जलवायु परिवर्तनसँग जुध्न अर्गानिक खेती

'जलवायु उत्थानशील प्रविधि' अपनाएपछि उत्पादनसँगै आम्दानी बढाउँदै किसान

वैशाख २०, २०८२

कृष्णप्रसाद गौतम

Organic farming to combat climate change

सुर्खेत — कालीकोटको नरहरिनाथ गाउँपालिका-९ चौथास्थित समाज परिवर्तन कृषक समूहकी अध्यक्ष कौशिला नेपालीको बारीमा २ वटा प्लास्टिक टनेल छन् । जहाँ टमाटर, काँक्रा, काउली, खुर्सानीलगायत तरकारी बाह्रै महिना फल्छ । घरमै कुखुराको अर्धबन्देज खोर बनाएर ५० वटा स्थानीय प्रजातिका कुखुरा पालिरहेकी उनले खेतबारी रासायनिक विषादी प्रयोग गर्न छाडेको चार वर्ष पुग्यो । 

गाईभैंसीको मूत्रबाट तयार गरिएको तीन प्रकारको जैविक विषादी प्रयोग गर्छिन् भने मलखाद व्यवस्थापन गरिएपछि ८ रोपनी जग्गामा गाईभैंसीको मल सजिलै पुग्न थालेको छ । तरकारी खेती र कुखुरा पालनबाट मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनले बताइन् । ‘तरकारी खेतीबाट गाउँ नै आत्मनिर्भर बनेको छ,’ उनले भनिन्, ‘जलवायु उत्थानशील प्रविधि अपनाएपछि उत्पादनसँगै आम्दानी पनि बढिरहेको छ ।’ 

उनकी छिमेकी अतिरुपा शाहीको बारीमा पनि चार वर्षयता विषादीरहीत तरकारी फल्छ । ‘रासायनिक विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्ति कमजोर बन्दै गएको थियो, अर्गानिक उत्पादन गर्न थालेपछि हाम्रो तरकारी सदरमुकाम मान्म र सुर्खेतसम्म पुग्न थालेको छ,’ उनले भनिन्, ‘तरकारी खेती गरेपछि घरखर्च कटाएर मासिक १५ देखि २५ हजार रुपैयाँसम्म बचत गरिरहेका छौं ।’

नरहरिनाथ गाउँपालिकाका ९ वडामा ४५ कृषक समूहमा २५ जनाको दरले १ हजार १ सय ११ जना महिला आबद्ध छन् । समूहमा आबद्ध सबै घरमा प्लास्टिक टनेल प्रयोग गरी तरकारी खेती गरिएको छ । रोगकिराको प्रकोप देखिए ‘बायो पेस्टिसाइड’ प्रयोग गर्ने गरिएको मखमली कृषक समूहकी सदस्य तारा शाहीले बताइन् । उनका अनुसार माटो शुद्धीकरणका लागि टाँडे नर्सरी, ‘हटबेड’, ‘सोलराइजेसन’ लगायत विधि अपनाइएको छ । यी विधि प्रयोग गर्दा माटोको उर्वराशक्ति हावामा उडेर जाँदैन भने रोगकिराको प्रकोप कम हुन्छ । घरघरमा जुठेल्नो स्थापना गरेपछि खेर गएको फोहोर पानीलाई करेसाबारीमा प्रयोग गर्न थालिएको उनले बताइन् । ‘अनुकूलन प्रविधिको प्रयोगले बाली र खेतीका लागि माटोलाई अनुकूलित बनाइरहेको छ,’ उनले भनिन्, ‘घरघरमा भकारो सुधार गरेपछि अन्नबाली र तरकारी दुवैलाई पुग्ने गरी प्रांगारिक मल उत्पादन भइरहेको छ, खेतबारीमा हाइब्रिड बिउ र केमिकल फर्टिलाइजर औषधि प्रयोग गर्न छोडेको वर्षौं बित्यो ।’

