बुद्ध जन्मस्थल लुम्बिनी : सम्राट अशोकले चिनाए, उ थान्तले विश्वमा फैलाए

लुम्बिनीबाट निस्कने शान्तिमय ऊर्जाले मानवमा सद्भाव, करुणा, मैत्री, अहिंसा र समता पलाउँछ । त्यसै लुम्बिनीलाई विश्व शान्तिको मुहान भनिएको होइन ।

वैशाख २८, २०८२

मनोज पौडेल

Buddha's Birthplace Lumbini: Known by Emperor Ashoka, he then spread it to the world

लुम्बिनी — धेरैले भन्छन्- महान् सम्राट अशोक लुम्बिनी नआएको भए न लुम्बिनीको पहिचान हुन्थ्यो, न पत्ता नै लाग्थ्यो । अफगानिस्तानदेखि नेपालको तराई भाग, पूर्वमा म्यानमारको तल्लो भागसम्म मगध राज्य विस्तारित थियो । यति ठूलो राज्यका सम्राट तीर्थयात्रीका रुपमा लुम्बिनी आए, ईशापूर्व २४९ मा । 

उनले आफ्नो तीर्थाटनको अनुभव र संस्मरणबारे अभिलेख कुँदाए । त्यही अभिलेखका कारण अहिले लुम्बिनीको पहिचान विश्वमै अकाट्य प्रामाणिक बनेको छ । बुद्ध जन्मस्थल भनेर चिनिएको छ ।

सम्राट अशोकको सुझबुझपूर्ण अभिलेखले धेरै कुराको पटाक्षेप गरेको छ । उनको अभिलेख ५ पंक्तिमा ९० अक्षरमा छ । पाली भाषाको ब्राह्मी लिपिमा रहेको अभिलेखका प्रत्येक शब्दको उस्तै महत्व छ । स्तम्भको तेस्रो लाइनको सुरुवातमा सिलाविगडभीचा कालापित सिलाथभेच उल्लेख छ । कालापित भनेको कालान्तरसम्म आफू आएको थिएँ भन्ने सम्झनाका लागि 'मैले यो ढुंगाको स्तम्भ राखेँ' भनेर उनले उल्लेख गरेका छन् । 

त्यतिखेर तराईमा काठ प्रशस्त पाए पनि त्यो सड्ने-गल्ने हुँदा त्यसमा नलेखेर दीर्घकालसम्म रहिरहोस् भन्नका लागि ढुंगामा लेखाएको हुन सक्ने वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी अनुमान गर्छन् । वनारस छेउको चुनारबाट अक्षर लेख्न लगाएर उनले स्तम्भ यहाँ ल्याएर गाडेका हुन् । उनले लेखेको दोस्रो लाइन पढ्दा त बौद्ध धर्मावलम्बीहरुको आड जिरिङ हुन्छ । जानकारहरूका अनुसार सुरुको अतन आगाच महीयिते भनेको 'म यहाँ आफै आएँ' भन्ने हो। हिदबुधेजाते सक्यमुनीति (यहाँ शाक्यमुनि बुद्धको जन्म भयो) उल्लेख भएकाले बुद्धका बारे थप प्रस्ट हुन सकिन्छ । हिदबुधेजाते मात्र लेखेको भए कुन बुद्धको जन्म भयो शंका रहन्थ्यो । उनले त्यतिखेरै निक्कै बुद्धि पुर्‍याएर अभिलेख राखेको पुरातत्वविद् बिडारीले बताउँछन् । 

ईशापूर्व तेस्रो शताब्दीमा शाक्यमुनिभन्दा अघि पनि बुद्ध थिए भन्ने यो तथ्यले स्वीकार गरेको छ । निग्लिहवामा रहेको स्तम्भमा कोनाकमानस् शब्द लेखिएकाले कनकमुनि बुद्धलाई यसले प्रमाणित गरेको छ । चिनियाँ यात्री हृवेनसाङको यात्रा वर्णनमा गोटिहवामा क्रकुच्छन्द बुद्धका बारेमा लेखिएको उल्लेख छ । यसले शाक्यमुनिभन्दा अघिका बुद्धलाई स्वीकार गरेको देखिन्छ । 

दिव्यवाद नामक बौद्ध ग्रन्थका अनुसार सम्राट अशोक आफ्ना गुरु उपगुप्तसँगै लुम्बिनी आएका थिए । उपगुप्तले त्यो रुख देखाए, जुन रुखको हाँगा समाउँदै उभिएकी मायादेवीले गौतम बुद्धलाई जन्म दिएकी थिइन् । त्यहीँ अशोकले पूजा गरे । जहाँ ढुंगाले चिनो पनि लगाइएको थियो । 

अशोकले आफ्नो यात्राको सम्झना, उद्देश्य र लुम्बिनीमा पवित्र क्रियाकलापका बारेमा अभिलेख कुँदाएका हुन् । भविष्यमा मान्छेहरु अन्योलमा नपरून् भनेर उनले स्तम्भमा शाक्यमुनि बुद्ध लेख्दा नै विश्वमा लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने प्रामाणिक बन्न पुगेको छ । गाड्दाका बेला ४० फुट उचाइ रहेको स्तम्भको माथिको टुप्पो भाँच्चिदा ३० फुट साढे १० इन्च भाग ठडिएको छ । Buddha's Birthplace Lumbini: Known by Emperor Ashoka, he then spread it to the world

बुद्धले मृत्युशय्याबाट आनन्दलाई भनेका थिए- पहिला श्रद्धाले लुम्बिनी जानू अनि बोधगया, सारनाथ र कुशीनगर जानू । यसैकारण हुन सक्छ, बुद्धको महापरिनिर्माणको २३४ वर्षपछि लुम्बिनी आए अशोक !

यसरी लुम्बिनीप्रतिको आकर्षण बढ्दै यो शान्तिको सहर बन्यो । विश्व सम्पदा बन्यो । यही लुम्बिनीमा संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुटेरेससहित ६ महासचिवले भ्रमण गरिसकेका छन् । 

ट्रिप एडभाइजर, लोन्ली प्लानेट र न्युयोर्क टाइम्सले लुम्बिनीलाई विश्वकै घुम्नुपर्ने मुख्य सहरमा उल्लेख गरेर शान्ति पर्यटन प्रवर्द्धन गरेका छन् ।

यो त भयो निकै अगाडिको इतिहास । जुन कालखण्डमा सम्राट अशोकले लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा प्रमाण छाडिदिएका थिए । 

लुम्बिनीलाई विश्वमा चिनाउनेमा संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तको नाम छुटाउनै मिल्दैन । 'उनी नआएका भए आज हेर्न पाएको सग्लो लुम्बिनी हुन्थेन,' लुम्बिनी विकास कोष विश्व सम्पदा शाखा प्रमुख वरिष्ठ निर्देशक ज्ञानीन राईले भने, 'अशोक स्तम्भकै छेउछाउ ठूलठूला स्टार होटल र भवनका संरचना ठडिएका हुन्थे । जसरी आज सारनाथ, बौद्धगया, कुशीनगर र श्रावस्ती लगायतका अधिकांश बुद्धस्थलसँग सटेर आधुनिक भवनका संरचना, होटल, बजार क्षेत्र छन् । त्यहाँको अनियन्त्रिय विकासका कामले शान्तिका लागि आउनेलाई भिडभाड, होहल्ला र मानवीय चहलपहलले समस्या बनाएको छ ।' 

उ थान्त लुम्बिनी आउँदा अहिले देखिएका भग्नावषेश सबै छोपिएका थिए । उत्खनन भएकै थिएन । पुरातत्व विभागले वैज्ञानिक तवरले लुम्बिनीमा सन् १९७२ देखि उत्खनन थालेको हो । त्योभन्दा अघि १९६७ मा उ थान्त लुम्बिनी आएका थिए । यहाँ मायादेवी मन्दिरको पुरानो संरचना थियो ।

Buddha's Birthplace Lumbini: Known by Emperor Ashoka, he then spread it to the world

अशोक स्तम्भ उत्खनन गर्दा निस्केको माटो स्तम्भको उत्तर-दक्षिणतिर जम्मा गरेर केशरशमशेरले थुम्कोजस्तो बनाइदिएका थिए । उत्तरतिरका थुम्कोमा पानीट्यांकी थियो । मन्दिरअघि ठूलो पीपलको बोट थियो । मन्दिर अग्लो हुँदा पूर्वतिरबाट चढ्न सिँढी बनाइएको थियो । 

मायादेवी मन्दिरको पूर्व छेउमै सन् १९५६ मा राजा महेन्द्रले नेपाल मन्दिर बनाइदिएका थिए, जुन लुम्बिनीको सबैभन्दा पुरानो मन्दिर हो । त्यहाँ भिक्षु अनिरुद्ध बस्थे । बर्मामा पढेका भिक्षु यहीँ रहेको जानकारी पाएपछि उ थान्त भेट्न पुगे । दुवैले बर्मिज भाषामा कुरा गरे । 

'लुम्बिनीको अवस्था देखेर उ थान्तले आँखाभरि आँसु झारे,' भिक्षु अनिरुद्धको भनाइ उद्धृत गर्दै वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी भन्छन्, 'भिक्षु आफैं रुन थाले । बुद्धप्रतिको श्रद्धा र आस्थाले सन्नाटापूर्ण माहोल बन्यो ।' 

करिब २ घण्टा लुम्बिनीमा बिताएर उ थान्त फर्केका थिए । उनी आउँदा भैरहवा–लुम्बिनी बाटो थिएन । तर, छेउकै भारतको कक्ररहवा बजारबाट दिल्ली कानपुरसम्म बस चल्थ्यो । सीमाको भगवानपुर गाउँमा नेपाली सेनाले राहदानी जाँच गरेर आवतजावतको अनुमति दिन्थ्यो । 

लुम्बिनीमा खानेपानीको प्रबन्ध थिएन । तीर्थयात्रीलाई एक रात बस्नुपर्दा पनि समस्या थियो । बुद्धले 'मेरो मृत्युपछि पहिलोपटक लुम्बिनी जानू' भनेको ठाउँकै कहालीलाग्लो अवस्था देखेर उ थान्तलाई निकै पीडा र चिन्ता भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्री बजिर बताउँछन् । लुम्बिनीबाट फर्केर उ थान्तले राजा महेन्द्रलाई भेटेको पनि उनले सुनाए । भिक्षु श्री बजिरले संसारलाई शान्तिका लागि डोर्‍याउने ठाउँको हालत देखेर चिन्ता प्रकट गरे । अब केही गर्नैपर्ने उनको आग्रह छ। 

Buddha's Birthplace Lumbini: Known by Emperor Ashoka, he then spread it to the world

न्युयोर्क पुगेपछि उ थान्तले संयुक्त राष्ट्रसंघका तर्फबाट सन् १९६९ मा अलचिन, मात्सुहितो र अन्य एक जना गरी तीनजनालाई लुम्बिनी पठाए । उनीहरुले लुम्बिनीमा आधारभूत आवश्यकता खानेपानी, बिजुली, आवास र भैरहवा–लुम्बिनी बाटो बनाउन सुझाव दिए । भैरहवामा रहेको विमानस्थल विस्तार गर्न सुझाव दिए । 

सन् १९७० मा संयुक्त राष्ट्रसंघको साधारणसभामा महासचिव उ थान्त आफैले लुम्बिनीका लागि सहयोग गर्न प्रस्ताव गरे । राष्ट्रसंघले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उनी उत्साहित भए । त्यसपछि संयुक्त राष्ट्रसंघमै लुम्बिनी विकासका अन्तर्राष्ट्रिय संस्था नामक समिति बन्यो । यसको मुख्यालय न्युयोर्कमा राखियो । नेपालबाट स्थायी प्रतिनिधि भएर जाने व्यक्ति समितिको प्रमुख हुने व्यवस्था गरियो । सुरुमा १३ राष्ट्र समिति सदस्य भए । तिनमा अफगानिस्तान, म्यानमार, कम्पुचिया, भारत, इन्डोनेसिया, जापान, लाओस, मलेसिया, नेपाल, पाकिस्तान, सिगापुर, श्रीलंका र थाइल्यान्ड छन् ।

पछि सन् १९७२ मा पाकिस्तानसँग बंगलादेश छुट्टिएपछि बंगलादेश र भुटान पनि सदस्य बने । दक्षिण कोरिया पनि थपिएर १६ राष्ट्र सदस्य रहेको समिति बन्यो । त्यसपछि यो समितिले विश्वविख्यात वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेलाई गुरुयोजना बनाउन अनुरोध गर्‍यो । 

पाकिस्तानको सर्वोच्च अदालत, जापानको हिरोसिमा मेमोरियल म्युजियम र सिंगापुर सहरको डिजाइन टाँगेले नै गरेका हुन् ।

६ वर्ष लगाएर उनले लुम्बिनी विकासको गुरुयोजना बनाए । गुरुयोजनामा कागज मात्र नभएर बुद्धको दार्शनिक पक्षलाई हुबहु उतारेका छन् । तीन स्क्वायर माइलको कोर जोन बनाए । त्यसबाहिर बफर जोन रेस्ट्रिक्टेड जोन पनि बनाए । 

Buddha's Birthplace Lumbini: Known by Emperor Ashoka, he then spread it to the world

उत्तरतिरको न्यु लुम्बिनी ग्राममा संसारिक जीवन छ । अलिकति दक्षिणतिर आउँदा पुस्तकालय, संग्रहालय र अनुसन्धान संस्था छ । त्यहाँ भएको पुल क्षेत्र पार गर्नेबित्तिकै भिक्षु जीवनमा पुगिन्छ । जुन मोनास्ट्रिक जोन धम्म जीवनमा पुगिन्छ । यो पार गरेर गोलो नहरभित्र पुग्दा ज्ञान प्राप्तिको जीवनमा पुगिन्छ ।

टाँगेको गुरुयोजनाले बुद्ध शिक्षाको जीवन्तता दिएको वरिष्ठ पुरातत्वविद् बिडारी बताउँछन् । यही सन्देशका कारण थाई, ताइवानी, चिनियाँ र भियतनामी लगायतका मुलुकबाट आएकाहरु लुम्बिनी छिर्नासाथै निक्कै भावुक हुन्छन् । 

अशोकको आगमनले लुम्बिनीको अध्यात्मिकतालाई विश्वसामु चिनाएको लुम्बिनीस्थित रोयल थाई मोनास्ट्री प्रमुख तथा नेपाल–भारत थाई धर्मदूत भिक्षुका उपाध्यक्ष फ्राराज बोधीविदेश भाजरासुदीले बताए । २२ वर्षदेखि लुम्बिनीमा बसेर सेवा गरिरहेका उनी भन्छन्, 'विश्व शान्तिको सन्देश छर्ने पवित्रभूमिमा पाइला टेक्न पाउँदा मान्छेले गर्व गर्छन् ।'

उनका अनुसार उ थान्तको आगमनपछि नै सम्पदामैत्री भौतिक विकासको सुरुवात भयो । 'व्यवस्थित विकासको सुरुवातका जन्मदाता टाँगे मानिन्छन् । उ थान्त नआएका भए टाँगे आउँथेनन् । टाँगे नआएको भए उत्कृष्ट गुरुयोजना बन्थेन,' उनले भने ।

Buddha's Birthplace Lumbini: Known by Emperor Ashoka, he then spread it to the world

उ थान्तकै गुरुयोजनाअनुसार लुम्बिनीमा ७ सय ७० हेक्टर जग्गा अधिग्रहण भयो । नभए मायादेवी मन्दिर छेउमै महिलवार गाउँ थियो । त्यहीँ कपडा पसल र रक्सी भट्टी थियो । सन् १९७८ अघि त मायादेवी मन्दिर छेउमा ठूलो बजार थियो । चिनियाँ सामान किन्न भारतीयहरु आउँथे । दिल्ली र कानपुरबाट सोझै व्यापार हुन्थ्यो । टाँगेकै कारण लुम्बिनीमा सडक बन्यो, बिजुली, खानेपानी र सञ्चारजस्ता आधारभूत सुविधा थपियो । बिरुवा हुर्किएर हरियाली भयो । लामो समयसम्म संयुक्त राष्ट्रसंघकै निकाय यूएनडीपीले सहयोग गर्‍यो ।

विश्व खाद्य कार्यक्रमले पनि खाद्यान्न सहयोग गरेको थियो । लुम्बिनी विकास कोषले दैनिक ५ रुपैयाँ दिएर केन्द्रीय नहर तथा मायादेवी मन्दिर वरिपरिको नहर खन्न सहयोग गरेको थियो । विश्व खाद्य कार्यक्रमका एसिया निर्देशक लुम्बिनी आएका बेला सामान्य कर्मचारीलाई स्वागत गर्न पठाएपछि उनी फर्केर गएपछि रोकिएको कार्यक्रम अहिलेसम्म स्थगित छ । यूएनडीपी र विश्व खाद्य कार्यक्रमले भने सन् १९९० तिरबाट लुम्बिनीबाट हात झिके । 

अहिले लुम्बिनी
समथर हरिया फाँट र ढुंगा छापेर बनाइएको सफा बाटा । दुई आँखाले सबैलाई नियालिरहेका प्रतिमा । हावाको बहावसँगै जलकुण्डहरुमा तरंगित निर्मल पानी, सँगसँगै फरफराइरहेको रंगीविरंगी लुङदार । मधुर स्वरमा गुन्जायमान पवित्रवाणी । 

ऋतुअनुसारको फूलको सुगन्धित वातावरणले लुम्बिनी साँच्चिकै शान्तिस्थल बनेको छ । त्यसमाथि रातो गेरुवा वस्त्र लगाई शान्ति पाठ गरिरहेका शान्तिका अनुयायी देख्दा लाग्छ- यो भूगोल विशेष हो ।

Buddha's Birthplace Lumbini: Known by Emperor Ashoka, he then spread it to the world

विश्वका कुनै पनि कुनामा हिंसा र तनाव भयो भने लुम्बिनीबाटै शान्तिको सन्देश दिन सबै लाग्छन् । लुम्बिनीबाट निस्कने शान्तिमय ऊर्जाले मानवमा सद्भाव, करुणा, मैत्री, अहिंसा र समता पलाउँछ । त्यसै त लुम्बिनीलाई विश्व शान्तिको मुहान भनिन्छ ! 

यही लुम्बिनीको पहिचान, प्रमाण र विस्तारका लागि सम्राट अशोक र  संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तको अपूर्व भूमिका रहेको सम्पदाविद्हरु बताउँछन् । त्यसपछि लुम्बिनीको विकासमा जोडिएका टाँगेलाई त कसरी बिर्सनु र ! 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully