बडिगाडमा चार वर्ष लगाएर अस्पताल भवन बन्यो । सडक, विद्युत, खानेपानी सुविधा पनि छ । तर सञ्चालनका लागि बजेट नहुँदा १८ करोड लागतमा बनाइएको भवन एक वर्षदेखि सुनसान छ ।
काठमाडौँ — बडिगाड गाउँपालिकाले वडा–५ स्थित ग्वालीचौर फाँटमा चार वर्ष लगाएर अस्पताल भवन निर्माण गर्यो । उक्त भवनसम्म पुग्न सडक छ । विद्युत, खानेपानी समेत जडान भइसकेको छ । अहिले विद्युतको महसुल उठ्न पनि थालिसक्यो । झन्डै १५ रोपनी जमिनमा १८ करोड लागतमा बनाइएको भवन एक वर्षदेखि सुनसान छ ।
'एक पालिका एक अस्पताल' योजनाअन्तर्गत बडिगाडले १५ शय्याको अस्पताल सञ्चालनका लागि भवन बनाएको हो । गत वर्ष नै भवन बनिसके पनि यहाँ अस्पताल चलाउनु निकै चुनौतीपूर्ण बनेको छ । जनशक्ति, उपकरण र दैनिक सञ्चालन खर्च अभाव छ ।
अस्पताल सञ्चालनका लागि गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन र प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल धेरैपटक संघीय र प्रदेशको स्वास्थ्य मन्त्रालय धाए । गण्डकी प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीलाई पटकपटक भेटे पनि ठोस जवाफ नआएको उनीहरु गुनासो गर्छन् ।
२०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ९६ वटा पालिकामा एकैपल्ट ५, १० र १५ शय्याको अस्पताल निर्माण गर्न भन्दै शिलान्यास गरेका थिए । शिलान्यासको पाँच वर्ष पुग्न लाग्दा पनि देशभरका अस्पतालको अवस्था यस्तै छ । सरकारले देशभर पालिकास्तरीय अस्पताल निर्माण र सञ्चालनका लागि ‘ओएनएम’ पनि पठाएको थियो । जसअनुसार एकजना एमडीजीपी डाक्टर, एक मेडिकल अफिसरसहित १२ जनाभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी तय छ । तर यहाँका लागि एकजना पनि सरुवा वा पोस्टिङ भएको छैन ।
अस्पताल बन्ने भएपछि स्थानीयले धानखेत मासेरै भए पनि जग्गा दान गरेका थिए । करोडौं खर्चेर भवन बने पनि अस्पताल सञ्चालनमा नआएपछि स्थानीय निराश छन् । ‘भवनका लागि सबै मिलेर जग्गा दान गरेका हौं, अहिलेसम्म सञ्चालनको पत्तो छैन,’ स्थानीय राजीव घिमिरे भन्छन्, ‘जनताले सेवा नपाए घर मात्रै बनेर के फाइदा ?’
अस्पताल सञ्चालनका लागि कुनै उपकरण र सामग्री पनि आएको छैन । एक्सरे, भिडियो एक्सरे, अपरेसन थिएटर, सुत्केरी कक्ष, ओपीडी, बिरामी बस्ने शय्या, अन्य फर्निचर समेतको व्यवस्थापन गर्दा न्यूनतम ५ करोड खर्च लाग्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउँछन् । ‘ग्रामीण क्षेत्रको पालिका हो, वर्षभरिमा एक करोड पनि राजस्व संकलन हुँदैन, यस्तो अवस्थाले कसरी अस्पताल सञ्चालन गर्ने ?’ पौडेलले भने, ‘संघ र प्रदेशले कम्तीमा पहिलोपटक लगानी गरिदिनुपर्छ ।’ अस्पताल नियमित सञ्चालनका लागि पनि वार्षिक १ करोड खर्च लाग्ने उनले बताए । चालु आर्थिक वर्ष १ करोड ६० लाख आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको बडिगाड गाउँपालिकाले वैशाखसम्म ७५ लाख रुपैयाँ मात्र संकलन गरेको छ ।
अहिलेसम्म बडिगाड–८ को कार्यालयमा सडक सञ्जाल जोडिएको छैन । अन्य वडामा पनि कच्ची सडक मात्रै छ । बर्सातमा ती सडक पुग्न सास्ती भोग्नुपर्छ । आन्तरिक आम्दानी नभएपछि पालिकाले लगानी गर्न नसकेको अध्यक्ष अधिकारी बताउँछिन् । बजेट अभावले अन्य पूर्वाधारको काम समेत रोकिएको उनको भनाइ छ । सबै वडाका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरसहित सेवा सञ्चालन गर्ने लक्ष्यसमेत पूरा नभएको उनले बताइन् ।
१० वडा रहेको यो पालिकामा ७ वटा स्वास्थ्य चौकी छन् । सामुदायिक स्वास्थ्य इकाइमार्फत कतिपय स्थानमा बर्थिङ सेन्टर मात्र स्थापना भएको छ । जटिल समस्याको उपचार गर्नुपरेमा यहाँका बासिन्दा पाल्पा, बुटवल र ७५ देखि ९० किमि यात्रा गरेर सदरमुकाम पुग्छन् ।
पूर्वाधारतर्फ त यो अस्पतालमा कर्मचारी र चिकित्सकका लागि आवाससमेत तयार छ । पोस्टमार्टम कक्ष छुट्टै छ । आकर्षक भवन र पार्किङस्थल छ । तर सेवा प्रवाह गर्न नपाएपछि भवन जीर्ण बन्ने जोखिम छ ।
भवनको चोकचोकमा ४० देखि ५० जना बस्न मिल्ने खुला स्थल छ । बिरामी लाइन लाग्ने धेरै ठाउँ छाडिएको छ । अपांगमैत्री भवनमा हिृवचियर लैजाने ठूलो र्यामसमेत बनेको छ । तर संरक्षण अभावमा माथिल्लो तलाबाट पानी पस्न थालिसकेको छ । झ्यालढोका हावाले हान्ने र छड्के पानी पर्दा भित्रैसम्म छिरेको छ । भवनको सरसफाइ गर्ने कोही छैन ।
गाउँपालिका अध्यक्ष अधिकारी आफै यो भवन बनाएर मात्र जनताको स्वास्थ्य सेवा नहुने बताउँछिन् । तत्काल सञ्चालनका लागि पहल नभए भवन जीर्ण बन्दै जाने उनले चिन्ता व्यक्त गरिन् । ‘एक वर्षदेखि संघ र प्रदेशमा पुगेर अस्पताल सञ्चालनका लागि धेरै प्रयास गरिरहेका छौं,’ उनले भनिन्, ‘अस्पताल चलाउने अवस्था बनेन भने गाउँपालिकाका कर्मचारीको आवास बनाइदिन्छु ।’
पालिकामा मात्रै ६० भन्दा बढी कर्मचारी छन् । उनीहरुले गाउँका पुराना घरमा डेरा लिएर बसेका छन् । नियमित सरसफाइ नगर्ने र मानिस नबस्ने हो भने भवन जीर्ण बन्ने उनले टिप्पणी गरिन् । ‘राज्यले करोडौं लगानी गरेर अस्पतालको अवधारणा ल्याएपछि अनिवार्य चलाउनुपर्छ,’ उनले भनिन्, ‘हामी आन्तरिक लगानी पनि गर्छौं, तर पहिलोपटक सञ्चालन गर्ने वातावरणसमेत संघ र प्रदेशले बनाएका छैनन् ।’
यो भवनमा अस्पताल सञ्चालन भएमा गाउँपालिकाको १० वटै वडाका ५० हजारभन्दा बढी सर्वसाधारणले सेवा पाउनेछन् । त्यसबाहेक गुल्मीको मुसिकोटका बासिन्दाले पनि नियमित सेवा पाउन सक्छन् ।
मध्यपहाडी लोकमार्गको छेवैमा रहेकाले सडक दुर्घटनाका बिरामीको उपचारमा पनि यो अस्पताल उपयोगी हुने उपाध्यक्ष वनले बताए । स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि राज्यको ध्यानाकर्षण नहुँदा स्थानीयले सास्ती खेपेको उनको भनाइ छ । ‘सहज तरिकाले राज्यले ग्रामीण क्षेत्रका गाउँपालिकालाई नहेर्ने रहेछ, मन्त्रीको नजिक भएका, शीर्ष नेताको गृहजिल्लामा मात्र बजेट जाने रहेछ,’ उनले गुनासो गरे, ‘यतिबेला कि प्रधानमन्त्रीको जिल्लामा बजेट खनिएको छ, कि त पूर्वप्रधानमन्त्री, अर्थमन्त्रीहरुको निर्वाचन क्षेत्रमा प्रशस्त विकास भएको छ ।’
केही समयअघि उद्घाटन भएको बुर्तिबाङ अस्पतालमा पनि उपकरण र जनशक्ति अभावमा प्रभावकारी उपचार नभएको स्थानीयले गुनासो गरेका छन् । ढोरपाटन नगरपालिकाको पालिका अस्पताल छैन । तर पालिकाभित्रै भएकाले यो अस्पतालको अधिकतम उपयोग गर्न सक्छ । उपप्रमुख धनबहादुर कायतले त सामाजिक सञ्जालमै लेखेर अस्पतालको भवन उद्घाटन गर्दैमा सेवा सम्भव नहुने भन्दै तत्काल दक्ष जनशक्तिको माग गरेका छन् । उनले उद्घाटन गर्न आउने नेताको बारेमा समेत टिप्पणी गरे । गत फागुनमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले यो अस्पताल उद्घाटन गरेका थिए ।
बागलुङकै निसीखोला गाउँपालिका–३ र ४ को बीचमा निर्माणाधीन १० शय्याको अस्पताल भवन पनि अधुरै छ । स्थानीयबाट जग्गा उपलब्ध भएपछि नगरपालिकाले पाँच वर्षअघि भवनका लागि ठेक्का लगाएको थियो । १० करोड ९९ लाख रुपैयाँको लागतमा निर्माणाधीन भवन दुई वर्षअघि नै सकिनुपर्नेमा अझै पूरा भएको छैन । ‘बाहिरी आवरणमा हेर्दा काम सकिएजस्तो भए पनि धेरै बाँकी छ,’ गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले भने, ‘भवन त राम्रो बनेको छ, तर बजेट अभावले पूरा भएको छैन ।’ भवन निर्माण कम्पनीलाई नै भुक्तानी गर्न बाँकी रहेको उनले बताए । हिमदुङ एसी आईएस संयुक्त निर्माण कम्पनीले यो भवन बनाउने ठेक्का लिएको हो ।
गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघीय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको थियो । तर ठेकदारले अघिल्लो वर्ष गरेको कामकै डेढ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । जसका कारण यो वर्ष थप काम हुन नपाएको प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले बताए । संघीय सरकारमा पहल भए पनि बजेट नआएसम्म काम सम्पन्न हुनेमा ढुक्क नभएको पुनको भनाइ छ ।
अस्पताल भवन पूरा भइहाले यहाँ पनि उपकरण खरिद, नियमित अस्पताल सञ्चालन तथा दरबन्दीका लागि बजेट छैन । निसीखोलाको पनि आन्तरिक आय १ करोडभन्दा कम छ । ‘पहिलो चरणमा अस्पताल सञ्चालन गर्नुपरेमा ३ करोडभन्दा बढी खर्च निस्कन्छ,’ स्वास्थ्य शाखाकी प्रमुख जुनी घर्तीले भनिन्, ‘अस्पताल भनेर चलाएपछि सेवा पनि दिन सक्नुपर्छ, त्यसका लागि दक्ष जनशक्तिको खाँचो छ ।’ निसीखोलामा बर्थिङ सेन्टर समेत सञ्चालनमा छैनन् । सुरक्षित सुत्केरी बन्नुपरेमा कतिपय महिला पाल्पा पुगेर डेरा बस्ने गर्छन् ।
गतवर्ष गाउँपालिकाले २० लाख खर्चेर अस्पतालको छेउमा रहेको खोलामा पक्की पर्खाल निर्माण गरेको छ । भौगोलिक रुपमा पालिकाको मध्यभागमा परेको र मध्यपहाडी लोकमार्गबाट नजिक भएकाले यो अस्पताल सम्पन्न भए पालिकाका २५ हजारभन्दा बढीले सेवा लिने घर्तीले बताए । स्थानीयले ९ रोपनी जमिन दिएपछि अस्पताल निर्माण थालिएको थियो ।
ताराखोला, जैमिनी, काठेखोलालगायतले अस्पताल बनाएका छैनन् । जैमिनी र गलकोट नगरपालिकाले पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नति गरेर नगर अस्पतालका रूपमा सञ्चालन गरेका छन् । ती अस्पतालमा पनि पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको दरबन्दीकै भरमा सेवा सञ्चालन छ । स्थानीय तहले लगानी गरेर गलकोटमा शल्यक्रियासहितको सेवा प्रवाह गराएको छ । जैमिनीले भने शल्यक्रिया सेवा दिन सकेको छैन । ओपीडी, भिडियो एक्सरेलगायतको सेवा भने दिइएको छ ।
काठेखोलाले तत्कालीन बिहुँ स्वास्थ्य चौकीनजिकै अस्पताल निर्माण गरेको छ । तर सडक छेउमा नभएपछि कम उपयोग हुने गरेको छ । २० किमि यात्रामा पुगिने भएपछि अधिकांश स्थानीय सदरमुकाम पुग्छन् ।
बागलुङ नगर अस्पताल पनि चार वर्षदेखि अलपत्र छ । निर्माण कम्पनीले अलपत्र छाडेपछि बलेवास्थित वडा १३ मा निर्माण भइरहेको अस्पताल उपयोगविहीन भएको हो ।
गण्डकी प्रदेशका स्वस्थ्यमन्त्री कृष्ण पाठक बनेका संरचना सदुपयोग गर्ने गरी केही कार्यक्रम जोड्ने बताउँछन् । संघीय सरकारमा ओएन्डएम अनुसारको दरबन्दी र उपकरणका लागि पहल गर्ने उनको भनाइ छ । ‘केही उपकरण सहयोग गरेर सञ्चालन हुने अवस्था भए प्रदेशबाट साथ दिन्छौं,’ उनले भने, ‘संघीय सरकारले निर्माण गरेकाले सञ्चालनको जिम्मा पनि उतैबाट हुनुपर्छ ।’ आन्तरिक आय नभएका पालिकाले अस्पताल चलाउनै नपाउने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए ।
