चरन रोकिँदा मिचाहा झार फैलियो, जडीबुटी उत्पादन घट्यो

म्याग्दीमा यार्सागुम्बा, सतुवा, निरमसी, विषजरालगायत बहुमूल्य जडीबुटीको उत्पादन बर्सेनि घट्दै

जेष्ठ १९, २०८२

घनश्याम खड्का

When grazing stopped, weed spread, herb production decreased

काठमाडौँ — वनको जैविक सन्तुलन गुमेर मिचाहा झार (इन्भेन्सिभ प्लान्ट) फैलिँदा जडीबुटी र उपयोगी वनस्पतिको तीव्र ह्रास भइरहेको पाइएको छ । चैपाया चरिचरनले मिचाहा स्वभावका झार फैलिन रोकिएको थियो ।

जंगलमा गाईबस्तु लैजाने क्रम रोकिएपछि अनावश्यक झार फैलिएर वनबाट जडीबुटी मात्र होइन, चौपायाले खाने घाँससमेत हराउन थालेको स्थानीयले गुनासो गरेका छन् । 

डिभिजन वन कार्यालय म्याग्दीको पाँच वर्षयताको अभिलेखअनुसार जिल्लाबाट संकलन र निकासी हुने यार्सागुम्बा, सतुवा, निरमसी, विषजरालगायत बहुमूल्य जडीबुटीको उत्पादन पनि घट्दै गएको छ ।

राम्चे सामुदायिक वन उपभोक्ता समितिका सदस्य भक्त पुर्जाका अनुसार सामुदायिक वनमा खुल्ला चरन र घुम्ती गोठ रोकिनु र युवा विदेश लागेपछि परम्परागत पशुपालन पेसातर्फ आकर्षण घट्दा अनावश्यक वनमारा जस्ता नयाँ झारपात फैलिएका छन् । ‘लेकका खर्कमा भैंसी, गाईगोठ लैजाने क्रम बन्द भयो । ठूला चरनखर्क फाँटमा गाईभैंसी र भेडाबाख्रोको मल हुने क्षेत्रमा प्रशस्त उम्रने अल्लो त अहिले मुस्किलले पाइन्छ,’ पुर्जाले भने । 

नेपालको वन तथा वातावरण संरक्षणमा ख्याति कमाएको सामुदायिक वन विकास मोडेलका केही नकारात्मक पाटामध्ये यो पनि पर्ने सरोकारवालाले बताउन थालेका छन् । सामुदायिक वन विकासले वन संरक्षण भए पनि खुल्ला चरन र घुम्ती गोठ घट्दा अर्थतन्त्र र जैविक विविधतामा असर परिरहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा जडीबुटी अध्यता चन्द्रमणि सापकोटा बताउँछन् । 

‘नेपालको वन व्यवस्थापनमा एक समय सफल मानिएको सामुदायिक वन अवधारणा अब समय सान्दर्भिक मोडेल रहेन । यसले वनको विकास त गर्‍यो तर वनमा आधारित मान्छेको अर्थतन्त्र र जैविक विविधतामा गम्भीर असर देखिन थालेका छन्,’ वन अधिकृत सापकोटाले भने, ‘खुल्ला चरन छँदा कतिपय झार बस्तुभाउले खान्थे । कति कुल्चन्थे । अल्लो प्रजाति त चरनखर्क र खेतीयोग्य जमिनमा मात्रै उम्रन्थ्यो । अहिले घुम्ती गोठ बन्द भए, लेकका आलु, कोदो रोप्ने खर्क–फाँट बाँझो छन् । चाहिने प्रजातिका बिरुवाभन्दा अनावश्यक बिरुवा बढी फैलिए ।’ बहुउपयोगी धेरै रैथाने जडीबुटीलगायत वनस्पति नासिँदै गएको र धेरै जडीबुटीको उत्पादन केही वर्षमै हृवात्तै घटेको पाइएको उनले सुनाए । 

राजस्वमा पनि गिरावट

म्याग्दीबाट २ सय ८ प्रकारका जडीबुटी संकलन गर्न सकिने भए पनि केही वर्षदेखि जडीबुटी संकलनको परिणाम लगातार घटिरहेको देखिन्छ । डिभिजन वन कार्यालयको पछिल्ला ५ आर्थिक वर्षको अभिलेख अनुसार ०७७/७८ मा ५ हजार ५ सय केजी संकलन भएको अल्लो गत वर्ष २ सय केजीमा र चालु आर्थिक वर्षमा एक केजी पनि संकलन भएको छैन । 

त्यस्तै ०७७/७८ मा ८ सय ५० केजी नागबेली संकलन अनुमति दिएकामा चालु आर्थिक वर्षमा जम्मा २ सय केजीमा झरेको छ । ५ वर्षअघि ३ हजार ५ सय केजी संकलन भएको सेतकचिनी चालु आर्थिक वर्षमा ४ सय केजीमा झरेको छ । 