अहिले समूहमा आबद्ध कृषकले जियो कृषि, कृषि गुरुलगायत मोबाइल एप प्रयोग गर्छन् भने प्रत्येक दिन मोबाइलमा एसएमएसमार्फत मौसमबारे पूर्व जानकारी आउँछ । किसानलाई बाली लगाउन र भित्र्याउन अनुकूल मौसमको आवश्यक पर्ने समाज परिवर्तन कृषक समूहकी सदस्य डिला परियारले बताइन् । ‘जलवायु परिवर्तनले कृषि क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ, खडेरी, अन्न उत्पादन कम, बाढी पहिरोलगायत असरको सामना गरिरहेका छौं,’ उनले भनिन्, ‘पछिल्लो समय उत्थानशील  प्रविधिको प्रयोग गरेपछि असरबाट बच्न केही सहज भएको छ, जलवायु परिवर्तनको असर कम गर्न सुक्खा बाली लगाउन थालेका छौं ।’

Organic farming to combat climate change

महिलाहरुले बजेटबिना नै साप्ताहिक टोल सरसफाइ, मुम्रा खानेपानी मुहान संरक्षण, वृक्षारोपणलगायत काम गरिरहेका छन् । परियारका अनुसार समूहमा आपतकालीन कोष स्थापना गरिएको छ । जसमा मासिक रुपमा ५० देखि १ सय रुपैयाँ समूहका सदस्यले जम्मा गर्छन् र केही समस्या परे १२ प्रतिशत ब्याजमा कर्जा लिने गरेको नेपालीले बताइन् । सबै कृषक समूहमा १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको साहस नेपालकी जलवायु परिवर्तन अधिकृत संगीता पालले बताइन् । उनका अनुसार महिलालाई जलवायु परिवर्तनको असर कम गर्न संकटासन्नताको रेखांकन गरी समूहमा आबद्ध गरिएको हो । 

कृषक समूहको अभियानमा गाउँपालिकाले पनि साथ दिएको छ । बाढीपहिरोलगायतत विपद्‌बाट बर्सेनि ठूलो क्षति हुन थालेपछि  गत वर्षको हिउँदे अधिवेशनबाट स्थानीय विपद् तथा जलवायु उत्थानशील ऐन पारित गरिएको गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले बताए । उनका अनुसार २ वर्षभित्र जलवायु उत्थानशील पालिका घोषणा गर्नेगरी कृषक समूह परिचालन गरिएको छ । ‘जलवायु उत्थानशील पालिका बनाउन ऐन पारित गरेका छौं, वातावरणमैत्री, दिगोपन र खाद्यसुरक्षामा जोड दिइएको छ,’ उनले भने, ‘जलवायु उत्थानशील अभियानका लागि यो वर्ष स्थानीय सरकारले २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।’ 

जाजरकोटको शिवालय गाउँपालिका-५ थालारैकरकी विमला खत्रीले प्रांगारिक तरकारी खेती गर्न थालेपछि तरकारीले राम्रो मूल्य पाउन थालेको बताइन् । उनका अनुसार तरकारी खरिद गर्न व्यापारीहरु बारीमै आउँछन् । सहयोगी कृषक समूहकी सदस्य उनले २ वटा प्लास्टिक टनेलमा बेमौसमी तरकारी खेती गरेर वार्षिक २ लाख ५० लाख रुपैयाँ आम्दानी गरिरहेको जानकारी दिइन् । ‘गोठेमल व्यवस्थापनले रासायनिक मलको परनिर्भरता घटाएको छ,’ उनले भनिन्, ‘तीन किसिमका पशु मूत्र प्रयोग गरी जैविक विषादी बनाउने गरेका छौं, जसले रोगकिरा नियन्त्रण र माटोको उर्वराशक्ति बढाउन मद्दत गरिरहेको छ ।’ 

Organic farming to combat climate change

शिवालय गाउँपालिका-२ स्थित चन्द्रसूर्य कृषक समूहकी सदस्य नैनसरा रानाले पनि जलवायु  उत्थानशील विधि अपनाएर २ वटा प्लास्टिक टनेलमा विभिन्न तरकारी र च्याउ फलाइरहेकी छन् । जसबाट मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण लामो समय खडेरी पर्ने, वर्षा नहुने, भएपछि अत्यधिक वर्षा हुने, रोगकिराको प्रकोप धेरै हुनेलगायत समस्या देखिएको उनले बताइन् । उनका अनुसार यो असर रोक्न गाउँमा खडेरी सहने अन्नबाली लगाउन थालिएको छ । 

वरिष्ठ जलवायु परिवर्तन अधिकृत हरिप्रसाद अधिकारीले कृषि बालीका लागि तापक्रम एकदमै संवेदनशील हुने बताए । उनका अनुसार तापक्रम र अत्यधिक वर्षाका कारण कुनै बालीमा चाँडै फूल लाग्छ भने कुनैमा ढिलो लाग्छ । ‘फूलको प्रजनन प्रक्रियाले उत्पादन प्रक्रियामा पनि प्रभाव पार्छ, धेरै चिसो भयो भने पनि बालीको फलमा असर पुग्छ,’ उनले भने, ‘जसका कारण रैथाने बालीहरु लोप भइरहेका छन्, नयाँ जातका बालीले त्यसको स्थान लिइरहेका छन् ।’ 

शिवालयमा ४५ समूहमा १ हजार १ सय ५७ सदस्य परिचालन गरी जलवायु उत्थानशील पालिका बनाउने अभियान थालेको गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले बताए । किसानलाई प्रविधिमैत्री बनाउन मौसम, तरकारीको बजार मूल्य तथा विभिन्न रोगकिराको प्रकोप नियन्त्रणका उपायहरुबारे पछिल्लो समय मोबाइलमा एसएमएस पठाउन थालिएको छ । Organic farming to combat climate change

जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख चन्द्रबहादुर शाहीका अनुसार अहिले झन्डै ६ सय किसानसहित जनप्रतिनिधि, कर्मचारी र अगुवाहरुको मोबाइलमा ३/३ दिनको मौसम पूर्वानुमानबारे सूचना आउने गरेको छ । ‘मौसमको जानकारीले मौसमअनुकूल तरकारी र बाली लगाउन र भित्र्याउन सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘बजार मूल्य मोबाइलमा आउन थालेपछि  किसानलाई तरकारीको बजारीकरणमा सहयोग पुगेको छ, किसानले एसएमएसकै आधारमा तरकारीमा लागेको रोगकिराको नियन्त्रण गर्न सक्ने भएका छन् ।’ 

कर्णाली प्रदेश सरकारले ६ वर्षदेखि प्रांगारिक कृषिलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखतबहादुर खड्काले बताए । मन्त्रालयले अर्गानिक कर्णाली अभियानका लागि यो वर्ष ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । ‘खेतीलाई पर्यावरणमैत्री र जलवायु परिवर्तन अनुकूल बनाएर उत्पादकत्व बढाउन खोजेका छौं, बजारीकरणका लागि मूल्यवान् लोगोसहित रैथाने बालीलाई ब्रान्डिङ गरेका छौं,’ उनले भने, ‘किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम लागू गरिएको छ, जैविक मल र बिउमा सहयोग गरिरहेका छौं ।’ 

Organic farming to combat climate change

प्रदेश सरकारले अर्गानिक कर्णालीका लागि कृषि उपजमा रासायनिक तथा हानिकारक विषादी प्रयोगमा कडाइ, ६ वटा उद्योगमार्फत जैविक विषादी उत्पादन, विषादी प्रयोगशाला स्थापनालगायत १२ आधार तयार गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले बताए । ‘९ प्रकारका रैथाने बालीसहित तरकारी र फलफूल खेतीमा क्षेत्रफलका आधारमा अनुदान दिइरहेका छौं, विभिन्न कृषि औजार पनि किसानले अनुदानमा पाइरहनुभएको छ,’ उनले भने, ‘उत्पादन बढाउन सिँचाइ, आवश्यक बिउबिजन तथा उत्पादन भएको वस्तुको बजारीकरणमा पनि सहयोग गरिरहेका छौं ।’ 

कर्णाली प्रदेश सरकारले ०७४ फागुन ६ को पहिलो मन्त्रिपरिषद्को बैठकबाट कर्णालीमा अर्गानिक कृषिको आधार तयार गरी रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले अर्गानिक कृषि विधेयक-२०७५ पनि प्रदेशसभाबाट पारित गरिसकेको छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully