खुला सीमानाका कारण भारतबाट ल्याइने बीउबीजनको हुँदैन परीक्षण
झापा — मेचीनगर–१ की धर्मदेवी ढकाल करिब एक बिघा जमिनमा लगाइएको मकैमा बोट सुकेर जाने, पात पँहेलो हुने, घोगा नलाग्ने जस्ता समस्या देखेर आजित छिन् । तर, मकैबालीमा कुन रोग लाग्यो ? पहिला जस्तो किन फल्दैन मकै ? उनलाई मेसो छैन ।
८७ वर्षीय ढकालले धानको बीउ भने घरमै उमारेर खेती गरेकी छिन् । घरकै थाङ्ग्राबाट मकैको बीउ झिकेर मनग्गे फलाएको अनुभव छ उनीसँग । उनै ढकाल जसले रैथाने बीउ बीजनका लागि ५० को दशक अघिसम्म बजार कुर्नु परेको थिएन । रैथाने उत्पादनका लागि घरमै बीउ छुट्याइन्थ्यो, त्यही बीउ रोपिन्थ्यो । त्यही बीउबाट फलेको फसल खाइन्थ्यो ।
तर, समय फेरियो । ढकालको उमेरसँगै हरायो रैथाने बीउबीजन घरमा राख्ने चलन पनि । आज उनको बारीमा घरमा राखेको बीउको मकै फल्दैन । धानको बीउका लागि सहर कुर्नुपर्छ । दालको बीउ सहरबाटै गाउँ पुग्छ, काँक्रा, मूला, फर्सी जस्ता रैथाने फसलका लागि पनि सहरकै भर ।
२० को दशकको सुरुवाततिर बसाइँसराइको सिलसिलामा दक्षिणी इलामको रोङबाट झापाको बाहुनडाँगी आइपुगेको थियो उनको परिवार । खेतीकिसानीका साथै गाईवस्तु पालेर आम्दानी गर्ने उद्देश्यका साथ झापा झरेको उनको परिवारले १० बिघा जमिनसम्ममा खेती गर्यो । ‘उहिले उहिले यसरी बजारबाट बीउ किनेर ल्याउने चलन थिएन । घरमै फलेका, राम्रा दाना लागेका धान, मकै, दाल छानेर बीउ राख्न्थ्यिो,’ ढकाल सम्झिन्छिन्, ‘लगभग २०४५/०४६ साल पछि यसरी बीउ राख्ने चलन हराउँदै गयो । अहिले त नामेट नै भयो ।’
ढकाललाई सम्झना छ– धानको बीउ राख्नेखेर थुन्चे बोकेर खेत पुगिन्थ्यो । राम्रा, पँहेला र फलेका धानका बाला छानिन्थ्यो । बाला काटेर घर ल्याइन्थ्यो, झारिन्थ्यो, दुई झर झार्दा झरेका धान मात्रै बीउका लागि छुट्याइन्थ्यो । सुकाइन्थ्यो अनि अरु धान राखेको ढिकुटी भन्दा बीउ धानलाई अलग्गै राखिन्थ्यो । बीउ छर्ने बेला निफनिन्थ्यो अनि मात्रै बीउ छरिन्थ्यो । त्यही बीउ रोपिन्थ्यो, मनग्गे फल्थ्यो धान ।
ढकाललाई सम्झना छ– मकैका बीउ राख्नेखेर भाँचेर ल्याएका मकैमध्येमा राम्रा र ठूला दाना फलेका मकैका घोगा छुट्याइन्थ्यो । मकै राख्दा थाङ्ग्रा अथवा हार लगाएर राख्ने चलन थियो । अरु मकै राखेका हारभन्दा बीउ मकै छुट्टै राखिन्थ्यो । मकै रोप्ने बेलामा बीउ मकै निकालिन्थ्यो । हलोले जोतेको सियोमा मकै खसालिन्थ्यो र फलाइन्थ्यो । अहिले जस्तो रोग थिएन, न विषादीको प्रयोग नै । काग र सुगाले खाएर भने हैरान लगाउँथ्यो ।