When grazing stopped, weed spread, herb production decreased

१२ वर्ष अघिसम्म वार्षिक १० केजीभन्दा बढी संकलन भएको यार्सागुम्बा ०७७/७८ मा घटेर ३ दशमलव ५ केजी संकलन भएको थियो । गत वर्ष यार्सा जम्मा आधा केजीमा झरेको छ । त्यस्तै, ५ वर्षअघिसम्म वार्षिक २५ केजीसम्म संकलन हुने गरेको सतुवाको गाना चालु आर्थिक वर्षमा आउँदा शून्य परिणाममा झरेको छ । सुगन्धवाल १ हजार १ सय केजीबाट घटेर यो वर्ष ४५ केजी मात्र संकलन भएको छ । यसले राजस्व संकलनमा पनि भारी गिरावट आएको छ । 

डिभिजन वन कार्यालय म्याग्दीले जडीबुटी संकलन इजाजत पत्र जारी गर्दा ०७७/७८ मा ३ लाख ७७ हजार ४ सय १० रुपैयाँ राजस्व संकलन गरेकामा गत वर्ष १ लाख ९१ हजार ८ सय रुपैयाँमा सीमित भएको छ । 

‘जिल्लामा जडीबुटीको संकलन बर्सेनि घट्दो छ । वनमा जडीबुटी उत्पादन र संकलन दुवै घटेकाले राजस्व मात्र घटेको छैन, स्थानीयको रोजगारी र आम्दानीको स्रोत पनि गुमेको छ,’ म्याग्दीका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, ‘जडीबुटीको अथाह सम्भावना भएको भनिएको जिल्लाको वनबाट संकलन घटेर राजस्व र आम्दानी कम हुनुभन्दा बढी जैविक विविधता नाश होला भन्ने चिन्ता बढी हो ।’ 

पेसा परिवर्तन गर्दै संकलक

अध्ययनअनुसार जलवायु परिवर्तन, हिमपात र वर्षाको ढाँचामा परिवर्तन, अवैज्ञानिक संकलन विधि र फेरिएको चरनशैलीका कारण जडीबुटी उत्पादन अघिल्लो दशकको तुलनामा २०–४० प्रतिशतसम्म कमी आएको छ । 

नेपालबाट निर्यात हुने जडीबुटीको अर्न्तराष्ट्रिय माग स्थिर भए पनि वैदेशिक रोजगारी र सहरतिर बसाइँसराइका कारण संकलकको संख्या कम भएकाले जडीबुटीको आम्दानी घट्नु अर्को प्रमुख कारण हो । जडीबुटीको प्रशोधन गर्ने सीप अभावमा उचित मूल्य नपाउने र सबै महिना आम्दानी सुनिश्चित नहुँदा संकलकहरु पेसा परिवर्तन गर्न थालेको जडीबुटी ओसारपसारमा संलग्न व्यापारी बताउँछन् ।

When grazing stopped, weed spread, herb production decreased

नेपाल वन अनुसन्धान तथा तालिम केन्द्र (एफआरटीसी) ले प्रकाशित गरेको ‘नेपालको वन स्रोत मूल्यांकन ०७९’ मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वनमा पछिल्लो ५ वर्षमा चिराइतो, जटामसी, पाखनवेद लगायका जडीबुटीको उत्पादन ३०–३५ प्रतिशतले घटेको उल्लेख छ । 

कार्यालयले जारी गर्ने जडीबुटी संकलन पुर्जीको रेकर्डअनुसार जिल्लाको वनबाट बर्सेनि संकलन घट्दै गएको देखिन्छ । 'जडीबुटी उत्पादन वा संकलन घट्नुमा जलवायु परिवर्तन, विगतमा अव्यवस्थित संकलन, वनमा मिचाहा स्वभावका झार फैलिनु मुख्य कारण हुन् । पूरै नासिएको अवस्था होइन, संरक्षण र व्यवस्थापन गरी फेरि उत्पादन बढाउन सक्छौं,’ डिभिजन वन कार्यालयका सूचना अधिकृत विनयबहादुर अधिकारीले भने । 

खुल्ला चरिचरन अनावश्यक बिरुवा उम्रन रोक्ने र चाहिने जडीबुटी  र बिरुवा उम्रन सहयोग गर्ने एक जैविक व्यवस्थापन प्रक्रिया भएको वनकर्मी बताउँछन् । तर तीव्र फैलने प्रजातिका यस्ता अनावश्यक झार नियन्त्रण राख्ने खुल्ला चरन पद्धति बन्द हुनु वा वनजंगलमा चर्ने घरपालुवा पशुचौपायाको संख्यामा उल्लेख्य कमी आएपछि मिचाहा जातका झार फैलिने अवसर पाएको ‘पश्चिम हिमाली जडीबुटी विविधता तथा पारिस्थितिक प्रणालीको सहजशीलता प्रतिवेदन २०२२’ मा पनि उल्लेख छ । 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully