स्वास्थ्य इकाइमा बर्थिङ सेन्टरको अभाव, सुविधासम्पन्न संस्था पुग्न बढ्दो खर्च र सडकको सास्ती
बागलुङ — निसीखोला गाउँपालिका–५ निसेलढोरस्थित सामुदायिक स्वास्थ्य इकाइकी अनमी यामकुमारी घर्तीले तीन वर्षअघि सुत्केरी हुनुपूर्व पाल्पा पुगेर एक महिना डेरा लिएर बसिन् । सुत्केरी अवस्थामा हुन सक्ने खतरा अन्त्य भएपछि मात्र गाउँ फकिईन् । उनको गाउँ सदरमुकाम देखि १ सय ५० किमिको यात्रामा पुगिन्छ ।
उनी कार्यरत स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर छैन । नजिकको सेन्टर पुग्न तीनदेखि चार घण्टा हिँड्नुपर्छ । सोही इकाइकी कार्यालय सहयोगी प्रेमकुमारी घर्तीका ५ सन्तान छन् । सुत्केरी हुने बेला स्वास्थ्य संस्थामा जानुपर्छ भनेर सिकाउने कोही नभएपछि उनले सबै सन्तान घरमै जन्माइन् । यमकुमारीको झैं उनले डेरा बस्न सकिनन् । घरको आर्थिक अवस्था कमजोर र डेरा बस्दा घरमा काम गरिदिने अरु थिएन । खोप लगाउन ढोरपाटन नगरपालिका–८ बोबाङ गएकी उनले नजिकमा बर्थिङ सेन्टर नभएकाले घरमै सन्तान जन्माउन बाध्य भएको बताइन् ।
निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको दुई वर्ष पुग्यो । तर यहाँ अझै पनि बर्थिङ सेन्टर छैन । आफ्नै वडा कार्यालय रहेको निसी पुग्न १० घण्टा र ढोरपाटन उपत्यका पुग्न ४ घण्टा हिँड्नुपर्छ । ढोरपाटनबाट जिप पाइयो भने साढे २ घण्टामा बुर्तिबाङ पुगिन्छ । पालिका पुग्न थप एक घण्टा जिप चढ्नुपर्छ । यो इकाइमा यामकुमारी र प्रेमकुमारी मात्रै कर्मचारी हुन् । यहाँ दैनिक १० देखि १२ जनासम्म बिरामी आउने गरेका छन् । गर्भवतीको भने रेकर्ड राखेर उनीहरुले सुविधायुक्त स्थानमा पठाउने गर्छन् । पालिका पुग्न टाढा भएकाले अधिकांश महिला बुर्तिबाङमा डेरा लिएर बस्ने र सुत्केरी भएर फर्कने गरेको प्रेमकुमारीले सुनाइन् ।
सडक अप्ठ्यारो भएकाले ढोरपाटनमा नियमित सवारी चल्दैनन् । ढोरपाटनबाट निसेलढोर जाने त झनै केही नभएपछि स्थानीयलाई पैदल यात्रा गर्नुको विकल्प छैन । सडकको ट्र्याक खुले पनि सहज छैन । बर्सातमा भुजीखोलासहितका खोलाखोल्सी बढेर तर्न सकिँदैन । हिउँदे सडकमा गाडी रिजर्भ गरेर जानुपरे १० हजारभन्दा बढी खर्च हुन्छ । त्यो पनि गाडी पाउन मुस्किल छ । स्थानीय बासिन्दा त्यत्तिको खर्च गरेर अस्पताल पुग्न सक्दैनन् ।
ढोरपाटन नगरपालिकाले सिकार आरक्षनजिकै स्थापना गरेको अर्को सामुदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर त छ, तर उपकरण बिग्रेकाले प्रभावकारी सेवा छैन । ‘यहाँ चिसो बढी भएकाले सुत्केरी बेथा लामो समयसम्म लाग्छ, कोही आत्तिएर महँगो गाडी खोजेर बुर्तिबाङ झर्छन्,’ इकाइकी अनमी सीता बुढामगरले भनिन्, ‘छोटो बेथामा छिटो बच्चा जन्माउन आगो फुकेर गर्भवतीलाई तातो बनाउने गर्छौं ।’ यो प्रक्रिया गर्दा महिलालाई लामो बेथाले सास्ती दिने उनले बताइन् । जन्मेको शिशुलाई पनि चिसो बढी हुनाले न्यानो बनाउने मेसिनको अभाव छ । ‘भएको मेसिन बिग्रेको चार महिना भइसक्यो, यो बनाउन सकिँदैन, अर्को आउने सम्भावना छैन,’ बुढामगरले भनिन्, ‘हरेक सुत्केरीको समयमा आठ/दस भारी दाउराको जोहो गर्छौं ।’ बिग्रेको मेसिन मर्मत नहुने भएपछि जीर्ण छ । नयाँ मेसिन आउने अवस्था नभएपछि स्वास्थ्यकर्मी र बेथा लागेर आएकाहरुको परिवारका सदस्य मिलेर आगो फुक्ने गरेका हुन् । चिसोमा आगो फुकेपछि सबै मिलेर बालबालिका र सुत्केरी सेकाउँछन् ।
ढोरपाटनमा ६ सयभन्दा बढी घर छन् । निसेलढोरसमेत गर्दा उपत्यकाभर १ हजार घरधुरीको बसोबास छ । यहाँ ३ हजार ५ सयदेखि ४ हजार जनसंख्या छ । फागुनदेखि कात्तिकसम्म सबै यहाँ बस्छन् भने चिसोको चार महिना बेँसी झर्छन् । निसेलढोर केही न्यानो भएकाले अधिकांश गाउँमै बस्ने गरेका छन् । उनीहरुलाई जाडो मौसममा स्वास्थ्य सेवा लिन निकै कठिन छ । अन्य मौसममा पनि सेवा लिन डेरा लिएरै बस्नुपर्ने बाध्यता छ ।
ढोरपाटन इकाइमा गत चैतमा मात्रै ३ सय ३४ जनाले स्वास्थ्य सेवा लिएका छन् । गत वर्ष ११ जना सुत्केरी भएका थिए । चालु आर्थिक वर्ष १६ जना सुत्केरी भए । वर्षमा ३५ जनासम्म गर्भ परीक्षण गर्न आउने गरेकामा केही सहर पस्छन् भने केही घरमै सुत्केरी भएको भेटिएको बुढामगरले जानकारी दिइन् ।
ढोरपाटनमा हिउँ जमेको अवस्थामा गाडीसमेत नपाइने भएपछि केही दिनअघि नै हिँडेर पालिका पुग्नुपर्छ । निसेलढोरदेखि निसीखोला सडक सञ्जाल छैन । निसेलढोरमा बालबालिकालाई खोप लागउनसमेत समस्या छ । हाल इकाइमा औषधि वितरण र गर्भ परीक्षण सेवा मात्रै छ । जटिल अवस्था आउने देखेमा यहाँकी एक मात्र स्वास्थ्यकर्मी अनमी यामकुमारी घर्तीमगरले तत्काल सुविधायुक्त स्थानमा जान सुझाव दिने गरेकी छिन् । ‘यहाँ त सामान्य घाउचोट लाग्दा उपचार र महिलाको गर्भ परीक्षण मात्रै छ,’ उनले भनिन्, ‘अन्य सेवा दिन जनशक्ति छैन, सामग्री र उपकरण पनि छैन ।’ निसीखोला गाउँपालिकाले यहाँ स्वास्थ्यकर्मी र सामग्रीसमेत पठाउन नसकेको हो ।
उपत्यकाको कुल जनसंख्याको ७७ प्रतिशत दलित समुदाय छ । अन्य समुदायका पनि अधिकांश विपन्न परिवार छन् । गोठ सार्ने, पशुपालन र आलुखेती गरेर अधिकांशले जीवन निर्वाह गरेका छन् । आर्थिक अभावमा अझै पनि उपचारबाट वञ्चित छन् । गत वर्षको असारमा सुत्केरी बेथाले च्यापेपछि अलपत्र परेकी ढोरपाटनकै पूर्णिमा विकलाई सेनाको गाडीले उद्धार गरेर बुर्तिबाङ अस्पताल पुर्याएपछि ज्यान जोगिएको थियो ।
अस्पताल भवन अधुरै
ढोरपाटन उपत्यकामा निर्माणाधीन अस्पताल भने अझै अलपत्र छ । ढोरपाटन नगरपालिकाले २०८० कात्तिकमा ठेक्का लगाएको अस्पताल भवनको ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भुक्तानी नपाएपछि ठेकदारले काम छाडेका हुन् । १७ करोड ५० लाखमा सम्झौता भएको भवनको अहिलेसम्म ठेकदारले ८ करोड ७६ लाख मात्रै पाएका हुन् । भवन निर्माण आगामी असार मसान्तमा सकिनुपर्ने सम्झौता छ । भवन बनेमा नगरपालिकाले दक्ष जनशक्तिसहित अस्पताल सञ्चालनमा ल्याउने योजना राखेको छ ।
सदरमुकामदेखि ९० किमि पश्चिमको बुर्तिबाङ बजारमा बनेको जिल्ला अस्पताल गत फागुनदेखि मात्र सञ्चालनमा आएको छ । अझै यहाँ उपकरण र दक्ष चिकित्सकको अभाव छ । २०६७ मा घोषणा भएको १४ वर्षपछि मात्र यो अस्पताल उद्घाटन भएको हो । यहाँ दैनिक २ सय ५० जनासम्म बिरामी आउने गरेका छन् भने मासिक २० जनासम्मको शल्यक्रियासहित सुत्केरी गराउनुपर्छ । उपकरण अभावमा कतिपय पाल्पा र बुटवल जाने गरेको अस्पतालकी नर्स पार्वती अर्यालले बताइन् ।
संस्थागत सुत्केरी ६९ प्रतिशत मात्रै
प्रदेश जनस्वास्थ्य कार्यालय बगलुङकी जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माका अनुसार बागलुङभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुने ६९ प्रतिशत मात्रै छन् । त्यसबाहेक केही पोखरा, पाल्पा र बुटवलसम्म पुगेकाहरुले ८० प्रतिशत महिला संस्थागत सुत्केरी भएको उनले बताइन् । ‘संस्थागत सुत्केरीको दर त बढेकै छ तर निसी, ढोरपाटन र बडीगाडमा होम डेलिभरी अझै बाँकी छ,’ शर्माले भनिन्, ‘स्वास्थ्य सचेतना अझै ग्रामीण बस्तीसम्म पुर्याउन सकिएको छैन ।’ अप्ठ्यारो भूगोल र चेतना अभावले घरमा हुने सुत्केरीको संख्या घट्न नसकेको उनले बताइन् । पालिका तहको स्वास्थ्य शाखासँग मिलेर पटकपटक खोप अभियान, सचेतना अभियान सञ्चालन भइरहे पनि घरमा हुने सुत्केरी शून्य नभएको हो ।
ढोरपाटनको ‘बेबी वार्मर’ बिग्रेको बल्ल जानकारी पाएको शर्माले बताइन् । ‘गत वर्ष दिएका हौं, बिग्रेको बल्ल थाहा भयो, मर्मत हुने नहुने बुझ्छौं,’ उनले भनिन्, ‘सकेसम्म सबै संस्थामा अत्यावश्यक उपकरण पुर्याउन पहल भइरहेको छ ।’
नेपाल सरकारले संस्थागत सुत्केरी भएमा २ हजार यातायात खर्च दिने व्यवस्था गरेको छ । त्यसबाहेक निसीखोला गाउँपालिकाले थप २ हजार रुपैयाँ दिन्छ । गलकोट नगरपालिकाले ४ हजार ६ सय थप भत्ता दिने गरेपछि ‘होम डेलीभरी’ शून्यनजिक पुगेको स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले बताए ।
ढोरपाटन र निसीमा भने स्वास्थ्यकर्मीले सहर रिफर गरेकाहरु पनि घर फर्केर जोखिम मोल्दै सुत्केरी हुने गरेको भेटिएको हो । ‘हामीले बुर्तिबाङ पठायौं, एकजना महिला घर जानुभएछ,’ भलकोट स्वास्थ्य चौकीकी अनमी हिरामोती घर्तीले भनिन्, ‘सुत्केरीपछि रगत बगेर जोखिम भएपछि मात्र हामीले थाहा पायौं ।’ तत्काल एम्बुलेन्स खोजेर अस्पताल पठाएपछि मात्र ती महिलाको ज्यान बचाउन सकिएको घर्तीमगरले जानकारी दिइन् ।