ढकाललाई यो पनि सम्झना छ– खेतमा धान रोपिन्थ्यो । आलीमा भट्मास र दाल । दाल पाकेपछि अर्को वर्षका लागि बीउका छुट्याइन्थ्यो । खानेतेल र बेसार दलिन्थ्यो । यसरी खानेतेल र बेसार दल्दा किरा लाग्दैनथ्यो, बिग्रदैनथ्यो । रोप्नेखेर खानेतेल र बेसार दलेको बीउ रोपिन्थ्यो । मनग्गे फल्थ्यो दाल ।
काँक्रा, फर्सी, मुला, करेला, सिमी, रायो, तोरी जस्ता रैथाने फसलको बीउ पनि घरमै हुन्थ्यो । नभए छिमेकमा साटेर फलाइन्थ्यो । ‘आफ्नोमा नभए तल्लो घर माथ्लो घरमा हुन्थ्यो । आफ्नोमा भएको बीउ दिइन्थ्यो, छिमेकीकोमा भएको बीउ ल्याइन्थ्यो,’ ढल्कँदो उमेरमा बैंशका दिनहरु सम्झँदै उनी सुनाउँछिन्, ‘पछिपछि साझा (बीउबीजन बिक्री गर्ने केन्द्र) हरू आए । मान्छेहरूले त्यहीँबाट बीउ ल्याउन थालेँ ।’
मेचीनगर-१ मा लगाइएको हाइब्रिड जातको काँक्रा खेती । तस्बिर : नवराज सुवेदी/कान्तिपुर
ढकालले ४६ सालतिर पहिलोपटक देखेकी हुन् युरिया मल । ‘चिनीजस्तो हुन्छ भन्थे कसैले, कसैले नुन जस्तो छ भन्थे । कतिले त कस्तो हुँदो रहेछ भनेर खाए पनि ! २०५०/५१ सालसम्म खेतबारीमा यो युरिया मात्रै हालेको थाहा छ । त्यसपछि त के-के हो के-के,’ उनी थप्छिन् । पहिला जस्तो घरमा बीउ राख्ने चलन किन हरायो होला ? हामीले सोध्यौं । उनले बजारबाट ल्याएको बीउ राम्रो हुने, धेरै फल्ने जस्ता हल्ला फिँजिएकाले पनि घरमा बीउ राख्ने चलन हराएको बताउँछिन् ।
‘बजारको बीउ आयो है भनिदिए, एकजनाले ल्याएर राखे, अर्कोले ल्याएर राखे । बजारबाट बीउ ल्याउने लहर चल्यो । मान्छेले घरमा बीउ राख्न अल्छी गर्न थाले । यसरी बीउ राख्ने चलन हरायो,’ उनको अनुभव छ ।
...
मेचीनगर-७ स्थित इँटाभट्टाबाट करिब ६ किलोमिटर उत्तर गएर पूर्व गएपछि पुगिन्छ भिमला सुवेदी (५३) को घर । बारीमा मकै लहलह छन्, काँक्रा र करेलाका लहराले थाङग्रा समात्दैछन्, मकैबारीमा फर्सीको लहरा लत्रिएको छ । तर, यी कुनै पनि फसलको बीउ उनको घरमा उत्पादन भएको होइन । इँटाभट्टा बजारमा रहेको बीउबीजन केन्द्रबाट खरिद गरी बारीमा लगेर रोपिएको हो ।
‘घरमा राखेको बीउ रामरी फल्न छोड्यो । साझाबाट ल्याएको बीउ फल्छ । उहिले उहिले पो गोबर मल मात्रै प्रयोग हुन्थ्यो र घरमा राखेको बीउ राम्रो फल्थ्यो,’ उनी भन्छिन्, ‘अहिले माटोमा युरिया, डीएपी, पोटास के के हाल्न थालियो । माटो बिग्रियो । घरको बीउ फल्दैन ।’ उनका अनुसार कोदो, फापर, जस्ता फसलको बीउ घरमै भए पनि अन्य फसलको बीउका लागि भने सहर नै कुर्नुपर्छ ।
...
मेचीनगर-२ बौद्धमोडका किसान पूर्णबहादुर खड्का व्यावसायिक खेती गर्ने किसान हुन् । उनको अनुभवमा २०५१/५२ सालपछि बीउबीजन बिक्री केन्द्र विस्तार हुन थाले । अनि गाउँ बीउबीजनका लागि सहर कुर्न थाल्यो । ‘बाहिरबाट ल्याइने बीउबीजनमा आकर्षक लेबल, प्याकेजिङ हुन्छ । बाहिर हेर्दा राम्रो देखिन्छ, राम्रो देखेर किसानले ल्याउँछन्,’ उनी भन्छन्, ‘स्थानीय बीउलाई हेला गर्न थालियो, बाहिरबाट आउने हाइब्रिड बीउलाई स्याहार गर्न थालियो । यसले पनि स्थानीय बीउ फल्दैन भन्ने सन्देश गयो । घरमा बीउ राख्ने चलन हरायो ।’ उनका अनुसार अहिले समय नै कस्तो आयो भने मकै, मूला, काँक्रा जस्ता बीउ बजारबाट ल्याएकालाई ड्याङ बनाएर, स्याहार गरेर फलाउन थालियो भने घरमा भएको बीउ यसै बारीमा छर्ने र स्याहार नगर्ने परम्परा हाबी भयो । जसले पनि रैथाने उत्पादनका बीउका लागि गाउँ सहर केन्द्रित हुनुपरेको उनको अनुभव छ ।
जिरासरी, लालबच्छी, ढुकुरबच्छी, चम्पासिरी, ठूलो मुशुली, सानो मुशुली, भोटाङे, हरिनटोल जस्ता धानका जातहरु पूर्वका रैथाने जातका धान भएको उनी सुनाउँछन् । ‘जिरासरी भने एकदमै पुरानो धानको जात हो । यस धानको चामल जिरा जस्तै हुन्थ्यो,’ उनी भन्छन् । यसैगरी मकैमा सेती मकै र पँहेली मकै पूर्वका रथाने जात भएको उनी बताउँछन् ।
नेपाल–भारत खुला सीमा रहेकाले पछिल्लो समय भारतबाट समेत किसानले बीउबिजन खरिद गरी ल्याइरहेका छन् । उक्त बीउबीजनको न गुणस्तर परीक्षण हुन्छ न माटो सुहाउँदो नै । सीमावर्ती भारतीय बजारमा सस्तो पर्ने भएकाले नक्सलबारी, पानीट्यांकीलगायतका बजारमा जाँदा किसानले काँक्रा, मूला, धनियाँ लगायतका बीउबीजन ल्याइरहेका खड्का सुनाउँछन् । ‘कतिपयले त धान–मकै जस्ता अन्नकै बीउ भारतबाट ल्याउँछन् । तर, त्यो बीउ कस्तो हो ? माटो सुहाउँछ, सुहाउँदैन ? कसले गर्ने परीक्षण ? यस्ता कार्यले पनि माटो बिग्रिरहेको छ,’ खड्का भन्छन् ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारी बाहिरी देशबाट बीउबीजन आयात हुने समस्या समग्र राष्ट्रकै समस्या भएको बताउँछन् । खुला सीमा भएकाले बीउबीजन आयात भइरहेको उनको भनाइ छ । तर, रैथाने उत्पादनका बीउ हराएको भन्नेमा चाहिँ सत्यता नभएको उनको भनाइ छ । ‘नेपाल सरकार नै उन्नत जातका फसल लगाउनुपर्छ भनेर उन्नत जातका बीउ उत्पादन गर्ने प्रक्रियामा लागेको छ । अर्कोतिर स्थानीय बीउबिजनमा किसानको रुचि घट्दै गयो,’ उनी भन्छन्, ‘हाइब्रिड जातका बीउको उत्पादकत्व पनि बढी हुने भएकाले किसान यसतर्फ आकर्षित छन् । स्थानीय बीउबीजन कतैकतै लगाएको भेटिए पनि अधिकांश किसान हाइब्रिड बीउप्रति नै आकर्षिक त छन् ।’
भारतबाट धान, मकै, कोदोलगायत तरकारीको बीउबीजन आयात भइरहे पनि कुन किसिमको कति आयो भन्ने तथ्यांक भन्सार कार्यालयसित नभएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए ।
