन भने डुबानले ठूलो क्षति पुर्‍याउँछ ।’ 

बाँध निर्माणको तीन दशक बढी भइसकेकाले कमजोर हुँदै गएपछि पानीको धक्काले ठाउँ/ठाउँमा भत्किन थालेको छ । गएको जेठमा नदी नियन्त्रण आयोजनाले ५० स्थानमा मर्मत गरेको थियो । गत वर्ष बाँध भत्किएर पानी पसेर जिल्लाको गंगापिप्रा, राजदेवी, ईशनाथ नगरपालिकालगायत धेरैजसो डुबानमा परेको थियो । लालबकैयाले ईशनाथलगायत उत्तरका गाउँ र बागमतीले गौर, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिकालगायतमा बढी क्षति पुर्‍याउँदै आएको छ । 

Lack of budget in the construction of 'spur', dozens of settlements at risk

मधेशलाई बाढीबाट जोगाउन दीर्घकालीन उपाय निकाल्नुपर्ने सरकारलाई दबाब दिए पनि उपलब्धि हुन नसकेको प्रदेश सांसद युवराज भट्टराईले बताए । लालबकैयाको पश्चिमी भेगको बैरिया, फतुहा, पोखरिया, तेजापाकड, खोरिया, बुटुवा लक्ष्मीनिया, इनर्वा, मर्यादपुर, गम्हरिया, बुनियाद, लक्ष्मीनिया क्षेत्रका बासिन्दा वर्षा लाग्न थालेपछि त्रासमा छन् । बागमतीको पूर्व सर्लाहीतर्फ धुर्वामा, महिनाथपुरमा, हरकठवा, मानपुरमा, मानपुर ढाव, हजरिया मलाह, राजघाट खर्साल क्षेत्रका स्थानीय पनि बाढीले क्षति पुर्‍याउँदै आएको छ । लालबकैया र बागमतीमा बाँध भत्कियो भने सदरमुकाम गौरसहित नदी आसपासका ब्रह्मपुरी, बेलबिछुवा, मुडवलवा, लक्ष्मीपुर, बसन्तपुर, भषेढवा, पिप्रा लगायतका दर्जन बस्तीमा बाढी पस्ने जोखिम बढ्छ । पश्चिमको बडहर्वा, चण्डिया क्षेत्रको बाँधको अवस्था उस्तै छ ।

Lack of budget in the construction of 'spur', dozens of settlements at risk

बाँध मर्मत नहुँदा यस क्षेत्रको लक्ष्मीपुर, बलुवा, धर्मपुर, गम्हरिया, संग्रामपुर, गढो, सिगारमन, गंगापिपरा, माधोपुर लगायतका गाउँ बाढीको उच्च जोखिममा छन् । गत वर्ष लालबकैयाको बाढीले ईनरबारीस्थित बाँध भत्काउँदा ठूलो दुर्घटनाबाट जोगिएको थियो । त्यसबेला प्रशासनले सेना, प्रहरी र स्थानीयको सहयोगमा भत्किएको स्थानमा बोरा राखेर अस्थायी रुपमा डुबान रोकेको थियो । दुवै नदीको सम्भावित खतरा अनुमान गर्न नसक्दा स्थानीयले बर्सेनि  ठूलो क्षति बेहोर्नुपरेको छ । समयमा बाँध मर्मत गर्न सकिएन भने ठूलै दुर्घटना निम्त्याउन सक्ने देखिएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully